कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पुस्तक पढ्दा आत्मविश्वास बढ्छ’

सुशीला तामा‌ङ

काठमाडौँ — सगरमाथा इन्जिनियरिङ कलेजमा अध्ययनरत धरानकी निष्ठा थापा डेभिड स्कर्जद्वारा लिखित पुस्तक ‘द म्याजिक अफ थिङ्किङ् बिग’ लाई निकै ध्यानपूर्वक नियालिरहेकी थिइन् । यो अन्तर्राष्ट्रिय रूपमा बेस्ट सेलरको सूचीमा छ । छेउमै रहेको अर्को पुस्तक ‘हाउ टु डेभलप सेल्फ कन्फिडेन्स’ तिर पनि थापा नजर डुलाउँदै थिइन् ।

‘पुस्तक पढ्दा आत्मविश्वास बढ्छ’

प्रदर्शनीमार्गको भृकुटीमण्डपमा माघ २५ देखि सुरु भएको बृहत् पुस्तक मेलामा अहिले सबैजसो उमेर समूहका पाठक र पुस्तकप्रेमी सहभागी भइरहेका छन् । नयाँ पुस्ताका लागि पठन संस्कृतिको विकास गर्न सघाउ पुर्‍याउने माध्यमका रूपमा थापा पुस्तक प्रदर्शनीलाई लिन्छिन् । मेलामा आफूलाई चाहेजस्तो पुस्तक एकै ठाउँमा पाइने भएकाले सहभागी भएको उनले बताइन् । खास व्यक्तिको जीवनी, व्यक्तित्व विकाससम्बन्धी, आर्थिक रूपमा समृद्धि हुने तथा सकारात्मक चिन्तनका पुस्तक पढ्न रुचि लाग्ने उनले सुनाइन् । पुस्तकले भर्चुअल संसारबाट भौतिक संसारमा रमाउन सघाउने उनको बुझाइ छ । ‘एकोहोरो मोबाइल, कम्प्युटरमा रमाउनुभन्दा पुस्तक पढ्दा आत्मविश्वास बढेको महसुस गर्छु,’ उनले भनिन्, ‘कसैको जीवनी पढ्न थालियो भने त समय बितेको पत्तै हुन्न ।’

प्रदर्शनीमा पुस्तक अवलोकन गरिरहेका अर्का सहभागी खगेन्द्र अधिकारीले यस्ता मेलाले आम पाठकलाई अध्ययनमा उत्साह दिने सुनाए । ‘म खासै पुस्तक त पढ्ने गर्दिनँ तर बजारमा देखिएका र धेरै बिक्ने पुस्तक भने खोजेर पढ्न मन लाग्छ,’ उनले भने, ‘बजारमा राम्रा मानिएका पुस्तक अध्ययन गर्दा समय र मूल्य दुवै जोगिन्छ ।’

प्रदर्शनीमा साहित्यिक पुस्तकका साथै धर्म, दर्शन, राजनीति, आर्थिक, सांस्कृतिक, बाल चित्रकथाका पुस्तक राखिएका छन् । कतिपय बिक्रेताले पुस्तकमा १० देखि ४० प्रतिशतसम्म छुट दिएका छन् । प्रदर्शनीमा सबैजसो विधाका पुस्तक समावेश गरिएको इन्डिगो इन्कका प्रकाशक विष्णुकुमार पौडेलले बताए । उनका अनुसार अहिले समसामयिक विषयका गैरआख्यान पुस्तकको माग बढ्दो छ । इन्डिगोसहित, सांग्रिला, सम्पूर्ण किताब, पाँचपोखरी, शिखालगायत अन्य प्रकाशन–गृहका पुस्तक प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमै भेटिएकी कवि तथा समालोचक बिन्दु शर्माले बालसाहित्य र वैचारिक पुस्तक प्रकाशनमा अझै कमी देखिएको बताइन् । सबै पाठकको रुचि एउटै नहुने बताउँदै उनले भनिन्, ‘मानिस अहिले रोमाञ्चकता खोज्ने भएकाले यथार्थभन्दा पर गएर काल्पनिक संसारमा रमाउने पनि हुन्छन् । आख्यानले कल्पनासँगै यथार्थको अनुभूति गराउँछ ।’ बालसाहित्य अहिले ‘अभिभावक साहित्य’ भएको खुलाउँदै उनले बाल मनोविज्ञानमा आधारित भएर लेख्ने क्रममा अझै निखार आउन जरुरी रहेको बताइन् । ‘बजारमा आएका बालसाहित्य उनीहरूकै सिर्जनालाई नष्ट पारिदिने खालका छन्,’ उनले भनिन् । प्रदर्शनी फागुन १० गतेसम्म जारी रहनेछ ।

प्रकाशित : माघ ३०, २०७७ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?