२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

बिनासुनुवाइ ४० वर्षदेखि भारतीय जेलमा रहेका दीपक छुट्न अझै केही दिन लाग्ने

सुरेशराज न्यौपाने

नयाँदिल्ली — चालिस वर्षदेखि भारतको जेलमा रहेका दीपक जोशी (तिमिल्सिना) जेल मुक्त हुन अझै केही दिन लाग्ने भएको छ । बिना सुनुवाइ चालिस वर्षदेखि भारतका विभिन्न जेलमा रहेका जोशी सोमबार रिहा हुने बताइएको थियो । तर, कोलकाता उच्च अदालतको सोमबार इजलासमा दीपकको मुद्दाको सुनुवाइ भए पनि मुख्य न्यायाधीश थोट्टाथिल बी राधाकृष्णन र न्यायाधीश अनिरुद्ध रोयले फैसला भने सुनाएनन् ।

बिनासुनुवाइ ४० वर्षदेखि भारतीय जेलमा रहेका दीपक छुट्न अझै केही दिन लाग्ने

कोलकातास्थित महावाणिज्य दूतावासका तर्फबाट दीपकको मुद्दाका सम्बन्धमा रिहाइको पहलका लागि आवश्यक समन्वय गर्न खटाइएका सतिश थापाले मुद्दाको अन्तिम सुनुवाइ भए पनि न्यायाधीशहरुले फैसला आउन केही दिन लाग्ने बताए । थापाका अनुसार न्यायाधीशहरुले भारतका अन्य जेलमा रहेका मानसिक अवस्था कमजोर भएका कैदीहरु सबैलाई ध्यानमा राख्दै केही दिनभित्रै फैसला सुनाउने बताएका छन् ।

‘दीपकजस्तै मानिसक अवस्था कमजोर भएका अन्य जेलमा रहेका कैदीहरुलाई समेत ध्यानमा राख्दै दुई तीन दिनभित्रै निकै महत्त्वपूर्ण फैसला सुनाउने बताउनु भएको छ,’ थापाले कान्तिपुरसँग भने । थापाका अनुसार चिकित्सकहरुले आफ्नो रिपोर्ट दीपकको मानसिक अवस्था सानो बालकको जस्तो रहेको उल्लेख गरेका छन् । त्यसैका आधारमा न्यायाधीशहरुले दीपकको मानसिक अवस्थालाई समेत ध्यानमा राख्दै फैसला दिने बताएको थापाले कान्तिपुरलाई जानकारी दिए ।

इलाम घर भएका दीपक जोशी कामको खोजीमा चालिस वर्षअघि दार्जीलिङ पुगेका थिए । अदालतमा पेश गरिएका कागजातहरुका अनुसार उनीमाथि दार्जीलिङमा एक जनाको हत्याको आरोप लगाइएको छ । १२ मे १९८० मा पक्राउ परेका तिमिल्सिनाको मुद्दाको चालिस वर्षसम्म पनि कुनै पनि सुनुवाइ भएको थिएन । तिमिल्सिनाका बारेमा उनको परिवार पनि पूरै बेखबर रह्यो ।

तर, गत असोजमा उनीसँगै कारगारमा लामो समय बसेका भारतीय नागरिक राधेश्याम दास छुटेपछि मात्र तिमिल्सिनाबारे खुलेको हो । उनै दासले स्थनीय वेस्ट बंगाल रेडियो क्लबलाई तिमिल्सिनाका बारेमा खबर गरेका थिए । त्यसपछि इलामका रहेका परिवार र आफन्तले पनि खबर गरिएको थियो । त्यसपछि मात्र उनको रिहाइको पहल सुरु भएको हो । त्यसपछि मात्र अदालतमा उनको मुद्दाको सुुरु भयो ।

उनको रिहाइका लागि क्लब, कोलकातास्थित नेपाली महावाणिज्य दूतावास, पूर्वन्यायाधीश विदुरविक्रम थापा, वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलहरुको विशेष पहल गर्दै आएका छन् ।

प्रकाशित : चैत्र २, २०७७ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?