कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँको कविता

(सन् २०१९ को नेपाली गाउँ कुनै)
अविनाश श्रेष्ठ

डराएको–अत्तालिएको हावा छ गाउँमा
अनि टाढाटाढासम्म हुरीको पाइतलाका पदचाप पनि ।

गाउँको कविता

बेखबर–बेपर्वाह एक्लै कुदिरहेको हुलाकीजस्तो

दुःखी दिन छ गाउँवरपर

परपरसम्म पसारिएको ।


कुनै खतरनाक गुन्डाजस्तै हुलिया भएको समय छ

जसले समातेर बसेको छ आतंकका औंलाहरु ।


त्यसो त जीवनका लागि चाहिने सबथोक छ गाउँमा :

मान्छे । पशुपन्छी । पाठशाला । गाविस । वडा कार्यालय ।

निवेदन । भीड । भनसुन । बलमिच्याइँ । विभेद ।

मुद्दा । घम्साघम्सी । तँछाड–मछाड । हलचल ।

कुटनीति । लुटनीति । फुटनीति ।

अत्याचार । व्यभिचार । बलात्कार । भ्रष्टाचार ।

सबथोक पुगिसकेको छ गाउँमै ।


त्यसैले अचेल जीवनका लागि चाहिने/नचाहिने

सबथोक छ गाउँमा :

इन्टरनेट । एन्ड्रोइड मोबाइल फोन । स्मार्ट टीभी ।

गुगल । फेसबुक । ट्वीटर । विकेपिडिया । युट्युब ।

पोर्न भिडियो । साइबर अपराध । अल्टिमेट एक्स्टासीको

भर्चुअल संसार  !

सबथोकको सुविधाजनक आपूर्ति र उपस्थिति छ गाउँमा ।


अनुपस्थिति छ त — सम्बन्धको मिठासको ।

ढोगभेटको । जुम्ले हातको । आदान–प्रदानको ।

कुराकानीको । पारिवारिक रामकहानीको ।


त्यसो त जीवनका लागि आवश्यक/अनावश्यक

हरेक थोक छ गाउँमा

थोकको भाउमा ।


जीवनबाहेक ।

जीवनको सहज–स्वाभाविक लयबाहेक ।

न्यायबाहेक ।

समाधानबाहेक ।

निकासबाहेक ।

विकासबाहेक ।


सबथोक छ गाउँमा — सहरमा जस्तै अचेल ।


मुलुकभरि जे–जे छन् विडम्बना

ती सबै अचेल मेरो गाउँमै आइपुगेका छन् :

गाविस अध्यक्षको घर — बलियो–बाठो बालुवाटारमा !

वडावडामा एकुन्टा — कुण्ठाग्रस्त श्रापित सिंहदरबार  !!

प्रकाशित : पुस ३, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?