कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सौराहामा नेपाल-भारत साहित्य उत्सव हुँदै

रमेशकुमार पौडेल

चितवन — कविडाँडा साहित्य समाज चितवनले सौराहामा दुई दिन ‘नेपाल–भारत साहित्य उत्सव’ आयोजना गर्दैछ । शनिबार र आइतबार सञ्चालन हुने उक्त कार्यक्रममा नेपाली भाषामा लेख्ने दुवै देशका साहित्यकारहरु सहभागी हुने छन् ।

सौराहामा नेपाल-भारत साहित्य उत्सव हुँदै

कार्यक्रममा विभिन्न विषयका ६ वटा कार्यपत्रहरु पेस हुने छन् । त्यसै गरी दुईवटा विषयमा परिचर्चा हुने आयोजक संस्था कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए ।

कात्तिक २७ गतेको उद्घाटन समारोहमा नेपालका साहित्यकार, समालोचकहरु मुकुन्दशरण उपाध्याय, इल्या भट्टराई, डीआर पोखरेल, श्रवण मुकारुङ र भारतका कवि मनप्रसाद सुब्बालाई सम्मानित गर्ने कार्यक्रम रहेको क्षेत्रीले बताए । त्यसैगरी कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार आख्यानकार श्याम साहले पाउने छन् । उनको कृति कथासंग्रह ‘पथेर’लाई सो पुरस्कार दिन लागेको क्षेत्रीले बताए ।

त्यसैगरी कविडाँडा अविनासी कृति पुरस्कार संयुक्त रुपमा ग्रिन टावेल कथा संग्रहका लागि शान्ती शर्मा र निर्णय कथासंग्रहका लागि गायत्री अधिकारीलाई दिइने छ । कविडाँडा युवा वाङ्मयी सम्मान तथा देव–खीना स्मृति पुरस्कार कथाकार, कवि तथा संगीतकार निर्दोष जीवनले पाउँदैछन् । कविडाँडा साहित्य समाजले आयोजना गरेको निवन्ध प्रतियोगिताका पाँचजना विजेतालाई पनि सोही कार्यक्रममा पुरस्कृत गरिने छ ।

भारतबाट गोमा अधिकारीले ‘भारत, नेपाल र लाहुर : एक ऐतिहासिक विमर्श’ विषयमा र नेपालबाट केशव चालिसेले ‘साहित्यमा केन्द्र र परिधि : उत्तरवर्ती विचारहरु’ विषयमा कार्यपत्र पेस गर्दैछन् । ‘सन् २००० पछिको भारतीय नेपाली साहित्य : लक्षण र गति’ विषयमा भारतका नवीन पौडेलले अर्को कार्यपत्र पेश गर्ने छन् । आयामेली कवितामा भारत नेपाल विषयमा भारतका टिबी क्षेत्रको कार्यपत्र पेस हुँदैछ ।

नेपालका अशोक थापाले ‘नेपाली भाषाको भूगोल, विचलन मानकीकरणका प्रश्नहरु’, लीला लुइँटेलले ‘नेपाली साहित्यमा नारी श्रष्टा : सन्दर्भ नेपाल र भारत’ विषयमा कार्यपत्र पेस गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी ‘विश्व साहित्यमा नेपाली–गोर्खाली आवाज’ विषयमा हुने परिचर्चामा सरिता शर्मा, नीलम कार्की निहारिका, राजा पुनियानी, शरद प्रधान, राहुल राई सहभागी हुनेछन् ।

त्यसै गरी ‘साहित्यिक आदनप्रदान, बजार विस्तार–सन्दर्भ नेपाल र भारत’ विषयको परिचर्चामा भिष्म उप्रेती, रेनिका थापा, रामलाल जोशी, अर्जुन अधिकारी र युवा बरालले भाग लिने अध्यक्ष क्षेत्रीले जानकारी दिए । भारतबाट आएका जय क्याक्टस र नेपालका प्रध्यापक कपिल अज्ञातले अनुभव कथन राख्ने छन् । भारतबाट ३५ र नेपालबाट चितवन आसपासबाहेकका पनि ३५ जना साहित्यकार सहभागी हुने क्षेत्रीले बताए ।

‘नेपाली साहित्यको विकासमा नेपाली भषा र विषयमा लेख्ने भारतीय साहित्यकारहरुको ठूलो योगदान छ । दुवै देशका साहित्यकारहरुको अनुभव आदान प्रदानले नेपाली साहित्यलाई झनै उन्नत बनाउने छ । यही आशाले कार्यक्रम आयोजना गरेका हाँै,’ कविडाँडा साहित्य समाजका उपाध्यक्ष उदय अधिकारीले भने । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती रहनेछन् ।

प्रकाशित : कार्तिक २४, २०७८ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?