देवेन्द्रराज पाण्डेको ‘एक ज्यान दुई जुनी’ सार्वजनिक- साहित्य/विविध - कान्तिपुर समाचार

देवेन्द्रराज पाण्डेको ‘एक ज्यान दुई जुनी’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — नागरिक अगुवा एवं प्रखुर वक्ता देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ सार्वजनिक भएको छ । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति आइतबार भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो ।  

पाण्डे इमानदार, निष्ठावान् र पारदर्शी चरित्रको व्यक्ति रहेको लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले बताए । ‘सार्वजनिक जीवनमा प्रवेश गरेपछि उहाँ विभिन्न क्षेत्रमा आबद्ध हुनुभयो—दलीय राजनीति, मानवअधिकारको क्षेत्र, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, विकास विमर्श र नागरिक आन्दोलन आदिमा,’ संग्रौलाले भने, ‘पछि लोकतन्त्र, गणतन्त्र र संघीयताको आन्दोलनमा सडक संघर्षकै माध्यमबाट पनि संलग्न हुनुभयो । ७८ वर्षको उमेरमा समेत मधेस आन्दोलनका लागि तराईका विभिन्न भाग पुग्नुभयो ।’ यसबाट पनि पाण्डे देशका जुनसुकै तह र तप्काका मानिसले आफ्नो हकअधिकार पाउनुपर्छ भनेर लड्ने व्यक्ति भएको पुष्टि हुने उनको भनाइ छ ।

‘पाण्डे जति क्षेत्रमा संलग्न हुनुभयो, जहाँजहाँ उहाँले कर्म गर्नुभयो, सबै ठाउँमा छाप छाडुनुभएको छ,’ संग्रौलाले भने, ‘इतिहासका सबै पदचाप उहाँका कानमा गुन्जिएका छन् । आफ्नै जीवनलाई फर्केर हेर्दा आफैंले सुनेका पदचापहरूलाई शब्दमा रूपान्तरित गर्दै लेखिएको हो, यो पुस्तक ।’ निष्काम कर्म गर्न रुचाउने पाण्डेले बाँचिरहेको समयको इतिहास पनि यो पुस्तक रहेको उनले बताए ।

२०१७ सालपछिको ६० वर्ष सार्वजनिक जीवनमा अलग पहिचान बनाएका सक्रिय नागरिक एवं नागरिक अभियन्ता पाण्डेले पुस्तकमा आफ्नो कार्यकालमा निर्वाह गर्नुपरेका भूमिकालाई समेटेको लेखक एवं विश्लेषक झलक सुवेदीले बताए । ‘अर्थसचिव र अर्थ मन्त्रलयमा वैदेशिक सहायता शाखामा रहँदा आफूले गरेका काम र भूमिकाका सन्दर्भ यहाँ जसरी आएका छन्,’ उनले भने, ‘आजको समयमा पनि विकास चिन्तन, वैदेशिक सहायता, विदेश सम्बन्ध र आफ्ना राष्ट्रिय स्वार्थहरूको प्रतिनिधित्व एउटा प्रशासकले कसरी गर्न सक्छ र गर्नुपर्छ भन्ने विषय यहाँ समेटिएको छ ।’

जुन उद्देश्यले नागरिक आन्दोलन भयो, आन्दोलनमार्फत सात दल र माओवादीलाई शान्तिप्रक्रियामा अग्रसर हुन उत्प्रेरित गरियो, जसका आधारमा दोस्रो जनआन्दोलनसमेत खेपेर मुलुकले राजनीतिक रूपमा नयाँ संरचनाअन्तर्गत काम सुरु गर्‌यो, त्यसपछि कम से कम जनउत्तरदायी सरकार, राजनीतिक स्थिरता आदि भएर युगौंदेखि आफ्नो उपस्थिति जनाउन नसकेको समाजका लागि केही काम सरकारले गर्‌थ्यो कि भन्ने आस लागेकोमा राजनीतिक व्यक्तित्व र समाजका केही तह एवं तप्काले त्यो काम गर्न नसकेको लेखक पाण्डेको भनाइ छ ।

लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक निर्माण भएर लागू भइसकेपछि पनि यहाँको राजनीति र अर्थतन्त्रले जुन कोल्टे फेर्नुपर्ने थियो, त्यसो नहुँदा आफूलाई सधैं विरक्त लाग्ने गरेको उनले बताए । ‘त्यसपछि आफ्नै जीवनलाई मैले फर्केर हेरें, आखिर मैले पनि जीवनमा के गरेँ त ?’ उनले भने, ‘आफ्नै आत्मसमीक्षा गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले यो पुस्तक रचना हुने आधार बन्यो । र कुनै एक रात म सुत्न नसकेको अवस्थामा यसको खाका तयार पारें । र बिस्तारै लेख्दै गएँ, मिलाउँदै गएँ । अन्ततः यो पुस्तकले साकार रूप लियो ।’

किताब अंश : विकास र लोकतन्त्र : पञ्चायतदेखि गणतन्त्रसम्म

पुस्तकमा पाण्डेले आफ्नो व्यक्तिगत जीवनबारे एकदमै कम तर आफूले बाँचेको समय, आफूले गरेका काम, आफूले डोर्याएको नागरिक आन्दोलन आदिका विषयमा चर्चा गरेको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए । ‘यो पुस्तक नेपाली समाज, राजनीति, इतिहास र अर्थतन्त्र चियाउने आँखीझ्याल हो,’ उनले भने ।

प्रकाशित : माघ ११, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्

संसद् विघटनको विरोध गर्नेहरु संविधान र देश विरोधी : प्रधानमन्त्री ओली

'सायद दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् होला'
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्नेहरु देश र संविधान विरोधी भएको आरोप लगाएका छन् । 

आइतबार काठमाडौंमा आयोजित अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा प्रधानमन्त्रीसँग साक्षात्कार कार्यक्रममा बोल्दै ओलीले संसद् विघटन असंवैधानिक भयो भनेर कराउनेहरु संविधान र देश विरोधी भएको बताएका हुन् ।

‘संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्, ती कराउने मान्छे संविधान विरोधी हुन् । लोकतन्त्र विरोधी, देश विरोधी, जन विरोधी मान्छेहरु हुन्,’ ओलीले भने, 'अस्थिरता खडा हुने देशमा स्थिरता हुन नदिने र बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको नाटक गर्ने, संसद्‌मा पाँचै वर्ष जागिर खान पाउनु पर्छ चुनिएर आएपछि भन्ने, संसद् भनेको जागिर हो ? संसद् भनेको जागिर हैन ।’

देशलाई अस्थिरतातर्फ धकेल्न खोजेपछि स्थिरताको लागि ताजा जनोदशमा जाने निर्णय गरेको ओलीले दाबी गरे ।

‘अस्थिरतातर्फ मूलुकलाई धकेल्न खोजेपछि स्थिरताको लागि ताजा जनादेशमा गएको हो । मैले आफ्नो हातमा लिएको छैन । आफ्नो हातमा लिएको भए तानाशाह हुन्थ्यो । जनताले फैसला गर्नुस् भन्दा म तानाशाह भए ? मेरो काम के भयो जनताले मूल्यांकन गर्नुस्, अरुको पनि मूल्यांकन गर्नुस् भनेको छु,’ ओलीले भने ।

उनले देशको अहितमा काम गर्ने देशद्रोहीलाई तह लगाउन पनि निर्वाचन आवश्यक भएको दाबी गरे । प्रधानमन्त्री ओलीले आफू पनि अलिअलि अपांगता भएको भन्दै दुई वटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमा नभएको दाबी गरे ।

‘म पनि अलिअलि अपांगता भएको मान्छे हुँ । मेरो किड्नी फेल भएर अर्को किड्नी जोडेर राखेको छु । अर्को किड्नीको ह्लचियर चढेर हिँड्ने मान्छे हुँ । त्यो किड्नी फेल भयो । फेरि अर्को किड्नी राखेर त्यसको वैशाखी टेकेर हिँडेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘अर्को किड्नी फेरेर पनि काम गर्न सकिन्छ भन्ने आत्मविश्वास मैले लिए । सायद दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् होला ।’

देश बिगार्न खोज्नेहरु भागीभागी हिँडेको ओलीको दाबी छ । ‘दुईवटा किड्नी फेरे पनि मैले गाली गरेको छैन, केही भनेको छैन । तर, देश बिगार्न खोज्ने, जनताको अहित गर्ने, लोकतन्त्र विरोधी तत्वहरु, जनताको शासन मास्न खोज्ने तत्वहरु भागीभागी हिँडेका छन् । अपांगता अलिकति कम–बेसी हो । अपांग हैनौं भन्ने ठूलाठूला मान्छेहरु मानसिक रुपमा झन् अपांगता भएका हुन्,’ ओलीले दाबी गरे ।


प्रकाशित : माघ ११, २०७७ १५:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×