कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मुग्लानबाट बाँची फिर्नु नै ठूलो रैछ’

चित्रांग थापा

गाडीको पछिल्लो सिटमा बसेका थिए– तीन युवा । तिनका अनुहारमा गहिरो थकान र बाक्लो निराशाको रङ पोतिएको थियो । भारत हिमाञ्चल प्रदेशको एक लेकाली भेगको स्याउ बगानबाट घर फर्किरहेका थिए तिनीहरू । जाँदा लगाएको उही पुरानो कपडा र फाटेको झिटी–गुन्टाका साथ । तिनै युवाको एउटै पिरलो थियो– पसिना त बगाइयो, तर सुख भएन !

‘मुग्लानबाट बाँची फिर्नु नै ठूलो रैछ’

साउनतिर खेतीपातीको काम सिध्याएर सिमला गएको थिएँ, धेरथोर कमाउँला भन्ने थियो’ पहिलो पटक स्याउ टिप्न हिमाञ्चल पुगेका दीपेन्द्र भण्डारीले दिक्दारी सुनाए, ‘तर, भनेजस्तो भएन, मुग्लानमा बाँचेर फर्किनु नै ठूलो रहेछ । कमाइको कुरै नगरौं, मजदुरी गरेको पैसासमेत मिलेन ।’

मुग्लानका रंगीन तस्बिर मस्तिष्कमा सजाएर छिमेकी दाइहरूसंँग कामको खोजीमा सिमला पुगुन्जेल दङ्दास थिए दीपेन्द्र । त्यहाँ थिए स्याउका विशाल बगानहरू, जहाँ सुदूरपश्चिम र कर्णालीका थुप्रै दीपेन्द्रहरू उचालिरहेका थिए स्याउका बोरा । दीपेन्द्रले पनि स्याउ टिपेर ग्रेडिङ गरे, प्याकेजिङ गरे ।

उधारोमा काम र उधारैमा रासन चलिरहेकै थियो । सुर्खेत–कैलालीका ११ युवा उधारो–प्रबन्धको एकै मेसमा खान्थे र रात–दिन स्याउ टिप्थे । दिन बित्दै गयो, उधारो बढ्दै गयो । तर, बगान मालिकले न रासनको पैसा तिरिदियो न ज्याला दियो । उधारो बढेपछि पसलेले दिनहुँ ताकेता गर्न थाल्यो । स्वाभाविक रूपमा, कामदारले ज्यालाको ताकेता गरे । कामदारलाई काममा खटाउन, तलब दिन र बगैंचाको रेखदेख गर्न मालिकले एक मुनिम राखेको थियो । मुनिमसँग दीपेन्द्रहरूले ‘काम गरेको पैसा पाऊँ’ भनिरहे । मुनिमले बेवास्ता गरिरहे । ‘एक दिन असह्य भएर सुर्खेतका एक दाइले मुनिमलाई दुई झापड हाने,’ दीपेन्द्रले भने, ‘यही निहुँमा उसले पुलिस केस गर्‍यो, सबैलाई थुनायो ।’

हातपातको अभियोगमा मुनिमले थुनेपछि पहाडी ठिटाहरू तर्सिए । काम गरेको पैसा नलिने भए छुट्ने सर्त मुनिमले तेर्स्यायो । ठिटाहरूले नाइँ–नास्ति नगरी मुन्टो हल्लाए । महिनौंको ज्याला गुमाएर उनीहरू थुनामुक्त भए ।

दीपेन्द्रलाई अलिकति रिस बगान साहुसँग छ, अलिकति रिस मुनिमसँग छ, अलिकति रिस हात छाड्ने सुर्खेतको साथीसँग छ, सबैभन्दा बढी रिसचाहिँ उसै थुनिदिने भारतीय प्रहरीमाथि छ । अरू सबै दसैंमा घर फिरे धेरथोर पैसा बोकेर । दीपेन्द्रहरू भने प्रहरी–खोरमा बसे र तिहारमा घर पुग्ने इरादाले खुबै याचनापछि छुटे । सबै आ–आफ्ना घर गए, दीपेन्द्र पनि आइपुगे ।

सिमलातिर स्याउ टिप्ने काम सकिएको र लेकतिर हिमपात हुने समय सुरु भएकाले घर फर्केको उनीहरूले बताए । ‘रित्तै कमाउन गएका थियौं, परिवारलाई एक जोर नयाँ लुगा पनि किन्न नसक्ने भएर झन् रित्तै फकियौं,’ दीपेन्द्रले भने ।

बर्सेनि सीमानाकामा सुरक्षाकर्मीहरूले चेकजाँचको बहानामा, गाडीवालाले भाडाको बहानामा दीपेन्द्रहरूलाई ठगिरहन्छन् । बिरानो ठाउँमा उनीहरूका लागि बोलिदिने कोही हुँदैन । ‘बूढापाकाले भारतमा पस्नेलाई मुग्लानी र भारतलाई मुग्लान उसै भनेका रहेनछन्,’ दीपेन्द्रसँगै फर्केका कैलाली मोहन्यालका एक युवा भन्दै थिए, ‘परदेशमा समस्या परेपछि थाहा हुँदोरहेछ– मुग्लान दुःखको गहिरो सागर हो ।’

थुप्रै नेपाली कामदार भारतमा बिनाअपराध मुद्दा–मामिला झेलिरहन्छन् । केही ठूला घटनामा चाहिँ भारतीय गैरसरकारी संस्था र दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरी पीडितको उद्धार गरेका छन् ।

चार वर्षअघि हिमाञ्चल प्रदेशकै सतलज हाइड्रोपावरमा काम गर्ने ८० नेपाली कामदारलाई ठेकेदार कम्पनीले ६ महिना थुनामा राखेको घटना चर्चित भएको थियो । कञ्चनपुरको सीमापारि बनवासाका केही गैरसरकारी संस्थाले पीडित नेपाली कामदारलाई थुनामुक्त गर्न पहल गरेका थिए । यो मुद्दा अझै हिमाञ्चलको उच्च अदालतमा विचाराधीन छ ।

सतलज हाइड्रोपावरमा काम गर्ने नेपाली कामदारले मजदुर युनियन बनाएका थिए । तलब–सुविधाका विषयमा ठेकेदार कम्पनीसँग विवाद बढेपछि केस अदालतसम्म पुगेको थियो । १६ वर्षमुनिका नेपाली कामदारमाथि पनि मुद्दा लगाइएको थियो । मुद्दा परेपछि राम्रो कमाइ हुने रोजगारी पनि गुम्यो । कतिपय अझै तारेखमै छन् ।

नेपाली कामदार भन्नेबित्तिकै ज्यालामा विभेद गरिन्छ, अबेरसम्म काममा जोताइन्छ र समयमा तलब–सुविधा दिइँदैन । यसरी रोजगारी खोज्दै ‘मुग्लान’ पसेका नेपाली युवा बर्सेनि हिमाञ्चलमा जस्तै हिरासतमा बस्छन् र अनेक हन्डरपछि रित्तै हात घर फिर्छन् । त्यस्ता नेपाली कामदार भारतका विभिन्न सहरमा भेटिन्छन् । ‘यसपालाको दुःख सम्झने हो भने काम खोज्दै भारत जानै नपरोस् लाग्छ,’ दीपेन्द्र भन्छन्, ‘तर, के गर्नु यहाँ रोजगारी छैन, धाक, धम्की, दुःख सहेरै पनि मुग्लान नगए घरको गुजरा चल्दैन ।’

प्रकाशित : पुस ३, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?