कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

मनबहादुर मुखियालाई भानुपाला नाट्य रत्न पुरस्कार

मनोज बोगटी

दार्जिलिङ — मञ्च थियो कालेबुङ रामकृष्ण रङ्गमञ्च । नाम रामकृष्ण रङ्गमञ्च भए पनि पहिलोपल्ट असली मानेमा रङ्गमञ्च बनेको थियो । मञ्चको बीचमा उभिएका थिए-मनबहादुर मुखिया । दर्शकदीर्घामा ललित गोले, चुन्निलाल घिमिरे, देवराज शेर्पा, मोहन-पुकार, मेनुका प्रधान, कमला लेप्चा, जीवन गुरुङ, पी. अर्जुनलगायतका दार्जिलिङका जानेमाने नाट्यकर्मीहरू थिए । 

मनबहादुर मुखियालाई भानुपाला नाट्य रत्न पुरस्कार

कालेबुङका विधायक रुदेन लेप्चाले उनलाई सल ओडाए, हातमा मायाको चिनो थमाए । उनलाई सम्मान प्रदान गर्दै गर्दा कार्यक्रमका उद्घोषक सुरजमणि प्रधानले भने‚ ‘नाट्य क्षेत्रका मिथ बनिसकेका मनबहादुर मुखियालाई पहिलो भानुपाला नाट्य रत्न पुरस्कार प्रदान गर्न पाउनु दार्जिलिङको अहोभाग्य हो ।’

भानुपाला नाट्य वेलफेयर एसोसिएसनले कालेबुङमा ‘नाटकवाला’ नामक दुईदिने नाट्य उत्सव गरेको थियो । त्यस्तै मेसोमा एसोसिएसनले मुखियालाई पहिलो भानुपाला नाट्य रत्न पुरस्कार दिइरहेको थियो ।

‘अनि देउराली रुन्छ मञ्चन गरेको अर्धशताब्दी पुग्यो । जुन माटोमा म नाटकवाला बनेको थिएँ, त्यही माटोमा उभिएर यो सम्मान ग्रहण गरिरहेको छु,’ मुखियाले भने, ‘यो मलाई दिएको पुरस्कार होइन; यो हामी सबै नाटकवालाहरूलाई दिएको सम्मान हो ।’

आफू काठमाडौं बसे पनि उनको मन दार्जिलिङकै चियाबगान, पहाड, कन्दरातिर डुलिबस्ने उनले बताए । ‘काठमाडौंले त नाटकलाई दर्शकको पहिलो छनोट बनाइसकेको छ,’ उनले सुनाए, ‘अब दार्जिलिङले पनि पुरानो गरिमा फर्काउन उस्तै मेहनत गर्नैपर्छ ।’

उत्सवमा सिलगढीका कलाकारहरूले राजु शासङ्करको लेखन/निर्देशन रहेको ‘समय अनि बाध्यता’, पार्थो चौधुरीको लेखन/निर्देशन रहेको ‘आखरी इनाम’, रणजीत सिंहको लेखन/निर्देशन रहेको ‘ममता’, अरुण प्रकाश राईको लेखन/निर्देशन रहेको ‘कुर्सी राजाको खेल’‚ अमजद प्रवेज र घिमिरे युवराजको लेखन/निर्देशन रहेको ‘हिउँको पृथ्वी यात्रा’ नाटक मञ्चन गरिएको थियो ।

त्यस्तै मेसोमा सिक्किम, कालेबुङ र काठमाडौंका नाट्यकर्मी मनबहादुर मुखिया, घिमिरे युवराज, चुन्निलाल घिमिरे, ललित गोले अनि अरुण प्रकाश राई ‘खै नाटक’ शीर्षकको बहसमा समेत सहभागी बनेका थिए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?