कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

मेयर महर्जनले बुझाए मेट्रो रेलको अवधारणापत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मेट्रो रेलको ‘रणनीतिक अवधारणापत्र’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई बुझाएका छन् । उपत्यकाका लागि मेट्रो रेल निर्विकल्प भएको भन्दै शुक्रबार काठमाडौं महानगर पुगेर महर्जनले अवधारणापत्र बुझाएका हुन् । उनले आफू सहयात्री बन्ने र मेयर शाहलाई मेट्रो रेलको नेतृत्व लिन अनुरोध गरेका छन् ।

मेयर महर्जनले बुझाए मेट्रो रेलको अवधारणापत्र

उपत्यकाको ट्राफिक व्यवस्थापन र ट्राफिक समस्याको दीर्घकालीन समाधानका लागि विज्ञहरूको अन्तर्राष्ट्रिय समूह ‘बृहत् काठमाडौं उपत्यका मेट्रो रेल प्रवर्द्धन समूह’ ले उक्त अवधारणापत्र तयार पारेको जनाएको छ । उक्त समूहमा डा.विनोद अमात्य, इन्जिनियर वदन न्याछ्योँ, डा.पुरु श्रेष्ठ, डा.श्रीगोविन्द शाह, इन्जिनियर अनन्त वैद्य, इन्जिनियर सुरेन्द्र जोशीलगायत विज्ञ छन् । समूहले काठमाडौं उपत्यका क्षेत्रमा मेट्रो रेल प्रणालीको आधारमा दीर्घकालीन विकास तथा एकीकृत यातायात व्यवस्थापनको अवधारणा तयार गरेको छ ।

मेट्रो रेलको विकल्प खोज्नु समय र स्रोतसाधनको दुरुपयोग मात्र ठहरिने मयेर महर्जनले प्रस्ट पारे । ‘धेरै खर्चर् र समय लाग्छ भनेर मेट्रो रेलका बारेमा निर्णय नगर्नु किमार्थ ठीक हुँदैन,’ उनले भने, ‘काठमाडौं उपत्यकालाई बस्नयोग्य सहर बनाउनका लागि मेट्रो रेल नल्याई सुखै छैन ।’ बेलैमा निर्णय नगरे उपत्यका बस्न अयोग्य सहर बन्ने दाबी गरे ।

काठमाडौं महानगरप्रमुख शाहले मेट्रो रेल उपत्यकाका लागि अत्यावश्यक भएको बताउँदै अन्य नगरपालिकासँग मेट्रो रेलका सन्दर्भमा अब योजनाबद्ध रूपमा छलफल सुरु गर्ने बताए । ‘अब मेट्रो रेलका बारेमा अन्य नगरपालिका र सरोकारवाला निकायसँगको छलफल सुरु गरौं,’ उनले भने । काठमाडौं महानगरले पनि मेट्रो रेलका बारेमा अनौपचारिक रूपमा सोधखोज गरिरहेको समेत उनले बताए । भेटघाटको क्रममा मेयर शाहले उपत्यकाकालाई बस्नयोग्य सहर बनाउन मेट्रो रेल अत्यावश्यक भएको प्रस्ट पारेका छन् । ‘मेट्रो रेलको योजना बनाउँदा कम्तीमा ५० वर्षको योजना बनाउनुपर्छ, एक सय वर्षलाई सोचेर योजना बनाउनु राम्रो हो, दुई/चारवर्षे योजनाले दीर्घकालीन प्रभाव पार्दैन र नागरिकलाई खुसी र सुख दिन सक्दैन,’ उनले भने ।

भेटघाट कार्यक्रममा ललितपुर महानगरका सल्लाहकार इन्जिनियर वदन न्याछ्योँले उपत्यकालाई बस्नयोग्य सहर बनाउन मेट्रो रेल ल्याउनै पर्ने बताए । अवधारणापत्रमा मेट्रो रेल ल्याउन करिब २ दशक लाग्ने र करिब १८ खर्ब लागत अनुमान गरेको छ । काठमाडौं उपत्यका दुई महानगर र अरू नगरपालिका र संघीय सरकारसँग समन्वय र सहकार्यर् ठूला योजना सम्पन्न गर्ने र त्यसअघि विज्ञहरूको सुझाव कार्यशाला आयोजना गरिने जनाइएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×