कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन फेरिन्छन् नाम ?

भारतको भाजपा सरकारले ठाउँहरूको नाममात्रै फेरेको छैन, पाठ्यक्रमबाट मुगल शासन र डार्विनको सिद्धान्तसमेत हटाएको छ
तुर्कीबाट आएका आक्रमणकारी बख्तियार खिल्जीले नालन्दा विश्वविद्यालयमा आक्रमण गरे । भनिन्छ, उनले पुस्तकालयको ९० लाख पुस्तक जलाइदिए ।
हर्कबहादुर छेत्री

‘ह्वाट इज देयर इन ए नेम,
इफ यु कल अ रोज बाइ सम अदर !’ – सेक्सपियर
नाममा केही छैन भन्ने कुरा अघिअघि मानिन्थ्यो होला । ऐतिहासिक समयमा नामलाई लिएर ठूलो विवाद भएको पनि मलाई थाहा छैन । तर, हाम्रो समयमा नामको महत्त्वले आध्यात्मिक उचाइ भेट्टाएको छ ।

किन फेरिन्छन् नाम ?

‘द टाइम्स’ पत्रिकाको प्रसिद्धि कहाँसम्म छ भने आफ्नो नाम त्यसमा छपाउन मानिसहरू मर्न पनि तयार छन् भन्ने टिप्पणी मैले कतै पढेको थिएँ । त्यस्तै सन्दर्भको अर्को टिप्पणी पनि थियो– कति मानिस आफ्नो नाम छापियोस् भन्ने एकमात्रै उद्देश्यले पनि टेलिफोन राख्छन् ताकि टेलिफोन डायरेक्टरीमा उनीहरूको नाम छापियोस् ।

भगवान् रामको नामैमात्र लिए पनि भवसागर तर्न सकिन्छ लेखेका थिए भानुभक्तले । नामले वस्तु र व्यक्तिमाझ एउटा व्यवधान तयार पार्छ अनि हामी नाम चिन्छौं, तर वस्तु चिन्दैनौं भन्ने कुरा दार्शनिक कृष्णमूर्तिले पनि गरेका छन् । नाम अनि वस्तुको त्यही व्यवधानको कारण होला मानिसको चरित्रमा व्यवधान आएको । नाम मुखमा बस्ने वस्तु हो आत्मामा होइन, नत्र किन उखान त्यस्तो लेखिन्थ्यो–

‘मुखमा राम बगलीमा छुरा......!’

मैले कहिल्यै ‘चिलाउनेको रूखलाई अँगालो मार्दा कस्तो हुन्छ ?’ अनुभव गरेको छुइनँ । हेर्ने र हेरिने वस्तुबीच नाम ऐना भएर खडा छ । देखिन्छ, तर अनुभव गर्न सकिँदैन । यति भूमिकापछि म वर्तमान परिस्थितिबारे केही गफ गर्छर् ु।

२०१७ मा उत्तर प्रदेश विधानसभा चुनावमा भाजपाले प्रचण्ड बहुमतसहित जितेपछि अजय मोहन विष्ट उर्फ योगी आदित्यनाथले उत्तर प्रदेशका कतिपय ठाउँहरूको नामलाई लिएर कार्यक्रम बनाए । मुगल शासनको छाप भएको कुनै पनि वस्तु या ढाँचालाई अस्तित्वमा रहन नदिने तिनले प्रण गरे । यही प्रयासमा ४ जुन २०१८ मा मुगल सरायको नाम प. दीनदयाल जङ्सनमा परिणत भयो । इसापूर्व तेस्रो शताब्दीमा सम्राट् कनिष्कले सुरु गरेको बाटो पछि सम्राट् अशोक अनि त्यसपछि चन्द्रगुप्त मौर्य हुँदै शेरशाहसम्म आइपुग्दा आजको रूपमा आएको हो । इस्ट इन्डिया कम्पनीले पनि पछि यसको संरक्षण र विकासमा काम गर्‍यो किनकि पूर्व–पश्चिम अनि दक्षिणबाट आउने यात्रीहरू उत्तर भारत जानुपरे यही एउटा उपयुक्त बाटो थियो । बाटोको छेउमा आराम गर्न बनाइएका अतिथि गृहहरूलाई सराय भनिन्थ्यो, त्यसैले मुगल सराय नाम बस्यो । अघि यो जङ्सनको नाम मुगलचोक, मंगलपुर आदि थियो, तर १८८३ मा भारतीय रेल विभागले सहरको नाम मुगल सराय घोषणा गरेपछि यो स्टेसनको नाम मुगल सराय भयो । १३४ साल पुरानो रेलवे स्टेसनको नाम योगी आदित्यनाथले परिवर्तन गरेर दीनदयाल उपाध्याय जङ्सन बनाउँदा मुख्य अतिथि थिए तत्कालीन भाजपाका अध्यक्ष अमित शाह ।

दीनदयाल उपाध्यायको के सम्बन्ध छ त मुगल सरायसित ? १० फरवरी १९६८ मा जब उपाध्याय, तत्कालीन जनसंघका अध्यक्ष थिए तब ती लखनउदेखि पटनाको यात्रा गरिरहेथे, मुगल सराय स्टेसनको केहीअघिको खम्बामा तिनको शरीर भेटियो । ११ फरवरीमा तिनको मृत्यु भयो । सीबीआई जाँचमा पनि कुनै षड्यन्त्र पत्तो लागेन । आज जङ्सनको नाम मुगल सरायबाट तिनको नाममा परिवर्तन गर्नुपछि तिनको मृत देह त्यहाँ फेलापर्नु हो कि तिनी जनसंघको अध्यक्ष हुनुको कारण हो ? त्यो प्रश्नको उत्तर खोज्ने काम मेरो वशको होइन ।

त्यस्तै पाराले लखनउको नाम पनि लक्ष्मण नगर भएको छ । भाजपा सांसद संगमलाल गुप्तको भनाइअनुसार त्रेता युगमा लखनउको नाम लक्ष्मण नगर थियो अनि पछि मुस्लिम शासक असफ–उद–दौलाले यसलाई लखनउ बनाएकाले यो परिवर्तन पनि न्यायोचित छ । तर, त्रेतायुग केवल किंवदन्तीबाहेक अरू कतै छैन अनि राजनीतिज्ञहरूलाई कुनै निर्णय लिँदा ठोस प्रमाणको आवश्यकता पर्दैन ।

रामायण अनि महाभारत हाम्रा गौरवहरू भए पनि अयोध्यामा पुरातत्त्व विभागले उत्खनन गर्दा गौतम बुद्धभन्दा अघिको कुनै अवशेष पाएन । अर्कोतिर महाभारतमा रामायणका केही कथाहरूको उल्लेख भएको सन्दर्भ उठाएरै रामायण महाभारतभन्दा अघि भएको दाबी गरिए पनि महाभारतकै समयको टुंगोसितको प्रमाण एउटै नपाएपछि त्योभन्दा अघिको रामायणको प्रमाणिकताको त झन् के कुरा ? तरै पनि महाभारतको समय निर्धारण गर्दा तत्कालीन आर्कियोलोजिकल सर्भे अफ इन्डियाका निर्देशक बीबी लालले ९५० इ.पू. ठहर गरेका थिए, तर अयोध्यामा विभागले गरेको पुरातात्त्विक उत्खनन अनि पाइएका सामग्री (सी–१४) कार्बोन डेटिङका आधारमा महाभारतको समय ४४० इ.पू. भन्दा धेरै हुन नसक्ने पुरातत्त्वविद् इर्फान हबिब अनि विजयकुमार ठाकुरले बताए । अझै चाखलाग्दो त के भने हस्तिनापुरको उत्खननमा फलाम नभेट्टाएपछि महाभारतमा फलामको प्रयोगको कुरा कहाँबाट आयो ? किंवदन्तीहरूमा यथार्थको ठाउँ कल्पनाले लिन्छ ! कि यी सम्पूर्ण विषय काल्पनिक हुन्/होइन भने तोकिएको समय–सीमा भूल हो ।

२०१४ यता जब भाजपा सत्तामा आयो, स्थानहरूको नाम परिवर्तनमा क्रान्ति नै आएको छ । देशको राजनीतिमा आज कामभन्दा नामकै महत्त्व धेरै भएको छ । स्थानको नाम मात्र होइन, यो परिवर्तनको हावा अरूतिर पनि हावी छ । गुजरातका मुख्यमन्त्री विजय रूपाणीले ‘ड्र्यागन फ्रुट’ को नाम परिवर्तन गरेर ‘कमलम’ राख्ने सुझाव राखे । ड्र्यागनले चीनको याद दिलाउँछ भन्ने तिनको दलील थियो । कति मानिस फलको साटो त्यसको नाम खाँदा रहेछन् भन्ने मैले नयाँ जानकारी पाएँ ।

२०१४ अघि प्रधानमन्त्री आवासको नाम ७–रेसकोर्स मार्ग थियो । मोदीले त्यसलाई लोककल्याण मार्गमा परिणत गरिदिए । विगत ९ वर्षको भाजपा शासनमा लोकको कति कल्याण भयो त्यो कल्याणको प्रभावमा आउनेहरू नै जानुन्, तर फकिरहरू कहाँदेखि कहाँ पुगे, त्यो सबैको आँखाअघि छ । १० लाखको सुट, डेढ लाखको कलम अनि ८ हजार कडोरको व्यक्तिगत हवाईजहाज ! अझ मसरुमको डाइटको त अहिले कुरा नगरौं । वर्षौंअघि परसाईले एउटा लेखमा भनेका थिए, ‘गान्धीको मार्गमा हिँड्ने जति नै नेताहरूले प्रवचन दिए पनि कुनै कांग्रेसी गान्धीले बताएको मार्गमा हिँडेनन् । विरक्त भएर कांग्रेस नेतृत्वले बाटोको नाम नै ‘गान्धी मार्ग’ राखिदिए । अचेल सबै कांग्रेसी गान्धी मार्ग भएरै हिँड्छन् ।’

अर्थात् काम गर्न नचाहनेहरू नै नामको पछि दगुर्छन् ।

त्यस्तै अर्को उदाहरण मलाई भाजपा सांसद महेश गिरीको स्मरण हुन्छ । तिनले प्रधानमन्त्री मोदीलाई पत्र लेखेर औरङ्गजेब रोडको नाम पनि परिवर्तन गरिनुपर्छ भन्ने सुझाव राखेका थिए । ‘हामी मुगलहरूको शासनमा नभएपछि फेरि मुगल नाम किन प्रयोग गर्नु ?’ भन्ने तिनको दलील थियो । हाल देशमा पाठ्यक्रमबाट मुगल इतिहाससितै डार्विनको विकासको सिद्धान्त पनि हटाइएको छ ।

आफ्नो कथा सबैले पढोस् अनि अरूको कतै कुरै नउठोस् भन्ने धारणा राख्ने मानिसहरूले नै संसारलाई सधैं अशान्त बनाएको घटनाले इतिहास भरिएको छ । तुर्कीबाट आएका आक्रमणकारी बख्तियार खिल्जीले ११९३ सालतिर नालन्दा विश्वविद्यालयमाथि आक्रमण गरे । इतिहासकारहरू भन्छन्– कि बख्तियारले पुस्तकालयमा भएको लगभग ९० लाख पुस्तक जलाइदिए । केवल मुस्लिम सभ्यता अनि अल्लाहमात्रै सत्य अनि अरू सबै मिथ्या प्रमाण गर्ने तिनको एकमात्र उद्देश्य थियो । यस्तै प्रयास चीनका प्रथम सम्राट् क्वीन सी ह्वाङबाट आजभन्दा ४ हजार वर्षअघि भएको थियो, जब तिनले देशको वरिपरि १०,००० माइल लामो देवल खडा गर्ने निर्णय गरे । त्यस समयका दार्शनिक कन्फ्युसियसको विचार देशभित्र पस्न नपाओस् भन्ने तिनको एकमात्र उद्देश्य थियो । कन्फ्युसियसका विचार, पुस्तक अनि अनुयायीहरूमाथि थरीथरीको आक्रमण गरिन्थ्यो । तर, कन्फ्युसियसको मृत्युको कैयौं सय वर्षपछि तिनको विचार चीनमा दरिलो हुँदै गयो अनि विशेषगरी सम्राट् वुडी (२०६–२२० इ.पू) को हान वंशले चीनमा सत्ता सम्हालेपछि कन्फ्युसियस चीनभरि स्थापित भए ।

इलाहबादको नाम पनि योगी सरकार सत्तामा आएपछि प्रयागराज भयो । वास्तवमा इलाहबाद नामकरण सम्राट्अकबरले गरेका थिए । इलाहबादको अर्थ हुन्छ– स्वर्गीय स्थान । इलाहबादको अल्लाह या त मुस्लिम संस्कृतिसित जसरी कुनै सम्बन्ध छैन त्यसैगरी योगीलाई पनि इतिहाससित कुनै सरोकार छैन । फैजाबादलाई पनि तिनले अयोध्या नामकरण गरे । भाजपाको राष्ट्रिय नीतिका कारण होला नाम परिवर्तन गर्ने दौडमा भाजपाको कुनै नेता पछि बस्न चाहँदैन । त्यही प्रयासमा हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले गुढगावाको नाम गुरुग्राम राख्ने संकल्प लिए । तिनको तर्क थियो– गुरुग्राम गुरु द्रोणचार्यको बासस्थान थियो अनि ऐतिहासिक समयदेखि नै यसको नाम गुरुग्राम थियो । पुरातत्त्वसित खट्टरलाई के वास्ता...!

कसले कति काम गर्‍यो होइन, तर कति नाम परिवर्तन गर्‍यो भन्ने आधारमा नेतृत्वको आकार तय हुने थाहा पाएपछि महाराष्ट्रका मुख्यमन्त्रीले अहमद नगरको नाम परिवर्तन गरेर अहिल्या नगर भएको घोषणा गरे (१ जुन २०२३) । सन् १४९८ मा यो नाम अहमद निजाम शाहले राखेका थिए । अहमद नगरको नामकरण गरिएको २२७ वर्षपछि जन्मेकी रानी अहिल्याबाई होलकरलाई आफ्नो शासनकालभरि यो नामसित कुनै समस्या थिएन । सन् १७९५ मा अहिल्याबाईको मृत्यु भयो ।

नाम परिवर्तन त भाजपा सत्तामा आउनुअघि पनि भएकै हो, तर त्यो साम्राज्यवादी शासनको विरोधमा थियो, जसरी मद्रास चेन्नई भयो, बेङ्गेलोर बेङ्गलुरु । कलकत्ता कोलकाता अनि बम्बई मुम्बई । तत्कालीन प्रयास उपनिवेशवादी छाप हटाउने थियो भने हालको प्रयास मुस्लिम शासकहरूको विरोधमा । त्यसैले मुस्लिम सम्प्रदायहरू सशंकित छन् । उनीहरूको सांस्कृतिक विरासत मेटाउने षड्यन्त्रका रूपमा हाल सरकारको प्रयासलाई मुस्लिम सम्प्रदायले हेरिरहेका छन् ।

प्रथम विश्वयुद्ध चरममा भएका बेला रसियामा सेन्ट पिटर्सबर्गको नाम पेत्रोगार्डमा परिणत गरियो । कारण थियो पिटर्सबर्ग नाममा जर्मनी गन्ध थियो । उसै पनि जर्मनी बल्गेरिया अनि हंगेरी साथै ओट्टोमन साम्राज्यसित मिलेर केन्द्रीय शक्तिका रूपमा सर्बियाको विरोधमा थियो, जसको विरोधमा रसिया, फ्रान्स, ब्रिटेन, इटाली आदि देशहरू एल्लाइड फोर्सका रूपमा यस प्रकारको जर्मनीको चरित्रको विरोध गरिरहेथे । बोल्सेभिक आन्दोलनपछि सन् १९१७ मा रसिया कम्युनिस्टहरूको हात पर्‍यो । ७ वर्ष शासनको बागडोर सम्हालेपछि १९२४ मा लेनिनको मृत्यु भयो अनि पेत्रोगार्डको नाम पनि लेनिनको सम्मानमा लेनिनग्राद राखियो । लेखोटहरू भन्छन्, ‘नाम परिवर्तनका निम्ति रसियामा जनमत लिइएको थियो, जसको आधारमा जनताले पुरानै नाम अर्थात् पिटर्सबर्गलाई समर्थन जनाएका थिए ।’

वर्तमान सरकार नामसम्म मात्र सीमित नरहेर पाठ्यक्रमभित्र पनि पसेको छ । एनसीईआरटीको पाठ्यक्रममा मुगल शासन गायब गरियो अनि त्यसपछि डार्विनको विकासको सिद्धान्तलाई हटाइयो । दार्शनिक बट्रान्ड रसेलले बाइबलको साटो डार्विनलाई चुनेका थिए । तिनको तर्क थियो– ‘बाइबलले मानिसलाई जन्ममै पतित देखाउँछ । आदमले आइफल खाएको कारण स्वर्गको राज्यबाट मानिस पृथ्वीमा झरेको भन्छ । त्यही पतित अवस्थाबाट मानिस पुनः उसको पुरानो गरिमा अथवा स्वर्गको राज्यमा फर्किनुभन्दा धेरै उसले क्यै गर्न सक्दैन, तर डार्विनले मानिस गोरिल्लादेखि विकसित हुँदै अघि बढिरहेको कुरा गर्छ । मानिसको पतनभन्दा मलाई उत्थानकै इतिहास प्रिय लाग्छ ।’ (ह्वाई आई एम नट क्रिस्चियन ?)

बलवानहरू न्याय गर्छन्, कानुन बनाउँछन् अनि दुर्बलहरू त्यसलाई पालन गर्छन् । तर, बलवान सधैँलाई बलवान रहँदैनन् अनि दुर्बल सधैँ दुर्बल । जुन दिन चक्र पल्टिन्छ अनि दुर्बलहरू बलवान बनिन्छन्, त्यो दिन न्याय पनि बदलिन्छ । यी नामहरू परिवर्तन हुँदा त्यसैले चिन्ताको कारण केही छैन । त्यसैले त राहत इन्दौरी भन्छन् :

‘किरायदार हैं सब

कोई जाति मकान थोडी है...!’

प्रकाशित : असार १६, २०८० ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?