कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

दार्चुलाको साहित्य–संस्कृति सम्झाउँदै खलंगा–महोत्सव

मनोज बडू

दार्चुला — साहित्यमार्फत जिल्लाको कला, संस्कृति र साहित्यलाई उजागर गर्ने उद्देश्य राखेर दार्चुलामा बृहत साहित्य महोत्सव सम्पन्न भएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित तारा–किसन फाउन्डेसनको आयोजनामा सदरमुकाम खलंगामा सम्पन्न महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका १ सयभन्दा बढी साहित्यकारको उपस्थिति रहेको थियो ।

दार्चुलाको साहित्य–संस्कृति सम्झाउँदै खलंगा–महोत्सव

स्थानीय मौलिक संस्कृति झल्किने झाँकीको प्रस्तुतिसहित सुरु गरिएको महोत्सवमा स्रष्टाहरुले आफ्ना रचनाहरुको वाचन गर्दै साहित्यिक सम्पर्क तथा समन्वयको आग्रह राखेका थिए ।

फाउन्डेसनका संरक्षक किसनसिंह धामीले ‘दार्चुलाको संस्कृति, कला र साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नुका साथै दार्चुलालाई राष्ट्र–अन्र्तराष्ट्रियस्तरमा चिनाउन पहिलो पटक आफ्नै जन्मभूमिमा साहित्य महोत्सवको आयोजना गरिएको’ जानकारी दिए । दार्चुलामा साहित्यिक महोत्सव आयोजना गर्ने तयारी डेढ वर्षयता चलेपनि यस बीचको कोरोना महामारी तथा आवागमनको असहज परिस्थितीले महोत्सव आयोजनामा ढिलाइ भएको जानकारी दिएका थिए । उनले भाषा–साहित्यसहितका विविध विषयमा विचार मन्थन, लेखक–पाठक अन्र्तक्रिया र विदेशी स्रष्टासँंग साक्षात्कार गराउने तथा स्थानीय साहित्य–संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने माध्यमका रुपमा महोत्सवलाई उपयोग गरिने बताए ।

साहित्य महोत्सवमा बोल्दै सुदूरपश्चिम विश्व विद्यालयका उपकुलपति प्राध्यापक अम्माराज जोशीले सुदूरपश्चिमको भाषा, साहित्य तथा संस्कृति पहिचान गराउन तारा किसन फाउन्डेसनले खेलेको भूमिकाको सहअना गरेका थिए । नाट्यकर्मी अशेष मल्लले दार्चुलाको साहित्य–संस्कृतिले अब काठमाण्डौलाई झकझक्याउनुपर्ने बताए । ‘पर्यटक भित्र्याउन यहाँको भर्जिन संस्कृति महत्त्वपूर्ण छ, यसको प्रसार र विक्री गर्न सक्नुपर्छ,’ मल्लले भने— ‘त्यसका लागि यस्ता साहित्य सम्मेलन स्थानीय तहमा मात्र नभई दार्चुलाको संस्कृति काठमाडौंमा प्रस्तुत हुनु जरुरी हुन्छ ।’

काठमाडौंबाट महोत्सवमा सहभागी हुन आएका अधिकांश सहभागीले ‘दार्चुलाको संस्कृति विशिष्ठ किसिमको रहेको र यसबारेको प्रचारप्रसारमा जोड दिन सकेमा दार्चुलाको नभई समग्र सभ्यता–संस्कृति समृद्ध हुने’ धारणा राखेका थिए ।

महोत्त्सवका अवसरमा कवि किसनसिंह धामीको कविता अंग्रेजी संस्करण ‘एटलान्टिक’ तथा लोकेन्द्रबहादुर बम र नरेन्द्रसिह बडालको मुक्तक संग्रह ‘छुटेका यादहरु’ कृतिको विमोचन गरिएको छ । धामीको अंग्रेजी कृतिमाथि नेपालीका प्राध्यापक खगेन्द्रप्रसाद लुईटेल र मुक्तक संग्रहमाथि समीक्षक ज्ञानु अधिकारीले टिप्पणी गरेका थिए । धामीको कृति ‘एटलान्टिकका भङ्गालाहरु’ को अनुवाद ‘एटलान्टिक’ प्राध्यापक राजन थपलियाले गरेका हुन् ।

हिमाल डेन्टल हस्पिटलको सहकार्य तथा दार्चुला साहित्य समाजको समन्वयमा आयोजित महोत्सवमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, अमेरिकाबाट आएकी साहित्यकार निलम कार्की‘निहारिका’, ‘मधुपर्क’का सम्पादक जयदेव भट्टराई, दार्चुला साहित्य समाजका अध्यक्ष नरेन्द्रसिंह बडाल, समीक्षक डा.लक्ष्मणप्रसाद गौतम, महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिरलगायतले मोफसलमा देखिएको साहित्यिक–सांस्कृतिक सृजनशिलताका बारेमा मन्तव्य राखेका थिए । उक्त अवसरमा जिल्लाका ९ वटै स्थानीय तहका मौलिक झाँकीको प्रदर्शनी, जिल्ला स्तरिय माध्यमिक तह कविता प्रतियोगिता समेत सम्पन्न भयो । तारा किशन फाउन्डेसनका अध्यक्ष तारा धामीको अध्यक्षतामा सञ्चालित महोत्सवलाई एउटा प्रेरणाको रुपमा लिएर यो महोत्सवलाई सकेसम्म वार्षिक रुपमा निरन्तर सञ्चालन गरिने भएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७९ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×