कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लम्सालको 'अग्‍नि' महाकाव्य सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — साहित्यकार नवराज लम्सालको महाकाव्य 'अग्नि' को लोकार्पण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा राजनीतिक विश्लेषक एवं लेखक आहुति, साहित्यकारद्वय रामप्रसाद ज्ञवाली र गीता त्रिपाठीसँगै लम्सालकी ६ वर्षीया नातिनी आयराले संयुक्त रुपमा सो पुस्तकको लोकार्पण गरे ।

लम्सालको 'अग्‍नि' महाकाव्य सार्वजनिक


पुस्तकमाथि टिप्पणी गर्दै आहुतिले नेपाली समाजमा रहेको विकृति, विसंगति र जात व्यवस्था परिवर्तनका लागि 'अग्नि' महाकाव्य एउटा बहस गर्ने मोड हुने बताए । उनले भने, 'दलित समुदाय नेपाली इतिहासको प्रथम प्राविधिक वा वैज्ञानिक रहे पनि जात व्यवस्थाले त्यसको सही मूल्याङ्कन भएको छैन । त्यसका लागि जात प्रथाको नै उन्मूलन हुनुपर्छ ।'

अर्का वक्ता साहित्यकार रामप्रसाद ज्ञवालीले ५० को दशकयता नेपाली साहित्यमा लेखिएका दर्जनौं महाकाव्यका बीचमा 'अग्नि'को विषयवस्तु परिवर्तन उन्मुख समाजको पात्र र चरित्र भएकोले सबैले पढ्नुपर्ने र समाज परिवर्तनका लागि एउटा मानक कृति हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी साहित्यकार गीता त्रिपाठीले अग्नि महाकाव्यमार्फत नेपाली समाजको चरित्र, उत्पीडन र विभेदको कथा मौलिक ढंगले प्रस्तुत गरेकाले महाकाव्य जगतमा यसको स्थान विशिष्ट हुने भन्दै लेखकको शैली-शिल्पको प्रशंसा गरिन् ।

रेडियोकर्म र साहित्य सृजनामा लागेका नवराज लम्सालका यस अघि २ वटा महाकाव्य, ३ वटा कविता संग्रह र २ वटा गीत संग्रह प्रकाशित छन् । विशेषगरी जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई महाकाव्यमार्फत उजागर गर्ने कोसिस गरिएको 'अग्नि' महाकाव्यलाई बुकहिलले बजारमा ल्याएको हो ।

प्रकाशित : आश्विन १७, २०७८ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?