जिल खुवाउने गाउँ
कहाँ पुगेर बिसाउला यात्रा
सदियौंदेखि
अविरल बगिरहेको
यो रापतीले
मेरो आँखैअगाडि
छालहरु बोकेर बग्दै गरेको
कर्रासँगै जोडिएर
लमतन्न परेको गाउँ आउँछ
सम्झनामा आउँछिन्
सुर्केनी भाउजू
जो जुगौंदेखि
पिंढीमा बसेर
थाङ्ना सिलाउने गर्छिन्
उनको जँड्याहा खसम
भट्टीको एक कुनामा बसेर
सधैंजसो बेसुरमा
तारा खसाइरहेको हुन्छ
मेरो गाउँ
चेतनाको कुरो गर्छ
देखिन्छ कहिलेकाहीँ
मसाल बालेको पनि
तर,
कसैकसैका नजरमा
खड्किनी आमै
नामुद बोक्सी हुन्
माली गाईलाई खोरेत लाग्दा
बाटाघरेलाई कामज्वरो आउँदा
धामीको आदेशमा
मुडुलो बनाउँदै गाउँ घुमाइन्छ उनलाई
र, खुवाइन्छ मान्छेको बिष्टा
भूतप्रेतको डेरा छ मेरो गाउँमा
किचकन्नीहरु आउँछन् हूल बाँधेर
कसै न कसैको घरमा
झाँक्री कामेकै हुन्छ
भाले र बोका नकाटी मरिगए हुँदैन
बिरामीको ज्यानलाई सञ्चो
एक्काइसौं शताब्दी
मेरो गाउँ देखेर जिल खान्छ
मेरो गाउँ
एक्काइसौं शताब्दी देखेर जिल खान्छ
म
दुवैलाई हेरेर जिल खान्छु ।
प्रकाशित : पुस १०, २०७८ ०९:२६