कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘स्मृतिमा रवीन्द्र अधिकारी’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई वर्षअघि हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिग्रन्थ ‘स्मृतिमा रवीन्द्र अधिकारी’ सार्वजनिक गरिएको छ । 

‘स्मृतिमा रवीन्द्र अधिकारी’ सार्वजनिक

अधिकारीको दोस्रो स्मृति दिवसका अवसरमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, अधिकारीकी श्रीमती विद्या भट्टराई, आमा लक्ष्मी अधिकारी, बुबा इन्द्रप्रसाद अधिकारीलगायतले स्मृतिग्रन्थ लोकार्पण गरेका थिए ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको स्मृतिग्रन्थमा १ सय २२ जनाको संस्मरण समावेश छ । संस्मरणलाई राजनीतिक, प्राज्ञिक/सामाजिक र पारिवारिक गरी तीन भागमा छुट्याएर प्रस्तुत गरिएको छ । पुस्तकको अन्त्यमा अधिकारीका मन्तव्य र अन्तर्वार्ता, उनका हस्तलिखित डायरी, शोक विज्ञप्ति, शोक पुस्तिका, श्रद्धाञ्जली, समवेदना र तस्बिर समावेश छन् ।

लोकार्पण कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्राध्यापक हेमनाथ पौडेलले स्मृतिग्रन्थ पहिलो वार्षिकीमा नै प्रकाशन गर्ने प्रयत्न भए पनि लेखरचना उपलब्ध नभएकाले ढिला भएको बताए । नेता लेखनाथ न्यौपानेले विद्यार्थीलाई यातायातमा छुट दिलाउने लगायतका कामले अधिकारीलाई कसैले बिर्सन नसक्ने बताए । सांसद विन्दा पाण्डेले अधिकारीसँग पहिलो संविधानसभामा काम गर्दाको क्षण सम्झिइन् ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण गर्ने सन्दर्भमा निरीक्षण गर्न पुगेका बेला ताप्लेजुङको पाथीभराबाट काठमाडौं फर्कने क्रममा अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको थियो ।

प्रकाशित : फाल्गुन २२, २०७७ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?