चुपचाप चुपचाप
आँसु बगाउने देशको
कविता लेख्न सकिनँ
मनभरि भएका सपना सजाएर
देशको गीत लेख्न सकिनँ
बग्दैबग्दै जान मन लागेकै हो नदीसँग
जमो तलाउ बनेर
म नदी बग्न सकिनँ !
रोकियो समय
जसरी रोकिन्छ धड्कन
आफ्नै हिसाबले समय चलाउन सकिनँ
अँध्याराअँध्यारा रातका
बिलौना र वेदनालाई
तारा छरेर चम्काउन सकिनँ
असमर्थताको सर्वनाम हो
जस्तो लाग्छ जीवन
जीवनलाई जीवनको सौन्दर्य
दिन सकिनँ !
प्राण हो मेरो देश मलाई
आफ्नै स्पन्दनले सजाउन सकिनँ
टुक्रिरहेछ, खोक्रिरहेछ पलपल
देश साझा हो भनी प्रमाण
दिन सकिनँ
देखिरहेको छु माटो रोएको
भलभल बगाएर आँसु
चुपचाप–चुपचाप
आँसु बगाउने देशको कविता
लेख्न सकिनँ
सपना सजाएर यौटा गीत
लेख्न सकिनँ ।
प्रकाशित : असार १६, २०८० ०७:५६प्रतिक्रिया