कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

जयगाउँमा कवि कटुवालको सालिक

कान्तिपुर संवाददाता

काठमाडौँ — भारत–भुटान सिमावर्ती पश्चिम बंगालको जयगाउँमा नेपालीभाषी कवि हरिभक्त कटुवालको पूर्ण कदको शालिक स्थापना गरिएको छ । नेपालीभाषीको बाक्लो बस्ती रहेको जयगाउँको तोर्सा चिया बगानस्थित प्राथमिक विद्यालयमा स्थापना भएको शालिकको बुधबार अनावरण गरिएको जयगाउँ समाज कल्याण संघको सभापति तिलक कटुवालले जानकारी दिए ।

जयगाउँमा कवि कटुवालको सालिक

नेपाली साहित्य प्रतिष्ठान, डुवर्सले आयोजना गरेको शालिक अनावरण समारोहमा कवि नरबहादुर दाहाल, डा.सन्जय वान्तवा, मोहन ठकुरी, कालुसिंह रनपहेंली, सित्तम मोक्तान, पुरु लम्साल, डा.नवराज लम्सालसहितको आतिथ्य रहेको थियो । शालिक अनावरण गर्न कटुवालका दुई छोरी जेठी कविता र कान्छी कल्पना क्षेत्री कटुवाल समेत आसामबाट जयगाउा आइपुगेका थिए ।

सम्वत १९९२ मा भारतको आसाम राज्यको लखिमपुरमा जन्मे–हुर्केका कवि कटुवालको निधन २०३७ सालमा आसामको डिब्रुगढ मेडिकल कलेजमा भएको थियो । २०२० सालदेखि जीवनको अन्तिम घडीसम्मै काठमाडौंमा रहेर साहित्यिक संगत र सृजनशिलतामा सक्रिय रहेका थिए । काठमाडौंमा २०३६ सालमा चलेको सशक्त अभियान सडक कविता आन्दोलनमा सक्रिय रुपमा कटुवाल सहभागी थिए । रोमान्टिक धाराका शशक्त कविका रुपमा चिनिने कटुवालका कविता संग्रहहरु ‘यो जिन्दगी खै के जिन्दगी’, ‘बदनाम मेरा आँखाहरु’, ‘म मरेको छैन’ (नाटक), ‘स्पष्टीकरण’ (कथासंग्रह), ‘सुधा’(खण्डकाव्य) लगायतका कृति प्रकाशित छन् । कटुवालका ‘मलाई नसोध कहाँ दु:ख्छ घाउ’, ‘पोखिएर घामको झुल्का भरि संघारमा’ जस्ता विम्वात्मक गीतमा स्वरसम्राट नारायण गोपालले स्वर भरेका छन् ।

‘नेपालभाषीका निम्ति कवि हरिभक्त कटुवाल एक सशक्त र साझा बिम्वका स्रष्टा भएकाले पनि हामीले आफैं खर्चको जोहो गरेर कटुवालको शालिक निर्माण गरेका हौं,’ जयगाउँ समाज कल्याण संघको सभापति एवं पत्रकार तिलक कटुवालले कान्तिपुरसँग भने—‘यो कार्यले कवि कटुवालको स्मृति गर्ने र नेपाली भाषा–साहित्यको प्रवर्द्धन गर्ने हाम्रो ध्येयमा पनि मद्दत पुर्‍याउने आशा छ ।’

भारतलाई जोड्ने प्रमुख भुटानी नाका फुन्चोलिङ्गको सिमावर्ती बिन्दुमा रहेको जयगाउँमा आदिकवि भानुभक्त आचार्यसमेतको सालिक राखिएको छ । जयगाउँमै अर्का गोर्खाली शहिद दुर्गा मल्लको शालिक पनि राखिएको छ । भारतीय सेनाका मेजर मल्ल भारतीय स्वतन्त्रता आन्दोलनमा ज्यान गुमाउने पहिलो गोर्खा सैनिक थिए ।

प्रकाशित : आश्विन १४, २०७८ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?