कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
खेल

ग्रासरुट फुटबलको जगमा जर्मनी

चारपल्ट विश्वकप फुटबलको उपाधि जितेको जर्मनीको ग्रासरुट फुटबल, स्पोर्ट्स स्कुल र स्थानीय क्लबमा दिइएको सुविधा नेपालको फुटबल संरचना हेर्दा सपनाझैं लाग्छ
राजु घिसिङ

जर्मनीको १६ राज्यमध्ये बाभरियाको एक जिल्लास्तरीय क्लब हो, एसभी मामेन्डर्फ । चारपल्ट विश्वकप फुटबलको उपाधि जितेको मुलुकमा यो कुनै ठूलो व्यावसायिक क्लब नभएर सानो सामुदायिक क्लब हो । तर, साना–ठूला गरी उसको आफ्नै पाँचवटा खेल मैदान छ, जहाँ चार वर्षदेखि ८० वर्षमाथिका मानिसहरू नियमित फुटबल खेल्छन् । यसका विभिन्न टिम आफ्नै क्षेत्रको ‘विकिन्ड लिग’ मा प्रतिस्पर्धा गर्छन् ।

ग्रासरुट फुटबलको जगमा जर्मनी

मामेन्डर्फले सन् १९६७ मा जुनियर फुटबलको ‘फिन्च्त प्रतियोगिता–भीआर बैंक कप’ आयोजना थालेको थियो । कोभिड–१९ महामारीले असर गरेको यस प्रतियोगिताको ५४ औं संस्करण गत जेठमा भयो, जहाँ २० क्लबका ६४ टिमले ६ देखि १५ वर्षसम्मका विभिन्न ६ उमेर समूहका प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए २ सय ९० खेल भए । यसका ६ वटै स्पर्धामा जर्मन फुटबलको सबैभन्दा माथिल्लो श्रेणीको प्रतियोगिता ‘बुन्डेसलिगा’ को भीएफबी स्टुटगार्टले प्रायोजन गरेको टिम पनि थियो । विगतमा इटाली, अस्ट्रिया, स्विट्जरल्यान्डलगायत युरोपका क्लबहरू सहभागी हुँदै आएका थिए । काठमाडौं किकर्सले महामारीयताको पहिलो विदेशी टिम बन्ने अवसर पाएको थियो ।

जुनियर प्रतियोगिता भने एउटा उत्सवका रूपमा आयोजना गरिएको थियो । ६–७ वर्षका बच्चाहरूको खेल चलिरहँदा मैदान वरिपरि अभिभावक हुटिङ गरिरहेका हुन्थे, प्रशिक्षकले निर्देशन दिइरहेका हुन्थे । बच्चाहरू लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पेका खेल्ने र गोलपछि खुसी मनाउने तरिका उस्तैगरी देखाउँथे । बुन्डेसलिगासहित व्यावसायिक क्लब, एकेडेमी र बाभारियन फुटबल संघका स्काउटहरू मामेन्डर्फको मैदानमा भविष्यका स्टारमा आँखा डुलाइरहेका हुन्थे । उनीहरूको ध्यान जर्मन खेलाडीमै थियो । किनभने १८ वर्षमुनिका विदेशीलाई जर्मन एकेडेमी वा क्लबमा अनुबन्ध गर्ने कानुनी प्रक्रिया निकै झन्झटिलो छ ।

१६ टिम रहेको यू–१३ मा किकर्स ११ औं स्थानमा रह्यो । स्कटल्यान्ड, अमेरिका, जापान, फिलिपिन्समा करिब तीन दशक अनुभव सँगालेपछि झन्डै दुई वर्षअघि काठमाडौं किकर्समा आबद्ध भएका स्कटिस प्रशिक्षक लीले भने, ‘पहिलो विदेश यात्रामै जर्मनीका स्थानीय टिमविरुद्ध यत्तिका (३ जित, १ बराबर, ४ हार) नतिजा निकै राम्रो हो । हाम्रा खेलाडी ९–१० वर्षका पनि छन् । यस्तै प्रतियोगिता नियमित खेल्न पायो भने नेपाली युवा खेलाडीले धेरै राम्रो गर्न सक्ने साबित गरेका छन् ।’

फुटबलका ठूला र सफल देशसँग नेपालको भिन्नता यत्ति हो कि ती देशका खेलाडीहरू बढ्दो उमेरसँगै नियमित रूपमा ९–१० महिना लिग खेल्छन्, वार्षिक ४०–५० खेल खेल्न भ्याउँछन् । ‘विकिन्ड लिग’ को अवधारणा लत्याइएको नेपालमा सिनियर टिमकै लिग तीन महिनामात्रै चल्छ । खेलाडीलाई मोफसलको नकआउटसमेत गरेर वार्षिक २०–३० खेल पाउन पनि गाह्रो छ । त्यति खेलका लागि पनि लिगमै हप्तामा तीन खेलसम्मै खेल्नुपर्ने अवस्था छ । उमेर समूहको लिग छैन, नकआउट शैलीका प्रतियोगिता पनि दुर्लभै हुन्छ । त्यसैले सानै उमेरमा उस्तै स्तरको भए पनि नेपाली खेलाडी उमेर बढ्दै जाँदा ठूला टिमसँगको फुटबल स्तरको अन्तर चुलिँदै जाने गरेको छ । यू १६/१७ र यू १९ मा एसियन च्याम्पियनसिप खेलेका नेपाली खेलाडीहरू सिनियर टिममा पुगेपछि त्यही टिमसँग हारको अन्तर कसरी कम गर्ने भन्नेमै सीमित हुन्छन् । यसको कारण ‘म्याच एक्सपोजर’ र व्यवस्थित प्रतियोगिताको अभाव नै हो ।

एउटै ठाउँमा ३९ खेलको सुविधा

बाभरिया राज्यकै खेलकुद प्रशिक्षणको केन्द्र रहेछ यो स्कुल, जहाँ फुटबल मैदानमात्रै ६ वटा रहेछ । दुई लाख २० हजार वर्गमिटरमा फैलिएको स्पोर्ट्स स्कुल ओभरहकिङमा एथलेटिक्स, फुटबल, पौडी, बास्केटबल, भलिबल, बिच भलिबल, ह्यान्डबल, टेबलटेनिस, टेनिससहित २१ खेलको पूर्वाधार रहेको छ भने यस स्कुलले ३९ खेलको सुविधा व्यवस्थापन गर्दोरहेछ । पावर एन्ड फिटनेस, इन्डोर स्विमिङ पुल, साउना, ज्याकुजी, रेस्टुराँ र पिउनका लागि बार सञ्चालनमा छ । यहाँको सुविधा नेपालका चारतारे होटलसँग दाँज्न मिल्ने खालको छ । खेलकुद, न्युट्रिसन (पोषण), स्वास्थ्य, शिक्षालगायत प्रशिक्षणका लागि यहाँ संसारका विभिन्न ठाउँबाट वार्षिक १ लाख बढी मान्छे आउने गरेको जानकारी दियो । बस्नका लागि स्विट्ससहित १४२ कोठा छन् । यहाँ रेफ्री, कोच, व्यवस्थापनका कोर्स गर्ने पनि भेटिन्छन् । प्रविधियुक्त १० वटा कन्फ्रेन्स हल छन्, जहाँ एकै दिन ७० हजार मान्छे अटाउन सक्छन् ।

ओभरहकिङको सुविधा नेपाली खेलकुदमा रहेको पूर्वाधारमा कल्पना पनि गर्न सकिन्न । किकर्सका अध्यक्ष नवीन पाँडेले भने, ‘नेपाली युवा खेलाडीलाई विदेश लगेर प्रतियोगिता खेलाउँदैमा स्तरवृद्धि यसरी हुँदैन । सुविधासम्पन्न स्थलमा ट्रेनिङ क्याम्प सञ्चालन गर्नु आवश्यक छ, जसले खेलाडीको कन्फिडेन्स बढाउँछ अनि खेलको स्तर बढ्छ । यसैका लागि हामीले महँगो भए पनि म्युनिकमा ट्रेनिङ क्याम्प राखेका हौं ।’

‘क्याम्पमा निकै रमाइलो भयो, राम्रो भयो,’ १२ वर्षीय विशांख कार्कीले भने, ‘ट्रेनिङ क्याम्प राम्रो भएकाले प्रतियोगितामा राम्रै खेल्न सक्यौं । यस्तै खालको सुविधा नेपालमा पायो भने धेरै राम्रो हुनेछ ।’ उनीसहित अबिन भट्टराईले जापान र डेनमार्कमा पनि प्रतियोगिता खेलेका थिए । डिफेन्डर एडेन शेरचन पनि जापान गएका थिए । एक वर्षयता तीन देशको यात्रा गरेका अबिनले भने, ‘डेनमार्क र जापानमा सिधै प्रतियोगिता खेल्नुपर्‍यो । यहाँ (जर्मनी) ट्रेनिङ क्याम्पपछि प्रतियोगिता खेल्दा धरै राम्रो र सजिलो महसुस भयो ।’

नेपाल र जर्मनीको एकेडेमी सञ्चालन प्रणाली पनि ठीक उल्टो छ । जर्मनीमा फुटबल एकेडमी संघले होइन, क्लबले सञ्चालन गर्छन् । व्यावसायिक एकेडेमी हजारौं छन् । यहाँका एकेडेमी महँगा छन् । राम्रो एकेडेमीमा एउटा बच्चाको वार्षिक शुल्क २५–३० हजार युरो (रु.३५ लाखदेखि ४३ लाख) सम्मै तिर्नुपर्छ । संघले प्रशिक्षण शिविर मात्रै चलाउँछ । बाभरिया फुटबल संघले छनोट गरेका खेलाडीलाई हप्ताको एक दिन यही ओभरहकिङ स्कुलमा प्रशिक्षण दिइँदोरहेछ । कोचिङ कोर्स गरिरहेका प्रशिक्षकले पनि शिविरका युवा खेलाडीलाई ट्रेनिङ गराउनैपर्छ । संघले लिग खेल्ने क्लबलाई एकेडेमी सञ्चालन अनिवार्य गरेको छ र ती क्लबका यु १७, यु १९ टिमले पूरा सिजन (नौ महिना) जुनियर लिग खेल्छन् । नेपालमा जुनियर खेलाडी कहिले प्रतियोगिता खेल्न पाइएला भनेर प्रतीक्षा गरिरहन्छन् । खेलाडीलाई निखार्ने काम प्रशिक्षकले गर्छन् । नेपालमा नियमित सिकाउने र जागिरे प्रशिक्षक औंलामा गन्न सकिन्छ । जर्मनीमा ३५ हजार व्यावसायिक प्रशिक्षक छन् ।

जर्मनीमा फुटबलको एकेडेमी सुरु भएको एक शताब्दी नाघिसक्यो । यसैले उसलाई विश्वमै शक्तिशाली टिम बनाएको हो । चारपल्ट विश्वकप र तीनपल्ट युरोपियन च्याम्पियनसिप जिताएको हो । विश्वकप १९९८ को क्वाटरफाइनलमा नयाँ टिम क्रोएसियाविरुद्ध ३–० को लज्जास्पद हार बेहोरेपछि डुएचर फुसबल–बन्ड (जर्मन फटबल संघ) ले देशको एकेडेमी प्रणालीमै निकै परिवर्तन गर्‍यो । देशका हजारौं एकेडेमीमा ६–७ वर्षका खेलाडीलाई आक्रामक खेल शैलीमा अभ्यस्त गराउन ‘जर्मन युथ फुसबल (फुटबल) डेभ्लोप्मेन्ट फिलोसोफी’ लागू गर्‍यो । यही प्रणालीबाट उत्पादित खेलाडीले जर्मनीलाई विश्वकप २०१४ को च्याम्पियन बनायो । उसले पाँच वर्षयता खस्किएको प्रदर्शनलाई भने उकास्न सकेको छैन ।

प्रत्येक चार वर्षमा जर्मन टिमले विश्वकप खेल्दा उसका नेपाली समर्थक पनि ठूलै संख्यामा देखिने गरेको छ । हामी जर्मनीका हजारौं एकेडेमीमात्रै होइन, एउटा जिल्ला स्तरीय क्लबको सुविधासँग तुलना गर्ने अवस्थामा पनि पुगेका छैनौं । स्तरवृद्धिका लागि बजेटमात्रै होइन, इच्छाशक्ति पनि चाहिन्छ ।

प्रकाशित : असार १६, २०८० ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?