कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुजित मैनालीको ‘सती’ सार्वजनिक

काठमाडौँ — लेखक सुजित मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ सार्वजनिक भएको छ । पुस्तकमा मैनालीले मानव–इतिहासकै एउटा क्रूरतम अध्याय मानिने सती प्रथाबारे प्रकाश पार्ने कोसिस गरेका छन् ।

सुजित मैनालीको ‘सती’ सार्वजनिक

नेपालमा सतीप्रथामाथि रोक लगाइएको सय वर्ष पुगिसके पनि यसले पारेका असरहरू लैंगिक भेदभावका अनेक पाटोका रूपमा समाजमा अझै व्याप्त छन् ।

लेखक मैनालीका अनुसार मृतक पतिको नाममा पत्नीलाई जिउँदै जलाउने चलनबाट तात्कालिक पुरुषप्रधान समाजले कस्तो लाभ दोहन गर्‍यो भनी पुस्तकमा चर्चा गरिएको छ । महिनावारी बार्ने चलनदेखि बलात्कारसम्मका नारीद्वेषी चलनलाई सतीप्रथाको आलोकमा बुझ्ने प्रयत्न गरेको पनि लेखक मैनालीले उल्लेख गरेका छन् ।

नेपालमा लिच्छवि राजा मानदेवको पालादेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयसम्म सतीप्रथाका अनेक घटना भएको पाइन्छ । १९७७ सालमा चन्द्रशमशेरले नेपालभरि सतीप्रथाको अभ्यासमा रोक लगाएपछि पत्नीले पनि पतिको शवसँगै जलेर प्राण त्याग्नुपर्ने चलन कानुनी रुपमा बन्द भएको हो ।

‘समाजशास्त्रका किताब पल्टाउँदै जाँदा महसुस भयो– इतिहास र त्यसको लैंगिक पाटो बुझ्न सकेमात्र समाजको नसनाडी राम्ररी छाम्न सकिने रहेछ,’ समाजशास्त्रका अध्येता रहेका मैनालीले भने, ‘खासमा यही अनुभूतिले मलाई किताब लेख्न प्रेरित गर्‍यो ।’

लेखकले नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्याय छन् । त्यसबाहेक ४२ वटा परिशिष्टमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरूका खँदिला विवरण समेटिएका छन् ।

‘यो किताबले सतीप्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरेको छ’ प्रकाशक किताब पब्लिसर्स प्रालिद्वारा जारी विज्ञप्तिमा छ । प्रकाशक कल्पना ढकालका अनुसार यो पुस्तकमा सतीप्रथाको उद्भवपछाडिका ऐतिहासिक कारणहरुको विवेचना छ ।

लेखक मैनालीको यो दोस्रो किताब हो । यसअघि २०७६ सालमा उनको ‘शिलान्यास : नेपाल निर्माणको नालीबेली’ पुस्तक प्रकाशित भएको थियो ।

प्रकाशित : आश्विन ३, २०७८ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?