‘थुप्रै छन् बेनामे हिमाल’

१ सय ७० वर्षअघि ब्रिटिस सर्भे अफ इन्डियाअन्तर्गतको सर्भे विभागले सगरमाथालाई विश्वकै अग्लो चुचुरो भएको तथ्य सार्वजनिक गरेको थियो । त्यसपछिका दर्जन हाराहारी सर्भे तथा अनुसन्धानमा सगरमाथाको उचाइबारे फरक–फरक मापन निस्किए । नेपाल–चीन सिमानामा पर्ने सगरमाथा उचाइको अंकमाथि लामो समयसम्म यी दुवै देशको एकमत थिएन । सगरमाथाको उचाइ–विवाद ०७२ को भूकम्पपछि झनै गहिरियो ।

भूकम्पले काठमाडौंसहितका केही भू–भागको धरातल उठेको, भास्सिएको वा सरेको हुन सक्ने अड्कलबाजी हल गर्न नेपाल सरकारले ०७४ मा कम्तीमा १७ करोड रूपैयाँ बजेट विनियोजन गर्दै नेपाली सर्भेयरबाटै पहिलोपटक सगरमाथा–उचाइ मापन गर्यो ।
नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा ०७५ चैत २७ गते अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी, अमिन युवराज धिताल, नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङ्बु शेर्पासहित ७ जना लुक्ला हुँदै सगरमाथातर्फ लागे ।
उनीहरुमध्ये चुचुरोमा दोस्रोपटक पुगेका गौतमसहितको टोलीले ०७६ जेठ ८ मा स्याटेलाइटको सहायताबाट सगरमाथाको जीएनएसएस सर्भे गरे । आधारशिविरमा सर्भेयर भण्डारी र अमिन धितालले सघाए । त्यस अभियानमा सगरमाथा क्षेत्रका ७ बाहेक काठमाडौंमा ८० जना कर्मचारी खटिएका थिए ।
नेपालको ४१ दिन लामो सर्भेपछि चीनले पनि अर्को वर्ष आफ्ना सर्भेयरलाई सगरमाथा नाप्न पठायो । दुवै देशले ०७७ मंसिर २३ मा सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेको प्रमाणसहित नयाँ उचाइ सार्वजनिक गरे– ८ हजार ८ सय ४८.८६ मिटर । सगरमाथा–उचाईका फरक–फरक अंक र विवाद त्यसपछि विलय भयो । त्यो ऐतिहासिक अभियानको नेतृत्व गरेका सर्भेयर खिमलाल गौतमले सगरमाथा सर्वेक्षणको कथा लेखेका छन्– ‘पन्ध्रौं चुली’ मा । खिमलाल गौतमसँग सुरज कुँवरको वार्ता :
तपाईंलाई कस्ता किताब मन पर्छ ?
मन पर्ने किताब धेरै छन् । तिनका शृंखला लामो हुन्छ । मेरै किताब लेख्न बस्दा दुइटा किताब मन परे । एउटा अमर न्यौपानेको ‘सेतो धरती’, हिमालमाथि लेखिएको सरुभक्तको लघु उपन्यास ‘चुली’ ।
तपाईं किताबलाई माया गर्नुहुन्छ ?
माया त गर्छु । तर, मैले पढ्ने किताब चाँडै फाट्छन् । किताबमा गाता हाल्ने बानी स्कुल पढ्दा पनि थिएन ।
पढिसकेपछि किताबलाई के गर्नुहुन्छ ?
पढेको पुस्तक बिक्री कहिल्यै गरिनँ । कसैले किताब मागे दिइहाल्छु, तर ऊसँग कहिल्यै फिर्ता माग्दिनँ ।
नेपालमा अनुसन्धानमूलक किताब लेखिएका छन् ?
राजनीतिक विषयका पुस्तकमा मेरो ज्ञान भएन । तर, भूगोल, नाप–नक्सामाथि लेखिएका किताबमा अनुसन्धान भएका छन् ।त्यस काममा म सधैं हर्क गुरुङ सम्झन्छु । हर्क गुरुङपछि लामो समय अनुसन्धान गरेर लेखिएका किताबमा रिक्तता देखियो ।
कुन विधाका किताब बढी पढ्नुहुन्छ ?
इतिहास, भूगोल, विज्ञान र अनुसन्धानका किताब बढी पढ्छु ।
तपाईंले किन्नुभएको सबैभन्दा महँगो किताब कुन हो ?
त्यो किताब हो– एड डगल्सको ‘द हिमालय : ह्युमन हिस्ट्री’ । त्यसलाई ३८ सय रुपैयाँमा किनेको थिएँ । अहिले त १२ सयमै पाइने रहेछ ।
किताब पढिरहँदा केरमेट गर्ने बानी कत्ति छ ?
एकताका निकै केरमेट गर्थें किताबमा । तर, पछि बोध भयो–त्यस्तो बानीले किताब बिग्रिँदोरहेछ । पछिपछि नोटबुकमा टिपोट गर्ने बानी पर्यो ।
पत्रपत्रिकामा छापिएका किताब समीक्षा कत्तिको पढ्नुहुन्छ ?
पढ्छु नि । कुनै समीक्षामा एउटै दृष्टिकोण लिएर व्याख्या गरिएको हुन्छ । कुनैमा चाहिँ किताबको बहुआयामिक विषयलाई केलाइएको हुन्छ ।
पुस्तकालय कत्तिको जानुहुन्छ ?
उबेला क्याम्पस पढ्दा निकै गइयो पुस्तकालय । आजकल उति जान्नँ ।
जीवनमा कुन समय धेरै किताब पढ्नुभयो ?
‘पन्ध्रौं चुली’ लेख्दा लकडाउन थियो देशमा । त्यसबेला अनलाइनमार्फत खुब पढेँ । ६ महिनाजति हिमाल र भूगोलमाथि लेखिएका करिब ६४–६५ वटा किताब डिजिटलमा पढेँ ।
तपाईंले धेरैपल्ट पढेको किताब कुन हो ?
खलिल जिब्रानको ‘द प्रोफेट’ । त्यो कम्तीमा ११– १२ पटक पढेँ कि !
हिमाल आरोहणका बेला तपाईंको झोलामा कुन किताब थियो ?
गोजीपात्रो ।
तपाईंले ‘पन्ध्रौं चुली’ कसरी लेख्नुभयो ?
०६८ को मेरो पहिलो सगरमाथा आरोहणमा ‘पन्ध्रौं चुली’ गर्भमा बस्यो, ०७६ को आरोहणपछि जन्म भयो । ७ महिनामा मूल पाण्डुलिपि तयार पारेँ । र, पाण्डुलिपि दसौंपटक पढेँ, त्रुटि फेला पर्छन् कि भनेर ।
नेपालमा हिमाल आरोहणमाथि पर्याप्त किताब लेखिएका छन् ?
दुःखी भएर भन्नुपर्छ– उति छैनन् । केही छन्– नियात्रा, संस्मरण । तर, ती सिलसिलेवार छैनन् ।
हिमालमाथि लेखिएका राम्रा किताब के–के हुन् ?
एडमन्ड हिलारीको ‘भ्यु फर्म द समिट’, जोन क्राकउकरको ‘इन्टु थिन एयर’ पढें । निर्मल पुर्जाको ‘बिओन्ड पोसिवल : नथिङ इज इम्पोसिवल’ बारे सुनें । तर, पढ्न पाएको छैन ।
नेपालको पर्वतारोहणमाथि कस्ता किताब लेखिनुपर्छ होला ?
खासमा हाम्रा हिमालमाथि अध्ययन भएका छैनन् । नेपालमै छन्– ६ हजार मिटरभन्दा अग्ला २ हजार बढी चुली ! ती चुलीबारे गहिरा किताब लेखिएका छैनन् । र, भन्नुपर्छ– हाम्रा थुप्रै हिमाल बेनामे छन् ।
प्रकाशित : जेष्ठ १४, २०७९ ०८:३१