२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

‘अब हिमाललाई आराम दिऊँ’

सगरमाथा आरोहणका एक मात्र जीवित साक्षी कान्छा शेर्पाको जीवन–कथा :
गोविन्द पोखरेल

नाम्चेको ‘निर्वाणा होम’ मा छन् कान्छा शेर्पा (९०) । सगरमाथामा पहिलो पटक आरोहण गर्ने दलका एक मात्र जीवित साक्षी उनी माला जप्दै र विश्वशान्तिको कामना गर्दै दिन बताउँछन् । पुराना दिनतिर फर्किहेर्छन्, आफैं अचम्भित हुन्छन्– त्यो समय सगरमाथा आरोहण कसरी सम्भव भयो ! वैशाख दोस्रो साता नाम्चे पुग्दा उनले भने, ‘त्यो बेला कसरी बाटो बनाइयो, कसरी गइयो, चुचुरो जाने बाटो कसरी थाहा भयो, सम्झेरै रमाइलो लाग्छ ।’

‘अब हिमाललाई आराम दिऊँ’

तेन्जिङ नोर्गे शेर्पा, एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पहिलो पटक पुगेका थिए–२९ मे, १९५३ मा । हिलारी–तेन्जिङको त्यो यात्रामा कान्छासहित अन्य दुई जना शेर्पाले बेस क्याम्पदेखि क्याम्प–४ सम्म निर्माण गरिदिएका थिए । २७ हजार फिटसम्म उनीहरू सँगै थिए । त्योभन्दा माथिचाहिँ तेन्जिङ र हिलारी सँगै गएको सम्झन्छन् कान्छा ।

...

ऊबेला अहिलेजस्तो थिएन– नाम्चे बजार । कान्छाका हजुरबुवा आङ फुरी थामेबाट सरेर नाम्चे बसेका थिए । थामेबाट बसाइ सरी आएका अन्यसहित आधा दर्जन शेर्पाका घर थिए नाम्चेमा । कान्छाका बुवा आङ बाबु सोलुदेखि तिब्बतसम्म भारी बोक्थे । नाम्चेको जीवन कष्टकर थियो । ‘तेन्जिङ नर्गेकहाँ गए काम पाइन्छ’ भन्ने थाहा पाएपछि सन् १९५२ को हिउँदमा कान्छा र उनका अन्य दुई साथी गाउँबाट भागेर दार्जिलिङ पुगे । तेन्जिङसँगको त्यो भेट कान्छाको जीवनको नयाँ मोड बन्यो ।

कान्छाका बुवा तेन्जिङका साथी थिए । दार्जिलिङ पसेका कान्छा र कान्छाका साथीहरूलाई तेन्जिङले आफ्नो घरमा राखे । जीवनमा २० वर्ष पुगेपछि पहिलो पटक तेन्जिङको घरमा चामलको भात खाएको दिनको सम्झना उनको मस्तिष्कमा ओहोरदोहोर गरिरहन्छन् ।

केही महिनापछि तेन्जिङले कान्छालाई भने– जाउँ ‘चोमोलोङ्मा’ चढ्न । काम पाइने भो भनेर कान्छा उत्साहित थिए । सम्झन्छन्, ‘दार्जिलिङबाट सिलगुढीसम्म रेल र त्यसपछि हिँडेरै हामी काठमाडौं पुगेका थियौं ।’ काठमाडौं पुगेको भोलिपल्ट उनीहरूले हिलारीको टोलीलाई भेटे भक्तपुरमा । हिलारीको टोली भक्तपुर बसेको थियो । भक्तपुर अहिलेजस्तो थिएन, खाली चौर, चरिचरन क्षेत्र प्रशस्तै थिए । भक्तपुरमा उनीहरूले एक साता बिताए ।

हिलारीको टोलीले आरोहणका लागि चाहिने सबै किसिमका बन्दोबस्तीका सामान ल्याएको थियो । कान्छाका अनुसार, ती सामान बोक्न करिब ४ सय कुल्ली खटाइएको थियो । भक्तपुरबाट हिँडेरै पाँचखाल, दोलालघाट हुँदै १६ दिनमा टोली नाम्चे पुग्यो । ४ सय जना कुल्लीले ल्याएको सामान थामेबाट मगाइएका ६० वटा याकलाई बोकाएर बेस क्याम्प पुर्‍याइयो । लेक लाग्ने भएकाले कुल्लीहरूलाई नाम्चेबाटै फर्काइयो । नाम्चेबाट बाटो पहिल्याउँदै आरोही टोली बेस क्याम्प पुगेको थियो । धेरै हिउँ पर्ने र खस्ने जोखिम थियो । नयाँ ठाउँ, त्यसमा पनि बाटो बनाउँदै माथिमाथि जानुपर्ने, जोखिम स्वाभाविक थियो ।

बेस क्याम्प पुगेपछि माथि जाने तयारी हुँदै थियो । दुईवटा ठूला आइसबीच खरपास आएपछि टोली अघि बढ्न सकेन । अहिलेजस्तो सिँढी थिएन । फाल हालेर खरपार नाघ्न खोजे, तर सफल भएनन् । नाम्चेबाट रूख काटेर ल्याउने अनि पुल थाप्ने योजना बन्यो । कान्छा फर्किए । १० वटा रूख काटेर १० जना कुल्लीलाई बोकाएर उनी पुनः बेस क्याम्प फर्किए । ‘पुल थापेपछि क्याम्प–१ बनाइयो’, कान्छा भन्छन्, ‘रूख काट्ने बुद्धि मेरै थियो । फलाम, लेदर केही थिएन । बाटो खोलिएपछि क्याम्प–१ बनाइयो । त्यो पुल नबनाइएको भए एभरेस्ट जान सम्भव थिएन ।’

त्यसपछि क्याम्प २, ३ बनाइयो । कान्छाका अनुसार, फिक्सड रोप लगाएर साउथ कोल पनि उनीहरूले नै पहिलो पटक बनाए । ‘क्याम्प–३ देखि माथि जान असहज थियो । त्यो क्षेत्रमा धेरै नै आइस झर्ने भएकाले ज्यानको जोखिम पनि धेरै हुन्छ,’ कान्छा सम्झन्छन् । कान्छासहित अन्य तीन जना शेर्पाले साउथ कोलमा अक्सिजन र बन्दोबस्तीका सामान पुर्‍याएका थिए । तीव्र हावा चल्ने त्यस क्षेत्रमा निकै कष्टपूर्वक शेर्पा टोलीले पाल टाँग्यो । त्यहाँ स्लिपिङ ब्याग, म्याट्रेस, अक्सिजन, खानेकुरा लगायत बन्दोबस्तीको सामान राखिदिएर उनीहरू फर्किए । २७ हजार फिट उचाइसम्म पुगेर तेन्जिङ र हिलारीका लागि टेन्ट अनि बन्दोबस्तीको सामान राखेर कान्छाको टोली तल्लो क्याम्प फर्किएको थियो । टोलीले साउथ समिट बनाएपछि हिलारी र तेन्जिङ माथि लागे । माथिल्लो क्याम्पमा उनीहरूले रात बिताए । त्यसको भोलिपल्ट दिउँसो १ बजे समिट गरेका थिए ।

कान्छा अझै याद गर्छन्, ‘हामीलाई वाकीटाकीमा खबर आयो– सक्सेस भयौं, क्याम्प २ मा आउनु । हिलारी र तेन्जिङ समिटबाट १ घण्टामा तल आइपुगे । त्यहाँ आएपछि सबैसँग किस गरेको, अँगालो हालेर खुसियाली मनाइएको थियो । अहिलेजस्तो ड्रिङ्स थिएन । हामीलाई आउँदै गर्नू भनेर उनीहरू तल बेस क्याम्प गए ।’

सगरमाथा चढेपछि तेन्जिङ र हिलारी काठमाडौं फर्किए । खुसीको त्यो क्षणमा क्याम्प–२ मा धेरै समान त्यत्तिकै छाडिएको थियो । अक्सिजन, पाल, खाद्यान्न, कपडा, टेन्ट, मट्टीतेल क्याम्पमै छाडेर उनीहरू फर्किएको कान्छा बताउँछन् ।

...

बितेको ५ दशकमा खुम्बु क्षेत्रमा कान्छाले धेरै परिवर्तन देखे । कुनै बेला चामल नहुने नाम्चेमा अहिले संसारका एक से एक परिकार पाइन्छन् । १५ वर्षसम्म स्याङ्सिल (घुँडासम्म लगाउने जुत्ता) नलगाएका कान्छाको नाम्चेमा अहिले विश्वका नाम चलेका ब्रान्डका शोरुम खुले । नाम्चेबाहिर संसार नदेखेका कान्छाले बेलायती महारानीबाट पदक पाए, शेर्पालाई विश्वले चिने । स्कुल नगएका कान्छा अहिले फाउन्डेसनमार्फत दूरदराजका गाउँका बालबालिकाहरूलाई निःशुल्क शिक्षा दिइरहेका छन् । उनको आत्मकथाको पुस्तक ‘टफ एन्ड चियरफुल’ मा यो विषय समावेश छ ।

नेपाली शेर्पाको जीवनस्तर र भाग्य नै तेन्जिङ र हिलारीले बदलिदिएको कान्छाको बुझाइ छ । भन्छन्, ‘एउटा गरिब मान्छे नाम्लो बोकेर लुक्ला एयरपोर्टमा गयो भने दिनको ४/५ हजार कमाउँछ । त्यो कसले गर्दा हो भन्दा सगरमाथाले गर्दा । सरकारले आम्दानी गर्‍यो, यो ठाउँको मान्छेले पनि पैसा कमायो । शेर्पाले धेरै कमायो ।’

कान्छाको समयमा हिमाललाई धार्मिक आस्था र भगवान्को रूपमा पूजा गरिन्थ्यो । अहिले पनि गरिन्छ नै, तर केही फरक भएको छ । हिमालमा व्यापक आरोहण हुन थालेको छ । पहिला हिमाल सफा थिए । अहिले उनमा चिन्ता थपिएको छ, ‘मान्छे नाना किसिमको लुगा लगाउँछ, चुरोट खान्छ, त्यहीँ फ्याँक्छ । हिमाललाई फोहोर बनाउँछ ।’

भन्छन्, ‘हिमालमा हिउँ छैन भने पानी छैन भने हामी के खाने ? पानी त अब बिस्तारै सुक्छ । विदेशको मान्छे यसरी आएन भने के खाने ? के गर्ने ?’ हिमाललाई संरक्षण नगर्ने हो भने सन् १९५३ अघिको अवस्था आउन सक्ने बताउँछन् उनी । त्यस समयमा शेर्पाहरूलाई बिहान–बेलुका खान, खुट्टामा जुत्ता लगाउन समस्या मात्रै होइन, पूरै जीवन निकै कष्टकर थियो ।

कान्छाका अनुसार, पहिलो सगरमाथा आरोहणमा जाँदा बेस क्याम्पमा घाँस पलाउँथ्यो । चौरीहरू घाँस खान त्यहाँसम्म पुग्थे । अहिले यो कुरा कसैले नपत्याउने उनी बताउँछन् । ग्लेसियर, हिमालको हिउँ पग्लँदै गएको प्रति उनी चिन्तित छन् ।

‘हिउँ बिलायो, घाँस हरायो’ भन्दै उनी हरेक बिहान खुम्बु आइसफल जाँदा मानिसको अकाल मृत्यु नहोस् भन्दै ‘ठेङँ’ (माला) जप्छन् र शान्तिको कामना गर्छन् । उनको समयमा नाम्चेमा जेठ–असारसम्मै हिउँ रहन्थ्यो । अहिले त्यो छैन । उनी सगरमाथा प्रदूषित भएकोप्रति पनि चिन्तित छन् । सरसफाइ आवश्यक छ भन्छन् । नेपालका हिमाललाई अब केही समय आराम चाहिने बताउँछन् । सगरमाथा आरोहण एउटा सिजनमा मात्रै गर्न दिने र अर्को सिजन बन्द गर्दा राम्रो हुने उनको सुझाव छ ।

आरोहणको एक मात्रै जीवित साक्षी कान्छाले सगरमाथा आरोहण भने गर्न पाएनन् । उनी २७ हजार फिटको उचाइमा त पुगे, तर त्योभन्दा दुई हजार फिटमाथिको सगरमाथा चुचुरो भने टेक्न पाएनन् । ७ पटकसम्म आवेदन दिए, तर पाएनन् । भन्छन्, ‘चढ्न नपाएकामा अहिले दुःख लाग्छ, सरकारको नियम मान्नुपर्छ नि । भगवान्ले पनि मलाई नचढ भनेको हुनुपर्छ त्यही भएर पाइनँ ।’

कान्छाको आत्मकथा ‘टफ एन्ड चियरफुल’ सन् २०२२ जनवरीमा सावर्जनिक भयो । निर्वाणा हाउसमा उनलाई खोज्दै कोही पुगे उनी सगरमाथा आरोहणका ती दिन र जीवन–अनुभव सुनाउँछन् । स्कुल नगए पनि कान्छाले आफ्नो नाम लेख्न सिके, तेन्जिङकी छोरीमार्फत । आफ्नैकिताबमा नाम लेख्दै भने, ‘यसरी आफ्नै पुस्तकमा नाम लेख्ने दिन पनि आउँछ भनेर मैले कल्पना नि गरेको थिइनँ । तेन्जिङकी छोरीले यो नाम पनि मलाई लेख्न नसिकाएको भए के हुन्थ्यो होला ? तेन्जिङ महान् थिए ।’

प्रकाशित : जेष्ठ १४, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?