कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गायक बस्‍नेत र संगीतकार गुरुङ सम्मानित

काठमाडौँ — गायक कुमार बस्नेत र संगीतकार प्रकाश गुरुङ सम्मानित भएका छन् । 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७७' बाट उनीहरु सम्मानित भएका हुन् ।

गायक बस्‍नेत र संगीतकार गुरुङ सम्मानित

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा शिरोमणि भक्तराज आचार्यले, भक्तराज आचार्य संगीत प्रतिष्ठानको तर्फबाट दुवैजनालाई नगद ५० हजार एक रुपैयाँसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा कुमार बस्नेतले संगीत क्षेत्रमा रोयल्टीको समस्या रहेको बताए । संगीतकार लक्ष्मण शेष रोयल्टीको यसै समस्याको समाधानका लागि स्रष्टाहरु कानुनी प्रक्रियामा जान तयार रहेको बताए । 'गीत संगीतको क्षेत्रमा केही धमिराहरु, माफियाहरु र केही फटाहाहरुले स्रष्टालाई जानकारी नदिइ उनीहरुले गाएका गीतहरु विश्वका सयौं पोर्टलमा बेचेर स्रष्टालाई शोषण गरिरहेको अवस्था छ । अहिले हामी केही स्रष्टाहरु मिलेर यो शोषणविरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्ने तयारीमा छौं । राजन इसान र प्रमोद खरेलले मुद्दा दर्ता गरेर कानुनी प्रकृया अगाडि बढाइसकेका छन्,' उनले भने ।

म्यूजिक कम्पनीहरुले वर्षको एक पटक सम्मान दिएर स्रष्टालाई रोयल्टीबारे नबोल्न लोभ्याइरहेको उनी बताउँछन् । 'स्वच्छ मनले गरेको भक्तराज आचार्यलगायतको अन्य सम्मान लिँदा हुन्छ । तर माफियाले वर्षको एक पटक सम्मान दिएर स्रष्टाको मुख थुनिदिने प्रयास गरेको छ,' शेषले भने, 'त्यस्ता शोषकहरुले फकाउन गरेको सम्मानलाई स्रष्टाले बहिष्कार गर्नुपर्छ । तपाईंले आँट गर्नुभयो भने रोयल्टीको यो विवाद समाधान हुन्छ ।'

कार्यक्रममा गायक स्वरुपराज आचार्य, सत्यराज आचार्य र रञ्जित नेपालीले सांगीतिक प्रस्तुति दिए ।

कार्यक्रममा गायक प्रमोद खरेल, निर्देशक प्रकाश आङ्देम्बेलगायतको उपस्थिति थियो ।

प्रकाशित : चैत्र १५, २०७७ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?