२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

त्रासद इतिहास–उत्खनन

नेपालसहित दक्षिण एसियाली समाजमा व्याप्त नारीहन्ता प्रथाको समाजशास्त्रीय अध्ययनको सम्भवतः एउटा मानक दस्ताबेज हो– ‘सती’ ।
प्रदीप ज्ञवाली

आगोले छुस्स पोल्दासमेत मान्छे आत्तिन्छ । एसिड छ्यापिएका या मट्टीतेल छर्केर जलाइएका महिलाका असह्य छटपटी देख्दा मुटु थरर्र काम्छ । तर, कुनै बेला पतिको मृत्युपछि उसकी पत्नीलाई चितामा सँगै राखेर ज्युँदै जलाइन्थ्यो । त्यो दृष्य हेर्न जात्राजस्तै भीड लाग्थ्यो । जो चितामा चढ्न तयार हुँदैनथे, उनीहरूलाई जबर्जस्ती चितामा चढाइन्थ्यो र चितामै बाँधेर राखिन्थ्यो । चिताग्निले अत्तालिएर भाग्न खोज्नेहरूलाई हिर्काएर मार्न बाँसका लाठाहरू तयार हुन्थे ।

त्रासद इतिहास–उत्खनन

उनीहरूका चित्कारलाई दबाउन चर्को स्वरमा बाजागाजा बजाइन्थे । सुन्दै ऐंठन हुने यस्तो प्रचलन हाम्रै समाजमा समेत व्याप्त थियो भन्ने कुरा आजका पुस्ताका लागि पत्याउनै कठिन हुन्छ । यस्तो अमानवीय प्रचलन कुन ऐतिहासिक पृष्ठभूमिमा विकसित भयो ? यसका अर्थ– सामाजिक जराहरू के थिए ? कसरी यस्तो क्रूर प्रथाले समाजमा लामो समयसम्म सांस्कृतिक वर्चस्व स्थापित गर्‍यो ? र, कसरी यो अन्त्य भयो ? यस्ता अनेकौं प्रश्नको गहिरो चिरफार गरी सतीप्रथाको उत्खनन गरेका छन् लेखक सुजित मैनालीले, किताब ‘सती’ मार्फत् ।

सतीप्रथाको मुहान खोज्दै जाने क्रममा सुजित मैनाली वैदिक, महाभारतकालीन र उत्तरवैदिक समाजसम्म पुगेका छन् । सृष्टिको आदिकालमा मातृसत्तात्मक स्वरूपमा रहेको मानव समाज आदिम सामुदायिक अवस्थाबाट दास समाजमा संक्रमण भएसँगै नारीको हैसियत पनि परिवारको अगुवा तथा समुदायको प्रबन्धकको तहबाट अवनत हुँदै गयो । आदिम गुजाराको अवस्थाबाट संग्रह गर्न सकिने गरी निजी सम्पत्तिको उदय भएसँगै यसले पारिवारिक– सामाजिक संरचनामै ठूलो परिवर्तन ल्यायो । राज्यसत्ताको उदय, पितृसत्ताको आरम्भ र नारी पराधीनताको शृंखला यस परिवर्तनका मुख्य विशेषता थिए ।

परिवार र समाजको मुखियाका रूपमा पुरुषको उदय भएसँगै हिजोसम्म स्वच्छन्द र धेरै हदसम्म नारीको नियन्त्रणमा रहेको यौन प्रबन्ध पनि बदलिएर पुरुषको हातमा पुग्यो । एकल विवाह प्रथा सुरु भएसँगै नारीमाथि पुरुषको वर्चस्व स्थापित हुँदै गयो । र, ऊ पुरुषको ‘सम्पत्ति’ का रूपमा अवमूल्यित हुन पुगी । आमाले मात्रै चिन्ने र आमाकै नाममा चल्ने वंश परम्परा भत्किएर पुरुषकेन्द्रित हुन थाल्यो । सन्तानमा आफ्नो पहिचान स्थापित गर्न र सम्पत्तिको उत्तराधिकारी निर्क्योल गर्न पुरुषले पत्नीको यौनजीवनमा नियन्त्रण सुरु गर्‍यो ।

निजी सम्पत्तिको उत्पत्ति नै मातृसत्ताको विघटन र नारीमाथि पुरुषको नियन्त्रणको मुख्य विन्दु थियो भनेर वैज्ञानिक–समाजशास्त्रीय निष्कर्ष निकाल्ने कामको श्रेय एंगेल्सलाई जान्छ । यस विन्दुलाई नारीको ‘ऐतिहासिक पराजय’ ठान्ने एंगेल्सको यही दृष्टिकोणलाई मैनालीले पछ्याएका छन् । उनको ठम्याइ छ, सतीप्रथा नारीको यौनजीवन नियन्त्रण गर्ने क्रममा पितृसत्ताले सिर्जना गरेको क्रूरतम र परपीडक प्रथा थियो । यस क्रममा मैनालीले नारीमाथि पुरुषको नियन्त्रणको मुख्य प्रयोजन सम्पत्तिको वारेस आफ्ना सन्तानलाई बनाउने विषय सुनिश्चित गर्नु हो भन्ने एंगेल्सको प्रस्थापनालाई भने अपर्याप्त ठहर्‍याएका छन् ।

मैनाली भन्छन्– ‘मिहिन रूपमा हेर्दा मानिसको यौनजीवन सम्पत्ति (हस्तान्तरण) को चाहभन्दा अझ सघन मनःकांक्षाबाट अनुप्राणित भइरहेको हुन्छ ।’ यस सन्दर्भमा नवमार्क्सवादी क्लाउड मिलासुलाई बढि भरपर्दो ठानेका मैनालीको निष्कर्ष छ– वंश परम्परा कायम राख्नु र आफ्ना सन्तानलाई आफू आर्जित सम्पत्तिको उत्तराधिकारी बनाउनु होइन, नारीको यौनजीवनलाई नियन्त्रण गर्नु (उनकै शब्दमा भगयन्त्रणा) नै यसभित्र निहित मुख्य उद्देश्य थियो । उनको यस सामान्यीकरणले भने थप अध्ययनको माग गर्छ । तर, मुख्य उद्देश्य जे भए पनि, नारीमाथि हिंसाको शृंखलाको आरम्भ विन्दु पितृसत्ताको उदय हो भन्नेमा द्विविधा छैन ।

यस अर्थमा लेखकले सतीप्रथाको ऐतिहासिक–सामाजिक जरालाई सही ढंगले पहिल्याउने काम गरेका छन् । यदि आदिम सामुदायिक समाजको विघटन, निजी सम्पत्तिको उदय र पितृसत्ताको उदय सतीजस्तो नारीघाती प्रथाको आधार हो भने यस्तो प्रथा विश्वका अन्य भूभागमा किन देखा परेन र दक्षिण एसियाको हिन्दु समाज व्यवस्थामै मात्रै कसरी संस्थागत भयो भन्ने प्रश्न स्वाभाविक उठ्छ नै । विश्वका विभिन्न समाजहरूको शोधमाथि आधारित धेरै ग्रन्थको अध्ययन गरेर मैनालीले निष्कर्ष निकालेका छन्– ‘यस्तो नारीहन्ता प्रचलन प्रायः सबै समाजमा कुनै न कुनै बेला अवश्य पनि थियो ।’

केही सय वर्षअगाडिसम्म युरोपेली समाजमा व्याप्त बोक्सीदहन प्रथा, प्राचीनकालमा चिनियाँ समाजमा प्रचलित महिला नियन्त्रणका अमानवीय परम्परा र प्राचीन मिश्रका चिहानहरूको उत्खननबाट प्राप्त प्रमाणहरूलाई उद्धृत गर्दै उनी यो निष्कर्षमा पुगेका हुन् । पितृसत्ताले जुन विन्दुदेखि नारीलाई पुरुषको व्यक्तिगत सम्पत्ति या ‘माल’ का रूपमा व्यवहार गर्न थाल्यो, नारीमाथि पुरुष वर्चस्वको शृंखला सुरु भयो । त्यही वर्चस्वले नारीको बेचबिखन सुरु भयो, नारीलाई वस्तुका रूपमा प्रयोग गर्न थालियो र हिंसाका अमानवीय घटना घटित भए ।

यस सम्बन्धमा द्युत् क्रीडामा सबै सम्पत्ति, भाइहरू र स्वयं आफूलाई समेत गुमाएपछि युधिष्ठिरबाट दाउमा लगाइएकी द्रौपदीले आफ्नो अस्तित्वबारे कौरव–सभामा उठाएको कालजयी प्रश्न आज पनि सान्दर्भिक छ, जसलाई मैनालीले पनि उद्धृत गरेका छन् ।

संसारका प्रायः सबै भूभाग र समाजमा नारीहन्ता प्रचलन कुनै न कुनै बेला विद्यमान रहे पनि सतीप्रथाको रूपमा यो परपीडक र नृशंस प्रचलन दक्षिण एसियाली हिन्दु समाजमा बढी सघन, बढी संस्थागत र दीर्घकालसम्म कायम रहेको सत्य हो । लेखकले यसका कारणहरूका सम्बन्धमा गहिरो अनुशीलन गरेका छन् ।

वैदिककालमा नारीहरूको अवस्था समाजमा सम्मानित रहेको, त्यतिबेला विधवा विवाह मान्य रहेको र नारी हिंसा न्यून रहेको देखिन्छ । तर, उत्तरवैदिककालमा आइपुग्दा भने समाज रुढीग्रस्त र अनुदार बन्दै गएको, वर्णव्यवस्था आरम्भ भएको, नारीहरू पुनर्विवाहको अधिकारबाट वञ्चित भएको र त्यसै पृष्ठभूमिमा सतीप्रथा संस्थागत बनेको मैनाली विश्लेषण गर्छन् । यसपछाडिको बाह्य कारणका रूपमा उनले इरानी, ग्रिसेली, शक, कुषाण र हुणलगायतले यस भूभागमा गरेको हमला, त्यसबाट सृजित भय र आफ्नो स्वत्व जोगाउन समाजलाई कठोर बनाइएको तर्क गरेका छन् ।

यिनै आन्तरिक र बाह्य कारणले इसा पूर्वदेखि नै सुरु भएको सतीप्रथा यस भूखण्डमा झन्डै दुई हजार वर्षसम्म विद्यमान रह्यो । नेपालमा सतीप्रथा दक्षिणबाट आयातित भयो । सतीप्रथाको पहिलो संकेत लिच्छविकालमा पाइएको तथ्य लेखकले उल्लेख गरेका छन् । यो कुप्रथा मल्लकालमा उत्कर्षमा पुगेको विश्लेषण गर्दै लेखकले यसका विभिन्न आयामको चर्चा गरेका छन् । सतीप्रथालाई सत्ताप्राप्तिको हतियारका रूपमा पनि प्रयोग गर्ने गरिएको र सतीप्रथामा मृतकका पत्नी (हरू) मात्रै होइन, कमारीहरू पनि जिउँदै जलाइएका अनेकौं तथ्य उत्खनन गर्दै मैनालीले सतीप्रथाका खासै नखुलेका दुईवटा पाटा बाहिर ल्याएका छन् ।

सतीप्रथामा निहित नारीहन्ता र अमानवीय पक्षलाई उचित ठहर्‍याउन या ढाकछोप गर्न पण्डित/पुरोहितहरूले अनेकौं भ्रान्त धारणा सृजना गरेका थिए । उनीहरूले यसलाई पति वियोगमा विह्वल भएकी नारीले स्वेच्छाले गरेको मृत्युवरणका रूपमा स्वाभाविक ठहर्‍याउने धृष्टता गरेका थिए । उनीहरू ‘चरित्रवान नारीलाई जिउँदै चितामा जल्दासमेत आगोले पीडा दिँदैन’ भन्ने भ्रम फैलाउने कोसिस गर्थे । उनीहरू ‘हाँसीहाँसी पतिको शवसँगै दहन हुन तयार हुने नारीका लागि स्वर्गमा आसन सुरक्षित छ’ भन्ने प्रलोभन देखाउँथे । उनीहरूले सती नजाने विधवाको पतिप्रतिको प्रेम र निष्ठामाथि प्रश्न खडा गरेका थिए र सती नजानेलाई कलंकित गर्न कुनै कसर बाँकी छाड्दैनथे ।

लेखक मैनालीले यस अमानवीय प्रथाको मिहिन चिरफार गर्ने क्रममा स्थापित गर्न खोजेको मुख्य निष्कर्ष हो– सतीप्रथालाई उचित ठहर्‍याउन खोज्नु हत्यालाई ढाकछोप गर्ने छद्म प्रयास हो, नारीको अनन्त र अपरिमित प्रेमका रूपमा महिमामण्डित गर्न खोज्नु यो हिंसालाई वैध ठहर्‍याउने धृष्टता मात्रै हो । ‘स्वेच्छा कि बाध्यता’ र ‘सतीलाई पीडा हुँदैनथ्यो ?’ दुईवटा अध्यायमा उनले सतीप्रथाबारे स्थापित गर्न खोजिएका भ्रमका पर्दा च्यातेका छन् ।

निश्चय नै लामो समयसम्म मनोवैज्ञानिक रूपमा भ्रमको संसार निर्माण गरेपछि र त्यो भ्रम समाजको संस्कृति एवं परम्पराका रूपमा स्थापित बनेपछि कतिपय कुप्रथालाई पनि मान्छेहरू स्वाभाविक ठान्न पुग्छन् । सती जानु विधवाको कर्त्तव्य हो, यसो गरेपछि उनीहरूका लागि स्वर्गमा स्थान सुरक्षित हुन्छ र यसलाई अवज्ञा गर्नेहरू समाजमा कलंकित र परलोकमा पतीत हुन्छन् भन्ने भ्रमको कुहिरो व्याप्त गरेपछि कतिपय नारीमा पतिको चितामा उसँगै जिउँदै जल्नु ‘नियति’ हो भन्ने मनोविज्ञान निर्माण भयो होला । यसले गर्दा कतिपय महिला आवेग, अन्धविश्वास र विभ्रममा चितामा चढ्न पनि पुगे होलान् । यस्तै आवेगमा आज पनि कतिपय मान्छे आत्मदाह गर्छन्, आत्मघाती बिस्फोटमा ज्यान दिन्छन् । तर, यसको आधार त सांस्कृतिक हिंसाको लामो शृङ्खलामार्फत निर्माण गरिएको थियो ।

इस्ट इन्डिया कम्पनीका तत्कालीन रेजिडेन्ट लरेन्सको प्रत्यक्ष वर्णनले सतीप्रथा कति क्रूर र अमानवीय थियो भन्ने स्पष्ट पार्छ । यसका अतिरिक्त सती नजाने विधवा नारीमाथि परिवार–समाजले दिने अन्त्यहीन पीडा र सम्पत्तिको अधिकारबाट वञ्चित भएर पल–पल मरेर बाँच्नुपर्ने बाध्यताले उनीहरू यस्तो निरीह जिन्दगी जिउनुभन्दा मर्नु बेस भन्ने सोचाइमा पुगे होलान् । सम्भवतः हिंसाको यस्तो मनोविज्ञान निर्माण गर्न त्यतिबेलाको समाजले, ग्राम्सीले भनेझैं सांस्कृतिक वर्चस्वको अस्त्र प्रयोग गरेको हुँदो हो । तर, सतीप्रथा कुनै पनि अर्थमा स्वाभाविक, स्वैच्छिक र धार्मिक थिएन, यो त धर्मको आवरणमा गरिएको क्रूरतम हिंसा थियो ।

हिंसाको यस भयावहतालाई मैनालीले हृदयविदारक ढंगले प्रस्तुत गरेका छन् । यसका कारणको अत्यन्त गहिरो अन्वेषण, विश्लेषण र संश्लेषण गरेका छन् । कस्तो ऐतिहासिक पृष्ठभूमिमा, कुन सामाजिक–आर्थिक कारणहरूबाट यस्तो कुप्रथा नेपालमा सहजै अन्त्य हुन सक्यो भन्ने पनि उनले स्पष्ट पारेका छन् ।

‘सती’ नेपालसहित दक्षिण एसियाली समाजमा व्याप्त नारीहन्ता प्रथाको समाजशास्त्रीय अध्ययनको संभवतः एउटा मानक दस्ताबेज हो । आफ्नो अध्ययन र निष्कर्षलाई आधिकारिकता प्रदान गर्न मैनालीले धेरै पुस्तक, शोध र प्रमाणको सहयोग लिएका छन् । अनुवादलाई आधिकारिक बनाउन उनले विभिन्न माध्यम अवलम्बन गरेका छन् । उनको अघिल्लो किताब ‘शिलान्यास’ मा अभिव्यक्त इतिहास–चेत, वैज्ञानिक–दृष्टि, कठोर–अध्यावसाय र संवेदनशीलता ‘सती’ सम्म आइपुग्दा नयाँ उचाइमा पुगेको छ । किताबको सम्पादन छरितो छ, एकाध पुनरुक्ति दोषबाहेक ।

नारीहन्ता प्रथा अन्त्य भएको सय वर्षभन्दा बढी भएको छ । तर, नारीमाथिको हिंसा आज पनि कुनै न कुनै रूपमा जारी छ । महिनावारीजस्तो स्वाभाविक प्राकृतिक प्रक्रियालाई पनि अस्पृश्यताको आवरण ओढाएर एकान्तमा लुक्न बाध्य बनाई हिंसा हुने गरेको छ । असफल या एकोहोरो प्रेमको बहानामा तेजाब छर्केर नारीलाई पल–पालमा मर्दै बाँच्न बाध्य बनाउने हिंसा जारी छ । बालिका–वृद्धसमेतलाई निसाना बनाएर गरिने बलात्कार र यौनजन्य हिंसा जारी छ । विज्ञानको नवीनतम आविष्कारलाई समेत दुरुपयोग गर्दै छोरीहरूलाई जन्मनै नदिने र गर्भमै हत्या गर्ने हिंसा बढ्दै गएको छ ।

सतीप्रथाको यस उत्खननले हामीलाई नयाँ रूपमा जारी नारी हिंसाका अर्थ–सामाजिक र सांस्कृतिक आधार पर्गेल्न र यसविरुद्ध उभिन मद्दत गर्नेछ । यस्तो संवेदनशील विषयमा यो गहकिलो किताब पस्केर लेखक सुजित मैनालीले समाजलाई ठूलो गुन लगाएका छन् ।

प्रकाशित : पुस ३, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए सम्बन्धित पक्षबाट क्षतिपूर्ति भराउने गृहमन्त्रीको निर्णय कस्तो लाग्यो ?