२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

इङ्नामलाई मदन, थापालाई जगदम्बाश्री

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखक भगिराज इङ्नामले मदन पुरस्कार र नृत्यशास्त्री भैरवबहादुर थापाले जगदम्बाश्री सम्मान पाएका छन् । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बुधबार पाटनढोकामा आयोजित कार्यक्रममा दुवै स्रष्टालाई पुरस्कार र सम्मान हस्तान्तरण गरेका हुन् ।

इङ्नामलाई मदन, थापालाई जगदम्बाश्री

लेखक इङ्नामको अनुसन्धानमूलक पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्ताबेज संग्रह संवत् १७१९–२०२०’ का लागि पुरस्कार दिइएको हो । त्यस्तै नृत्यशास्त्री थापालाई ६ दशकभन्दा बढी नेपाली नृत्यमा गरेको योगदानका लागि जगदम्बाश्री हस्तान्तरण गरिएको हो ।

गुठी अध्यक्ष दीक्षितले इङ्नामको कृतिले नेपाल बुझ्ने फरक सामग्री दिएको र थापाले नेपाली नृत्य विधालाई उचाइमा पुर्‍याउनका लागि गरेको अध्ययन, अनुसन्धान र प्रयोगात्मक ज्ञान नेपालीका निम्ति अविस्मरणीय रहेको बताए । सम्मान ग्रहण गर्दै इङ्नामले मदन पुरस्कार पाउँदा लिम्बूवानको इतिहास अनुमोदन गरेको महसुस भएको बताए ।

पुस्तकबाट आफू मात्र नभई पुस्तकमा परेका अभिलेखहरू उपलब्ध गराउने सबै जना सम्मानित भएको भनाइ उनले राखे । यसले अन्य ऐतिहासिक कागजात खोज–अनुसन्धानकर्तालाई प्रेरणा दिने उनको भनाइ छ । सम्मानित भएपछि नृत्यशास्त्री थापाले आफ्नो कामको मूल्यांकन भएको भन्दै खुसी व्यक्त गरे । राज्यले नगरेको मूल्यांकन मदन पुरस्कार गुठीले गरेको भनाइ उनको थियो ।

समारोहमा ऋतु संस्कृतिबारे इतिहासकार गौतमव्रज वज्राचार्यले अमेरिकाबाट भर्चुअल रूपमा विद्वत् प्रवचन प्रस्तुत गरेका थिए । प्रवचनमा नेवार संस्कृति र वैदिक साहित्यमाथि प्रकाश पारिएको थियो ।

प्रकाशित : कार्तिक २५, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?