प्रेमबहादुर बोहराको ‘कोग्ले’ सार्वजनिक- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रेमबहादुर बोहराको ‘कोग्ले’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — समुन्तत कर्णाली अभियानका अभियन्ता तथा पछिल्लो समय राजनीतिमा सक्रिय रहेका प्रेमबहादुर बोहराको पहिलो संस्मरणात्मक कृति ‘कोग्ले’ सार्वजनिक भएको छ । 

शुक्रबार प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बोहरासहित लेखक राधा पौडेल, राजनीतिविज्ञ प्रशान्त सिंह, कवि प्रणिका कोयूलगायतले संयुक्त रुपमा कृति विमोचन गरेका हुन् । कृतिमा बोहराले आफ्नो बाल्यकालदेखि यौवनकालसम्मका संस्मरणका माध्यममा सिंगो कर्णालीको अवस्थालाई चित्रण गरेका छन् ।

कृतिमा उनका बाल्यकालका रमाइला किस्साहरु, अध्ययनको संघर्ष, सहरबाट हेर्दा कर्णालीको चित्र तथा उनको अन्तरमनले अथ्र्याएको कर्णालीको रुप चित्रण भएका छन् । कृतिलाई आफूले जन्मभूमिमा भोगेका भोगाइहरु संकलित गर्दै जनमासमा पुऱ्याउन पुस्तक लेख्नुपर्छ भनी देखेको सपनाको दस्तावेजका रुपमा रहेको लेखक बोहराले बताए ।

पुस्तक लेख्नका लागि आएका गाउँका पीडा, पात्रहरुलाई धन्यवाद दिँदै उनले भने,‘म जन्मिँदै विशेष बनाई सामान्य कुरा पाउन पनि ठूलो भोगाई, कष्टको स्थिति सिर्जना गरिदिने नेपाल राज्यलाई दु:ख व्यक्त गरुँ या खुसी, म यसमा अन्यौल नै छु ।’ पुस्तकका रुपमा जति पनि आफ्ना भोगाइहरु आउन परिस्थिति बनाउने सबै पात्र तथा राज्यलाई उनले विशेष धन्यवाद दिए ।

कृतिबारे बोल्दै लेखक पौडेलले राज्यले कर्णालीलाई गरेको विभेद, अपहेलना र राजनीतिक दस्तावेजका रुपमा यस पुस्तक रहने दाबी गरिन् । उनले भनिन्,‘गरिबका कुरा गरेर, पीडा सुनाएर विकासे कुरा गर्ने आम मानिस तथा संस्थाको लागि यो पुस्तक गतिलो थप्पड हो ।’

यसमा कर्णालीप्रतिको सिंगो हेपाइ तथा आम कर्णालीबासीको भोगाइ रहेकाले मानवशास्त्र तथा समाजशास्त्रका विद्यार्थीहरुलाई हाम्रो विश्वविद्यालयले पाठ्यक्रममा राखेर यस पुस्तक अनिवार्य रुपमा पढाउनैपर्ने उनले बताइन् ।

प्रकाशित : फाल्गुन १, २०७७ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

सन्चै ?

यो समाज छ र जिन्दगी आनन्दले चलेको छ । यो समाज छ र जिन्दगी जटिल छ । गाह्रो छ यहाँ मात्रा मिलाएर बाँच्न । हेर्दा भीड छ, तर सबै एक्ला छन् ।
स्वीकृति बराल

यो बाटोमा एकाबिहानैदेखि चहलपहल सुरु हुन्छ । सबै हतारोमा देखिन्छन् । यस्तो लाग्छ, बिहानको पर्खाइमा सारा मानिसले नसुतेरै रात बिताए । सायद सबैलाई कतै पुग्नु छ । बेलाबेला सोच्छु, यी सबैलाई जिन्दगीले आफ्नो गन्तव्यसम्म पुर्‍याउला कि बीचमै अलपत्र पारेर छोड्ला !

म पनि अरूझैं यही भीडको एक यात्री हुँ, जो हरबखत केही न केहीका लागि कुदी नै रहन्छ । गजब लाग्ने के भने यहाँ सबै हतारमै छन्, तर एकअर्कालाई देख्नासाथ मुसुक्क हाँसेर सन्चो/बिसन्चो सोधिहाल्छन् । सबैलाई एकअर्काको माया भएजस्तो ! सायद त्यसैले मान्छेलाई सामाजिक प्राणी भनिन्छ । यस्तो लाग्छ, हामी एकै ठूलो परिवारको सदस्य हौँ, जहाँ हमेसा एकले अर्कोको चियो गरिरहन्छ ।

सुन्दर छ यो समाज, जहाँ बिहानदेखि बेलुकीसम्मै पाइलापाइलामा हालचाल सोध्नेहरू भेटिन्छन्, त्यो पनि ओठमा मुस्कानसाथ । मनमा यस्तै कुरा सोच्दै हिँडिरहेको थिएँ अचानक आएको प्रश्नले झस्किएँ– ‘आरामै हुनुहुन्छ ?’ मैले फ्याट्ट जवाफ फर्काएँ, ‘हजुर सन्चै छु ।’ जवाफ फर्काइसकेपछि पो झसंग भएँ, सन्चो त कहाँ थियो र !

हिसाबै गर्ने हो भने पनि सन्चो भएको भन्दा नभएको दिन धेरै निस्किन्छ मेरो । सायद यत्तिको प्रदूषणमा बस्ने प्रायः कोही पनि स्वस्थ हुँदैन । वास्तवमा मलाई न सन्चो थियो न म खुसी थिएँ । खासमा जिन्दगी नै तालमेल नमिलेजस्तो भएको छ । समस्या सुल्झाउँदा सुल्झाउँदै खुसी हुने समय नै भेट्दिनँ । एउटा समस्या बल्लबल्ल सुल्झायो अर्को आइलाग्छ । कहिलेकाहीँ त जन्मनुको उद्देश्य नै समस्यासँग खेल्नु र पालैपालो समाधान गर्दै जानु हो कि झैं लाग्छ । यथार्थमा भन्ने हो भने ‘सन्चो’ शब्द मेरा लागि बनेकै होइनजस्तो पनि लाग्छ । मनमा यत्तिको पिर हुँदा पनि सोच्दै नसोची ‘सन्चै छु’ भन्ने जवाफ कहाँबाट आयो ? आफैंले बोलेका कुरामा आफैँलाई अचम्म लाग्छ । यस्ता जवाफ म धेरै दिइरहेकी हुन्छु, जुन सत्यभन्दा धेरै पर हुन्छन् ।

यस्तो बेला मलाई विज्ञान नै फेल खाएझैं लाग्छ । विज्ञानअनुसार, दिमागको आदेशमा दिमागले सोचेपछि बोलिन्छ तर मलाई लाग्छ, कहिलेकाहीँ बोलेपछि दिमागले थाहा पाउँछ, नत्र सोचेरै बोलेको भए गलत नबोलिनुपर्ने हो । सानैदेखि झूट बोल्नु नराम्रो बानी हो भनेर घरमा बुबाआमाले जतिसुकै सिकाए पनि मेरो झूट बोल्ने बानी कहिले गएन । झूट नबोल्ने भएको भए म न अहिले मुसुक्क मुस्कुराउँथें, न आफूलाई ठीक छ नै भन्थें । कसैले यतिविधि आफ्नोपन देखाएर सन्चो/बिसन्चो सोध्दा झ्याप्पै झूट बोलिहाल्नु हुँदैनथ्यो ।

ठीक नहुँदा ‘ठीक छ’ भनेर मलाई के फाइदा हुन्छ र ? सत्य बोल्नु र नबोल्नुको खासै अन्तर रहेनछ । हालखबर सोध्ने मात्रै कहाँ हो र ? कत्ति त माग्दै नमागी सल्लाह दिन आइपुग्छन्, चाहे समस्या जस्तोसुकै किन नहोस् । प्रायः मान्छे अरूलाई खुब स्वाद लिएर सल्लाह दिइरहेका हुन्छन् । सल्लाह दिनेको जिन्दगीमा समस्या हुँदो हो कि नहुँदो हो, यो कुरा जान्ने इच्छा मेरो मनमा सधैँ हुन्छ । यहाँ रोगबारे सल्लाह दिन डाक्टर नै हुनुपर्छ भन्ने छैन, बरु डाक्टर रोगबारेमा थोरै बोल्लान्, सल्लाह दिनेको कुरै सकिँदैन । हरक्षेत्रमा उत्तिकै छन् सल्लाहकारहरू । लाग्छ, यो सल्लाहकार नै सल्लाहकारको समाज हो ।

अस्ति भर्खरको कुरा हो एक जनाले मलाई सल्लाह दिए, ‘पढे–लेखेको मान्छे पनि के बच्चा हेरेर बसेको ? चाइल्ड केयरमा राखेर आफ्नो करिअर बनाउनु नि !’ दिनैभरि मेरो दिमागमा त्यही कुरा मात्रै घुमिरह्यो । झन्डै मलाई आफ्नो बच्चाभन्दा उनको सल्लाह प्यारो लाग्नै लागेको थियो । तर, पछि तिनैले मजस्तै अर्की आमालाई भनें, ‘के बच्चा छोडेर काममा गएको ? तिमीलाई नपुगेको केही छैन क्यारे ! अहिलेको समय बच्चालाई देऊ । आमा भनेको आमा नै हो । कहाँ हुन्छ र आफैंले हेरेजस्तो !’ एकै मान्छेको दुईथरी कुरा सुनेपछि म चकित खाएँ । सल्लाहकारका सल्लाह एउटै अवस्थामा पनि मान्छेअनुसार, फरक हुँदा रहेछन् ।

भनिन्छ, समाज एउटा ठूलो परिवार हो । ठूलो परिवारका अगाडि मलाई बेलाबेला आफ्नो सानो परिवार ओझेलमा परेझैं लाग्छ । घरका सदस्यलाई बरु अरूबारे चासो राख्ने फुर्सद नहोला तर, चौबीसै घण्टा अरूबारे चासो राख्न यो समाजलाई सधैं फुर्सद हुन्छ । जस्तो म घरबाट कस्तो लुगा लगाएर हिँड्छु, म कोसँग भेट्छु, कति बजे घर फर्कन्छु, कसरी बोल्छु ! यस्ता सबै विषयको ख्याल राख्छ यो समाज । यति मात्र कहाँ हो र ? मेरो उमेर कति, मैले कहिले विवाह गर्नुपर्छ, कहिले बच्चा जन्माउनुपर्छ, कति जना बच्चा जन्माउनुपर्छ भन्ने सल्लाह दिनेहरू भेटिन्छन् ।

यो समाजलाई मेरो यति पिर छ कि यसले न मलाई आरामले बाँच्न दिन्छ न मेरो परिवारलाई । एक दिन मेरी आमा अलि मलिनो अनुहार लगाउँदै घर आउनुभयो । टोलमा एक/दुई जनाले आमालाई भनेछन्, ‘अब छोरीको बिहे गर्ने होइन ? ढिला होला है, गतिलो केटा नपाउनुहोला नि !’ आमा अन्योलमा पर्नुभएछ– कतै छोरीको बिहे गर्न ढिलै त भएन ! जे होस् जानेको छ यो समाजले सबलाई अन्योलमा पार्न, प्याच्च एउटा कुरा बोल्यो, नमागेको सल्लाह दियो, अनि आफ्नो बाटो लाग्यो, यस्तै छ यहाँको चलन !

फलानीकी छोरी कत्री भइन्, फलानाको छोरो कोसँग हिँड्यो, कसको श्रीमान्ले श्रीमतीलाई धेरै माया गर्छ, कसकी श्रीमती खुसी छन्, कसकी छोरी राति ढिलो घर आउँछे ! यी सबै खबर मान्छेहरूलाई थाहा हुन्छ । कतिसम्म भने कत्ति श्रीमान्हरू यही समाजकै कुरो सुनेर श्रीमती मनपराउन छोड्छन् । तिनलाई रातदिन सँगै बस्ने श्रीमतीभन्दा छरछिमेकको कुरा ठीक लाग्छ । कति श्रीमती पनि समाजकै कुरो सुनेर आफ्नो वैवाहिक सम्बन्ध बिगार्न पछि पर्दैनन् ।

सोच्छु, यो समाज छ र जिन्दगी आनन्दले चलेको छ । फेरि कहिले सोच्छु, यो समाज छ र जिन्दगी जटिल छ । गाह्रो छ यहाँ मात्रा मिलाएर बाँच्न । के गर्दा ठीक र के गर्दा बेठीक भन्ने सोच्दासोच्दै जिन्दगीको आधाभन्दा बढी समय सकिन्छ । हेर्दा भीड छ, तर वास्तवमा यहाँ सबै एक्ला छन् ।

यो समाज छ, त्यसैले त भर छ । यो समाज छ, त्यसैले त डर छ । यहाँ सबैलाई अरूभन्दा भिन्न देखिन मन छ, अरूको अगाडि चिनिन मन छ । मान्छे–मान्छेबीच प्रतिस्पर्धा छ । मान्छे अरूलाई देखाउनकै लागि यथार्थ लुकाएर हिँड्छन् । देखावटी समाजमा सरल भएर बाँच्न धेरै गाह्रो छ । मै पनि आफ्नो ‘सत्य’ खोल्दिनँ र ‘सन्चै ?’ प्रश्नलाई मुसुक्क हाँसेर जवाफ दिन्छु, ‘सबै कुशलमंगल छ ।’

प्रकाशित : फाल्गुन १, २०७७ ११:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×