कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानलाई संगीत प्रवीण पुरस्कार

काठमाडौँ — शास्त्रीय गायिका शकुन्तला प्रधानले यस वर्षको संगीत प्रवीण नरराज ढकाल पुरस्कार पाएकी छन् । ढकालको १०१ औं जन्म जयन्तीका अवसरमा बधुबार संगीत प्रवीण नरराज ढकाल स्मृति प्रतिष्ठानले राजधानीमा गरेको कार्यक्रममा प्रधानलाई पुरस्कारसहित सम्मान गरेको हो ।

प्रधानलाई संगीत प्रवीण पुरस्कार

पाँच दशकदेखि शास्त्रीय गायनको माध्यमबाट नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै प्रतिष्ठानका अध्यक्ष प्रभुराज ढकाल, संरक्षक ज्योति ढकाल तथा संगीत प्रवीण मोहनप्रसाद जोशीले प्रधानलाई दोसल्ला ओढाई सम्मान गरे । पुरस्कारका कदरपत्र र नगद २० हजार रुपैयाँ राशि छ ।

कार्यक्रममा लक्ष्मणशमशेर प्रतिभा संगीत पुरस्कार सितारवादक धु्रवेशचन्द्र रेग्मी र तबलावादक सरिता मिश्रले पाए । दुवैलाई सम्मानपत्रसहित जनही १० हजार रुपैयाँ राशि प्रदान गरिएको थियो ।

कार्यक्रममा संविधानविद् भीमार्जुन आचार्य, जोशी, सम्मानित प्रधान तथा रेग्मीलगायतकाले संगीत प्रवीण ढकालको शास्त्रीय संगीतमा योगदानको चर्चा गरे । जोशीले ढकाललाई शास्त्रीय संगीतको विश्व विद्यालयका रूपमा स्मरण गरे ।

शास्त्रीय संगीतको पर्यायका रूपमा रहेका नरराज ढकालले सात दशक शास्त्रीय संगीत साधना गरेका थिए । शास्त्रीय संगीतलाई उनले नेपालमा बलियो स्तम्भ खडा गरेर नयाँ पुस्तामा विस्तार गर्न र औपचारिक अध्ययनका लागि सोही विषयमा दुई पुस्तकसमेत लेखेका थिए । उनको स्मरणमा परिवार तथा संगीतप्रेमीहरुको पहलमा एक दशकअघि प्रतिष्ठान स्थापना गरिएको हो ।

प्रकाशित : मंसिर १५, २०७८ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?