कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

राति आकाशबाट हेर्दा जता उज्यालो देखिन्छ, त्यो ललितपुर हो : मेयर महर्जन

काठमाडौँ — ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले अब अँध्यारोकै कारण सडकमा कसैले ज्यान गुमाउनु नपर्ने बताएका छन् । उनले महानगरपालिकाले ललितपुरलाई अँध्यारोमा पनि उज्यालो पार्न आधुनिक स्मार्ट सडक बत्ती जडान गरिरहेको दाबी गरे । 

राति आकाशबाट हेर्दा जता उज्यालो देखिन्छ, त्यो ललितपुर हो : मेयर महर्जन

बिहीबार साँझ हरिसिद्धि सातदोबाटोदेखि भैंसेपाटी र चोभारको पुलसम्म जडान भएका १४ सय स्मार्ट सडक बत्तीको उद्घाटन गर्दै मेयर महर्जनले अब रातमा काठमाडौंको उपत्यकाको आकाशबाट हेर्दा जता उज्यालो देखिन्छ, त्यो नै ललितपुर हो भनेर चिनिने अवस्था बनेको बताए । ‘राति जहाजमा यात्रा गर्नेले काठमाडौं उपत्यका देख्छन् । तर अब काठमाडौं उपत्यकाको जहाजबाट हेर्दा जता उज्यालो देखिन्छ, त्यो ललितपुर हो,’ मेयर महर्जनले भने ।

उनले महानगरपालिकाले दुई चरणमा गरेर महानगर क्षेत्रका अधिकांश सडकमा स्मार्ट बत्ती जडान गरिसकेको भन्दै अब बाँकी रहेको क्षेत्रमा पनि काम अघि बढाइने बताए ।

महानगरपालिकाले यसपटक सातदोबाटो हरिसिद्धि, सातदोबाटोदेखि सुनाकोटी, सातदोबाटोदेखि धापाखेल, एकान्तकुना भैंसेपाटीदेखि चुनिखेलसम्म, बुङमती दोबाटोदेखि थसीखेल, खोकना दोबाटोदेखि खोकनासम्म, मेडिसिटी हस्पिटलदेखि चोभारको पुलसम्म गरी १४ सय थान लाइट जडान गरेको छ ।

तीमध्ये ११६१ वटा सडक बत्ती ९० वाटका छन् भने २३९ वटा बत्ती ६० वाटका छन् । त्यस्तै, १२ वटा हाइमास लाइट जडान गरेको छ । सडक बत्ती जडानकालागि ९ करोड २५ लाख रुपैयाँ खर्च भएको महानगरपालिकाले जनाएको छ । यसअघि पहिलो चरणमा महानगरपालिकाले ६६९ वटा सडक बत्ती जडान गरेको थियो ।

मेयर महर्जनले अब कुसुन्ती र धोबीघाट क्षेत्रमा पनि सडक बत्ती जडानकालागि टेण्डर आव्हानको तयारी भइरहेको भन्दै सडकमा अँध्यारो भएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरे । ‘कुसुन्ती क्षेत्रमामात्रै बत्ती नभएकै कारण अहिलेसम्म २४ जनाको निधन भइसकेको छ । त्यस्तै, धोबीघाट क्षेत्रमा पनि ३४ जनाको ज्यान गुमेको छ,’ उनले भने, ‘अब यस्तो दुःखद अवस्थाको सधैँकालागि अन्त्य गर्नुपर्छ ।’

उनले महानगरपालिकाले चक्रपथको करिब ८ किमि सडकमा स्मार्ट सडक बत्ती जडान गरिसकेको बताए । ‘उज्यालो नभएकै कारण रिङरोडमा थुप्रै दुर्घटनाहरू हुने गरेका छन् । तर त्यस्तो अवस्थाको अन्त्य भएको छ,’ उनले भने, ‘हामीले करिब ८ किमि सडकमा बत्ती जोडिसकेका छौँ, अरु क्षेत्रमा पनि यही वर्ष काम सम्पन्न हुन्छ ।’

महानगरपालिकाले यसपटक वर्ष सडक बत्ती जडानकालागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित : मंसिर १५, २०८० १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?