कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

आमाको खुसी

४० वर्षदेखि अनाहकमा भारतीय जेलमा परेका दुर्गाप्रसाद घर फर्किने भएपछि परिवारमा हर्ष

नयाँदिल्ली/काँकडभिट्टा — ४० वर्षदेखि भारतमा जेल जीवन बिताउँदै आएका इलामका दीपक जैसी भनिने दुर्गाप्रसाद तिम्सिना सामान्य धरौटीमा रिहा हुने भएका छन् ।

आमाको खुसी

बिनासुनुवाइ लामो समय भारतीय जेलमा रहेका तिम्सिनाको मुद्दामा बुधबार साँझ कोलकाता उच्च अदालतले फैसला गरेको हो । मुख्य न्यायाधीश थोट्टाथिल बी राधाकृष्णन र न्यायाधीश अनिरुद्ध रोयको इजलासले तिम्सिनालाई जेलमा राखिराख्दा न्याय सम्पादनको कुनै पनि सार्थक उद्देश्य पूरा नहुने भन्दै उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । तिम्सिना हाल कोलकाताको दमदम सेन्ट्रल करेक्सनल होममा छन् ।

अदालतले तिम्सिनाको दिमागी हालतलाई मध्यनजर गर्दै तत्काल छाड्न भनेको उनको पक्षमा बहस गरेका अधिवक्ता हिरक सिन्हाले बताए । उनका अनुसार अदालतले तिम्सिनालाई भनिएका बेला उपस्थित गराउने गरी उनका भाइ (काकाका छोरा) प्रकाशचन्द्र शर्मा तिम्सिनाको जिम्मा लगाउन आदेश दिएको छ । ‘उच्च अदालतका रजिस्ट्रारसमक्ष एउटा सर्तनामा गरेपछि परिवारले उनको जिम्मा लिन पाउनेछन्,’ उनले भने । प्रकाशलाई तिम्सिनाको स्वास्थ्य अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई ६/६ महिनामा अवगत गराउन पनि भनिएको छ ।

महावाणिज्य दूतावासका तर्फबाट तिम्सिनाको रिहाइको पहल गर्न समन्वयका लागि खटाइएका सतिश थापाका अनुसार आफन्त आएर धरौटीको प्रक्रिया पूरा गर्नासाथ तिम्सिना छुट्नेछन् । ‘धरौटीमा छाड्न आदेश भएको छ, के–कति धरौटी भन्ने बिहीबार नै थाहा हुनेछ,’ थापाले कान्तिपुरसँग भने । अदालतले तिम्सिनाको रिहाइमा उनको स्वास्थ्य अवस्थासँगै बिनासुनुवाइ ४० वर्ष बिताउनुपरेको विषयलाई प्रमुख आधार बनाएको छ । फैसलामा उनको मानसिक र शारीरिक अवस्थासमेत कमजोर रहेको उल्लेख छ ।

कोलकाता विश्वविद्यालयका चिकित्सकले अदालतमा बुझाएको स्वास्थ्य परीक्षण रिपोर्टका अनुसार तिम्सिनाको मानसिक अवस्था ९ वर्षको बालकको जस्तो रहेको पाइएको छ । तिम्सिनालाई थुनामै गएर भेटेका आफन्तले भने उनको स्वास्थ्य अवस्था चिकित्सकहरूले भनेजस्तो नपाएको बताउँदै आएका छन् ।

गत सोमबारै सुनवाइ सकिए पनि ‘प्राविधिक’ कारण देखाउँदै अदालतले बुधबार मात्रै फैसला सुनाएको हो । त्यस दिन न्यायाधीशले भारतका अन्य जेलमा रहेका मानसिक अवस्था कमजोर भएका कैदीहरूलाई ध्यानमा राख्दै केही दिनभित्रै फैसला सुनाउने बताएका थिए । अदालतले भारतको सर्वोच्च अदालतले सन् २००७ मा उत्तरप्रदेशका जगजीवन रामको मुद्दामा दिएको फैसलालाई पनि नजिरका रूपमा उल्लेख गरेको छ । ३८ वर्ष बिनासुनुवाइ जेलमा बिताएका जगजीवन सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए ।

बुधबार साँझ छोराको रिहाइको फैसला सुनेपछि इलामको माई नगरपालिका–१० लुम्बाक घरमा रहेकी ८१ वर्षीया आमा धनमाया तिम्सिनाको हर्षले सीमा नाघेको छ । ‘मर्ने बेलामा छोरासँग भेट हुन पाउनी भएँ, खुसीको सीमा छैन,’ उनले भनिन् । झापामा रहेका भाइ प्रकाशले पनि फैसलालाई सकारात्मक रूपमा लिएको सुनाए । ‘ढिलै भए पनि फैसला आएको छ, स्वाभाविक रूपमा खुसी हुनैपर्छ, हाम्रा लागि त ४० वर्षदेखि बेपत्ता भएको मान्छे भेटिनु नै ठूलो कुरा भएको थियो,’ प्रकाशले कान्तिपुरसँग भने । उनले शुक्रबार कोलकाता पुग्ने र दाइको रिहाइको प्रक्रिया पूरा गर्ने बताए ।

कसरी परे जेल ?

तिम्सिनाले सानैमा बाबु गुमाए । दुर्घटनामा आमा अपांग भइन् । युवावस्थामै परिवार धान्नुपर्ने जिम्मेवारी आइपर्‍यो । २०३७ सालतिर उनी तोरी बेच्न भन्दै इलामको मंगलबारेतिर गएका थिए । मंगलबारे बजार उनी किनबेचका लागि गइरहन्थे । तर यो सानो व्यापारले परिवार धान्न गाह्रो भयो । पैसा कमाउन नजिकैको मुगलान (दार्जिलिङ) भासिने उनले निधो गरे । ‘दार्जिलिङमा रहँदा हत्या आरोपमा जेल पर्नुभएछ,’ भाइ प्रकाशले भने, ‘के घटनामा जेल परेको भन्ने अहिले पनि स्पष्ट भइसकेको छैन ।’ अदालतमा पेस गरिएका कागजातहरूका अनुसार त्यहाँ रहँदा उनलाई एक व्यक्तिको हत्याको आरोप लगाइएको थियो ।

प्रकाशका अनुसार उनी पक्राउ पर्दा दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किरहेको थियो । त्यही क्रममा आन्दोलनकारीले उनी रहेको जेलमा आगजनी गरे । जसका कारण उनका सबै कागजपत्र जले । सन् १९८० मे १२ मा पक्राउ परेका उनलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्धार जेल हुँदै कोलकाता सेन्ट्रल जेल सरुवा गरिएको थियो । ‘गोर्खाल्यान्ड आन्दोलनमै उहाँको मृत्यु भयो होला भन्ने हाम्रो अनुमान थियो,’ प्रकाशले भने, ‘तर २०६९ मा दीपक जैसी नामको पत्र आयो । दाइको नाम दुर्गाप्रसाद तिम्सिना थियो, कसैले मजाक गरे कि भन्ने लाग्यो ।’ तर त्यो चिठी वास्तविक रहेछ भन्ने कुरा बल्ल पत्ता लाग्यो ।

यसबीचमा उनीबारे न परिवारले कुनै खबर पायो, न सुनवाइ नै भयो । गत असोजमा उनीसँगै कारगारमा १० वर्ष बिताएका भारतीय नागरिक राधेश्याम दास छुटेपछि मात्र तिम्सिनाको कथा बाहिर आएको हो । दासलाई उद्धृत गर्दै स्थानीय वेस्ट बंगाल रेडियो क्लबले तिम्सिनाको खबर प्रसारण गरेपछि मानव अधिकारीवादी तथा सामाजिक अभियन्ताहरूले जेलमा हुने गरेका चरम लापरबाही र प्रशासनिक निष्क्रियताको तीव्र विरोध जनाए । क्लबले नै इलाममा रहेका उनका परिवारलाई समेत जानकारी दिएको थियो । त्यसपछि मात्रै उनको रिहाइको पहल सुरु भएको हो । क्लब, कोलकातास्थित नेपाली महावाणिज्य दूतावास, पूर्वन्यायाधीश विदुरविक्रम थापा, वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, विश्व सेवा विस्तार नामक गैरसरकारी संस्थालगायतले उनलाई रिहाइ गर्न पहल गर्दै आएका थिए ।

कोलकातास्थित जेलमा रहेका तिम्सिनासँग परिवारका सदस्यले एक महिनाअघि भेटेर उनको सनाखत गरेका थिए । विश्व सेवा विस्तारका इन्द्र बस्नेतले भाइ प्रकाश र भतिज गोपाल तिम्सिनासँग उनको भेट गराइएको बताए । ‘४० वर्षपछि दाजु–भाइ भेट्दा रुवाबासी नै चलेको थियो,’ बस्नेतले भने ।

अधिवक्ता सिन्हाले जेल प्रशासनको लापरबाहीकै कारण लामो समयसम्म तिम्सिनाबारेको मुद्दाको सुनुवाइ हुन नसकेको बताए । ‘यो प्रहरी र जेल प्रशासनको चरम लापरबाहीको नमुना हो, यस किसिमको लापरबाहीप्रति हामी खेद व्यक्त गर्छौं,’ उनले भने । अदालतले फैसलामा तिम्सिनाको रिहाइ गर्ने आदेश दिए पनि क्षतिपूर्तिका सम्बन्धमा केही उल्लेख गरेको छैन । जबकि बिनासुनुवाइ त्यति लामो समय जेलमा बस्न बाध्य पारिएको हुँदा अदालतबाट क्षतिपूर्ति सम्बन्धमा पनि केही आदेश आउने अपेक्षा गरिएको थियो । भाइ प्रकाशले फैसला अध्ययन गरेपछि क्षतिपूर्तिका लागि पहल गर्ने बताए । ‘पहिले फैसला अध्ययन गरौं, अनि विज्ञहरूसँग सल्लाह गरेर क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने । विस्तारको काँकडभिट्टा शाखाकी प्रमुख प्रमिला दुराले तिम्सिना छुटेपछि उनलाई सकुशल परिवारको जिम्मा लगाइने बताइन् ।

प्रकाशित : चैत्र ५, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?