कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वपरराष्ट्र सचिव भट्टराईको ‘चार कूटनीतिज्ञ’ सार्वजनिक

काठमाडौँ — पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईको ‘चार कूटनीतिज्ञ’ नामक पुस्तक शुक्रबार सार्वजनिक भएको छ । भट्टराईले परराष्ट्रका चार पूर्वपरराष्ट्रहरुविद रामप्रसाद मानन्धर, शोभागजंग थापा, पद्‌मबहादुर खत्री र झरेन्द्रनारायण सिंहको जीवनीको दस्तावेजिकरण गरेका छन् ।

पूर्वपरराष्ट्र सचिव भट्टराईको ‘चार कूटनीतिज्ञ’ सार्वजनिक

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशनमा ल्याएको पुस्तकको परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्व मुख्यसचिव लिलामणि पौड्याल, प्राध्यापक मिना वैद्य मल्ल र लेखक स्वयंले संयुक्त रुपमा विमोचन गरे ।

परराष्ट्रमन्त्री साउदले लेखक भट्टराईले उक्त पुस्तक कूटनीतिक क्षेत्रको आधिकारिक दस्तावेजको रुपमा प्रस्तुत गरेको बताए ।

‘उहाँ हाम्रो परराष्ट्रको इनसाइक्लोपेडिया हुनुहुन्छ । यो किताब पनि सबै कूटनीतिक क्षेत्रको जागिर खाने तथा अन्यका लागि पनि पठनीय हुन्छ,’ मन्त्री साउदले भने । उनले कूटनीति दलीयकरण नभएर मुलुकको हितको लागि हुनुपर्ने बताए ।

पूर्वमुख्यसचिव पौड्यालले पुस्तकले पात्रहरुको बारेमा मात्र नभएर त्यस बेलाको घटनाहरुको बारेमा पनि जानकारी दिएको बताए । ‘ती घटनाक्रमहरुलाई हेर्दा नेपाल सार्वभौम राज्य रहने हो वा होइन भन्ने देखिन्छ । यसले विशेषगरी सन् १९५० को भारतसँगको शान्ति तथा मैत्री सन्धि र त्यसपछिका घटनाक्रमहरुलाई देखाएको छ,’ उनले भने ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पुस्तकले नेपालको इतिहास, विदेश सम्बन्ध र त्यस बेलाको भूराजनीतिक विषयमा जानकारी दिएको बताए । ‘नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बनेको समय र त्यसबेला राष्ट्रिय स्वाधिनता राख्ने तथा आन्तरिक सम्बन्ध बनाउने पात्रहरुको बारेमा पुस्तकमा उल्लेख गरिएको छ,’ उनले भने ।

प्राध्यापक मल्लले पुस्तकले कूटनीतिक र कूटनीतिज्ञहरुको उजागर नगरिएका विषयलाई उजागर गरिएको बताइन् । ‘नेपालको कूटनीति र कूटनीतिज्ञको इतिहासमा धेरै कम नै पुस्तक आएका छन् । एक जना कूटनीतिज्ञले चार जना कूटनीतिज्ञलाई अगाडि ल्याउनुभएको छ,’ उनले भनिन् ।

परराष्ट्र सचिव पौड्यालले व्यक्तिहरुका बारेमा लेख्ने र सार्वजनिक रुपमा ल्याउने काम अत्यन्तै गाह्रो रहेको उल्लेख गर्दै लेखक भट्टराईले अनुसन्धान र प्रतिअनुसन्धान गरेर पुस्तक बाहिर ल्याएको बताए । ‘हामी उहाँ (लेखक भट्टराई) लाई जिउँदो हिँड्ने इनसाइक्लोपेडिया भन्ने गरेका छौं । यो हाम्रो लागि धेरै फाइदाको कुरा पनि हो,’ उनले भने ।

लेखक भट्टराईले आफूलाई पुस्तकको लेखकभन्दा पनि संयोजकनकर्ता भएको बताए । प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक राजेन्द्र पाण्डेले नेपालको यूएनमा सहभागितादेखि अन्य महत्वपूर्ण विदेश सम्बन्धको बारेमा मिहिन ढंगबाट पुस्तकमा पाएको पाउँदा खुसी लागेको बताए ।

प्रकाशित : असार १५, २०८० १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?