२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेस बैठकअघि सानेपामा नेविसंघको नाराबाजी

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सानेपास्थित केन्द्रीय कार्यालय पुग्नुअघि नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले नाराबाजी सुरू गरेका छन् । नेविसंघको महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा धर्नामा बसिरहेका नेविसंघका कार्यकर्ताले पार्टीको बैठकमा पुग्ने नेताहरूका अघिल्तिर नाराबाजी गरेका हुन् ।

कांग्रेस बैठकअघि सानेपामा नेविसंघको नाराबाजी

नेविसंघको केन्द्रीय महाधिवेशन तत्कालै हुनुपर्ने उनीहरूको माग छ । सभापति देउवाले तत्कालीन नेतृत्वले महाधिवेशन गर्न नसकेपछि विघटन गर्दै गत वर्ष ९ चैतमा एक वर्षभित्र महाधिवेशन गर्ने गरी नेविसंघको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए । तर अहिलेसम्म उनको कार्य समितिले पूर्णतासमेत पाउन सकेको छैन ।

दुजाङ एक्लैले नेविसंघको महाधिवेशन गराउने गरी जिल्ला अधिवेशनहरू समेत गराउन सकेका छैनन् । उनलाई दिइएको म्याद समेत एक साताअघि नै सकिसकेको छ ।

दुजाङको कार्यकाल सकिँदासम्म पनि महाधिवेशन नभएको भन्दै नेविसंघ कार्यकर्ताले महाधिवेशन हुने बातावरण सुनिश्चित गर्न माग गरेका हुन् । शनिबारदेखि रुपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौतले रिले अनशनसमेत थालेका थिए । दुजाङ शेर्पाको म्याद सकिएकाले उनलाई पदबाट हटाउनुपर्ने र नयाँ व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

प्रकाशित : चैत्र १९, २०७९ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?