विमल निभाको ‘डेगेन्द्र राजवंशीको आत्महत्या’सार्वजनिक- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमल निभाको ‘डेगेन्द्र राजवंशीको आत्महत्या’सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको तत्कालीन मुख्यालय बल्खुमा आत्महत्या गरेका झापा आन्दोलनका योद्धा तथा कम्युनिस्ट कार्यकर्ता डेगेन्द्र राजवंशीलाई काव्यबिम्ब बनाएर कवि विमल निभाको नयाँ पुस्तक प्रकाशित भएको छ । ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ शीर्षकको पुस्तक कवि निभाको चौथो कविता सङ्ग्रह हो ।

चितवनमा सम्पन्न हुन लागेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा कवि निभाले एमालेको राजनीतिमा खासै चर्चा नगरिने घटनालाई विम्ब बनाएर कविताका माध्यमबाट पुनः बहस आमन्त्रण गरेका छन् । निभाले डेगेन्द्र राजवंशीको आत्महत्यालाई ‘नृशंसतापूर्वक’ गरिएको ‘आत्महत्यात्मक हत्या’ भनेका छन् । कवितामार्फत कवि भन्छन्–

"कम्युनिस्ट पार्टीको त्यो हेडक्वार्टरमा

जहाँ कमरेड डेगेन्द्र राजवंशीको

आत्महत्यात्मक हत्या भएको थियो नृशंसतापूर्वक

त्यहाँ बिहानैदेखि नै

पोलिट्ब्युरोको मिटिङ भइरहने गर्छ प्रतिदिन

र, पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव,

र, स्थायी कमिटीका मेम्बरहरु

गरिब, दुःखी र सर्वहाराहरुका

सम्पूर्ण पक्षमा गर्ने गर्छन्

निरन्तर लामा–लामा

अलौकिक बहस, छलफल र वार्ता !"

‘आलुबखडाको बोटमा जुन दिन डेगेन्द्र राजवंशी पासो लागे, त्यो दिन नेपालको कम्युनिस्ट आन्दोलनले पनि एक किस्ता मृत्यु बेहोर्‍यो,’ नयाँ कविता सङ्ग्रहका सन्दर्भमा प्रकाशन संस्था ‘बेला पब्लिकेसन्स’का सम्पादक विनोदविक्रम केसीले भने, ‘अविराम उही आन्दोलनको अंश रहेका कवि विमल निभालाई दारुण विम्बका हैसियतले डेगेन्द्रले सदैव आलो रहने शोक दिए, यो कविता सङ्ग्रह डेगेन्द्रकै नाममा सचोट र सआक्रोश समर्पित छ ।’

निभाका यसअघि तीन कविता सङ्ग्रह– ‘आगोनेर उभिएको मानिस’, ‘एउटा बाहुला नभएको बुसर्ट’, ‘जोकरको बन्दुक’ र दुई व्यंग्य निबन्ध संग्रह ‘चौथो कालम’ र ‘डाइनोसोर जिउँदो छ’ प्रकाशित छन् । उनले नेपालका प्रमुख पत्रिकाहरुमा लामो समयदेखि व्यंग्य स्तम्भ पनि लेख्दै आएका छन् ।

प्रकाशित : मंसिर ९, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा पार्टी नेतृत्वलाई चुनौती दिने गरी नेताद्वय राजेन्द्रप्रसाद लिङ्देन अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य झापाका लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, अभिनेत्री रेखा थापालगायतका नेताहरूको साथ रहेको छ ।

पार्टी स्थापनाकालदेखि नै नेतृत्व तहमा रहँदै आएका शीर्ष नेताहरूले आसन्न महाधिवेशनमा पनि अरूलाई अवसर नदिने संकेत गरेपछि लिङ्देन र राणाको समूह अघि सरेको हो । दुवै नेता दुई वर्षयता पार्टीमा जिम्मेवारीविहीन छन् । ‘प्यानल’ नै बनाएर महाधिवेशनमा जाने उनीहरूको योजना छ । यसअघि दुवै जना राप्रपाका तीन अध्यक्षमध्येका एक कमल थापानिकट थिए । अहिले राप्रपामा पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी पनि अध्यक्ष छन् । तीनै जना यस पटक पनि अध्यक्षका दाबेदार हुन् ।

तस्बिर : मकर श्रेष्ठ

लिङ्देन राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का संस्थापक अध्यक्ष पनि हुन् । राणा एमालेको राजनीतिबाट उदाएका युवा नेता हुन् । राणा २०५४ मा एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाका मेयर थिए । राजतन्त्रविरुद्ध एमालेसहितका दलहरू एकजुट भएपछि राणा पार्टी परित्याग गरी राप्रपामा लागेका हुन् । पछिल्लो पटक २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले देशभर नराम्ररी पराजय व्यहोरेका बेला नेपालगन्ज उपमहानगरको मेयरमा राणा निर्वाचित भएका थिए ।

तस्बिरहरू : इलिट जोशी/कान्तिपुर

पार्टीले कांग्रेससँग तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लडेका बेला लिङ्देन एमाले–माओवादी गठबन्धनसँग तालमेल गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । झापामा अरू निर्वाचन क्षेत्रमा एमालेलाई सहयोग गरेर लिङ्देनले क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।

काठमाडौंमा मंसिर १५–१७ मा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि छनोट भइसकेका छन् ।

प्रकाशित : मंसिर ९, २०७८ ११:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×