हिन्दी भाषाको अन्तर्राष्ट्रिय प्रयोगबारे बहस- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिन्दी भाषाको अन्तर्राष्ट्रिय प्रयोगबारे बहस

कान्तिपुर संवाददाता

काठमाडौँ — हिन्दी मञ्च नेपालले हिन्दी भाषालाई संयुक्त राष्ट्रसंघको आधिकारिक भाषाको रुपमा कायम गराउन पहल सुरु गरेको छ । विश्व हिन्दी दिवसको अवसरमा आइतबार ललितपुरस्थित हिन्दी भाषा गोष्ठीमा सहभागी वक्ताहरूले हिन्दी भाषा अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा आए त्यसको फाइदा नेपालीभाषीहरूलाई पनि हुने बताए ।

हिन्दी मञ्च नेपालका राष्ट्रिय अध्यक्ष एवं नेकपा एमालेका सांसद मंगलप्रसाद गुप्ताले अन्तर्राष्ट्रिय समुदायमा हिन्दी भाषाको प्रयोग बढ्नु नेपालीहरूका लागि पनि सुखद्‍ रहेको बताए । 'व्यवहारिक रुपमा हिन्दी भाषाले हामीलाई पनि फाइदा नै हुन्छ । भाषा आफैंमा खराब हुन सक्दैन । यसले त हाम्रो भावनालाई सहज रुपमा व्यक्त गर्न सघाउँछ । हिन्दी भाषाको अन्तर्राष्ट्रिय प्रयोगले संसारभर रहेका नेपालीभाषीलाई पनि रोजगारी र व्यवसायका लागि लाभ मिल्ने उनको भनाइ थियो ।

अध्यक्ष गुप्ताले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बानकी मुनसँगको भेटको क्रममा यसका लागि आफूले पहल गरेको पनि बताएका थिए । नेपालमा पनि हिन्दी मातृभाषा रहेको समुदाय ठूलो संख्यामा रहेको भन्दै नेता गुप्ताले यसको प्रयोगले नेपालीलाई अन्तर्राष्ट्रिय समुदायमा आफ्ना कुरा व्यक्त गर्न सहज हुने बताए ।

'नेपाली भाषालाई समृद्ध बनाउँदै विश्व समुदायमा हिन्दी भाषाको प्रयोग बढाउन सकियो भने व्यवहारिक रुपमा त्यो हाम्रो हितमा छ । नेपालकै इतिहास हेर्ने हो भने इतिहासमा भारतीय र नेपाली नेताहरूबीच जति पनि संवाद र सम्झौता भए हिन्दी भाषामा भएका थिए । अहिले अन्तर्राष्ट्रिय भाषा अंग्रेजी भए पनि नेपाल र भारतका नेताहरुबीच हिन्दी भाषामै सहज रुपमा संवाद हुने गर्छ,' अध्यक्ष गुप्ताले भने ।

यस्तै त्रिभुवन विश्वाविद्यालय हिन्दी भाषा विभागकी प्रमुख सन्जिता वर्माले शिक्षा तथा पठनपाठनको स्तरमा हिन्दी भाषाको प्रयोग गर्दा यो जीवनोपयोगी हुने बताएकी थिइन् । उनले हिन्दी भाषा र साहित्यलाई राजनीतिक तहबाट गलत रुपमा व्याख्या गरिएकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन् । 'पहिले हिन्दी भाषाको प्रयोग सहज रुपमा हुने गर्थ्यो । तर यसलाई गलत भनेर व्याख्या गर्न थालियो । भाषा आफैंमा खराब हुँदैन यसको सिकाइले हामीलाई आफ्ना कुरा व्यक्त गर्न सजिलो बनाउँछ,' वर्माले भनिन् ।

गोष्ठीमा एमालेका सांसद सेराज फारुकी र अमृता अग्रहरी, भारतीय दूतावासका सूचना तथा संस्कृति विभागका प्रमुख सत्येन्द्र दहीया, सत्य निरुपण तथा मेलमिलाप आयोगकी पूर्वआयुक्त मञ्चला झा, राजेन्द्र रौनियार लगायतले पनि हिन्दी भाषा साहित्यबारे आफ्ना विचार व्यक्त गरेका थिए ।

प्रकाशित : माघ ८, २०७९ २२:००
प्रतिक्रिया
पठाउनुहोस्

सोमबारदेखि देशभर वर्षा हुने

रासस

काठमाडौँ — मौसम विज्ञान विभागले भोलि (सोमबार) रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मंगलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए ।

यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । विभागको तथ्यांक अनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो । सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

अघिल्लो हिउँद अर्थात् सन् २०२१ को डिसेम्बर १ देखि २०२२ को जनवरी १८ सम्ममा २७ दशमलव एक मिलिमिटर पानी परेको थियो । नेपालमा मंसिर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिएको र यसवर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकाले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिए । उनका अनुसार हिउँदमा पानी कम पर्दा सुख्खा बढेको तथा यसको असर हिउँदे बालीमा प्रत्यक्ष देखिनुका साथै वहुआयामिक असर पर्नेछ ।

हिउँदमा पानी कम पर्दा पानीका मुहानहरु सुक्ने वा मुहानबाट कम पानी आउने, वायु प्रदूषण बढ्ने, डढेलोको जोखिम बढ्नेलगायतका समस्या आउनसक्ने जलवायु क्षेत्रका जानकारहरूले बताएका छन् ।

प्रकाशित : माघ ८, २०७९ २१:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×