बागलुङमा बजेनन् राग- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागलुङमा बजेनन् राग

पुराना पुस्ता सहभागी हुन नसक्ने, नयाँ पुस्तामा चासो नै कम हुँदै जाँदा मौलिक संस्कृति मासिने जोखिम
प्रकाश बराल

बागलुङ — दसैं लागेपछि घरघरमा घटस्थापना गर्ने, मालश्री गीत गाउने यहाँका नेवारको पुरानो चलन हो । तर दशक भयो, बागलुङमा मालश्री बजेको छैन । गाउने पनि भेटिन छाडेका छन् । दसैं र तिहारसम्म गाइने चाँचरी भाखा र फागु पूर्णिमामा गाइने वसन्त रागसमेत लोप भइसकेको छ । संरक्षणका लागि अभ्यास पनि हुन छाडेका छन् ।

झन्डै ३ सय वर्षअघि काठमाडौं उपत्यकाबाट आएका नेवारले आधुनिक बागलुङको बसाइसँगै संस्कृति पनि संरक्षण गरेका थिए । उनीहरूले ल्याएका संस्कृतिहरू हराउने जोखिम बढिरहेको सामाजिक अभियानकर्मी गुनासो गर्छन् । ‘मालश्री, चाँचरी र वसन्त राग ठप्पै भएको छ, युवा पुस्तालाई थाहै छैन,’ नेपाल भाषा मंका खल बागलुङका पूर्वअध्यक्ष तथा संस्कृतिकर्मी महेशचन्द्र प्रधानले भने, ‘युवा पलायन र हस्तान्तरण अभावले यो अवस्था आयो ।’ मनोरञ्जनका लागि टेलिभिजन, मोबाइल र युट्युब भित्रिएकाले कला र संस्कृति सहभागिताविहीन हुँदै हराउने संघारमा पुगेको उनले गुनासो गरे ।

उपत्यकाबाट आउँदा नेवारी जात्रा, परम्परा र संस्कृति पनि बोकेर ल्याएकाले उपत्यकामा नभेटिने जात्रा बागलुङमा भेटिन्थे । अहिले पनि हनुमान नाच र जोगी नाच बागलुङमै मात्र देखिइन्छन् । तर ती नाचका लागि धेरै कलाकार चाहिन्छ । ‘कलाकारिता जानेका युवा पढाइ र रोजगारीको खोजीमा विदेशिएका छन्, यहाँ ती जात्रा देखाउन नसकिने भएको छ,’ अगुवा कलाकार मुकुन्द शाक्यले भने, ‘दुई–चार जनाले चाहेर पनि जोगाउन सकिँदैन ।’ हनुमान नाचमा कम्तीमा १७ जोडी हनुमान, बाजागाजा, गीत गाउने, कजी र पुजारीसमेत गर्दा ४० जना चाहिने उनले बताए ।

जोगी नाच देखाउनुपर्दा पनि कम्तीमा ३० जना चाहिन्छ । तर कलाकार नपाएर तीन वर्षदेखि नाच देखाउन नपाएको शाक्यले बताए । ‘आफैं मृदंग बजाउने, ढोलक र सनई बजाउने युवा पनि छैनन्,’ शाक्यले भने, ‘अन्य दर्जी खोज्दा नाच्ने र गाउनेको तालसमेत मिल्दैन ।’ जात्रा देखाउने काम गर्दा लाखौं खर्च हुने भएपछि आयोजना नगर्ने चलन बढिरहेको छ ।

साउन र भदौभरि जात्रैजात्रा देखाउने नेवारी समाज अहिले सुनसान भयो । कोभिडको कारण देखाएर २ वर्षदेखि कुनै क्रियाकलाप भएनन् । त्यसअघि पनि महत्त्वपूर्ण संस्कार र संस्कृति प्रदर्शन हुन छाडेका छन् । ‘बागलुङमा चर्चा कमाएका भजन थरी, थेयचर नाच, नागनागिनीजस्ता जात्रा अहिले कथा भइसकेका छन्,’ प्रधान भन्छन्, ‘‘मौसमी रागहरू गाइन छाडेपछि नेवारको संस्कार पनि लोप भएका छन् ।’ नेवारहरूले जसोतसो लाखे नाच देखाइरहेका छन् । तर त्यसका लागि पनि दक्ष कलाकार नपाएपछि पोखरा र भैरहवामा पढ्न बसेका युवालाई बोलाउनुपरेको स्थानीय बाबुलाल शाक्यले बताए ।

होली संस्कृति त अबिर दल्ने काम मात्रै बाँकी रहेको छ । बाटो नाप्ने पर्व १५ वर्षमा एकपटक मनाइएको ल्याम पुचका बागलुङका अध्यक्ष जय राजभण्डारीले बताए । कतिपय जात्रा लोप नहोऊन् भनेर कलाकार जुटेको समय पारेर मात्र देखाउने गरिएको छ । नेवारी चाडपर्वमध्ये दर्जन बढी जात्रामा ५ जनादेखि ४० जनासम्म कलाकार आवश्यक पर्छ । एउटा विधा जानेको कलाकारले अर्को विधा जान्दैन । ती सबै जात्रा सफल पार्न न्यूनतम सामग्रीसमेतको खर्च हेर्दा बर्सेनि १० लाख बढी खर्च हुने गरेको छ ।

नेवारी समुदायमा चलेका कतिपय जात्रा, परम्परा र नाच संरक्षणमा युवा जुटेका छन् । नेवारी युवाको संस्था ‘ल्याम पुच’ ले केही तालिम र युवा जम्मा गरेर संस्कृतिबारे जानकारी दिने काम थालेको राजभण्डारीले बताए । उनीहरूले १ सय युवाको समूह बनाएका छन् । ती युवालाई आवश्यक पर्दा तालिम सञ्चालन गर्ने उनले बताए । ‘दुई वर्षदेखि कोभिडले मानिस जम्मा हुने अवस्था पनि भएन, नत्र केही तालिम सञ्चालन गर्ने योजना थियो,’ राजभण्डारीले भने, ‘कोरोना संक्रमण कम भयो भने केही काम गर्ने योजना छ ।’

विशेष गरी संस्कृति लोप हुन नदिने गरी केही गर्ने योजना उनले सुनाए । गत चैतेदसैंमा कालीगण्डकीदेखि बागलुङ बजारसम्म बाटो नाप्ने जात्रा गरेको उनले स्मरण गरे । बाटो नाप्ने संस्कृति पनि बागलुङमा झन्डै १५ वर्षपछि मनाइएको थियो । त्यसका लागि नदीदेखि नै सुतेर आफ्नो शरीर बराबर नाप्दै देवीदेवताको पूजा गर्दै यात्रा गर्नुपर्छ । झन्डै १० किमि लामो यात्रा गर्दा ५० युवा सहभागी थिए ।

प्रकाशित : आश्विन २५, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्

वर्ष ७२, कक्षा २

वृद्ध भएपछि परिवारमा एक्लै परेका खड्गबहादुर विकलाई पढ्ने रहरले शान्ति त दिएकै छ, हिँड्नुपरेकाले स्वास्थ्यलाभ पनि भएको छ
पर्वत पोर्तेल

सलकपुर, इलाम — उनको निर्णय गाउँलेलाई अनौठो त लागेकै हो । उनलाई भने जानीबुझी गरेकाले अप्ठेरो लागेको छैन । इलामको दक्षिणपूर्वी रोङ गाउँपालिका–६ सलकपुरका खड्गबहादुर विक ७२ वर्षका भए । यो उमेरमा उनी स्कुल भर्ना भएका छन् । महिना दिनअघि स्थानीय मोती माविमा कक्षा २ मा भर्ना भएका हुन् ।

पतानी उमेरका बालबालिकासँग बसेर लेखपढ गर्छन् । शिक्षकले दिएको गृहकार्य नियमित गर्छन् । ‘हेडमास्टरले ५ कक्षामा भर्ना भए हुन्छ भन्नुभएको थियो,’ विकले भने, ‘तर मैले नै मानिनँ, सानै किलासबाट सुरु गरौं भन्ने लाग्यो ।’

जीवनभर स्कुलमा पाइलै नटेकेका विकलाई १२ वर्षयता भने पढ्ने हुटहुटी थियो । तर, घर परिवारको असहयोगले रहर पूरा गर्न पाएका थिएनन् । ‘सानामा घरको आर्थिक स्थितिले पढ्न पाइएन,’ उनले सुनाए, ‘पछि श्रीमती र छोराछोरीले जान दिएनन् ।’

चार वर्षअघि एउटा घटनामा बात लागेर छोरा जेल परे । पत्नी बितिन् । छोरीहरू बिहे गरेर गए । चार सन्तानका पिता भए पनि

उनी अहिले घरमा एक्लै छन् । आम्दानीको स्रोत सरकारले दिने सामाजिक सुरक्षा भत्ता मात्र छ । ‘घरमा एक्लै बस्दा मानसिक बिरामी पो भइन्छ कि जस्तो भयो,’ उनी भन्छन्, ‘त्यही भएर मन भुलाउन स्कुल भर्ना भएँ ।’

भर्ना हुन पहिलोपटक स्कुल जाँदा शिक्षक र विद्यार्थी दुवै झस्किएका थिए । घरमा आराम गर्ने उमेरमा किन स्कुल पढ्नुपर्‍यो भनेर छरछिमेकले पनि हतोत्साही पारे । तर, उनी पछि हटेनन् । ‘जसले जेसुकै भनून् भनेर अघि बढें’, विकले सुनाए, ‘स्कुल जान थालेपछि मन पनि शान्त भएको छ ।’ बाथका बिरामी उनी डेढ किलोमिटर नियमित हिँडेरै कक्षा धाउँछन् । नियमित हिँडाइले बाथको समस्या पनि कम हुँदै गएको उनको अनुभव छ ।

स्कुलका प्रधानाध्यापक कुमार मगरका अनुसार एक्लो जीवन बिताइरहेका विकका लागि स्कुल भर्ना भएर पढ्नुले मानसिक रूपमा आराम दिएको देखिन्छ । ‘उहाँ असाध्यै जिज्ञासु र सहयोगी पनि हुनुहुन्छ,’ मगरले भने, ‘नजानेको कुरा फ्याट्ट सोध्ने बानी छ ।’

रोङ–६ का वडाध्यक्ष मनिकुमार स्याङ्वो (सुवास) ले बुढ्यौली उमेरमा पनि स्कुल भर्ना भएर विकले सिंगो गाउँलाई नै प्रेरणा दिएको बताए । वडाध्यक्ष स्याङ्वोले भने, ‘७२ वर्षको उमेरमा पनि उनमा स्कुल पढ्ने ऊर्जा आउनु ठूलो कुरा हो ।’

विकलाई नियमित रूपमा पठनपाठनका लागि निःशुल्क व्यवस्था मिलाउन गाउँपालिकाले पहल गर्ने स्याङ्वोले जनाए । ‘उहाँ जति कक्षासम्म पढ्न चाहनुहुन्छ, त्यतिसम्म पढ्ने वातावरण पालिकाले मिलाउनेछ’, उनले भने, ‘अन्य सहयोगी संघसंस्थासँग पनि उहाँको पढाइका लागि पहल गर्नेछौं ।’

प्रकाशित : आश्विन २५, २०७८ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×