१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

टुँडिखेलमा तीन दिवसीय सोनाम ल्होछार पर्व मनाइने 

सुशीला तामा‌ङ

काठमाडौँ — सोनम ल्होछार २८५९ औं हृयोअी तावार ल्हो (बिरालो वर्ष) को अवसरमा काठमाडौंको टुँडिखेलमा तीन दिवसीय ल्होछार पर्व मनाइने भएको छ । ल्होछार मूल समारोह समितिले बिहीबार बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराएको हो ।

टुँडिखेलमा तीन दिवसीय सोनाम ल्होछार पर्व मनाइने 

समितिकाअनुसार तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ–संस्थाहरुको सहभागितमा टुँडिखेलमा शुक्रबार, शनिबार र आइतबार ल्होछार पर्वलाई हर्षोल्लासका साथ मनाउन लागिएको हो । तीन दिनसम्म मनाइने महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरु ताम्बा, बोन्पो तथा लामा गुरुहरुद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढी र ख्यातिप्राप्त कलाकारहरुद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुतिहरु हुनेछन् । यस्तै तामाङ समुदायको मौलिक खानाका परिकार, भेषभुषा, तामाङ जातिसम्बन्धी पुस्तक, गीति क्यासेट तथा परम्परागत वस्तुहरुलाई स्टलमा प्रदर्शन गरिने घेदुङका सहअध्यक्ष कुमारसिं घिसिङले बताए । उनका अनुसार पहिलो दिन शुक्रबार अपराह्न ४ देखि बेलुकी ९ बजेसम्म सांस्कृतिक उपसमितिले कलाकारहरुद्वारा विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुति गर्नेछ । त्यस्तै दोस्रो र तेस्रो दिन बिहान ८ देखि बेलुकी १० बजेसम्म क्रमशःविशेष पूजापाठपछि सांगीतिक कार्यक्रमहरु तय गरिएका छन् । तेस्रो दिन १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालको समेत उपस्थितिमा विशेष समारोह रहने छ ।

तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार पर्वको विशिष्ट स्थान रहेकाले सम्पूर्ण समुदायलाई आ–आफ्नो स्थानबाट उत्साहका साथ मनाउन सहअध्यक्ष घिसिङले आग्रह गरे । ल्होछारले तामाङ जातिको उद्गम सभ्यता, संस्कृति, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्ने उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमारसिं घिसिङ, उपाध्यक्ष रामकृष्ण ब्लोन, उपाध्यक्ष सीता लामा, कार्यवहाक महासचिव जगतमान लामा दोङलगायत घेदुङका पदाधिकारी र विभिन्न सञ्चारमाध्यमका पत्रकारहरु सहभागी थिए ।

तामाङहरुले मान्ने ल्होछार चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि सुरु हुन्छ । ‘ल्हो’को अर्थ साल, वर्ष र ‘छार’को अर्थ नयाँ अर्थात् नयाँ वर्ष भन्ने हुन्छ । विभिन्न पशुपंक्षीहरुको नामबाट १२ वटा ‘ल्हो’को नाम राखिएको हुन्छ । प्रत्येक वर्ष फेरिने दिनलाई समुदायले ल्हो पोबा/दोवा वा ल्होछार भनिन्छ ।

विगत झण्डै तीन दशकदेखि काठमाडौंको टुँडिखेलमा तीन दिवसीय ल्होछार पर्व मनाइँदै आएको छ । कोरोना महामारीका कारण विगत दुई वर्ष भने समुदायले आ–आफ्नै घरमा ल्होछार मनाएका थिए । यस वर्ष ल्होछारको मुख्य दिन माघ ८ गते सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित : माघ ५, २०७९ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?