कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

उपत्यकामा लुटपाट चोरी र ठगी गर्नेहरु पक्राउ

काठमाडौँ — काठमाडौं उपत्यकामा लुटपाट, चोरी तथा ठगी गर्ने विभिन्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै माघ २५ गते काठमाडौं जिल्ला टोखा नगरपालिका १ झोरमा १ करोड ५२ लाख रुपैयाँ बराबरको धनमाल डकैत गर्न संलग्न ६ जना व्यक्तिहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले माघ २५ गते काठमाडौं जिल्ला टोखा १ झोरमा रसुवा गोसाइकुण्ड गाउँपालिका १ बस्ने वर्ष २५ को कार्साङ लामा र सिन्धुपाल्चोक घर भएका कुसाङ लामाको साथबाट नगद २५ हजार रुपैयाँ, सुनको १८ तोला तौल भएको बुटिल ३ जोर, बहुमूल्य सिमला मुगा माला जडित सुनको घवा, आइफोन १२ र उनीहरुले चढिआएको ४२८३ नम्बरको मोटरसाइकल गरी १ करोड ५२ लाख बराबरको धनमाल चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको बताए ।

पक्राउ पर्नेमा लुटपाटमा संलग्न सोनाम थापा र टासी तामाङ रहेका छन् । त्यस्तै लुटेर ल्याइएको सुन किन्नेहरु अनन्तराज घिमिरे, आमोल बालुफुके, देवासी सावन्त र कात्तिक पाइका रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद १९ लाख ५० हजार रुपैयाँ, सुन २९५.३ ग्राम सुन, ५ थान मोबाइल र ३ थान मोटरसाइकल बरामद गरिएको उनले बताए ।

त्यसैगरी, फागुन ६ गते ललितपुर महालक्ष्मी नगरपालिका १ इमाडोल बासुकी टोलस्थित मनिष डाँगीको घरमा ४५ लाख बराबरको धनमाल चोरी गर्ने ३ जना व्यक्तिलाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अनुप तामाङ, रविन तामाङ र राजन श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट नगद १ हजार ९९६ रुपैयाँ विभिन्न देशका नोटहरु ५१ थान र विभिन्न प्रकारका गरगहना पनि बरामद भएको छ ।

त्यस्तै डलर देखाइ ठगी गर्ने गिरोहका ३ जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रामबहादुर तामाङ, बीबी तामाङ र शंकर योगी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १३, २०८० १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×