कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक विभेदविरुद्ध '६ पात्रको एकालाप'

मानवलाई मानव नदेख्ने, महिला शरीरलाई भौतिक उपभोग्य बस्तु देख्ने र रंगका आधारमा सुन्दरताको परिभाषा निर्माण गर्ने सामाजिक संरचनाविरुद्ध आवाज उठाएको छ नाटकले ।
रीना मोक्तान

काठमाडौँ — म बोल्दैछु आज
म बोल्दैछु आज
हिम्मत गरेर 
के तिमी सुन्न तयार छौ? 
तयार छौ ?
यो मेरो एकालाप 
यो मेरो जीवनको राग…

सामाजिक विभेदविरुद्ध '६ पात्रको एकालाप'

मधुर हुँदै गरेको यो संगीतसँगै मञ्चमा उनी देखा पर्छिन् । मनमा गुम्सिएका अनेकन प्रश्न लिएर । श्यामश्वेत वर्णकी उनको आँखामा प्रश्नै प्रश्न छन् । कालो भएकै कारण कोही राम्रा त कोही नराम्रा । रंगका आधारमा सुन्दरताको परिभाषा र रंगभेद उनी बुझ्दिनन् ।

राम्रो र नराम्रोबीचको सम्बन्धमा रंग कसरी मिसियो पहिल्याउन सक्दिनन् । उनी प्रश्न गर्छिन्,'एउटालाई मन परेको खाना, अर्कोलाई मनपर्दैन भने, एउटालाई मन नपरेको मान्छे अर्कोलाई मनपर्छ भने, एउटालाई मन नपरेको रंग अर्कोलाई मनपर्छ भने कसरी एउटै हुन्छ सुन्दरताको परिभाषा ? कसले रच्यो यो विभेदको कथा ? सेतो राम्रो, कालो नराम्रो !'

रंगकै आधारमा समाजमा थिचिएका वर्गको प्रतिबिम्ब हन् उनी । वर्षौंदेखि मानिस हेपिएका र पेलिएका छन् । सेतो रंगले कालो रंगलाई हेला गर्ने हाम्रो समाज । प्रविधिले फड्को मारिसक्दा पनि समाजमा विद्यमान विभेदविरुद्धकी आवाज हुन् उनी । उनी आफ्नो कालो छालालाई निर्धक्क राम्रो भन्न सक्दिनन् । किनकि समाजले दिने 'राम्रो'को परिभाषामा उनी अटाउँदिनन् ।

समाजको यही दृष्टिकोण, संरचनाविरुद्धको विद्रोही आवाज लिएर उनी समाजसँग उत्तर खोज्दैछिन्,'किन सबै नराम्रो प्रतीकको रंग कालै हुन्छ ?, कसरी हुन्छ सेतो रंग राम्रोको पर्याय?'

रंगमाथि हुने विभेद र अवहेलनाकी प्रतिनिधि पनि हुन् उनी । सेतो रङ्गको गोलो घेरा(प्रप्स) । त्यही घेरामा बसेर उनी यस्ता अनेकन प्रश्न गर्दैछिन् । त्यो घेरा उनी तोड्न सक्दिनन् । घेराले सामाजिक संरचना, दृष्टिकोण अनि सीमाको प्रतिनिधित्व गर्छ । कालो रंगलाई यो समाजले अझै सुन्दर देख्न सकेको छैन । यही परम्परागत मान्यतामाथि कटाक्ष गर्छिन् उनी । उनी अर्थात 'छ पात्र'मध्यकी एक ।

माघ १ गतेदेखि शिल्पी थिएटरमा मञ्चनरत नाटक 'छ पात्रको एकालाप'ले असमानता, विभेद र हिंसाका यस्तै फरक-फरक मुद्दालाई अभिव्यक्त गर्छ । मञ्चमा देखिने ६ पात्रका आफ्नै वेदना, पीडा र समस्या छन् । उनीहरुका एकालापमा पोखिएका छन् समाजका समस्या, पीडितका आवाज ।

जात, लिङ्ग, वर्णकै आधारमा हुने विभेदको कथा बोकेर उभिन्छन् उनीहरु त्यही घेराभित्र । त्यही सामाजिक संरचनाको साङ्लोले उनीहरु घेरिएका छन् । दबिएका छन् । छ पात्र हाम्रो समाजको ऐना जस्ता देखिन्छन् । फरक–फरक मुद्दामा हाम्रा समाजको अनुहार प्रस्तुत छ नाटकमा । पात्रहरुले आफैँसँग गर्ने प्रश्न, उनीहरुका विचार, दृष्टिकोण र हाउभाउमा समाजका अनेकौं पात्रहरु भेटिन्छन् ।

महिलामाथि हुने लैङ्गिक विभेद र महिलाका शरीरको टिप्पणीदेखि जातका आधारमा हुने विविध पक्षलाई पत्रपत्र केलाउँदै पात्रहरुले समाजको कुरुप अनुहार यो नाटकमार्फत देखाउन खोजेको छ । 'किन एकथरी मान्छेलाई प्रेम गरेको आधारमा हत्या गरिन्छ,' जातका कारण विभेदमा परेकी अर्की पात्रले प्रश्न गर्दा दिमागमा नवराज विक झलझली आउँछ । जो कथित माथिल्लो जातकी युवतीसँग प्रेम गरेकै आधारमा मारिए । नवराजहरुलाई जातकै आधारमा माया गर्न नदिने यो संकुचित र अमानवीय सोचलाई व्यङ्ग्य गर्छिन् उनी ।

घिमिरे युवराजको लेखन तथा निर्देशनमा तयार भएको नाटक महिलामाथि भइरहेको हिंसा, विभेद र पीडाको एकमुष्ट रुप हो । मञ्चमा उभिने हरेक पात्रका कहानी र दु:ख फरक छन् । उनीहरुले भोगेको विभेद र हिंसाका मुद्दा उस्तै छैन । सामाजिक संरचनाले उत्पन्न गराउने यी नै समस्याहरुमाथि नाटकले सोच्न बाध्य गराउँछ ।

मानवलाई मानव नदेख्ने, महिला शरीरलाई भौतिक उपभोग्य बस्तु देख्ने र रंगका आधारमा सुन्दरताको परिभाषा निर्माण गर्ने सामाजिक संरचनाविरुद्ध आवाज उठाएको छ नाटकले । मूल विषयवस्तु अधिकांश महिला केन्द्रित भएकाले नाटक महिलावादी जस्तो लाग्छ । जे होस् निर्देशक घिमिरेले महिलाका यी विषयवस्तुलाई न्यायपूर्ण ढंकले नाटकमा उतारेका छन् ।

पवित्रा खड्काको कोरियोग्राफीमा तयार भएको यस नाटकमा कलाकारहरु पवित्रा खड्का, संगिता उराँव, नम्रता अर्याल, साहिना भट्टराई, सुहाना आचार्य र सुमित्रा लामिछानेको अभिनय छ । नाटकमा पवित्रा र संगिताको अभिनय जीवन्त लाग्छ । नाटकमा प्रयोग गरिएका संगीत भने मन छुने र विषयवस्तुसँग मिल्ने छन् ।

कोरोना महामारीका कारण १० महिना बन्द भएको नाटकघर खुलेपछि मञ्चन भएको यो पहिलो नाटक हो । माघ १० गतेसम्म नाटक मञ्चन गरिने बताइएको छ ।

तस्बिरहरू : बिजु महर्जन/कान्तिपुर

प्रकाशित : माघ ६, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?