सात सम्मान घोषणा- साहित्य/विविध - कान्तिपुर समाचार

सात सम्मान घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले एक संस्थासँगै विभिन्न क्षेत्रका ६ व्यक्तित्वलाई पुरस्कृत गर्ने भएको छ ।

अध्यक्ष वसन्त चौधरीको संयोजकत्वमा भएको मन्दिर कार्यसमितिको बैठकले महावीर पुन आबद्ध राष्ट्रिय आविष्कार केन्द्रलाई गंगादेवी चौधरी स्मृति सम्मान दिने निर्णय गरेको छ ।

यस्तै अग्रज स्रष्टा प्रा.डा. चूडामणि रेग्मीलाई सरस्वती गद्य सम्मान, संस्कृतिविद् प्रा.डा. वीणा पौडेललाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, चित्रकार प्राज्ञ रागिनी उपाध्यायलाई अरनिको ललितकला सम्मान, कवि विश्वविमोहन श्रेष्ठलाई गोपालप्रसाद रिमाल काव्य सम्मान, रंगकर्मी वीरेन्द्र हमाललाई बालकृष्ण सम रंग सम्मान र क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल नवप्रतिभा सम्मान दिने निर्णय गरेको आइतबार जनाइएको हो ।

यी पुरस्कार वैशाख २७ मा काठमाडौंमा आयोजना हुने समारोहमा वितरण गरिनेछ । गंगादेवी चौधरी स्मृति सम्मानको राशि १ लाख १ रुपैयाँ छ भने अन्य सम्मानहरू प्रत्येकको ५१/५१ हजारसहितको छ ।

प्रकाशित : वैशाख १३, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्

बालकुमारी जात्रा सुरु

प्रशान्त माली

ललितपुर — सुनाकोठीमा महादेवको प्रतीकका रूपमा आइतबार ६४ हात अग्लो लिंगो ठड्याएसँगै बालकुमारी जात्रा सुरु भएको छ । जात्रा चैत शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म तीन दिन मनाइन्छ । पहिलो दिन गुठीघरका देवतालाई पूजा गरेर ‘छ्योला बू’ भनी उत्सव मनाइएको छ ।

ऐतिहासिक लिंगो ठड्याउँदा गुठियारहरूले बालकुमारी मन्दिर प्रांगणमा बसेर इन्द्र बाजा बजाएर स्वागत गरेका थिए । लिंगोको टुप्पोमा पञ्चरत्न कपडा, राष्ट्रिय झन्डा, कुसी स्वाँ (एक प्रकारको फूल) र कागती राखिएको छ । टुप्पोदेखि तल फेदसम्म नागको प्रतीकका रूपमा विभिन्न देवीदेवताको चित्र अंकित हल पता (प्राचीन थांका) ले सजाइएको छ ।

इन्द्र बाजा खलक काशीलाल महर्जनले जात्रा स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य नीति मापदण्ड पालना गरेर मनाइने बताए । जात्राका अवसरमा भृगारेश्वर महादेव मन्दिर परिसर रहेको १२ फिट अग्लो एउटै ढुंगाबाट निर्मित त्रिशूलमा बहुमूल्य हीरामोती र सुनका पाताले सजाइएको छ । दोस्रो दिन सोमबार गणेश, बालकुमारी, कुमार र महादेवको मूर्तिलाई साँझ छुट्टाछुट्टै शिखर शैलीको खटमा राखी जात्रा गरिन्छ । बेलुका गुठियारहरूले बालकुमारीको खटलाई पीठमा लैजान्छन् ।

अन्तिम दिन बालकुमारीको खटलाई गणेश, कुमार र महादेवको खटले परिक्रमा गराइन्छ । पूर्णिमाको दिन लिंगो ढालिन्छ । ढलेको लिंगोको टुप्पोमा राखिएको कागती प्राप्त गर्नेलाई सन्तान लाभ हुने जनविश्वास छ ।

प्रकाशित : वैशाख १३, २०७८ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×