सञ्जालको द्रव्य-दुनियाँ 

सामाजिक सञ्जालहरुले आम प्रयोगकर्ताका डेटा संकलन गरी एड एजेन्सीलाई बिक्री गर्छन् । एजेन्सीले आफ्ना आवश्यकताअनुसार उमेर, लिंग, क्षेत्र वा रुचि भएका व्यक्ति तोकेरै विज्ञापन पोस्ट गर्छन् । बुझ्नु जरूरी छ– हामी र हाम्रा विवरण वस्तु बनाएर सञ्जालले हामीलाई नै बेचिरहेको छ ।
सजना बराल

भर्खरैको स्थानीय तह निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले विभिन्न सामाजिक सञ्जालबाट प्रशस्त मात्रामा प्रचार गरे । यसपालि पर्चा, पम्लेट, पोस्टर र ब्यानरहरू घरका भित्ता होइन सामाजिक सञ्जालका भित्तामा छाए । धेरैले आफ्ना भिडियो सन्देशलाई पनि सामाजिक सञ्जालमार्फत मतदाता तथा शुभेच्छुककहाँ पुर्‍याए ।



तपाईं/हाम्रा फेसबुक, इन्स्टाग्राम, टिकटक वा ट्वीटरका भित्ताहरूमा चुनावी अभियानका स्पन्सर्ड कन्टेन्ट (विज्ञापन) आइरहँदा बागबजारतिरका झन्डा पसलहरूमा भने मन्दी छाएको समाचारहरू छापिए । र्‍याली, सभाको साटो सामाजिक सञ्जालबाट धेरै प्रचार गरिएकाले झन्डाको माग घटेको बागबजारका एक व्यापारी रत्न खड्गीले बताएका थिए । ‘पहिले–पहिलेका चुनावमा झन्डा बेचेर १० देखि २० लाख रुपैयाँ कमाइन्थ्यो, यसपालि २ लाख कमाउन पनि मुस्किल होलाजस्तो छ,’ चुनावअघि उनले आफ्नो पीडा सुनाएका थिए, ‘फेसबुकबाट धेरै मार्केटिङ भएकाले झन्डाको व्यापार घट्यो ।’

निर्वाचन प्रचार शैली डिजिटाइज हुँदै गएको यो पनि एउटा सानो उदाहरण हो । निर्वाचन आयोग स्वयंले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि निर्वाचनसम्बन्धी सन्देश प्रचार गर्न नगद पुरस्कारसहितको प्रतियोगिता आह्वान गरेको थियो ।

सूचना प्रवाहमा सामाजिक सञ्जालको शक्ति बुझेको आयोगले वैशाख ३० मा भएको निर्वाचनका लागि डिजिटल स्पेसबाट गरिने प्रचारप्रसारको खर्चबारे भने कुनै संहिता बनाएन । प्रचारप्रसारका परम्परागत शैलीमा आयोगले उम्मेदवारलाई अधिकतम खर्च गर्न पाउने सीमा तोकिदिएको थियो । महानगरपालिकाका प्रमुख र उपप्रमुखदेखि नगर र गाउँ कार्यपालिकाका सदस्यले साढे सात लाख रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था थियो । यो रकम धेरै वा थोरै भएको विषयमा पनि छुट्टै बहस भयो । सामाजिक सञ्जालबाट गरिने विज्ञापनका विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ‘बीबीसी नेपाली सेवा’ को वैशाख २८ को साँझपख कार्यक्रममा भनेका थिए, ‘उम्मेदवारको खर्चको सीमा तोक्दा सामाजिक सञ्जालबाट पनि ठूलो खर्च हुन्छ र विज्ञापन हुन्छ भन्ने कुरालाई हामीले राम्ररी आकलन गर्न सकेनौं । आउँदो चुनावलाई यो पाठ भयो ।’

सोसल मिडिया एड्भर्टाइजिङमा लामो अनुभव भएका र यससम्बन्धी अध्ययन–अनुसन्धान गर्ने एक जानकारका अनुसार, यसपालिको चुनावमा देशभरि प्रतिवडा औसतमा १७ हजार रुपैयाँ सामाजिक सञ्जालको विज्ञापनमा खर्च गरियो । यसरी हेर्दा ७ हजार वडाका विभिन्न पदका उम्मेदवारले एक/डेढ महिनाको अन्तरालमा झन्डै १२ करोड रुपैयाँको विज्ञापन गरेको देखिन आउँछ । वैदेशिक मुद्रा सञ्चिति घटिरहेका बेला यत्रो ठूलो राशि बिदेसिनु सुखद खबर होइन । (यो यकिन तथ्यांक नभए पनि यही आसपासमा खर्च भएको अनुमान गरिएको छ ।)

महानगरपालिकाका मेयर आकांक्षीहरूले पनि (अनुमानित) औसतमा १५ लाख रुपैयाँ र उपमेयरले औसतमा १ लाख रुपैयाँ सामाजिक सञ्जालको विज्ञापनमा खर्च गरेको ती अनुभवीले जानकारी दिए । यसको हिसाब निकाल्दा ६ वटा महानगरका मेयर तथा उपमेयरका प्रमुख तीन आकांक्षीले कुल २४ लाख रुपैयाँ डिजिटल एड्भर्टाइजिङमा खर्च गरेको बुझिन्छ ।

‘यो रफ फिगर हो, केही तल–माथि हुनसक्छ,’ उनले भने, ‘सामाजिक सञ्जालमा विज्ञापन गर्दा दुइटा स्रोतबाट रकम भुक्तानी हुन्छ । एक, डलर कार्डबाट र अर्को, विदेशबाटै पैसा तिरेर । डलर कार्डबाट हुने भुक्तानीको विवरण राष्ट्र बैंकले केही दिनमा निकाल्ला । तर, विदेशबाटै तिरिनेको तथ्यांक आउन समय लाग्छ ।’ यसबारे डिजिटल मिडिया एड्भर्टाइजिङ एजेन्सीहरूले बिस्तारै अध्ययन गर्ने उनले बताए । यस पटकको चुनावमा फेसबुक, टिकटक र ट्वीटरजस्ता कम्पनीले नेपालबाट राम्रो आम्दानी गरेको उनको भनाइ छ ।

प्रमुख राजनीतिक दलहरूलाई डिजिटल एडभर्टाइजिङमा सघाउने एक एजेन्सीका प्रतिनिधिको भनाइअनुसार, स्थानीय चुनावमा अन्य ठाउँको तुलनामा काठमाडौं उपत्यकाभित्रका उम्मेदवारले सोसल मिडिया एडमा प्रशस्तै रकम खर्च गरेका थिए । उनका अनुसार, चुनावमा मात्रै होइन अरू समय पनि हामीकहाँ सोसल मिडियाबाट मार्केटिङ गर्ने क्रम बढिरहेको छ । राजनीतिक दल वा नेताहरूले तेस्रो पक्ष (डिजिटल मिडिया मार्केटिङ एजेन्सी) मार्फत सोसल मिडिया एड बनाउने गरेका छन् ।

सूचना प्रविधिका जानकार प्रकाश झालाई उद्धृत गर्दै ‘हिमाल’ खबरपत्रिकाले २०७९ को वैशाख अंकमा लेखेको छ, ‘अहिलेसम्म विवेकशील साझाले जति राजनीतिक उचाइ हासिल गरेको छ, त्यसमा सामाजिक सञ्जालको प्रभावकारी प्रयोगको उल्लेखनीय देन छ ।’ तत्कालिन विवेकशील पार्टी सामाजिक सञ्जाल प्रयोगमा तगडा मानिन्थ्यो । कतिले विवेकशील–साझालाई सामाजिक सञ्जालमुखी भनेर आलोचनासमेत गर्ने गरेका छन् । विवेकशील–साझाका प्रवक्ता शरदराज पाठक पार्टीका विचार–धारणा र सन्देशहरू लक्षित समुदायसम्म पुर्‍याउन सामाजिक सञ्जाल वास्तवमै प्रभावकारी भइरहेको बताउँछन् । ‘हामी पेड–क्याम्पेन (पैसा तिरेर गरिने विज्ञापन) चाहिँ गर्दैनौं, त्यति धेरै बजेट पनि हुँदैन हामीसँग,’ उनले भने, ‘पार्टीका एकदुई जना साथीहरूले आफ्ना पोस्टहरू व्यक्तिगत रूपमा बुस्ट वा स्पन्सर गर्नुहुन्छ । तर, पार्टी आफैंले भने गरेको छैन । आउने दिनहरूमा पार्टीलाई त्यसको पनि आवश्यकता पर्न सक्छ ।’

पाठकका अनुसार, सामाजिक सञ्जालमा राजनीतिक दल, नेता वा राजनीतिक गतिविधिबारे झुठा र भ्रामक सूचना फैलिँदा त्यसले अप्ठ्यारो पार्ने गरेको छ । अर्को पार्टीको आलोचना गरेको वा दल तथा नेताबारे मिथ्या सूचना राखेर त्यसलाई अचाक्ली बुस्ट गर्ने गरिएको पनि उनले भेटेका छन् । यही चुनावमा विवेकशील–साझालाई राजतन्त्र पक्षधर भनी सञ्जालबाट प्रचार गरिएको उनले बताए । सञ्जालका विज्ञापनबारे सर्तक एवं ससंकित रहन र नझुक्किन उनले प्रयोगकर्ताहरूलाई अनुरोध गरेका छन् ।

सोसल मिडिया मार्केटिङ

सामाजिक सञ्जालबाट विज्ञापन गर्नेमा राजनीतिक पार्टी वा नेताहरू मात्रै छैनन् । उनीहरूले त बरु महाधिवेशन, चुनावजस्ता विशेष राजनीतिक परिस्थितिमा सामाजिक सञ्जालको विज्ञापनमा बढी चासो दिई खर्च गर्ने गरेका छन् । अरुबेला आमप्रयोगकर्ताले समेत आफ्ना व्यापार, व्यवसाय, गतिविधि, उत्पादन, सेवा र सीपको प्रचार गर्न फेसबुक र टिकटकहरूमा कन्टेन्ट बुस्ट (विज्ञापन) गर्ने गरेका छन् ।

मेरो एक साथीले फेसबुक र इन्स्टाग्रामबाट आफ्नो डेन्टल क्लिनिकको मनग्गे प्रचारप्रसार गर्ने गरेकी छन् । काठमाडौंको क्षेत्रपाटीमा रहेको उनको क्लिनिकमा आउनेमध्ये ९० प्रतिशत दन्त–बिरामी फेसबुक–इन्स्टाग्रामको विज्ञापन देखेरै आउने गरेको उनी बताउँछिन् । ‘सुरु–सुरुमा टोलतिरका मान्छेहरू मात्रै आउनुहुन्थ्यो,’ उनले भनिन्, ‘अहिले थानकोट, लेले, धादिङ, बनेपाबाट समेत आउनुहुन्छ । क्लिनिकबारे कसरी थाहा भयो भनेर सोध्दा फेसुबकमा एड देखेको भन्नुहुन्छ ।’

उनले पछिल्लो एक वर्षयता पोस्टहरूलाई बुस्ट गर्न थालेकी हुन् । महिनामा प्रतिपोस्ट ४ देखि १५ अमेरिकी डलर खर्च गरेर दुइटा पोस्ट बुस्ट गर्ने गरेको बताइन् । ‘अहिलेसम्म त अमेरिका बस्ने दिदी–भिनाजुले उतैबाट फेसबुकलाई पैसा तिरिदिने गर्नुभएको छ,’ उनले भनिन्, ‘अब म आफैंले डलर कार्ड लिने सोचिरहेकी छु ।’ २०७७ चैतमा राष्ट्र बैंकले नेपालबाटै विदेशी मुद्रामा भुक्तानी गर्न पाउने नीतिगत व्यवस्था गरेको थियो, जसअनुसार बैंकहरूले विदेशी मुद्राको भुक्तानी गर्न वार्षिक अधिकतम अमेरिकी डलर ५ सयको प्रिपेड कार्ड जारी गर्न सक्छन् ।

सर्वसाधारणले बैंकबाट कार्ड लिएर विदेशबाट सामान खरिद गर्नुका साथै सामाजिक सञ्जालमा विज्ञापन गरेबापत कार्डबाटै पैसा तिर्न सक्छन् । यसबाट एकै पटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलर बराबरको भुक्तानी गर्न सकिन्छ ।

राष्ट्र बैंकका अनुसार, पछिल्लो एक वर्षमा डलर कार्डबाट करिब २३ लाख अमेरिकी डलर (हालको विनिमय दरअनुसार साढे २८ करोड रुपैयाँ) बाहिरिएको छ । गत माघसम्म कुल २१ हजारवटा डलर कार्ड जारी भएको राष्ट्र बैंकले जनाएको छ । ती कार्डमा करिब ४६ लाख १२ हजार अमेरिकी डलर लोड भएको (भरिएको) छ । लोड भएकोमध्ये करिब २३ लाख अमेरिकी डलर भुक्तानी भइसकेको छ । मासिक औसत २ लाख ८ हजार डलर खर्च हुने गरेको छ । विदेशबाट पुस्तक किन्न, पत्रपत्रिका सब्स्क्राइब गर्न, खेलौना किन्न वा सूचना प्रविधिसम्बन्धीका सेवा लिन डलर कार्डको प्रयोग हुने गरेको छ ।

छ्याप्छ्याप्ती एड एजेन्सी

काठमाडौं उपत्यका र अन्य सहरहरूमा डिजिटल/सोसल मिडिया मार्केटिङ एजेन्सीहरू धेरै खुलेका छन् । नेपाल विज्ञापन संघ (आन) मा ७ सय २३ वटा डिजिटल मार्केटिङ एजेन्सी आबद्ध रहेको संघका अध्यक्ष सोमप्रसाद धितालले जानकारी दिए । उनका अनुसार, अझै २/३ सय एजेन्सी बजारमा छन्, जो आनमा जोडिएका छैनन् ।

डिजिटल मिडिया मार्केटिङ एजेन्सीहरूले विभिन्न संघ/संस्था, व्यक्ति, व्यवसाय, कार्यक्रमहरूको प्रवर्द्धनका लागि इन्टरनेटमार्फत हुने प्रचार–प्रसारमा सरसल्लाह दिनेदेखि भुक्तानीसम्ममा सहजीकरण गर्छन् । ‘कसलाई कुन सोसल मिडिया च्यानलमा विज्ञापन गर्न उपयुक्त हुन्छ, विज्ञापनमा के–के कन्टेन्ट समेट्ने, कुन समूहमा विज्ञापन पुर्‍याउने, कस्तो डिजाइन बनाउनेलगायत सबै कुराको सल्लाह दिन सकिन्छ,’ विबज्र स्टुडियो एजेन्सिजकी डिजिटल मार्केटिङ कन्सल्टान्ट अस्मिता प्रधान भन्छिन्, ‘यस्ता विज्ञापनमा मासिक २/३ हजार डलर खर्च गर्ने ठूला संस्थादेखि सय/पचास डलर खर्च गरेर भिजिबिलिटी बढाउनेहरू पनि छन् ।’

यस्तो सेवा दिएबापत एड एजेन्सीहरूले ५ देखि १५ प्रतिशत शुल्क लिने गरेका छन् । तर, बुस्ट भएको दिनको डलर रेटको आधारमा राष्ट्र बैंकलाई अतिरिक्त सेवा शुल्कअन्तर्गत २८ प्रतिशत कर तिर्नुपर्ने र यो अलि महँगो भएको एड एजेन्सीहरूको गुनासो छ । ‘चुनावका बेला उम्मेदवारहरूको प्रतिबद्धतासम्बन्धी एउटा भिडियो पोस्टलाई २० डलर तिरेर फेसबुकमा बुस्ट गर्दा २८ प्रतिशत अतिरिक्त सेवा शुल्क तिनुपर्‍यो,’ एक एड एजेन्सीका कर्मचारीले भने, ‘यत्रो शुल्क तिर्नुभन्दा विदेशबाट एड गर्नु सस्तो पर्छ । त्यसकारण धेरैले विदेशबाटै पैसा तिर्नेगरी विज्ञापन गर्छन् । तसर्थ, यसबारे राष्ट्र बैंकले पुनः विचार गर्नुपर्छ ।’

सोसल मिडिया मार्केटिङमा नेपालमा वार्षिक २ अर्ब रुपैयाँ खर्च हुने गरेको आन अध्यक्ष धिताल बताउँछन् । ‘यो वैध तरिकाले हुने खर्च हो,’ उनले भने, ‘अर्को करिब ५ अर्ब रुपैयाँ पनि सोसल मिडिया मार्केटिङमा खर्च भइरहेको हाम्रो अनुमान छ । यसमा केही तलमाथि होला । तर, त्यो लिगल सिस्टमबाट गइरहेको छैन, त्यसबाट राज्यले कर पाएको छैन ।’ तेस्रो पक्षमार्फत नेताहरूले गर्ने विज्ञापनसमेत करको दायरामा छैनन् ।

सामाजिक सञ्जालमार्फत बहुराष्ट्रिय कम्पनी, ठूला बैंक तथा व्यापारिक संस्थान, मदिराका ब्रान्डदेखि साना किराना पसल, फर्निचर स्टोर, रेस्टुरेन्ट, ब्युटिपार्लर सञ्चालक जो–कसैले आफ्नो वस्तु तथा सेवाको विज्ञापन गर्न सक्छन् । गीत–संगीत, पेन्टिङ, कविता, भिडियो, भाषण सबैथोकको प्रचार सहजै हुन्छ । सामाजिक सञ्जालमार्फत टार्गेटेड एड्भर्टाइजिङ अर्थात् लक्षित समूहमा पुग्ने गरी विज्ञापन गर्न सकिन्छ । निश्चित उमेर समूह, क्षेत्र, लिंगमा आफ्ना कन्टेन्ट (विज्ञापन) पुर्‍याउन सकिन्छ ।

‘सोसल मिडियाबाट विज्ञापन गर्दा कस्ट इफेक्टिभ (सुपथ) हुन्छ,’ गेमिङसम्बन्धी भिडियो बनाउने लमजुङकी निर्जला थापा भन्छिन्, ‘म मेरो भिडियो ट्युटोरियलहरू युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्राममा राख्छु । बुस्ट गर्दा धेरैमाझ पुग्छ । टीभीमा यस्तो विज्ञापन दिने कुरा भएन । सोसल मिडिया नै एक मात्र उपयुक्त माध्यम हो ।’ एनआईसी एसिया बैंकका कर्पोरेट रिलेसन म्यानेजर चिरञ्जीवी आचार्यले ‘द काठमान्डु पोस्ट’ को डिजिटल मार्केटिङसम्बन्धीको एक समाचारमा भनेका छन्, ‘डिजिटल माध्यमबाट प्रवर्द्धन गर्दा धेरै दर्शकसम्म प्रभावकारी तरिकाले विज्ञापन पुग्छ । डिजिटल मार्केटिङमा खर्च गर्ने कम्पनीले लक्षित वर्गसम्म विज्ञापन पुगे/नपुगेको र त्यसको प्रभावकारितासम्बन्धी सबै विवरण (इन्साइट्स) थाहा पाउन सक्छन् ।’

सामाजिक सञ्जालको विज्ञापन बजार बढेसँगै परम्परागत एड एजेन्सीहरूले पनि डिजिटल मार्केटिङको सेवा दिन थालेका छन् । डलर कार्डको सीमाभन्दा धेरै खर्च गर्नुपरे तिनले विदेशमा खोलिएका एजेन्सीमार्फत रकम भुक्तानी गर्छन् । डिजिटल एड पेमेन्टको सेवा दिने छुट्टै कम्पनीहरू सञ्चालनमा छन् । ती संयुक्त राज्य अमेरिका, बेलायतलगायत विदेशमा स्थापना भएका छन् । ‘वर्षको ५ सय डलरले त व्यक्तिगत प्रयोजन वा सानातिना अभियानका लागि मात्रै विज्ञापन गर्न पुग्छ,’ एक एड एजेन्सीका कर्मचारीले भने, ‘महिनाको २/३ हजार डलर खर्च गर्ने ठूला कम्पनीले भुक्तानी सेवा दिन विदेशमा खोलिएका एजेन्सीमार्फत पैसा तिर्ने गरेका छन् ।’

ठगी उत्तिकै

झापा, बिर्तामोडकी एक किशोरीले फेसबुकमा आएको विज्ञापनमा विश्वास गर्दा आफू ठगीमा परेको भन्दै इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएकी छन् । बीबीएस दोस्रो वर्षमा अध्ययनरत उनले फेसबुक स्क्रोल गरिरहँदा ‘मोबाइल सेल’ नामक पेजमा आईफोन ८ प्लसको विज्ञापन देखेको बताइन् । कमेन्ट बक्समा मूल्य सोध्दा ह्वाट्सएपमा विवरण पठाउने भन्दै उताबाट उनको नम्बर मागिएको थियो । ‘मैले त अरू अनलाइन सपिङ साइटजस्तै ठानेर नम्बर दिएँ,’ उनले भनिन्, ‘ह्वाट्सएपमा कुराकानी गर्दा फोनको मूल्य ३८ हजार रुपैयाँ पर्ने र तीन दिनभित्र डेलिभरी गर्ने भनेका थिए ।’

उनलाई १० हजार रुपैयाँ अग्रिम भुक्तानी गर्न भनियो । उनले ई–सेवामार्फत पैसा पठाइन् । ‘त्यसपछि सामान बाटोमा आइपुगेको छ, अझै अलिकति पैसा पठाउनू भनेर म्यासेज गरे,’ उनले भनिन्, ‘एडभान्स दिइसकेको हुनाले थप पैसा दिए सामान आइपुगिहाल्छ भन्ने लाग्यो । त्यसपछि सामान भन्सारमा अड्कियो, त्यहाँबाट निकाल्न पैसा पठाऊ भने, मैले पठाएँ । पटक–पटक गरी ३८ हजार रुपैयाँ बुझाइसक्दा पनि सामान आएन । त्यसपछि म पुलिसकामा गएँ ।’

ई–सेवामार्फत पैसा पठाइएको हुनाले प्रहरीले ई–सेवालाई सहजीकरणका लागि निवेदन पठाएको उनको भनाइ छ । ‘मेरो पैसा फिर्ता होला/नहोला तर, कसैले पनि फेसबुकका विज्ञापनमा भर परेर मैलेजस्तो गल्ती नगरून्,’ उनी भन्छिन्, ‘आधिकारिक पेज वा ई–कमर्स साइटबाट सामान खरिद गर्नुपर्ने रहेछ । त्यसमा पनि सचेत भएर मात्रै खरिद गर्नुपर्छ ।’ मूल्य सस्तो देखेर नलोभिन र नझुक्किन उनको सुझाव छ ।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार, सामाजिक सञ्जालबाट ठगीमा परेका यस्ता दाबीहरू प्रहरीकहाँ टन्नै आउँछन् । कतिले ‘चिट्ठा परेको छ’ भनेर प्रयोगकर्ताको बैंक खाता नम्बर, फोन नम्बर, ओटीपी नम्बर मागेर खातामा भएको सबै पैसा लगिदिन्छन् । कतिले खाली बट्टा डेलिभरी गरेर पैसा लिएर भाग्छन् । कतिपय केसमा चाहिँ सामान डेलिभरी गरिदिएपछि पैसा नतिर्नेहरू पनि हुने गरेको प्रहरीको विवरणमा छ ।

महानगरीय अपराध महाशाखा, काठमाडौंको तथ्यांकअनुसार, मासिक ८ देखि १० वटा यस्ता केस आउने गरेका छन् । धेरैजसो ठगी फेसबुकका विज्ञापनमार्फत हुने गरेका छन् । ठूला ई–कमर्स प्लाटफर्मबाट पनि मानिसहरू ठगीमा पर्ने गरेका छन् । यस्ता ठगी गर्दा ई–सेवा र खल्ती एपको प्रयोग धेरै हुने गरेको प्रहरीको भनाइ छ । फिसिङ अपराधअन्तर्गत मुद्दा चलाई ठग्नेलाई कारबाही गर्ने गरेको प्रवक्ता केसीले बताए ।

ई–सेवाका प्रमुख कार्यकारी अधिकृति सुवास सापकोटाले भने यस्ता घटनामा प्रहरीसँगको सहकार्यमा कम्पनीले आवश्यक जाँचबुझ गरी रकम फिर्ताका लागि सहजीकरण गर्ने गरेको बताए । ‘ई–सेवा प्रयोग गरेर ठग्ने वा ठगिने गतिविधि कम होस् वा नहोस् भनेर हामीले ग्राहकको सुरक्षाका लागि हालै ‘सेक्योर्ड ट्रान्सफर’ सुविधा ल्याएका छौं,’ सापकोटाले भने, ‘ई–सेवा वालेटमा यो अप्सन इनेबल गर्दा सामान डेलिभरी नभइन्जेल पैसा ट्रान्सफर हुँदैन । सामान डेलिभरी भइसकेपछि पनि पैसा ट्रान्सफर गरिएन भने हामी आवश्यक जाँचबुझ गरी पैसा ट्रान्सफर गरिदिन्छौं ।’

सञ्जालको अर्थजाल

मार्क जुकरबर्गले सन् २००४ मा हाभर्ड विश्वविद्यालयका आफ्ना साथीहरूसँग जोडिन फेसबुक निर्माण गरेका थिए । सन् २००६ मा ज्याक डोर्सीले ‘ओडियो’ नामक उनको पडकास्टिङ कम्पनीका सहकर्मीले एक–अर्कालाई छोटा सन्देशहरू पठाउन सकून् भनेर ट्वीटर बनाएका थिए । सूचना साझा गर्न र सम्बन्धहरू जोड्न सामाजिक सञ्जालको सुरुवात भएको थियो । तर, अहिले यी प्लाटफर्महरू व्यापार र प्रवर्द्धनका लागि बढी प्रयोग हुन्छन् ।

सञ्जालहरूमा धेरैजसो विज्ञापन (एड्भर्टाइजिङ), दान (डोनेसन्स) र बिक्री (सेल्स) मार्फत पैसाको कारोबार हुन्छ । विज्ञापनको पाटोमा सामाजिक सञ्जालका प्लाटफर्म, एड एजेन्सी, पेमेन्ट सलुसन प्रोभाइडर वा सोसल मिडिया इन्फ्लुएन्सरहरूले स्पन्सर्ड पोस्टिङ वा विज्ञापन गरिदिएबापत विज्ञापनदाताबाट शुल्क लिन्छन् । सन् २०२१ मा मेटा (फेसबुक) ले मूलतः डिजिटल एड्भर्टाइजिङबाट १ सय १७ अर्ब डलर आम्दानी गरेको स्ट्याटिस्टाले जनाएको छ । यसै वर्ष टिकटकको आम्दानी झन्डै ५ अर्ब डलर छ ।

हामी आम प्रयोगकर्ताका डेटा (नाम, जन्म मिति, तस्बिर, लिंग, फोन नम्बर, इमेल, ठेगाना, रुचि, गतिविधि आदि) यी सञ्जालहरूले संकलन गरी एड एजेन्सीलाई बिक्री गर्छन् । एजेन्सीले आफ्ना आवश्यकताअनुसारका उमेर, लिंग, क्षेत्र वा रुचि भएका व्यक्तिलाई तोकेर विज्ञापन पोस्ट गर्छन् । हामीले फेसबुक, ट्वीटर, युट्युब, टिकटकहरूमा एकाउन्ट खोल्न वा यी सञ्जाल चलाउन पैसा तिर्नुपर्दैन । हामीलाई लाग्छ, यी सित्तैंमा उपलब्ध छन् । तर, यिनले हामी र हाम्रा विवरणलाई नै वस्तु बनाएर बिक्री गरिरहेका छन् भन्ने तथ्य बुझ्नु जरुरी छ ।

सामाजिक सञ्जालबाट पैसा कमाउनेहरूको अर्को दुनियाँ छ । यसमा कन्टेन्ट क्रिएटरहरूलाई सञ्जालले तिनको रचनाका लागि भ्युज, लाइक्स आदिका आधारमा पैसा दिन्छन् । कन्टेन्ट क्रिएटर वा इन्फ्लुएन्सरहरूका लागि फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याटजस्ता सञ्जालले ‘क्रिएटर्स फन्ड’ स्थापना गरेका छन् । चर्चित र उत्कृष्ट कन्टेन्ट बनाउन तिनले यही कोषबाट इनाम (पैसा) दिन्छन् ।

सन् २०२१ मा टिकटकले बेलायत, जर्मनी, इटली, फ्रान्स र स्पेनका क्रिएटरहरूका लागि मात्रै ७ करोड अमेरिकी डलर छुट्याएको थियो । सन् २०२२/२३ मा यसले विश्वभरका टिकटक प्रयोगकर्ताका लागि ३० करोड अमेरिकी डलरको कोष खडा गरी इनाम बाँड्ने लक्ष्य राखेको ‘द इकोनमिक टाइम्स’ ले उल्लेख गरेको छ । फेसबुकले भिडियो कन्टेन्ट क्रिएटरलाई बोनस दिन १ खर्ब डलर छुट्याएको छ । २०२१ मा युट्युबले सर्टस् फन्ड स्थापना गरी क्रिएटरहरूका लागि त्यसमा १० करोड डलर दाखिल गरेको ‘द भर्ज मिडिया’ ले लेखेको छ ।

गुगलले सन् २००३ मा सुरु गरेको एडसेन्स फिचरबाट पनि ब्लगर, युट्युबर र इन्फ्लुएन्सरहरूले राम्रो आम्दानी गर्छन् । एडसेन्सले कस्ट पर क्लिक (सीपीसी) र कस्ट पर थाउजन्ड इम्प्रेसन (सीपीएम) का आधारमा क्रिएटरलाई पैसा दिने गरेको छ । गुगलले युट्युब किनेपछि एडसेन्स कार्यक्रम असाध्यै लोकप्रिय बन्यो ।

हाम्रा युट्युबरहरूले मूलतः एडसेन्सबाटै पैसा कमाउने हुन् । तसर्थ, ती भ्युज र लाइक्सको पछाडि दौडिने गर्छन् । एडसेन्स एकाउन्टमा १ सय डलर पुगेपछि युट्युबले पैसा दिन थाल्छ । यसरी गरेको आम्दानी पनि करको दायरामा अटेको छैन । म्युजिक नेपाल, टुबिगेमर, द काटुन्ज क्रु, इन्द्रेणी, तात्तातो खबरजस्ता युट्युब च्यानलले युट्युब प्लाटफर्मबाट मनग्गे आम्दानी गर्ने गरेका छन् ।

युट्युबले मान्यता दिएको सोसलब्लेड डटकमका अनुसार, म्युजिक नेपालले युट्युबबाट मासिक ९ हजार ५ सय डलरदेखि १ लाख ५१ हजार ३ सय अमेरिकी डलर आर्जन गर्ने गरेको छ । त्यस्तै सोसल मिडिया इन्फ्लुएन्सरहरूले ब्रान्ड स्पन्सरसिपबाट पनि राम्रो आम्दानी गर्छन् । हाम्रा कलाकार, खेलाडी वा सार्वजनिक व्यक्तित्वहरूले प्रशस्त फलोअर भएका आफ्ना सोसल मिडिया पेजबाट सेवा तथा उत्पादनको विज्ञापन गरिदिएबापत शुल्क लिन्छन् । यसमा पनि करको कुरा जोडिने भएकाले धेरैले यसबारे मुख खोल्दैनन् । तर, २०७५ मा मैले एक अभिनेत्रीसँग कुरा गर्दा उनले सोसल मिडियामा प्रतिपोस्ट ६० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेको बताएकी थिइन् ।

इन्फ्लुएन्सर मार्केटिङको प्रभाव बढेसँगै हामीकहाँ इन्फ्लुएन्सर मार्केटिङ कम्पनीहरू पनि सञ्चालनमा आएका छन् । तिनले कुन ब्रान्ड वा सेवालार्ई को इन्फ्लुएन्सर ठीक हुन्छ भनेर सुझाव दिई त्यहीअनुरूप कन्टेन्ट (विज्ञापन) बनाइदिन्छन् । प्रियंका कार्की, स्वस्तिमा खड्का, दयाहाङ राई, दीपकराज गिरीलगायत कलाकारहरू बलिया इन्फ्लुएन्सर मानिन्छन् । टिकटकबाट उदाएकाहरूले पनि आ–आफ्ना सञ्जालबाट ब्रान्डिङ र प्रमोसनको काम गर्दै त्यसबाट आम्दानी गर्ने गरेका छन् ।

नियमनमा उल्झन

सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने विषय समय–समयमा आइरहन्छ । सरकारले गएको मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि यो समेटिएको थियो । सामाजिक सञ्जालमा गरिने विज्ञापनका लागि नेपालबाट ठूलो मात्रामा डलर बाहिरिन थालेपछि सरकारले त्यसलाई नियमन गर्न खोजेको छ । तर, यो विषय अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

त्यस्तै, डिजिटल एडभर्टाइजिङसम्बन्धी छुट्टै कानुन नभएकाले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनका भाषा, शैली, डिजाइनदेखि ठगीका कुरामा कुनै छेकबार नरहेको जानकारहरू बताउँछन् । ‘विज्ञापनलाई लिएर फेसबुक, ट्वीटर, टिकटकहरूका आफ्नै आन्तरिक नीति छन्,’ डिजिटल एड्भर्टाइजिङबारे जानकारी राख्ने अस्मिता प्रधान भन्छिन्, ‘तर, हाम्रो देशको आफ्नो नीति छैन । समग्र विज्ञापनसम्बन्धी नीति छ तर डिजिटल वा सोसल मिडिया एड्भर्टाजिङसम्बन्धी नीति छैन ।’

विदेशमा कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर, ब्रान्ड सबैका लागि बेग्लाबेग्लै नीति–नियम हुने गरेका छन् । भारतमा एएससीआई (विज्ञापन मानक परिषद्) ले एएससीआई सोसल स्थापना गरी इन्फ्लुएन्सर मार्केटिङलाई व्यवस्थित बनाउने प्रयास थालेको छ । यसले इन्फ्लुएन्सरहरूका लागि निर्देशिका पनि बनाएको छ । ‘हामीकहाँ पनि अब डिजिटल एड्भर्टाइजिङका लागि छुट्टै कानुन चाहिने बेला भइसक्यो,’ आनका अध्यक्ष्य धितालले भने, ‘यसबारे विज्ञापन बोर्ड, प्रहरी प्रशासन, गृह प्रशासन, सूचना–प्रविधि मन्त्रालय, राष्ट्र बैंक सबै गम्भीर हुनुपर्छ ।’

आम प्रयोगकर्ताले सञ्जालका जञ्जालहरू बुझ्नुपर्ने बेला आएको छ । हामीले सञ्जाल प्रयोग गरेका हौं कि सञ्जालले हामीलाई प्रयोग गरिरहेको छ ? यस विषयमा चनाखो हुनु आवश्यक छ ।

प्रकाशित : जेष्ठ १४, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

१०१ वर्षअघिको त्यो आरोहण

‘न्युयोर्क टाइम्स’ को अन्तर्वार्तामा मेलोरीलाई सोधियो, ‘तपाईं किन माउन्ट एभरेस्ट चढ्न चाहनुहुन्छ ?’ मेलोरीले उत्तर दिए, ‘बिकज इट्स देअर !’
सुरेश पौडेल

काठमाडौँ — सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथा चुचुरोमा पुगे । उनीहरुअघि सर्वोच्च शिखरमा कोही पुगेका थिए कि थिएनन् ? यो प्रश्नको जवाफ बेलायती नागरिक जर्ज मेलोरीसँग हुन सक्थ्यो । किनकि त्यसको २९ वर्षअघि उनी सगरमाथाको हिउँमा हराइसकेका थिए । उनको अपुरो सगरमाथा–कथामा मन्थन गरौं:

२९ मे, १९५३– तेन्जिग नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा सर्वप्रथम पुगेका थिए । तर, नेपालमा कसैलाई यसको सुइँकोसम्म पनि दिइएन । सगरमाथा नेपालको चढिए पनि यसबारे पहिलो जानकारी बेलायतबाट जारी गरियो । २९ मे को उक्त घटना केही दिन गोप्य राखेर २ जुन, १९५३ का दिन महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेक–अवसरमा त्यो खबर प्रकाशित–प्रसारित गरियो । नेपालमा भने बेलायतमा बासी भइसकेको उक्त खबर ‘गोरखापत्र’ मा भोलिपल्ट अर्थात् जुन ३ मा प्रकाशित गरियो । गोरखापत्रमा तेन्जिङलाई ‘तेनसिंह’ लेखिएको छ, त्यस्तै एडमन्ड हिलारीलाई ‘एसपी हिल्यारी’ । उतिबेला संसारलाई नै रोमाञ्चित बनाएको उक्त घटना आज ६९ वर्ष पुरानो भइसक्यो, तर सगरमाथा आरोहणको कथा आरम्भ भएको भने १०१ वर्ष पूरा भएको छ ।

शिखरमा पुगेर तेन्जिङ–एडमन्ड सर्वप्रथम जीवितै फर्केका थिए । तर, के त्यसअघि कोही शिखरमा पुगेकै थिएनन् ? वा पुगेर पनि जीवित फर्किन सकेनन् ? प्रस्तुत लेख यस्तै एक पात्रमाथि केन्द्रित छ, जो सन १९२१ मा आरोहण आरम्भ भएदेखि १९२४ सम्म ३ पटक सगरमाथाको विभिन्न उचाइमा पुगेका थिए । सम्भवतः चुचुरोमै ? उनी शिखरमा पुगे/नपुगेको कथाको रहस्य आजपर्यन्त कायमै छ । र, यसबाट पर्दा उठ्ने हो भने सगरमाथा आरोहणको इतिहास बेग्लै हुन सक्छ । यस कथाका नायक हुन् सम्भवतः शिखरमै सर्वप्रथम पुग्न सफल जर्ज हर्बर्ट ली मेलोरी । आखिर को थिए मेलोरी ? किन उनी ‘एभरेस्ट’ (उतिबेला सगरमाथा नामकरण भइसकेको थिएन) चढे ? के उनी ‘एभरेस्ट’ को चुचुरोमा पुगेका थिए ? अब बेला भएको छ, इतिहास उत्खनन गर्ने ।

सन १८५२ मा नेपाल–तिब्बत सिमानामा उभिएको पिक–१५ नै संसारकै सर्वोच्च शिखर भएको पत्ता लागेपछि यसप्रतिको आकर्षण विशेषगरी बेलायतीमाझ विस्तार हुँदै गएको थियो । यसैक्रममा एक बेलायती एल्पिनिस्ट (एल्प्स पर्वतमाला आरोहण गरेकाहरूलाई गरिने सम्बोधन) एवं चिकित्सक क्लिन्टन थोमस डेन्टले एभरेस्ट आरोहणबारे सर्वप्रथम सोचे । यिनले सन १८८५ मा प्रकाशित आफ्नो पुस्तक ‘एबभ द स्नोलाइन’ मा पहिलो पटक ‘एभरेस्टमा’ मानव पुग्न सक्ने आफ्नो कल्पना उल्लेख गरे । लेखेका छन्, ‘अहिले एभरेस्ट आरोहणको कुरा गर्नु हतारमा नायाग्राफल्समा पौडी खेल्नुजस्तै मानिएला अथवा एभरेस्ट आरोहण गर्नु बुद्धिमानी हुनेछ भनेर म अहिले नै त भन्दिनँ, तर मलाई विश्वास छ– मानवजातिबाट नै यसको आरोहण सम्भव छ । र, यो हाम्रै पालामा सफल हुँदै गएको हामीले देख्नेछौं ।’

डा. डेन्टको यो सोचलाई डा. एएम केल्लासको सन् १९१६ को अध्ययन ‘अ कन्सिडेरेसन अफ द पोसिबिलिटी अफ एसेन्डिङ द लोफ्टियर हिमालय’ ले सम्भव रहेको पुष्टि गर्‍यो । उनले मानवीय शारीरिक क्षमताबाट हिमालयका चुचुराहरू आरोहण गर्न सकिने उल्लेख गरे । विज्ञ आरोही र चिकित्सकको यस्तो घोषणाबाट एभरेस्टको उचाई नाप्न बेलायती एल्पिनिस्टहरू उत्साहित हुने नै भए । विशेषगरी त्यस्ता बेलायती, जो केही नयाँ गर्ने चाहना राख्थे । बेलायतीहरू आफैँले सर्वाधिक अग्लो भनेर पत्ता लगाएको एभरेस्टमा पहिलो पटक आफैँ चढ्न चाहन्थे किनकि युरोपमा पर्वतारोहण आरम्भ भएको दशकौं भइसकेको थियो । र, उनीहरूसँग अनुभव थियो । त्यसैले संसारकै सर्वाधिक अग्लो चुचुरो पत्ता लागेपछि त्यसको शिखरमा पुग्ने सोच उनीहरूमा सर्वप्रथम आउनु स्वाभाविकै भयो ।


सगरमाथा आरोहण गर्दै मेलोरी र इरवाइन । तस्बिर : एजेन्सी

सन् १९१९ मा पर्वतारोहीहरूको पहिलो संगठन ‘अल्पाइन क्लब’ र ‘रोयल ज्योग्राफिकल सोसाइटी’ को समन्वयमा ‘एभरेस्ट’ आरोहणका लागि ‘माउन्ट एभरेस्ट कमिटी’ गठन हुन्छ । त्यतिबेला नेपाल विदेशीका लागि खुला नभएकाले दलाई लामाबाट तिब्बत प्रवेशको अनुमति पाएपछि आरोहण अभियान सिक्किम र तिब्बत हुँदै अघि बढ्छ । आरोहण टोलीको उद्देश्य थियो– एभरेस्ट आरोहणको सम्भाव्यता अध्ययनसहित पूर्वावलोकन र नक्साङ्कन । त्यही टोलीका नौजना आरोहीमध्ये एक थिए– मेलोरी ।

सम्झिनुपर्ने तथ्य के भने सगरमाथा आरोहणकै लागि भनेर जर्ज मेलोरी कहिल्यै नेपाल आएनन् । तर, गोरखापत्रका विगत दशकका केही अंकहरूमा यसमाथि गलत सूचना दिइएको पाइन्छ । जस्तै २०५७, जेठ १४ गतेको गोरखापत्रमा लेखिएको छ–

‘सन १९२१ मा जर्ज मेलोरी तात्कालीन राणा सरकारबाट सगरमाथाको प्रथम आरोहणका लागि अनुमति प्राप्त गर्न सफल भए ।’

त्यस्तै २०५८ असार १६ गतेको गोरखापत्रमा डम्बरजंग डाँगी लेख्छन्–

‘विश्वको अग्लो चुचुरो प्रमाणित भए पनि राणाकालीन नेपाल विदेशीहरूको लागि खुला थिएन । धेरै पछि विसं १९७८ मा मात्रै पहिलो पटक बेलायती पर्वतारोही जर्ज म्यालोरी राणा सरकारबाट अनुमति पाएर सगरमाथा आरोहणमा पाइला अघि बढाए ।’

त्यस्तै मिति प्रस्ट नभएको गोरखापत्रको कुनै अंकमा अर्जुन अञ्जान घिमिरेको लेखले पनि गलत सूचनालाई निरन्तरता दिएको छ, उनी लेख्छन्–

‘विसं १९७८ मा तात्कालीन राणा सरकारले जर्ज म्यालोरी भन्ने व्यक्तिलाई स्वीकृति प्रदान गरेको थियो ।’

सम्बन्धित विषयको अनुसन्धानमा जब विगतमा गलत सूचनाहरू प्रवाह भएको सप्रमाण खुल्न आउँछ, त्यतिबेला तथ्यहरू सुधार गर्दै लैजानु लेखकीय कर्त्तव्य ठानेर यसमाथि स्पष्ट गरिएको हो । अब लागौं मेलोरीतिरै ।

बेलायत, चेशायरस्थित मोबर्ली गाउँका एक पादरीका छोरा जर्ज मेलोरी विद्यालय शिक्षक थिए । आकर्षक व्यक्तित्व, सुगठित शरीरका धनी मेलोरी सबैका प्रिय थिए । उनी फोटोग्राफीका सोखिन थिए, खिच्ने र खिचाउने दुवै ! यतिसम्म कि मोडलिङका लागि भनेर उनले त्यो समयमा आफ्नै निर्वस्त्र तस्बिरसमेत खिचाएका थिए । नयाँ–नयाँ चुनौती सामना गर्न रुचाउने उनी आफ्नो पुस्तामा सर्वाधिक अनुभवी पर्वतारोही मानिन्थे, उनले ‘एल्प्स’ पर्वतमालाका अनेकन् चुचुरा टेकिसकेका थिए ।

तर, हिमालयको विषय बेग्लै थियो, ‘एल्प्स’ को सर्वाधिक अग्लो चुचुरो ‘मो ब्लांक’ भन्दा ‘एभरेस्ट बेसक्याम्प’ नै बढी उचाइमा थियो, त्यसैले ‘एल्प्स’ चढ्दा गरिने तयारी ‘एभरेस्ट’ मा पर्याप्त थिएन किनकि २९ हजार फिटको उचाइमा बिनाअक्सिजन बाँच्न सकिने/नसकिनेबारे कसैलाई थाहा थिएन । त्यसैले भन्न सकिन्छ, मानवजातीेले हिमालयको उचाइमा प्रत्येक पाइला पहिलो पटक टेक्न र अनुभव गर्न जाँदै थियो ।

मे १८, १९२१ मा दार्जिलिङबाट ‘ब्रिटिस माउन्ट एभरेस्ट रिकोनोसेन्स एक्सिपिडिसन’ अघि बढ्छ । यो अभियान एभरेस्टमा बाटो पहिल्याउने काममा केन्द्रित थियो, शिखरमा पुग्नैपर्ने सोच राखिएको थिएन । त्यसैले मेलोरी पहिलो पटक सेप्टेम्बर– २३ मा नर्थकोलको २३,०३० फिटसम्म पुग्छन् । त्यहाँ उनले मौसम र हिउँको अवस्थाबारे जानकारी बटुल्छन्, उत्तर र उत्तरपूर्वी मोहडाका साथै शिखरसम्म पुग्न सकिने सम्भावित मार्गहरू पनि उनी पत्ता लगाउँछन् । त्यतिबेला २३,०३० फिटको उचाइमा पहिलो पटक मानव पुगेको कीर्तिमान बन्यो ।

सन १९२२ मा जनरल चार्ल्स जी. ब्रुसको नेतृत्वमा ‘१९२२ ब्रिटिस माउन्ट एभरेस्ट एक्सिपिडिसन’ आरम्भ हुन्छ । अघिल्लो सिजनमा मेलोरीले पत्ता लगाएको मार्ग भएरै टोली अघि बढ्छ । मे २२ मा मेलोरी उत्तरी किनारको २६,८०० फिटसम्म पुग्छन् । यतिको उचाइमा पहिलो पटक मानव पुगेको अर्को नयाँ कीर्तिमान थियो त्यो । यसैक्रममा नर्थकोलभन्दा केही माथि हिमपहिरोमा परेर ७ जना भरियाको मृत्यु भएपछि अन्तिम बेलामा आरोहण स्थगित हुन्छ ।

(मेलोरी र उनका साथी सन् १९२१ मा पहिलो पटक उत्तरी मोहडाबाट आरोहणमा जाँदा सगरमाथाको करिब सात हजार बीस मिटरको उचाइमा रहेको त्यो साँघुरो अनि ठाडो उकालो, जहाँबाट शिखरको वास्तविक आरोहण सुरु हुन्छ, विशेषगरी उत्तरी मोहडाबाट आरोहण गर्दा । सगरमाथाको हिउँको तल्लो विन्दु पनि मानिन्छ नर्थकोल ।)

७ मानवीय क्षति र आर्थिक अभावका कारण सन १९२३ मा आरोहण स्थगित हुन्छ । अघिल्लो २ वर्ष महिनौं हिमालयमा बिताएका मेलोरी अवसरको सदुपयोग गर्दै न्युयोर्क पुग्छन् । १८ मार्च १९२३ को ‘न्युयोर्क टाइम्स’ मा ‘क्लाइम्बिङ माउन्ट एभरेस्ट इज वर्क फर सुपरमेन’ शीर्षकमा उनको अन्तर्वार्ता प्रकाशित भयो । किनकि त्यतिबेलासम्म पृथ्वीको त्यो उच्चतम विन्दुसम्म उनी नै पुगेका थिए । मेलोरीलाई सोधिएको थियो, ‘तपाईं किन माउन्ट एभरेस्ट चढ्न चाहनुहुन्छ ?’ ‘बिकज इट्स देअर,’ मेलोरीले उत्तर दिएका थिए ।

जर्ज मेलोरी । तस्बिर : एजेन्सी

उनको यो उत्तरमा ‘एभरेस्ट’ बेलायतको खोज भएकाले बेलायतीले नै पहिला चढ्नुपर्छ भन्ने मान्यता, पर्वतारोहणमा विश्वका लागि बेलायतले नै उदाहरण स्थापित गर्नुपर्छ भन्ने चाहना र अघिल्ला २ आरोहणका अनुभव सँगालिसकेकाले आफू शिखरमा पुगेरै छाड्ने उच्च आत्मविश्वासको वर्णन थियो ।

सन १९२४, ‘ब्रिटिस माउन्ट एभरेस्ट एक्सिपिडिसन’ फेरि सुरु हुन्छ । सन् १९२१ देखि २४ सम्मका ३ वटै आरोहणमा निरन्तरता पाउने एक मात्र आरोही मेलोरी थिए र यो उनको अन्तिम पटक थियो । यस पटक आरोहण टोलीमा उनीसँगै थिए– अक्सिजनविज्ञ एन्ड्रयु इरवाइन । इन्जिनियरिङका विद्यार्थी एन्ड्रयु कोमिन इरवाइन २२ वर्षका थिए । यो उनको पहिलो आरोहण थियो र मेलोरीले विगतमा हासिल गरेको अनुभवमा उनी पूर्णतः विश्वस्त थिए ।


मेलोरी र अक्सिजनविद् एन्ड्र्यु इरवाइन । तस्बिर : एजेन्सी

यसैबीच नर्थकोलको २३ हजार फिटमा क्याम्प खडा गर्ने प्रयासमा खराब मौसमका कारण एक भरिया र एक सहायक आरोहीको मृत्यु हुन्छ । त्यस्तै टोली नेता कर्नेल नोर्टनले चस्मा फुकाल्दा ‘स्नो ब्लाइन्डनेस’ भएर तथा सँगै गएका होवर्ड सोमरवेल अक्सिजनको कमीले झन्डै मर्ने अवस्थामा पुगेकाले उनीहरूको प्रयास पनि असफल हुन्छ । शृंखलाबद्ध असफलता बेहोर्दा–बेहोर्दै पनि मेलोरी अक्सिजनसहित आरोहण जारी राख्ने निर्णयमा पुग्छन् । अघिल्ला दुई प्रयास अक्सिजन नभएकै कारण सफल नभएको उनको ठहर थियो । त्यसैले उनले अक्सिजनविद् एन्ड्रयु इरवाइनलाई साथ लिएका थिए । मेलोरी यस पटक जसरी पनि शिखरमा पुग्न चाहन्थे ।

तर, किन ?

कल्पना गर्न सकिन्छ, संसारमा पहिलो पटक ‘एभरेस्ट’ को शिखरमा पाईला टेक्ने आरोहीमध्यको एक बन्ने अवसर कस्तो हुने होला भनेर । उचाइको त्यो हद, जसबारे आजसम्म कसैलाई थाहा छैन, त्यस्तोमा माथि उक्लिँदै गरेका प्रत्येक अज्ञात पाइलाको रोमाञ्च कस्तो हुन्छ, मेलोरीले बुझेका थिए । अघिल्ला २ आरोहणमा उनले स्थापित गरेका कीर्तिमान र तीनैवटा आरोहणमा सहभागी एक जना मात्रै मेलोरी त्यो अवसरबाट वञ्चित हुन चाहन्नथे । उनी विश्व कीर्तिमान रच्न चाहन्थे । अर्को पनि एउटा कारण थियो– तेस्रो पटकको आरोहणमा आउँदा मेलोरीले आफ्नी श्रीमती रुथ टर्नरलाई वचन दिएका थिए– उनको तस्बिर चुचुरोमा छोडेर आउने । यी सबै कारणले मेलोरीको मन व्यवहारमा देखिएको असहज परिस्थिति स्विकार्न तयार थिएन, उनको चाहना सबैतिर हावी बन्दै गइरहेको थियो ।


जर्ज मेलोरी र उनकी श्रीमती रुथ टर्नर । तस्बिर : एजेन्सी

जुन ६, १९२४, बिहान मेलोरी र इरवाइन नर्थकोलस्थित क्याम्प–४ बाट माथि उक्लिनुअघि अर्का आरोही नोल ओडेल उनीहरूलाई बिदा गर्छन् । ओडेलले उनीहरूको तस्बिर खिच्छन् । सम्भवतः अन्तिम तस्बिर ।

जुन ७, १९२४, भरियामार्फत ओडेल मेलोरीले पठाएको सन्देश पाउँछन्– मेलोरी र इरवाइन शिखरभन्दा २ हजार फिट तलसम्म पुगिसकेका हुन्छन् ।

जुन ८, १९२४, बिहान ओडेल पनि माथि उक्लिन्छन् । केही घण्टापछि बादल आउने–जाने हुँदै गर्दाको अवस्थामा एक माइलभन्दा पनि कम दूरीमा ओडेलले मेलोरी र इरवाइनलाई देख्छन् । उनीहरू अन्तिम चुचुरोको आधारविन्दुतर्फ एकपछि अर्को गर्दै उक्लिँदै गरेका हुन्छन् । तर, अचानक बादलको ठूलो टुक्रा ओडेल र उनीहरूको बीच आउँछ, केही बेरपछि बादल हराउँछ । साथै चुचुरोतिर लम्किँदै गरेका मेलोरी र इरवाइन पनि हराउँछन् । हिउँ पर्दै, हावा चल्दै गर्दा पनि मेलोरी र इरवाइनलाई खोज्दै ओडेल माथितिर चढ्छन्, तर व्यर्थ ! २३ हजार फिटको उचाइमा बसेर ओडेलले आफ्ना साथीहरूलाई कुर्छन्, तर कुनै संकेत नआएपछि उनीहरू हराएको निष्कर्षमा पुग्छन् र तल झर्छन् । जर्ज मेलोरी र एन्ड्रयु इरवाइनको निधन भएको निष्कर्षमा टोली पुग्छ ।

मेलोरी र इरवाइनलाई गुमाउँदासम्म ३ पटकको आरोहण अभियानमा मर्नेहरूको संख्या १३ पुगिसकेको थियो । मेलोरी र इरवाइनको मृत्युको खबरले सारा बेलायत स्तब्ध हुन्छ । बेलायतले सार्वजनिक रूपमै शोक मनाउँछ, स्वयं बेलायती राजाले आरोहीहरूका परिवारलाई समवेदना सन्देश पठाउँछन् ।

पृथ्वीको उच्चतम विन्दुमा पुग्ने मेलोरी र इरवाइनको संघर्षले उनीहरू विश्वमै नायक भइसकेका हुन्छन् । र, प्रथम विश्वयुद्ध समाप्तिपछिको त्यो संसारको सोच युद्धबाट मोडिएर मेलोरी र इरवाइनमा केन्द्रित हुन्छ । तर, प्रश्न फेरि पनि त्यही– के उनीहरू चुचुरोमा पुगे ?

मेलोरीको दृढनिश्चय र शक्तिलाई आधार मान्ने हो भने उनी शिखरमा पुग्न सफल भएको तर्क गर्ने गरिन्छ । विशेषगरी मेलोरीलाई नजिकबाट बुझेका उनका साथीहरूका लागि कुनै शंकै रहेन, उनी शिखरमा पुगेनन् भन्नेमा ।

त्यसपछि ‘एभरेस्ट’ अभियान ९ वर्षसम्म रोकिएर सन् १९३३ देखि पुनः सुरु हुन्छ । बेलायतीहरूले नै आरम्भ गरेको उक्त आरोहण अभियानमा इरवाइनको भएको विश्वास गरिएको एउटा ‘आइसएक्स’ फेला परेपछि मेलोरी र इरवाइनको फेरि चर्चा हुन्छ । शिखरमा पुगेको हुन सक्ने तर्क:

– मेलोरीको पकेटमा सनग्लास भेटिनुले उनी शिखरमा पुगेर फर्केको भन्ने तथ्यलाई बल मिलेको देखिन्छ किनकि त्यही आरोहणमा अर्का आरोही एडवर्ड नोर्टनले घाम लागेका बेला चस्मा नलगाउँदा ‘स्नो ब्लाइन्डनेस’ भएको थियो । मेलोरी यसबारे जानकार थिए, त्यसैले यदि उनी घाम लागेका बेला उक्लिँदै गरेका हुन्थे भने सनग्लास नलगाउने भन्ने हुन्नथ्यो । उनीहरू शिखरमा पुगेको र अँध्यारो भएपछि ओर्लेको हुन सक्ने अनुमान तर्कसंगत छ किनकि मेलोरीले ढुक्कैसँग भित्री पकेटमा सनग्लास राखेका थिए ।

– मेलोरीको शवमा भेटिएको एउटा खामबाहिर केही अंक लेखिएका थिए । ती अंक उनीहरूले सँगै लगेका अक्सिजनको दबाबको मात्रा भएको विज्ञहरूले बताएका छन् । त्यसअघि लामो समयसम्म अक्सिजन नपुगेर उनीहरूको मृत्यु भएको अनुमान गरिँदै आइएको थियो, तर ती अंकले दुई आरोहीसँग ६ वटासम्म अक्सिजन सिलिन्डर रहेको देखाएको छ, जुन शिखरसम्म पुग्न र फर्कन पर्याप्त मानिन्छ । त्यतिबेलाका प्रारम्भिक अवस्थाका अक्सिजन उपकरणमा व्यापक संशोधन गरेर इरवाइनले त्यसलाई भरपर्दो बनाएका थिए ।

– त्यस्तै यदि मेलोरी शिखरमा नपुगेका हुन्थे भने उनकी श्रीमती रुथ टर्नरको तस्बिर उनीसँगै भेटिनुपर्थ्यो, जुन मेलोरीले सधैं आफूसँगै राख्ने गरेको र शिखरमा पुगेपछि त्यहीँ छोडेर फर्कने वाचा रुथलाई गरेको सबैलाई थाहा थियो । उनको ‘वालेट’ र अन्य कागजात, कहीँ कतै पनि रुथको तस्बिर फेला परेन । शिखरमै छोडेर आएकाले त्यो फेला नपरेको अनुमान गरियो ।

– दिनको १२:५० मा सकेन्डस्टेप पुगिसकेको अवस्थाका आधारमा कुरा गर्दा तिनीहरू चुचुरोमा पुगेको सम्भावना धेरै रहेको विज्ञ आरोहीहरू बताउँछन् ।

– आरोही एवं लेखक क्रिस बोनिङ्टनका अनुसार, उनीहरू सेकेन्डस्टेपभन्दा पनि माथि पुगेको तथ्य स्विकार्ने हो भने त्यतिबेला शिखरमा पुग्ने चिन्ता मात्रै हुन्छ, तल फर्किने लगायतका अन्य तमाम सवालको सम्झना हुन्न । यी सब परिस्थितिका आधारमा भन्ने हो भने मौसम खराब भए पनि बादलहरू आउँदै–जाँदै गरेको भए पनि वा हिउँ परिरहेको भए पनि उनीहरू माथि पुगेकै हुन् ।

– सन् १९२२ को आरोहणमा मेलोरीसँगै रहेका अन्वेषक टम लंगस्टफले आफ्ना एक साथीलाई पठाएको पत्रमा लेखेका छन्, ‘कुनै पनि आरोही माथि पुग्न सम्भव छ । त्यो जोडीले त्यतिकै फिर्ता आउने निर्णय गर्‍यो होला भन्ने मलाई लाग्दैन किनकि मेलोरी कस्ता मान्छे थिए मलाई थाहा छ ।’

– मेलोरीले बनाएको उत्तरी मोहडाको बाटो भएर पछिल्ला वर्षहरूमा थुप्रै समूहले सगरमाथा चढ्ने प्रयास गरे, जसमध्ये काटालान माउन्टेनियर्स नामक समूह अगस्ट १९८५ मा शिखरमा पुग्यो । त्यतिबेला सेकेन्डस्टेप हिँउको थुप्रोले भरिएकाले आरोहण टोलीलाई कुनै समस्या परेन । आफूहरूलाई समस्या नपरेकाले आफूहरूभन्दा बढी पोख्त मेलोरीलाई पनि समस्या नपर्नुपर्ने उनीहरूको तर्क छ ।

मेलोरी र इरवाइन हराएको २९ वर्षपछि तेन्जिङ र एडमन्ड शिखरमा पुग्दा यो अनुत्तरित एवं महत्त्वपूर्ण प्रश्न पनि उनीहरूसँगै माथि उक्लेको थियो । हिलारीले भनेका छन्, ‘जब म शिखरमा पुगेर वरपर हेरेँ, विशेषगरी मैले नर्थकोलबाट तलतिर हेर्दा मेरो स्मृतिमा मेलोरी र यो प्रश्न नै थियो । तर, उनी शिखरसम्म पुगेर फर्केको कुनै संकेत थिएन । मैले केही फेला परिहाल्छ कि भनेर शिखरदेखि नर्थकोलसम्मको निकै भिरालोमा माथि–तल दुवैतर्फ हेरेँ, तर उनीहरू शिखरमा पुगेको कुनै संकेत फेला पार्न सकिनँ ।’

आरोहणबाट फर्केपछि उनले भनेका थिए, ‘मेलोरी र इरवाइनले शिखरमा पाइला टेकेको प्रमाणित हुने हो भने त्यो उनीहरूको निरन्तरको प्रयासबापतको पुरस्कार हुनेथियो ।’ ‘एभरेस्ट’ मा उनीहरूले मानवीय क्रियाकलाप सुरु गरेको परिणामस्वरूप नै आफूहरू शिखरमा पुग्न सफल भएको धारणा हिलारीको थियो ।


सगरमाथामा मेलोरीको शव । तस्बिर : एजेन्सी

सन् १९९९ मा सगरमाथामा मेलोरीको शव फेला पर्छ । सन् १९२४ मा मेलोरी र इरवाइनको मृत्युको खबर बेलायत पुग्न झन्डै २ साता लागेको थियो । ७५ वर्षपछि जर्ज मेलोरी फेरि पनि बेलायत लगायत संसारभरै प्रमुख समाचार बने, तर केही घण्टाकै अन्तरालमा । संसार फेरि एक पटक आश्चर्यचकित बन्यो । टोलीले सगरमाथामै हराएको तथा मेलोरीको साथमा रहेको पकेट क्यामरा पनि पाउने आशा गरेको थियो । पुरानो भए पनि त्यसको फिल्म डिभेलप गर्न सकिने कोडाकका विज्ञहरूले बताएका थिए, जसबाट उनीहरू शिखरमा पुगे/नपुगेको पत्ता लाग्ने अपेक्षा गरिएको थियो, तर फेला परेन । फेला परेका समानहरूमा मेलोरीको घाँटीसँगै रहेको सानो पोकोमा ‘ब्रान्ड एन्ड कम्पनी साभोरी मिट लोन्जेज’ लेखिएको सुक्खा खानेकुराको टिनको बट्टा, सिसा फुटेको पित्तलको अल्टिमिटर, पकेट चक्कु, छाप भएको रुमाल तथा भित्री पकेटमा एक जोडी नबिग्रिएको सनग्लास थियो । त्यसबाहेक फेला परेको थियो– मोजा, चस्मा, जिंकअक्साइड, केही चिठी, स्वानभिस्टा नामक सलाईको बट्टा, स्कार्फमा छोपेर राखिएको रुथबाहेकका केही फोटोग्राफ, ए.डब्ल्यू. गामाका लेखेको बिल, जहाँबाट उनले फिर्ता गर्ने सर्तमा ५ जोडी ग्लब्स लिएका थिए ।

मेलोरी–इरवाइन आरोहणको कथा अझै वर्षौंसम्मका लागि सगरमाथाले आफूसँग रहस्यकै रूपमा साँचेकी छन् । तर, थाहा भएको तथ्य– फेला परेका जर्ज मेलोरी र फेला नपरेका एन्ड्रयु इरवाइन अझै पनि त्यो अनकण्टार हिँउको थुप्रोमा चिरनिद्रामा छन् । के थाहा, कुनै दिन मेलोरीको हराएको क्यामरासहित इरवाइन हिउँको कुनै कुनामा फेला पो परिहाल्छन् कि ?


सगरमाथा आरोहण गर्ने क्रममा मेलोरी र इरवाइन । तस्बिर : एजेन्सी

समाजले प्रयासभन्दा सफलताको चर्चा बढी गर्छ । अझ विश्वमै पहिलो पटक प्राप्त सफलताको विशेष महत्त्व रहने नै भयो । मे २९, १९५३ मा त्यसभन्दा ३२ वर्ष अघिदेखि आरम्भ भएको एउटा अभियान सम्पन्न भएको थियो । रहस्य बन्दै आएको ‘एभरेस्ट’ शिखरबारे तेन्जिङ र एडमन्डको अनुभव र वर्णनबाट संसारले थाहा पाइसकेको थियो । वास्तवमा ‘एभरेस्ट’ मा तेन्जिङ र एडमन्डको उक्त आरोहण सिद्धान्तले प्रमाणित गरेको एउटा खोजको व्यावहारिक पुष्टि थियो, जुन मेलोरी र उनका साथीहरूले १९२१, २२ वा २४ मै गर्न चाहन्थे । तेन्जिङ र हिलारीपछिका आरोहणहरू अपवादबाहेक कीर्तिमानका लागि गरिने एउटा निरन्तरता रहँदै आयो, जुन यो धरतीमा सगरमाथा र मानवजातिको अस्तित्व रहुन्जेल चलिरहनेछ । यहाँ सम्झिनुपर्ने कुरा के छ भने सन् १९२१ मा पहिलो अनुसन्धान आरोहण आरम्भ नहुँदासम्म कुनै पनि पश्चिमा अनुसन्धान आरोही हिमालयको ४० माइलको घेराभन्दा बाहिर मात्रै थिए । सन १९२१ देखि २४ सम्मको तीनवटै आरोहण अभियानमा निरन्तरता पाउने मेलोरी एक मात्रै आरोही थिए । ‘एभरेस्ट’ मा आरोहणको रुट बनाउँदै क्रमशः ७,०१९ र ८,१६८ मिटरमा पहिलो पटक मानव पुगेको कीर्तिमान मेलोरी र उनको टोलीले नै कायम गरेको थियो । आफ्नो तीन पटकको आरोहणमा एभरेस्टको विभिन्न उचाइमा शिखरसम्मको दूरीको तुलनामा दोब्बरभन्दा पनि बढी पटक हिँडिसकेका मेलोरीलाई सफलता हात नलाग्दा कति छटपटी भयो होला, बुझ्न सकिन्छ । एउटा अनिश्चित सफलताका लागि सुखसयलको जीवन छोडेर परिवारबाट हजारौं माइल टाढा हरेक वर्ष महिनौं हिउँमा बिताउन आउँदा ‘एभरेस्ट’ प्रति विशेष लगाव विकसित हुनु स्वाभाविकै थियो । शिखरभन्दा करिब ६ सय मिटर तल मेलोरी चिरनिद्रामा रहेको ९८ वर्ष भइसक्यो । त्यहाँ उनी सजिलै भेटिन्छन्, तर उनका साथी एन्ड्रयु इरवाइन फेला परेका छैनन्, सायद हिउँको कुनै गहिराइमा उनी लुकेका छन् । उनीहरू शिखरमा पुगे–नपुगेको रहस्य सुल्झाउन सक्ने विश्वास गरिएको सर्वाधिक खोजी भएको मेलोरीको पकेट क्यामरा पनि इरवाइनसँग छ भन्ने अनुमान अद्यापि जीवितै छ । हिउँको निकै गहिराइसम्म मानव शरीर र धातु पत्ता लगाउन सक्ने यन्त्रमार्फत इरवाइन र उक्त क्यामराको खोज गर्नेतर्फ भविष्यमा अवश्य पनि कुनै आरोहण टोलीको ध्यान जानेछ । आशा गरौं प्रविधिले विकास गर्नेछ, कुनै दिन त्यस्तो यन्त्र बन्नेछ र सगरमाथा आरोहणको नयाँ इतिहास लेखिनेछ ।

(शनिबार प्रकाशन हुने ‘कोसेली’बाट)

प्रकाशित : जेष्ठ १३, २०७९ १८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×