एक पत्रकारको लस एन्जलस यात्रा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — आर्थिक पत्रकारका रुपमा चिनिएका पत्रकार आर.पी भट्टराईको नियात्रा कृति ‘मेरो लस एन्जलस यात्रा’ विमोचन भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![एक पत्रकारको लस एन्जलस यात्रा](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/third-party/boocoverlosangeles-1542021081900-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
अमेरिकाको लस एन्जलस, लस भेगास, यूसीएलए र अन्य सहरमा झण्डै १ वर्षसम्म बस्दाको अनुभव तथा विभिन्न चाखलाग्दा घटनाको यो कृति एकैसाथ अंग्रेजी अनुवाद ‘माइ जर्नी टु लस एन्जेलस’ पनि सार्वजनिक भएको छ ।
रिपोर्ताज शैलीमा लेखिएको नियात्रा कृतिबारे टिप्पणी लेख्दै प्राध्यापक अन्जना भट्टराई वस्तीले भनेकी छिन्,‘यो पुस्तकमा अमेरिका यात्रामा देखेका, भोगेका अनेकौं घतलाग्दा घटना, परिस्थिती, व्यक्ति र प्रचलनलाई लेखकले रोचक ढंगमा प्रस्तुत गर्नुभएको छ । तीमध्ये केही गृह निर्माणका सामग्रीभन्दा निर्माणकर्मीलाई दिने रकम ४ गुणा बढी हुने तथ्य, अस्पताल व्यवस्थापनको चुस्तता, बालबालिका ओसार्ने बिद्यालयका बसलाई दिइने प्राथमिकता, विवाहित जीवनमा महिला–पुरुष दुवै असहिष्णु हुनाले देखिएका सम्बन्ध विच्छेद, पुर्नविवाह, सौतेनी बाबुको सहज प्रचलन जो हाम्रो समाजमा नगन्य देखिन्छ । यी र यस्ता विवरणहरु यो कृतिमा मनकारी शैलीमा लेखिएका छन् ।’
यो नियात्रा पुस्तकको कीर्तिपुरमा बुधबार आयोजित संक्षिप्त समारोहमा प्राध्यापक गोविन्दराज भट्टराई, हाास्यव्यंग्यकार लक्ष्मण गाम्नांगेसहितले विमोचन गरेका थिए । नियात्राकार आरपी भट्टराईले ‘यात्रा गर्नु, यात्रामा नयाँ कुराको खोजी गर्नु तथा उत्सुकता जनाइराख्नु आफ्नो बानी भएकाले पनि अमेरिकाको यात्राको टिपोट नियात्रा साहित्यको रुपमा बाहिर आउन सकेको’ मन्तव्य राखे ।
‘अमेरिका यात्रामा म जहाँजहाँ पुगें, जेजे देखें, अनुभव गरें, त्यसलाई यो सानो पुस्तिकामा उतार्ने प्रयत्न गरेको छु,’नियात्राकार आरपीले भने,‘आज अमेरिका नपुग्ने त कोही छैन तर, अनुभुति सबैका आ–आफ्नै हुने रहेछन् । त्यसैले यो मेरो नितान्त निजी अनुभव हो ।’
१२० पृष्ठको कृति ‘मेरो लस एन्जलस यात्रा’ कृति मन्जरी प्रकाशन गृहले प्रकाशित गरेको हो । पत्रकार आरपी भट्टराई आफ्ना छोरी–ज्वाई भेट्ने कारण र श्रीमतीको उपचारमा जानैपर्ने अवस्थाका कारण दुईपटक अमेरिकाको क्यालिफोर्निया गएका रहेछन् । यसअघि, यसैगरी छोरी–ज्वाई भेट्न अमेरिका गएका लेखक प्रकाश सुवेदीको ‘छोरी ज्वाई भेट्न अमेरिका’ शीर्षकमा एक नियात्रा कृति सार्वजनिक भइसकेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)