कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रकृति पूजकको धर्ममा मौलिकता

कान्तिपुर संवाददाता

सुनसरी — याक्थुङ लिम्बू समुदायले परम्परागत रूपमा मान्दै आएको युमा धर्म र दर्शनबारे लेखिएको पुस्तक धरानमा एक समारोहका बीच आइतबार सार्वजनिक गरिएको छ । 

समाजशास्त्री डा. चैतन्य सुब्बाद्वारा लिखित ‘याक्थुङ लिम्बूहरूको आध्यात्मिक आस्थाको धरोहर : युमा धर्म’ पुस्तक प्रदेश १ का पूर्वप्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले सार्वजनिक गरे । ‘प्रकृति पूजक याक्थुङ लिम्बू समुदायले मानिल्याएको याक्थुङ मुन्धुम निर्देशित युमाले मात्र मौलिकता बोक्न सक्छ,’ उनले भने, ‘भलै राज्यले युमा धर्मलाई अहिलेसम्म चिनेको छैन, याक्थुङलाई पनि चिनेको छैन तर लिम्बू समुदायले आफूलाई याक्थुङ र आफ्नो मौलिक परम्परागत धर्मकर्मलाई युमा नै भन्दै आएका छन् ।’ मुन्धुम जति नै पुरानो भए पनि युमा धेरै वर्षदेखि ओझेलमा परेकाले नयाँ धर्मको बहस पो हो कि भन्ने धेरैलाई लागेको उनले बताए ।

कार्यक्रममा प्राध्यापक हर्ष सुब्बा इजमले मुन्धुम दर्शन र युमाका बारेमा बुझ्न चाहने सबैका लागि पुस्तक उपयोगी हुने भनाइ राखे । पुस्तकका प्रकाशक सहप्राध्यापक ध्रुवकुमार मेन्याङ्बोले मुन्धुम र युमासम्बन्धी दर्शनका बारेमा अनुसन्धान गरेर लेख्न थालिएको बताए ।

प्रकाशित : कार्तिक ८, २०७८ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?