‘संकलित गद्यरचना’लाई अरनिको पुरस्कार


ललितपुर — कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ कृतिले २०७७ को अरनिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार पाएको छ । गैरआवासीय नेपाली संघको भाषा–साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले राष्ट्रिय विभूति अरनिको नाममा स्थापना गरेको २ लाख रुपैयाँ राशिको पुरस्कार पहिलो पटक अधिकारीको कृतिलाई प्रदान गरिएको हो ।

संस्कृतिविद् सत्यमोहन जोशी निवासमा भएको समारोहमा एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले ‘अभिलेखबद्ध पहिलो एनआरएन सदस्यका रूपमा विभूति अरनिकोलाई मान्न सकिने भनेर संस्कृतिविद् जोशीले दिएको सुझावअनुसार’ यो पुरस्कारको नामकरण गरिएको बताए । रुसबाट १८ वर्षअघि सुरु भएको एनआरएनए आज विश्वका ८५ देशमा विस्तारित भइसकेको भन्दै लामिछानेले गैरआवासीय हैसियतमा बाहिरी विश्वमा बसेर नेपाली भाषा–साहित्यमा सिर्जनागत योगदान दिनेलाई हरेक वर्ष अरनिको साहित्य पुरस्कार प्रदान गरिने जानकारी दिए । पुरस्कृत व्यक्तित्वबारे टिप्पणी गर्दै उनले आफूलाई सही लागेका कुरा निर्भीक भएर लेख्ने अर्थमा हरि अधिकारी एउटा ‘ब्रान्ड’ भएको बताए । समारोहमा संस्कृतिविद् जोशीले लेखक अधिकारीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
ध्रुवचन्द्र गौतम संयोजकत्वमा रहेको पुरस्कारको निर्णायकमा ज्ञानू पाण्डे, हरिराज भट्टराई र नयनराज पाण्डे सदस्य थिए । तेह्रौं शताब्दीमा चीनमा गएर नेपाली वास्तुकलाको ख्याति फैलाउने पाटन, ललितपुरका कलाकार अरनिकोका नाममा अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरिएकोमा संस्कृतिविद् जोशीले प्रसन्नता व्यक्त गरेका थिए ।