२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७
सगरमाथा दिवस

१०१ वर्षअघिको त्यो आरोहण

‘न्युयोर्क टाइम्स’ को अन्तर्वार्तामा मेलोरीलाई सोधियो, ‘तपाईं किन माउन्ट एभरेस्ट चढ्न चाहनुहुन्छ ?’ मेलोरीले उत्तर दिए, ‘बिकज इट्स देअर !’
सुरेश पौडेल

काठमाडौँ — सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथा चुचुरोमा पुगे । उनीहरुअघि सर्वोच्च शिखरमा कोही पुगेका थिए कि थिएनन् ? यो प्रश्नको जवाफ बेलायती नागरिक जर्ज मेलोरीसँग हुन सक्थ्यो । किनकि त्यसको २९ वर्षअघि उनी सगरमाथाको हिउँमा हराइसकेका थिए । उनको अपुरो सगरमाथा–कथामा मन्थन गरौं:

१०१ वर्षअघिको त्यो आरोहण

२९ मे, १९५३– तेन्जिग नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा सर्वप्रथम पुगेका थिए । तर, नेपालमा कसैलाई यसको सुइँकोसम्म पनि दिइएन । सगरमाथा नेपालको चढिए पनि यसबारे पहिलो जानकारी बेलायतबाट जारी गरियो । २९ मे को उक्त घटना केही दिन गोप्य राखेर २ जुन, १९५३ का दिन महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेक–अवसरमा त्यो खबर प्रकाशित–प्रसारित गरियो । नेपालमा भने बेलायतमा बासी भइसकेको उक्त खबर ‘गोरखापत्र’ मा भोलिपल्ट अर्थात् जुन ३ मा प्रकाशित गरियो । गोरखापत्रमा तेन्जिङलाई ‘तेनसिंह’ लेखिएको छ, त्यस्तै एडमन्ड हिलारीलाई ‘एसपी हिल्यारी’ । उतिबेला संसारलाई नै रोमाञ्चित बनाएको उक्त घटना आज ६९ वर्ष पुरानो भइसक्यो, तर सगरमाथा आरोहणको कथा आरम्भ भएको भने १०१ वर्ष पूरा भएको छ ।

शिखरमा पुगेर तेन्जिङ–एडमन्ड सर्वप्रथम जीवितै फर्केका थिए । तर, के त्यसअघि कोही शिखरमा पुगेकै थिएनन् ? वा पुगेर पनि जीवित फर्किन सकेनन् ? प्रस्तुत लेख यस्तै एक पात्रमाथि केन्द्रित छ, जो सन १९२१ मा आरोहण आरम्भ भएदेखि १९२४ सम्म ३ पटक सगरमाथाको विभिन्न उचाइमा पुगेका थिए । सम्भवतः चुचुरोमै ? उनी शिखरमा पुगे/नपुगेको कथाको रहस्य आजपर्यन्त कायमै छ । र, यसबाट पर्दा उठ्ने हो भने सगरमाथा आरोहणको इतिहास बेग्लै हुन सक्छ । यस कथाका नायक हुन् सम्भवतः शिखरमै सर्वप्रथम पुग्न सफल जर्ज हर्बर्ट ली मेलोरी । आखिर को थिए मेलोरी ? किन उनी ‘एभरेस्ट’ (उतिबेला सगरमाथा नामकरण भइसकेको थिएन) चढे ? के उनी ‘एभरेस्ट’ को चुचुरोमा पुगेका थिए ? अब बेला भएको छ, इतिहास उत्खनन गर्ने ।

सन १८५२ मा नेपाल–तिब्बत सिमानामा उभिएको पिक–१५ नै संसारकै सर्वोच्च शिखर भएको पत्ता लागेपछि यसप्रतिको आकर्षण विशेषगरी बेलायतीमाझ विस्तार हुँदै गएको थियो । यसैक्रममा एक बेलायती एल्पिनिस्ट (एल्प्स पर्वतमाला आरोहण गरेकाहरूलाई गरिने सम्बोधन) एवं चिकित्सक क्लिन्टन थोमस डेन्टले एभरेस्ट आरोहणबारे सर्वप्रथम सोचे । यिनले सन १८८५ मा प्रकाशित आफ्नो पुस्तक ‘एबभ द स्नोलाइन’ मा पहिलो पटक ‘एभरेस्टमा’ मानव पुग्न सक्ने आफ्नो कल्पना उल्लेख गरे । लेखेका छन्, ‘अहिले एभरेस्ट आरोहणको कुरा गर्नु हतारमा नायाग्राफल्समा पौडी खेल्नुजस्तै मानिएला अथवा एभरेस्ट आरोहण गर्नु बुद्धिमानी हुनेछ भनेर म अहिले नै त भन्दिनँ, तर मलाई विश्वास छ– मानवजातिबाट नै यसको आरोहण सम्भव छ । र, यो हाम्रै पालामा सफल हुँदै गएको हामीले देख्नेछौं ।’

डा. डेन्टको यो सोचलाई डा. एएम केल्लासको सन् १९१६ को अध्ययन ‘अ कन्सिडेरेसन अफ द पोसिबिलिटी अफ एसेन्डिङ द लोफ्टियर हिमालय’ ले सम्भव रहेको पुष्टि गर्‍यो । उनले मानवीय शारीरिक क्षमताबाट हिमालयका चुचुराहरू आरोहण गर्न सकिने उल्लेख गरे । विज्ञ आरोही र चिकित्सकको यस्तो घोषणाबाट एभरेस्टको उचाई नाप्न बेलायती एल्पिनिस्टहरू उत्साहित हुने नै भए । विशेषगरी त्यस्ता बेलायती, जो केही नयाँ गर्ने चाहना राख्थे । बेलायतीहरू आफैँले सर्वाधिक अग्लो भनेर पत्ता लगाएको एभरेस्टमा पहिलो पटक आफैँ चढ्न चाहन्थे किनकि युरोपमा पर्वतारोहण आरम्भ भएको दशकौं भइसकेको थियो । र, उनीहरूसँग अनुभव थियो । त्यसैले संसारकै सर्वाधिक अग्लो चुचुरो पत्ता लागेपछि त्यसको शिखरमा पुग्ने सोच उनीहरूमा सर्वप्रथम आउनु स्वाभाविकै भयो ।


सगरमाथा आरोहण गर्दै मेलोरी र इरवाइन । तस्बिर : एजेन्सी

सन् १९१९ मा पर्वतारोहीहरूको पहिलो संगठन ‘अल्पाइन क्लब’ र ‘रोयल ज्योग्राफिकल सोसाइटी’ को समन्वयमा ‘एभरेस्ट’ आरोहणका लागि ‘माउन्ट एभरेस्ट कमिटी’ गठन हुन्छ । त्यतिबेला नेपाल विदेशीका लागि खुला नभएकाले दलाई लामाबाट तिब्बत प्रवेशको अनुमति पाएपछि आरोहण अभियान सिक्किम र तिब्बत हुँदै अघि बढ्छ । आरोहण टोलीको उद्देश्य थियो– एभरेस्ट आरोहणको सम्भाव्यता अध्ययनसहित पूर्वावलोकन र नक्साङ्कन । त्यही टोलीका नौजना आरोहीमध्ये एक थिए– मेलोरी ।

सम्झिनुपर्ने तथ्य के भने सगरमाथा आरोहणकै लागि भनेर जर्ज मेलोरी कहिल्यै नेपाल आएनन् । तर, गोरखापत्रका विगत दशकका केही अंकहरूमा यसमाथि गलत सूचना दिइएको पाइन्छ । जस्तै २०५७, जेठ १४ गतेको गोरखापत्रमा लेखिएको छ–

‘सन १९२१ मा जर्ज मेलोरी तात्कालीन राणा सरकारबाट सगरमाथाको प्रथम आरोहणका लागि अनुमति प्राप्त गर्न सफल भए ।’

त्यस्तै २०५८ असार १६ गतेको गोरखापत्रमा डम्बरजंग डाँगी लेख्छन्–

‘विश्वको अग्लो चुचुरो प्रमाणित भए पनि राणाकालीन नेपाल विदेशीहरूको लागि खुला थिएन । धेरै पछि विसं १९७८ मा मात्रै पहिलो पटक बेलायती पर्वतारोही जर्ज म्यालोरी राणा सरकारबाट अनुमति पाएर सगरमाथा आरोहणमा पाइला अघि बढाए ।’

त्यस्तै मिति प्रस्ट नभएको गोरखापत्रको कुनै अंकमा अर्जुन अञ्जान घिमिरेको लेखले पनि गलत सूचनालाई निरन्तरता दिएको छ, उनी लेख्छन्–

‘विसं १९७८ मा तात्कालीन राणा सरकारले जर्ज म्यालोरी भन्ने व्यक्तिलाई स्वीकृति प्रदान गरेको थियो ।’

सम्बन्धित विषयको अनुसन्धानमा जब विगतमा गलत सूचनाहरू प्रवाह भएको सप्रमाण खुल्न आउँछ, त्यतिबेला तथ्यहरू सुधार गर्दै लैजानु लेखकीय कर्त्तव्य ठानेर यसमाथि स्पष्ट गरिएको हो । अब लागौं मेलोरीतिरै ।

बेलायत, चेशायरस्थित मोबर्ली गाउँका एक पादरीका छोरा जर्ज मेलोरी विद्यालय शिक्षक थिए । आकर्षक व्यक्तित्व, सुगठित शरीरका धनी मेलोरी सबैका प्रिय थिए । उनी फोटोग्राफीका सोखिन थिए, खिच्ने र खिचाउने दुवै ! यतिसम्म कि मोडलिङका लागि भनेर उनले त्यो समयमा आफ्नै निर्वस्त्र तस्बिरसमेत खिचाएका थिए । नयाँ–नयाँ चुनौती सामना गर्न रुचाउने उनी आफ्नो पुस्तामा सर्वाधिक अनुभवी पर्वतारोही मानिन्थे, उनले ‘एल्प्स’ पर्वतमालाका अनेकन् चुचुरा टेकिसकेका थिए ।

तर, हिमालयको विषय बेग्लै थियो, ‘एल्प्स’ को सर्वाधिक अग्लो चुचुरो ‘मो ब्लांक’ भन्दा ‘एभरेस्ट बेसक्याम्प’ नै बढी उचाइमा थियो, त्यसैले ‘एल्प्स’ चढ्दा गरिने तयारी ‘एभरेस्ट’ मा पर्याप्त थिएन किनकि २९ हजार फिटको उचाइमा बिनाअक्सिजन बाँच्न सकिने/नसकिनेबारे कसैलाई थाहा थिएन । त्यसैले भन्न सकिन्छ, मानवजातीेले हिमालयको उचाइमा प्रत्येक पाइला पहिलो पटक टेक्न र अनुभव गर्न जाँदै थियो ।

मे १८, १९२१ मा दार्जिलिङबाट ‘ब्रिटिस माउन्ट एभरेस्ट रिकोनोसेन्स एक्सिपिडिसन’ अघि बढ्छ । यो अभियान एभरेस्टमा बाटो पहिल्याउने काममा केन्द्रित थियो, शिखरमा पुग्नैपर्ने सोच राखिएको थिएन । त्यसैले मेलोरी पहिलो पटक सेप्टेम्बर– २३ मा नर्थकोलको २३,०३० फिटसम्म पुग्छन् । त्यहाँ उनले मौसम र हिउँको अवस्थाबारे जानकारी बटुल्छन्, उत्तर र उत्तरपूर्वी मोहडाका साथै शिखरसम्म पुग्न सकिने सम्भावित मार्गहरू पनि उनी पत्ता लगाउँछन् । त्यतिबेला २३,०३० फिटको उचाइमा पहिलो पटक मानव पुगेको कीर्तिमान बन्यो ।

सन १९२२ मा जनरल चार्ल्स जी. ब्रुसको नेतृत्वमा ‘१९२२ ब्रिटिस माउन्ट एभरेस्ट एक्सिपिडिसन’ आरम्भ हुन्छ । अघिल्लो सिजनमा मेलोरीले पत्ता लगाएको मार्ग भएरै टोली अघि बढ्छ । मे २२ मा मेलोरी उत्तरी किनारको २६,८०० फिटसम्म पुग्छन् । यतिको उचाइमा पहिलो पटक मानव पुगेको अर्को नयाँ कीर्तिमान थियो त्यो । यसैक्रममा नर्थकोलभन्दा केही माथि हिमपहिरोमा परेर ७ जना भरियाको मृत्यु भएपछि अन्तिम बेलामा आरोहण स्थगित हुन्छ ।

(मेलोरी र उनका साथी सन् १९२१ मा पहिलो पटक उत्तरी मोहडाबाट आरोहणमा जाँदा सगरमाथाको करिब सात हजार बीस मिटरको उचाइमा रहेको त्यो साँघुरो अनि ठाडो उकालो, जहाँबाट शिखरको वास्तविक आरोहण सुरु हुन्छ, विशेषगरी उत्तरी मोहडाबाट आरोहण गर्दा । सगरमाथाको हिउँको तल्लो विन्दु पनि मानिन्छ नर्थकोल ।)

७ मानवीय क्षति र आर्थिक अभावका कारण सन १९२३ मा आरोहण स्थगित हुन्छ । अघिल्लो २ वर्ष महिनौं हिमालयमा बिताएका मेलोरी अवसरको सदुपयोग गर्दै न्युयोर्क पुग्छन् । १८ मार्च १९२३ को ‘न्युयोर्क टाइम्स’ मा ‘क्लाइम्बिङ माउन्ट एभरेस्ट इज वर्क फर सुपरमेन’ शीर्षकमा उनको अन्तर्वार्ता प्रकाशित भयो । किनकि त्यतिबेलासम्म पृथ्वीको त्यो उच्चतम विन्दुसम्म उनी नै पुगेका थिए । मेलोरीलाई सोधिएको थियो, ‘तपाईं किन माउन्ट एभरेस्ट चढ्न चाहनुहुन्छ ?’ ‘बिकज इट्स देअर,’ मेलोरीले उत्तर दिएका थिए ।

जर्ज मेलोरी । तस्बिर : एजेन्सी

उनको यो उत्तरमा ‘एभरेस्ट’ बेलायतको खोज भएकाले बेलायतीले नै पहिला चढ्नुपर्छ भन्ने मान्यता, पर्वतारोहणमा विश्वका लागि बेलायतले नै उदाहरण स्थापित गर्नुपर्छ भन्ने चाहना र अघिल्ला २ आरोहणका अनुभव सँगालिसकेकाले आफू शिखरमा पुगेरै छाड्ने उच्च आत्मविश्वासको वर्णन थियो ।

सन १९२४, ‘ब्रिटिस माउन्ट एभरेस्ट एक्सिपिडिसन’ फेरि सुरु हुन्छ । सन् १९२१ देखि २४ सम्मका ३ वटै आरोहणमा निरन्तरता पाउने एक मात्र आरोही मेलोरी थिए र यो उनको अन्तिम पटक थियो । यस पटक आरोहण टोलीमा उनीसँगै थिए– अक्सिजनविज्ञ एन्ड्रयु इरवाइन । इन्जिनियरिङका विद्यार्थी एन्ड्रयु कोमिन इरवाइन २२ वर्षका थिए । यो उनको पहिलो आरोहण थियो र मेलोरीले विगतमा हासिल गरेको अनुभवमा उनी पूर्णतः विश्वस्त थिए ।


मेलोरी र अक्सिजनविद् एन्ड्र्यु इरवाइन । तस्बिर : एजेन्सी

यसैबीच नर्थकोलको २३ हजार फिटमा क्याम्प खडा गर्ने प्रयासमा खराब मौसमका कारण एक भरिया र एक सहायक आरोहीको मृत्यु हुन्छ । त्यस्तै टोली नेता कर्नेल नोर्टनले चस्मा फुकाल्दा ‘स्नो ब्लाइन्डनेस’ भएर तथा सँगै गएका होवर्ड सोमरवेल अक्सिजनको कमीले झन्डै मर्ने अवस्थामा पुगेकाले उनीहरूको प्रयास पनि असफल हुन्छ । शृंखलाबद्ध असफलता बेहोर्दा–बेहोर्दै पनि मेलोरी अक्सिजनसहित आरोहण जारी राख्ने निर्णयमा पुग्छन् । अघिल्ला दुई प्रयास अक्सिजन नभएकै कारण सफल नभएको उनको ठहर थियो । त्यसैले उनले अक्सिजनविद् एन्ड्रयु इरवाइनलाई साथ लिएका थिए । मेलोरी यस पटक जसरी पनि शिखरमा पुग्न चाहन्थे ।

तर, किन ?

कल्पना गर्न सकिन्छ, संसारमा पहिलो पटक ‘एभरेस्ट’ को शिखरमा पाईला टेक्ने आरोहीमध्यको एक बन्ने अवसर कस्तो हुने होला भनेर । उचाइको त्यो हद, जसबारे आजसम्म कसैलाई थाहा छैन, त्यस्तोमा माथि उक्लिँदै गरेका प्रत्येक अज्ञात पाइलाको रोमाञ्च कस्तो हुन्छ, मेलोरीले बुझेका थिए । अघिल्ला २ आरोहणमा उनले स्थापित गरेका कीर्तिमान र तीनैवटा आरोहणमा सहभागी एक जना मात्रै मेलोरी त्यो अवसरबाट वञ्चित हुन चाहन्नथे । उनी विश्व कीर्तिमान रच्न चाहन्थे । अर्को पनि एउटा कारण थियो– तेस्रो पटकको आरोहणमा आउँदा मेलोरीले आफ्नी श्रीमती रुथ टर्नरलाई वचन दिएका थिए– उनको तस्बिर चुचुरोमा छोडेर आउने । यी सबै कारणले मेलोरीको मन व्यवहारमा देखिएको असहज परिस्थिति स्विकार्न तयार थिएन, उनको चाहना सबैतिर हावी बन्दै गइरहेको थियो ।


जर्ज मेलोरी र उनकी श्रीमती रुथ टर्नर । तस्बिर : एजेन्सी

जुन ६, १९२४, बिहान मेलोरी र इरवाइन नर्थकोलस्थित क्याम्प–४ बाट माथि उक्लिनुअघि अर्का आरोही नोल ओडेल उनीहरूलाई बिदा गर्छन् । ओडेलले उनीहरूको तस्बिर खिच्छन् । सम्भवतः अन्तिम तस्बिर ।

जुन ७, १९२४, भरियामार्फत ओडेल मेलोरीले पठाएको सन्देश पाउँछन्– मेलोरी र इरवाइन शिखरभन्दा २ हजार फिट तलसम्म पुगिसकेका हुन्छन् ।

जुन ८, १९२४, बिहान ओडेल पनि माथि उक्लिन्छन् । केही घण्टापछि बादल आउने–जाने हुँदै गर्दाको अवस्थामा एक माइलभन्दा पनि कम दूरीमा ओडेलले मेलोरी र इरवाइनलाई देख्छन् । उनीहरू अन्तिम चुचुरोको आधारविन्दुतर्फ एकपछि अर्को गर्दै उक्लिँदै गरेका हुन्छन् । तर, अचानक बादलको ठूलो टुक्रा ओडेल र उनीहरूको बीच आउँछ, केही बेरपछि बादल हराउँछ । साथै चुचुरोतिर लम्किँदै गरेका मेलोरी र इरवाइन पनि हराउँछन् । हिउँ पर्दै, हावा चल्दै गर्दा पनि मेलोरी र इरवाइनलाई खोज्दै ओडेल माथितिर चढ्छन्, तर व्यर्थ ! २३ हजार फिटको उचाइमा बसेर ओडेलले आफ्ना साथीहरूलाई कुर्छन्, तर कुनै संकेत नआएपछि उनीहरू हराएको निष्कर्षमा पुग्छन् र तल झर्छन् । जर्ज मेलोरी र एन्ड्रयु इरवाइनको निधन भएको निष्कर्षमा टोली पुग्छ ।

मेलोरी र इरवाइनलाई गुमाउँदासम्म ३ पटकको आरोहण अभियानमा मर्नेहरूको संख्या १३ पुगिसकेको थियो । मेलोरी र इरवाइनको मृत्युको खबरले सारा बेलायत स्तब्ध हुन्छ । बेलायतले सार्वजनिक रूपमै शोक मनाउँछ, स्वयं बेलायती राजाले आरोहीहरूका परिवारलाई समवेदना सन्देश पठाउँछन् ।

पृथ्वीको उच्चतम विन्दुमा पुग्ने मेलोरी र इरवाइनको संघर्षले उनीहरू विश्वमै नायक भइसकेका हुन्छन् । र, प्रथम विश्वयुद्ध समाप्तिपछिको त्यो संसारको सोच युद्धबाट मोडिएर मेलोरी र इरवाइनमा केन्द्रित हुन्छ । तर, प्रश्न फेरि पनि त्यही– के उनीहरू चुचुरोमा पुगे ?

मेलोरीको दृढनिश्चय र शक्तिलाई आधार मान्ने हो भने उनी शिखरमा पुग्न सफल भएको तर्क गर्ने गरिन्छ । विशेषगरी मेलोरीलाई नजिकबाट बुझेका उनका साथीहरूका लागि कुनै शंकै रहेन, उनी शिखरमा पुगेनन् भन्नेमा ।

त्यसपछि ‘एभरेस्ट’ अभियान ९ वर्षसम्म रोकिएर सन् १९३३ देखि पुनः सुरु हुन्छ । बेलायतीहरूले नै आरम्भ गरेको उक्त आरोहण अभियानमा इरवाइनको भएको विश्वास गरिएको एउटा ‘आइसएक्स’ फेला परेपछि मेलोरी र इरवाइनको फेरि चर्चा हुन्छ । शिखरमा पुगेको हुन सक्ने तर्क:

– मेलोरीको पकेटमा सनग्लास भेटिनुले उनी शिखरमा पुगेर फर्केको भन्ने तथ्यलाई बल मिलेको देखिन्छ किनकि त्यही आरोहणमा अर्का आरोही एडवर्ड नोर्टनले घाम लागेका बेला चस्मा नलगाउँदा ‘स्नो ब्लाइन्डनेस’ भएको थियो । मेलोरी यसबारे जानकार थिए, त्यसैले यदि उनी घाम लागेका बेला उक्लिँदै गरेका हुन्थे भने सनग्लास नलगाउने भन्ने हुन्नथ्यो । उनीहरू शिखरमा पुगेको र अँध्यारो भएपछि ओर्लेको हुन सक्ने अनुमान तर्कसंगत छ किनकि मेलोरीले ढुक्कैसँग भित्री पकेटमा सनग्लास राखेका थिए ।

– मेलोरीको शवमा भेटिएको एउटा खामबाहिर केही अंक लेखिएका थिए । ती अंक उनीहरूले सँगै लगेका अक्सिजनको दबाबको मात्रा भएको विज्ञहरूले बताएका छन् । त्यसअघि लामो समयसम्म अक्सिजन नपुगेर उनीहरूको मृत्यु भएको अनुमान गरिँदै आइएको थियो, तर ती अंकले दुई आरोहीसँग ६ वटासम्म अक्सिजन सिलिन्डर रहेको देखाएको छ, जुन शिखरसम्म पुग्न र फर्कन पर्याप्त मानिन्छ । त्यतिबेलाका प्रारम्भिक अवस्थाका अक्सिजन उपकरणमा व्यापक संशोधन गरेर इरवाइनले त्यसलाई भरपर्दो बनाएका थिए ।

– त्यस्तै यदि मेलोरी शिखरमा नपुगेका हुन्थे भने उनकी श्रीमती रुथ टर्नरको तस्बिर उनीसँगै भेटिनुपर्थ्यो, जुन मेलोरीले सधैं आफूसँगै राख्ने गरेको र शिखरमा पुगेपछि त्यहीँ छोडेर फर्कने वाचा रुथलाई गरेको सबैलाई थाहा थियो । उनको ‘वालेट’ र अन्य कागजात, कहीँ कतै पनि रुथको तस्बिर फेला परेन । शिखरमै छोडेर आएकाले त्यो फेला नपरेको अनुमान गरियो ।

– दिनको १२:५० मा सकेन्डस्टेप पुगिसकेको अवस्थाका आधारमा कुरा गर्दा तिनीहरू चुचुरोमा पुगेको सम्भावना धेरै रहेको विज्ञ आरोहीहरू बताउँछन् ।

– आरोही एवं लेखक क्रिस बोनिङ्टनका अनुसार, उनीहरू सेकेन्डस्टेपभन्दा पनि माथि पुगेको तथ्य स्विकार्ने हो भने त्यतिबेला शिखरमा पुग्ने चिन्ता मात्रै हुन्छ, तल फर्किने लगायतका अन्य तमाम सवालको सम्झना हुन्न । यी सब परिस्थितिका आधारमा भन्ने हो भने मौसम खराब भए पनि बादलहरू आउँदै–जाँदै गरेको भए पनि वा हिउँ परिरहेको भए पनि उनीहरू माथि पुगेकै हुन् ।

– सन् १९२२ को आरोहणमा मेलोरीसँगै रहेका अन्वेषक टम लंगस्टफले आफ्ना एक साथीलाई पठाएको पत्रमा लेखेका छन्, ‘कुनै पनि आरोही माथि पुग्न सम्भव छ । त्यो जोडीले त्यतिकै फिर्ता आउने निर्णय गर्‍यो होला भन्ने मलाई लाग्दैन किनकि मेलोरी कस्ता मान्छे थिए मलाई थाहा छ ।’

– मेलोरीले बनाएको उत्तरी मोहडाको बाटो भएर पछिल्ला वर्षहरूमा थुप्रै समूहले सगरमाथा चढ्ने प्रयास गरे, जसमध्ये काटालान माउन्टेनियर्स नामक समूह अगस्ट १९८५ मा शिखरमा पुग्यो । त्यतिबेला सेकेन्डस्टेप हिँउको थुप्रोले भरिएकाले आरोहण टोलीलाई कुनै समस्या परेन । आफूहरूलाई समस्या नपरेकाले आफूहरूभन्दा बढी पोख्त मेलोरीलाई पनि समस्या नपर्नुपर्ने उनीहरूको तर्क छ ।

मेलोरी र इरवाइन हराएको २९ वर्षपछि तेन्जिङ र एडमन्ड शिखरमा पुग्दा यो अनुत्तरित एवं महत्त्वपूर्ण प्रश्न पनि उनीहरूसँगै माथि उक्लेको थियो । हिलारीले भनेका छन्, ‘जब म शिखरमा पुगेर वरपर हेरेँ, विशेषगरी मैले नर्थकोलबाट तलतिर हेर्दा मेरो स्मृतिमा मेलोरी र यो प्रश्न नै थियो । तर, उनी शिखरसम्म पुगेर फर्केको कुनै संकेत थिएन । मैले केही फेला परिहाल्छ कि भनेर शिखरदेखि नर्थकोलसम्मको निकै भिरालोमा माथि–तल दुवैतर्फ हेरेँ, तर उनीहरू शिखरमा पुगेको कुनै संकेत फेला पार्न सकिनँ ।’

आरोहणबाट फर्केपछि उनले भनेका थिए, ‘मेलोरी र इरवाइनले शिखरमा पाइला टेकेको प्रमाणित हुने हो भने त्यो उनीहरूको निरन्तरको प्रयासबापतको पुरस्कार हुनेथियो ।’ ‘एभरेस्ट’ मा उनीहरूले मानवीय क्रियाकलाप सुरु गरेको परिणामस्वरूप नै आफूहरू शिखरमा पुग्न सफल भएको धारणा हिलारीको थियो ।


सगरमाथामा मेलोरीको शव । तस्बिर : एजेन्सी

सन् १९९९ मा सगरमाथामा मेलोरीको शव फेला पर्छ । सन् १९२४ मा मेलोरी र इरवाइनको मृत्युको खबर बेलायत पुग्न झन्डै २ साता लागेको थियो । ७५ वर्षपछि जर्ज मेलोरी फेरि पनि बेलायत लगायत संसारभरै प्रमुख समाचार बने, तर केही घण्टाकै अन्तरालमा । संसार फेरि एक पटक आश्चर्यचकित बन्यो । टोलीले सगरमाथामै हराएको तथा मेलोरीको साथमा रहेको पकेट क्यामरा पनि पाउने आशा गरेको थियो । पुरानो भए पनि त्यसको फिल्म डिभेलप गर्न सकिने कोडाकका विज्ञहरूले बताएका थिए, जसबाट उनीहरू शिखरमा पुगे/नपुगेको पत्ता लाग्ने अपेक्षा गरिएको थियो, तर फेला परेन । फेला परेका समानहरूमा मेलोरीको घाँटीसँगै रहेको सानो पोकोमा ‘ब्रान्ड एन्ड कम्पनी साभोरी मिट लोन्जेज’ लेखिएको सुक्खा खानेकुराको टिनको बट्टा, सिसा फुटेको पित्तलको अल्टिमिटर, पकेट चक्कु, छाप भएको रुमाल तथा भित्री पकेटमा एक जोडी नबिग्रिएको सनग्लास थियो । त्यसबाहेक फेला परेको थियो– मोजा, चस्मा, जिंकअक्साइड, केही चिठी, स्वानभिस्टा नामक सलाईको बट्टा, स्कार्फमा छोपेर राखिएको रुथबाहेकका केही फोटोग्राफ, ए.डब्ल्यू. गामाका लेखेको बिल, जहाँबाट उनले फिर्ता गर्ने सर्तमा ५ जोडी ग्लब्स लिएका थिए ।

मेलोरी–इरवाइन आरोहणको कथा अझै वर्षौंसम्मका लागि सगरमाथाले आफूसँग रहस्यकै रूपमा साँचेकी छन् । तर, थाहा भएको तथ्य– फेला परेका जर्ज मेलोरी र फेला नपरेका एन्ड्रयु इरवाइन अझै पनि त्यो अनकण्टार हिँउको थुप्रोमा चिरनिद्रामा छन् । के थाहा, कुनै दिन मेलोरीको हराएको क्यामरासहित इरवाइन हिउँको कुनै कुनामा फेला पो परिहाल्छन् कि ?


सगरमाथा आरोहण गर्ने क्रममा मेलोरी र इरवाइन । तस्बिर : एजेन्सी

समाजले प्रयासभन्दा सफलताको चर्चा बढी गर्छ । अझ विश्वमै पहिलो पटक प्राप्त सफलताको विशेष महत्त्व रहने नै भयो । मे २९, १९५३ मा त्यसभन्दा ३२ वर्ष अघिदेखि आरम्भ भएको एउटा अभियान सम्पन्न भएको थियो । रहस्य बन्दै आएको ‘एभरेस्ट’ शिखरबारे तेन्जिङ र एडमन्डको अनुभव र वर्णनबाट संसारले थाहा पाइसकेको थियो । वास्तवमा ‘एभरेस्ट’ मा तेन्जिङ र एडमन्डको उक्त आरोहण सिद्धान्तले प्रमाणित गरेको एउटा खोजको व्यावहारिक पुष्टि थियो, जुन मेलोरी र उनका साथीहरूले १९२१, २२ वा २४ मै गर्न चाहन्थे । तेन्जिङ र हिलारीपछिका आरोहणहरू अपवादबाहेक कीर्तिमानका लागि गरिने एउटा निरन्तरता रहँदै आयो, जुन यो धरतीमा सगरमाथा र मानवजातिको अस्तित्व रहुन्जेल चलिरहनेछ । यहाँ सम्झिनुपर्ने कुरा के छ भने सन् १९२१ मा पहिलो अनुसन्धान आरोहण आरम्भ नहुँदासम्म कुनै पनि पश्चिमा अनुसन्धान आरोही हिमालयको ४० माइलको घेराभन्दा बाहिर मात्रै थिए । सन १९२१ देखि २४ सम्मको तीनवटै आरोहण अभियानमा निरन्तरता पाउने मेलोरी एक मात्रै आरोही थिए । ‘एभरेस्ट’ मा आरोहणको रुट बनाउँदै क्रमशः ७,०१९ र ८,१६८ मिटरमा पहिलो पटक मानव पुगेको कीर्तिमान मेलोरी र उनको टोलीले नै कायम गरेको थियो । आफ्नो तीन पटकको आरोहणमा एभरेस्टको विभिन्न उचाइमा शिखरसम्मको दूरीको तुलनामा दोब्बरभन्दा पनि बढी पटक हिँडिसकेका मेलोरीलाई सफलता हात नलाग्दा कति छटपटी भयो होला, बुझ्न सकिन्छ । एउटा अनिश्चित सफलताका लागि सुखसयलको जीवन छोडेर परिवारबाट हजारौं माइल टाढा हरेक वर्ष महिनौं हिउँमा बिताउन आउँदा ‘एभरेस्ट’ प्रति विशेष लगाव विकसित हुनु स्वाभाविकै थियो । शिखरभन्दा करिब ६ सय मिटर तल मेलोरी चिरनिद्रामा रहेको ९८ वर्ष भइसक्यो । त्यहाँ उनी सजिलै भेटिन्छन्, तर उनका साथी एन्ड्रयु इरवाइन फेला परेका छैनन्, सायद हिउँको कुनै गहिराइमा उनी लुकेका छन् । उनीहरू शिखरमा पुगे–नपुगेको रहस्य सुल्झाउन सक्ने विश्वास गरिएको सर्वाधिक खोजी भएको मेलोरीको पकेट क्यामरा पनि इरवाइनसँग छ भन्ने अनुमान अद्यापि जीवितै छ । हिउँको निकै गहिराइसम्म मानव शरीर र धातु पत्ता लगाउन सक्ने यन्त्रमार्फत इरवाइन र उक्त क्यामराको खोज गर्नेतर्फ भविष्यमा अवश्य पनि कुनै आरोहण टोलीको ध्यान जानेछ । आशा गरौं प्रविधिले विकास गर्नेछ, कुनै दिन त्यस्तो यन्त्र बन्नेछ र सगरमाथा आरोहणको नयाँ इतिहास लेखिनेछ ।

(शनिबार प्रकाशन हुने ‘कोसेली’बाट)

प्रकाशित : जेष्ठ १३, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?