पाँच स्रष्टालाई कविडाँडा साहित्य  सम्मान

रमेशकुमार पौडेल

चितवन — कविडाँडा साहित्य समाजले पाँच जना लेखक, साहित्यकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । समाजको २० औं वार्षिकोत्सवको अवसरमा शनिबार भरतपुरको कविडाँडामा आयोजित कार्यक्रममा १५ हजार १६० रूपैयाँ राशिको कविडाँडा साहित्य सम्माान तथा देव-खीना स्मृति पुरस्कार २०७९  लेखक साहितयकार  रेशम विरही र तुलसी थापालाई प्रदान गरिएको हो ।

भरतपुर महानगरपालिका-१६ बस्ने रेशम विरहीका 'मुलाको बोक्रा', 'आलीमुनिको झ्याउँकिरी', 'भित्ताको रंग' मंगली गुप्ताको 'पान पसल', 'थालथालमा सपना' जस्ता कवितासंग्रह, 'सुन्दर बस्ती' बालकाव्य, 'देब्रे आँखा' र 'सत्ता र स्वप्नदोष' जस्ता निबन्धसंग्रह र 'प्रेमदासको डायरी' उपन्यास प्रकाशित छन् । वि.स‌ं. २००९ सालमा जन्मेका विरही साहित्यसँगै पत्रकारिता क्षेत्रमा पनि सक्रिय छन् ।

त्यसैगरी मकवानपुरका तुलसी थापा कथा र कविता लेखनमा सक्रिय छन् । वि.सं. २००२ सालमा मकवानपुरको भैसेमा जन्मेका थापाका 'अपरेशन टेबलबाट उठ्दै गर्दा' र 'जीवनका मोडहरू र जीवन प्रवाहका धार' कथासंग्रह प्रकाशित छ । थापाको मसिना कविताहरूको संग्रह 'निमेषको अन्तर' पहिलो कृति हो ।

कविडाँडा अविनाशी उत्कृष्ट कृति पुरस्कार २०७८ 'मोक्ष' उपन्यासका लागि सिर्जन अविरलले प्राप्त गरे । पुरस्कार राशि १५ हजार १६० रूपैयाँ छ । कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले पाए । पुरस्कारको राशी ३० हजार १६० रूपैयाँ छ । कविडाँडा राष्ट्रिय युवा वाङ्ममयी पुरस्कार तथा सम्मान युवा गजलकार लेखराम सापकोटालाई प्रदान गरिएको छ । ४० वर्ष नकटेका साहित्यसँग जोडिएकाले यो पुरस्कार पाउँछन् । पुस्कार राशि १५ हजार १६० रूपैयाँ रहेको छ ।

संस्थाले पुरस्कार र सम्मानका साथै नेपाली साहित्यका विविध पक्षहरूका बारेमा समय समयमा राष्ट्रियस्तरका गोष्ठीहरू पनि गर्दै आएको बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १०:११
प्रतिक्रिया
पठाउनुहोस्

अस्ट्रेलियामा १५३ पेसामा कामदार अभाव

भिक्टोरिया र न्यु साउथ वेल्स राज्यले सहयोगका लागि केन्द्र सरकार गुहारे
नारायण खड्का

अस्ट्रेलिया — कोरोनाको महामारीका कारण अस्ट्रेलियामा देखिएको कामदार अभाव पछिल्लो समय झन् बढेको छ । अस्ट्रेलियाभर हाल विभिन्न १ सय ५३ पेसामा कामदार अभाव रहेको जनाइएको छ ।

दुई वर्षअघि कोरोना महामारी सुरु भएसँगै गरिएको लकडाउनका कारण अस्ट्रेलियाका अधिकांश क्षेत्रमा कामदारको समस्या भएको थियो । सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गरेपछि बर्सेनि लाखौंको संख्यामा आउने अन्तर्राष्ट्रिय विद्यार्थी तथा दक्ष कामदार आउन नपाएका कारण अभाव झन् चर्केको थियो । तर पछिल्लो समय सीमा खुला गरेको सरकारले वर्किङ होलिडे भिसालगायतका विभिन्न कार्यक्रम पनि कार्यान्वयमा ल्याएको छ । तर कामदार अभाव भने उस्तै छ ।

सरकारको पछिल्लो तथ्यांकअनुसार ६ राज्य तथा २ टेरिटोरीमा नै विभिन्न पेसामा कामदारको अभाव छ । तीमध्ये दुर्गम क्षेत्रमा अभाव अझै बढी छ । समग्र अस्ट्रेलियामा १ सय ५३ पेसागत क्षेत्रमा कामदार अभाव भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेसनल स्किल कमिसनको तथ्यांकअनुसार अस्ट्रेलियाका अधिकांश राज्य तथा टेरिटोरीका दुर्गम क्षेत्रमा कामदार अभाव चर्को देखिएको छ । जनसंख्याको हिसाबले ठूला न्यु साउथ वेल्स र भिक्टोरियामा २ सय ४३ र भिक्टोरियामा मात्रै १ सय ६५ पेसामा कामदार अपुग छ । कामदारको समस्या बढेसँगै दुई ठूला राज्य भिक्टोरिया र न्यु साउथ वेल्सका प्रमुखले केन्द्र सरकारसँग मिलेर समस्या समाधान गर्न पहल सुरु गरेका छन् । न्यु साउथ वेल्स राज्यका प्रिमियर डोमिनिक पेरोटेटले १८ महिनासम्म दक्ष कामदारले भिसा पाउनका लागि पर्खन पर्ने अवस्था रहेको जनाउँदै दुवै राज्यले अझै लामो समयसम्म कामदार अभाव झेल्नुपर्ने बताए । भिक्टोरिया तथा न्यु साउथ वेल्समा शिक्षा, स्वास्थ्य तथा निर्माणलगायत क्षेत्रमा कामदारको ठूलो अभाव छ । पेरोटेटले आफूले प्रधानमन्त्री एन्थोनी अल्बानिजीसँग कामदार अभाव पूर्ति गर्ने विषयमा छलफल गरेको र त्यसमा भिक्टोरियाका प्रिमियर ड्यानिल एन्ड्रुज पनि सहमत रहेको बताएका छन् ।

त्यस्तै, अस्ट्रेलियाको उद्योग समूहले पनि सरकारलाई स्थायी दक्ष आप्रवासीको तहलाई आगामी दुई बर्षका लागि बढाउन अनुरोध गरिसकेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिजनेस काउन्सिलले स्थायी आप्रवासको संख्या आगामी आर्थिक वर्षका लागि २ लाख २० हजार पुर्‍याउन सरकालाई गत महिना नै सुझाव दिएको थियो । जसमा १ लाख ५४ हजार दक्ष कामदारको संख्या तोकिनुपर्ने माग काउन्सिलको छ । अस्ट्रेलियाको गृह मन्त्रालयका अनुसार सन् २०२२/२३ मा आप्रवासी कार्यक्रमअन्तर्गत १ लाख ६० हजार जना भित्र्याउने जनाइएको छ । त्यसमध्ये १ लाख ९ हजार ९ सय जनालाई जनशक्ति अभाव कम गर्न ल्याइने र अन्य पारिवारिक भिसा कार्यक्रमअन्तर्गत भित्र्याइने जनाइएको छ ।

अस्ट्रेलियामा हालको बेरोजगार दर ३.९ प्रतिशत छ । जुन सन् १९७४ यताकै सबैभन्दा कम हो । बेरोजगार दर अत्यन्तै कम भए पनि स्वास्थ्यलगायतका क्षेत्रमा सबैजसो राज्यमा जनशक्ति अभाव छ । बिरामीको संख्या बढी भएकाले सेवा दिन निकै गाह्रो भएको भन्दै केही महिनाअघि अस्ट्रेलियका नर्सहरूले आन्दोलन चर्काएका थिए ।

अस्ट्रेलियाले केही महिनाअघि भारतसँग वार्षिक एक हजार कामदारलाई वर्किङ होलिडे भिसा दिने सहमति गरिसकेको छ । सन् २०२४ देखि सुरु हुने भनिएको कार्यक्रम अन्तर्गत १८ वर्षदेखि ३० वर्षसम्मका भारतीय नागरिकले अधिकतम एक वर्षसम्मका लागि वर्किङ होलिडे भिसा पाउनेछन् ।

नेपाल सरकारले पनि कूटनीतिक पहल गरेको खण्डमा यस्ता कार्यक्रममा सहभागी हुन सक्ने सम्भावना रहेको अध्यागमन क्षेत्रका जानकारहरूको भनाइ छ । तर लामो समयसम्म राजदूत पद खाली रहने तथा कूटनीतिक पहल नभएकाले नेपाल अस्ट्रेलियाको प्राथमिकतामा पर्न सकेको छैन ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×