२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ पुस्तक सार्वजनिक

काठमाडौँ — इतिहासविद् भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ (वि.सं.१७१९–२०२०) पुस्तक सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार उक्त पुस्तक सार्वजनिक गरेका हुन् । 

‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ पुस्तक सार्वजनिक

लिम्बुवान अध्ययन केन्द्रले आयोजना गरेको समारोहमा उक्त पुस्तकबारे बोल्दै इतिहासविद् प्रा. दिनेशराज पन्तले किरातकालीन इतिहासको नयाँ प्रमाण जुटेको बताए । ‘नेपालको इतिहासमा किरात काल ज्यादै उन्नत काल हो तर सामग्रीको अभाव छ,’ इतिहास खोज्ने र पढ्ने बानीको कमी रहेको उल्लेख गर्दै पन्तले भने, ‘नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले १८२६ सालपछि मात्र पूर्वतर्फ लागेका थिए ।’ त्यसको समेत प्रमाण दस्तावेजमा जुटेको उनले उल्लेख गरे ।

पुस्तकमा नेपाल राष्ट्र निर्माणअघि र पछि पल्लो किरात लिम्बुवानको मात्र नभई माझकिरात, वल्लो किरातलगायत देशका विभिन्न स्थानमा रहेका ३ सय ९५ वटा दस्तावेज समेटिएका छन् । जसमा तीन सय एक वर्षको ऐतिहासिक सामग्री रहेका छन् । जम्मा ९ सय १६ पृष्ठ रहेको पुस्तकको पहिलो भागमा राजाहरूबाट प्रदान गरिएका सक्कल स्याहामोहर, लालमोहर र रुक्काहरू समेटिएका छन् । दोस्रो भागमा स्याहामोहर, लालमोहर र रुक्काका नक्कलप्रति रहेका छन् ।

तेस्रो भागमा राणा प्रधानमन्त्री, सरकारी अड्डाबाट प्रदान गरिएका कस्यपत्रहरू, अर्जीपत्रहरू, सक्कल रसिदहरू, आदेशहरू, गौडाका सैनिक भारदा र केन्द्रबीच आदानप्रदान भएका चिठीपत्र रहेको छन् ।

यस्तै इस्तिहार, घटना क्रमको टिपोट, सुब्बाका कचहरीमा परेका निवेदनहरू, फिरादपत्र, सुब्बाबीच भएका मुचुल्का, थुम उल्लेख कागजात, कपाली तमसुक जस्ता दस्तावेज रहेका छन् । पुस्तकबारे इतिहासविद् कृष्णविक्रम नेम्बाङ, समाजशास्त्री डा. कमल तिगेला, किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बु, अनुसन्धाता डिबी आङबुङ, मोतीबहादुर इङनामलगायतले चर्चा गरेका थिए ।

प्रकाशित : माघ २३, २०७७ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?