२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३
कोसेली

तीरैतीर पीरैपीर

बगरछेउ बसेको मान्छेले नदीको पानी मात्रै प्रयोग गरेन, ढुंगा–बालुवा निकाल्यो, सिमेन्ट बनायो र साम्राज्य खडा गर्‍यो । मान्छेलाई आधुनिक र सभ्यको परिचय दिलाउन सबैभन्दा ठूलो भूमिका खेलेको खोला–नदीमाथि उसले अत्याचार गर्न थाल्यो, नदीले बनाएका चिह्नहरु मेटाउन थाल्यो । अहिले खोलाले अनुमानै गर्न नसक्ने गरी चरित्र बदलेको छ । खोलो आफैं उर्लेको होइन, मान्छेले उरालेको हो, त्यसैले खोलासँग झर्कनुभन्दा तर्कनु बेस ।
मान्छेले नदी–नालाबाट एकै वर्षमा ४० अर्ब टन बालुवा–ढुंगा निकाल्छ र गाउँ–सहर ‘बलियो’ बनाउँछ । ऊ पुल हाल्छ, पर्खाल लगाउँछ, खोला तर्काउँछ र कुलो बनाउँछ । उसले नदीलाई चिथोरेको छ, कोपरेको छ । मानौं नदीहरू उसका खास दुस्मन हुन् ।
रमेश भुसाल

सेतो टाउके जलखन्जरी फराकिलो मेलम्ची खोलाको दाहिने किनारमा फुरफुर गर्दै छ । घामले आफ्नो साम्राज्य पहाडहरूबाट बिस्तारै नदी किनारतिर बढाउँदै छ । राजनीतिक भाषामा भन्ने हो भने घाम विस्तारवादी छ, साम्राज्यवादी छ । घाम साम्राज्यवादी भएकै ठीक, विस्तारवादी भएकै ठीक । त्यो विस्तारवाद वा साम्राज्यवादको गति भने पृथ्वीले निर्धारण गर्छ । ऊ अड्कल्दै घुम्छ र घाम उदाउँदै जान्छ वा अस्ताउँदै ! सोच्छु पृथ्वीले पनि थोरै अल्छी गर्‍यो भने, केहीबेर बिस्तारै घुम्छु भन्यो भने वा आज घुम्दिन भन्यो भने साँच्चै के होला हँ ?

तीरैतीर पीरैपीर

फगत प्रश्नै सही, तर यी सोध्नै नहुने प्रश्न पनि त होइनन कि भनेर आफ्नो प्रश्नको ओजन आफैं बढाउने प्रयास गर्छु । म मान्छे न हुँ, आफूलाई सानो बनाउने त मेरो चरित्र नै होइन । एउटा सापियन्स चरित्र !

जे होस् पृथ्वी अहिलेसम्म बडो अनुशासित छ र अर्बौं वर्षदेखि आफ्नो दैनिकीबाट ऊ विचलित भएको छैन, निरन्तर घुमिरहको छ । त्यसैले घाम–पानी जिन्दगानी भएको छ हामीलाई । खासमा घाम दाता हो, पृथ्वी केवल उपभोक्ता । र, हामी लाखौं प्रजातिमध्येका एउटा उपभोक्ता हौं । तर, अहिले मानिसले उपभोग गरिरहेको छैन, हसुरिरहेको छ । मानिस पृथ्वीको हसुरासुर हो । जान्नेहरू भन्छन्– कतै मानिस हसुरासुरबाट भस्मासुर त बन्ने होइन ? चिन्ता बढ्दो छ ।

यस चिन्ताका पछाडि जायज कारण छन् । मानिसले प्राकृतिक रूपमा रहेका वनजंगल र सबै पशुपन्छी, माछा, कीरा–कीरी, फट्यांग्रालगायतको तौल जोड्दा जति हुन्छ विगतका सय वर्षमा त्योभन्दा बढी सरसामान उत्पादन गर्‍यो, ढुंगा–माटो ओसारपसार गर्‍यो भन्ने आँकडा गत वर्ष आएको छ ।

अनुसन्धानकर्ताअनुसार, सबै प्राणी, वनस्पति र जगत्को तौल ११२० अर्ब टन छ भने मानिसले अहिलेसम्म पृथ्वीमा उत्पादन गरेका वस्तु र संरचना ११५४ अर्ब टन ! त्यसको आधा हिस्सा त कंक्रिटको छ, जसका लागि बालुवा चाहिन्छ । त्यो बालुवा, जसले मानिसलाई सभ्य बन्ने यात्रामा ठूलो गुन लगायो । हो त्यही बालुवा, जो नदीले बनाउँछ वा बगाउँछ ।

यो पृथ्वीमा लगभग ४० अर्ब टन बालुवा–ढुंगा त मानिसले एकै वर्षमा नदी–नालाबाट निकाल्छ र गाउँ–सहर बलियो बनाउँछ, पुल हाल्छ, पर्खाल लगाउँछ, खोला तर्काउँछ, कुला बनाउँछ । यो मेलम्ची पनि त्यही ४० अर्व टन बालुवा–ढुंगा दिलाउनेमध्यको एक नदी हो । बालुवाको जगमा आफ्नो साम्राज्य खडा गरेको मानिसले आज नदीलाई यसरी चिथोरेको, कोपरेको छ कि मानौं उसको खास दुस्मन नदी नै हो । पृथ्वीभरिका ६० प्रतिशत नदीमा त उसले बाँध बाँधेको छ, बिजुली निकालेको छ, टनेल हालेको छ । ‘सभ्य’ बन्दै गरेको सापियन्सले बर्सेनि ४० अर्व टन कार्बनडाइअक्साइड ग्यास वायुमण्डलमा फालेको छ । र, पृथ्वी तताइरहेको छ । यही मेलम्चीको शिर अर्थात् हिमाल पगालेको छ । मानिसले कतै आफैं पुरिने खाल्डो आफैंले खनिरहेको त छैन ?

हेर्दाहेर्दै जलखन्जरीले पुच्छर ढिकी कुटेजसरी ढक्ल्याक्क माथि सार्‍यो र झार्‍यो । र, तिखो सिठी हालेजस्तो आवाज निकाल्यो । यी जलखन्जरीहरू त लोप हुनबाट बचेखुचेका केही प्रजाति न हुन् । यस्ता जलखन्जरी त मानिसले कति लोप पारिसके कति ! र, अझै कतिको उठिबास गराउने हुन् थाहा छैन । तर, जलखन्जरी यसबारे बेखबर छ सायद । केहीबेरमा चील आइपुग्यो । उसको उडाइ बडो राजसी छ, फुरफुर छैन उसमा । चील देखेपछि मुखबाट अनायासै मेरो आवाज निस्किन्छ–

‘आकाशैमा चील उड्यो फनन, मेरो माया छ छैन भन न ऐंसेलुको पात, ए माया बोल न किन यस्तो लाज !’

मेलम्चीको संगीत र चीलको कावामा मिसियो मेरो स्वर । तर, अहिले मेलम्चीवरिपरिका मानिसलाई उसको आवाज कुनै संगीतजस्तो लाग्दैन, यो त विरहको गीत बनेको छ । पीडाको बर्को ओडेर मेलाम्चीखोला आसपास मानिसहरू टोलाइरहेछन्, अर्को बर्खाको पर्खाइमा । उनीहरूको एउटै कामना छ, अघिल्लो बर्खामा सुनेको मेलम्चीको आवाज फेरि कहिल्यै सुन्नु नपरोस्, कहिल्यै देख्नु नपरोस् । कामना गरौं मेलम्चीले सुन्ला ! तर, उसको आवाज पनि केही मात्रामा सुनिदिएको भए, केही बुझिदिएको भए, उसलाई पेलेरै पर्खाल नलगाइदिएको भए, किनारसम्मै बस्ती नबसाइदिएको भए, उसको जमीन आफ्नो नाममा नामसारी नगरिदिएको भए सायदै यति धेरै विनाश हुँदो हो !

ऊ जब पोखियो तब मानिस सिद्धियो । ऊ यसरी सोहोरिएर आयो, मानौं उसले दशकौंदेखिको रिस साधेर राखेको थियो, बदलाको मौका पर्खेर बसेको थियो । उसका बलले वरिपरिका पहाड झार्‍यो, खेत काट्यो, सयौंको लाजपुर्जा उडायो, नक्सा बिगार्‍यो, जग उखेल्यो । यसलाई मानसिले बाढी भन्ने गरेको छ । असरल्ल परेका बडेमानका ढुंगाहरू हेरिरहेछु र सोध्छु– कत्रो थियो त्यो बाढी हँ ? हिसाब निकाल्नेहरू भन्छन्– त्यहाँ बगेको ढुंगा–माटोले काठमाडौं उपत्यकाको रिंगरोडभित्रको भूभाग लगभग आधा मिटर अग्लो बन्नेगरी पुर्न मिल्छ ।

उडिरहेको चील हेर्छु र ईर्ष्या गर्छु । चीलजस्तो तनक्क हात फैलाएर, टाउको तेर्स्याएर, खुट्टा फिँजारेर उड्न सक्ने भए यो मेलाम्चीको माथि–माथि उडेर हिमालको नजिकै जान्थें । मेरो अघि थुप्रिएको गेग्रायानको उद्गम हो त्यो हिमाल र पहाड । पहाड सधैं उभिएर बस्दैनन्, ती निरन्तर झर्छन् पनि । र, त बनेका छन्– खोलाका बगर, किनारको बालुवा, बारीका पाटा, खेतका गरा, थुम्काथुम्की, लेकबेंसी ! झर्नु पनि पहाडको चरित्र हो । त्यो बाढी ल्याउने पहिरोभन्दा पनि माथि चढेर, हिम–नदी छिचोलेर, दोर्जीलाक्पा हिमालपारिको तिब्बती पठारलाई आँखा झिम्क्याएर केहीबेरपछि खाना खान मेलम्ची बजार झर्ने थिएँ, तर के गर्नु यो शरीर मेसिन नहाली गुड्न सक्दैन, पखेटा नहाली उड्न सक्दैन ।

लाखौं वर्ष तिनै चरालाई हेरेर मानिसले सोचेथ्यो होला– एक दिन त म पनि उड्नेछु ! अहिले अनेक प्रयासपछि उसले उड्ने जहाज बनाएको छ । र, जसमा चढेर मैले पनि पृथ्वी चक्कर मारेको छु । त्यो चील छेउमा आउँदो हो त उसलाई मैले भन्ने थिएँ– म पनि उडुवा मान्छे हुँ चील, तैंले बरु अमेरिका, युरोप अफ्रिका देखेको छैनस् होला, तर म त पखेटाको सहाराले संसार घुमिसकें । म पनि मेसिन जोडेर उड्न सक्छु, तेल भरेर गुड्न सक्छु, तँ धेरै फुर्ती नगर् । एउटा सापियन्स चरित्र !

मेलम्चीबाट केही किलोमिटर उत्तर हान्निएपछि गाडी रोकिन्छ । खोलामा एउटा घर छड्के गाडिएको छ, जसलाई क्यामरामा कैद गर्न मेरी फ्रान्सेली पत्रकार साथी एलिस र म आतुर छौं । त्यसै नजिक न्वारखोलाको तीरमा बाँदर लड्ने भिरालो जमिन छ । ७१ वर्षीया आमा सकीनसकी बुट्यानमा खुट्टा अड्याएर घाँस काट्दै छिन् । मलाई लाखै दिए पनि त्यो भीर चढ्ने थिइनँ, तर उनलाई कसले लाख देओस्, त्यो त उनको दैनिकी पो हो ! फगत बाँच्नका लागि गर्नुपर्ने अनिवार्य काम । ‘ए आमा लडेर मरिएला नि किन त्यस्तो भीरमा चढेको,’ मैले चिच्याएँ । उनले हाँसो मिसाएर एकै सासमा जवाफ फर्काइन्, ‘त्यस्तो बाढीले त लगेन बाबु, यहाँबाट लडेर के मरिएला र ? मरे माटोमुनि, बाँचे यहीं छँदै छु । तर, दुःखीलाई काल आउँदैन बाबु ।’

गाडी अघि बढ्दै गर्दा एलिसले आफ्नो बिहे अघिल्लो साता मात्रै भएको बताउँदै दम्पतीको हँसिलो फोटो मोबाइलमा देखाई । ‘हनिमुन मनाउन छाडेर कता यो दुःखको कथा खोज्न आएको त ?’ मैले जिस्क्याएँ । ‘यस्तै भयो,’ उसले उत्तर फर्काई । यसै पनि वर्षौंसम्म सँगै बसेको केटोसँग गरेको फोटो–बिहेपछि हनिमुन जरुरी पनि त नपर्ला सायद । त्यसैले ऊ हुर्रिएर सापियन्स निर्मित पखेंटे जहाज चढेर आई, धेरै पर उत्तरी एटलान्टिक महासागरको किनारमा रहेको फ्रान्सबाट ।

गाडी थप उकालो लाग्छ उत्तरतिर, मेलम्ची बगरैबगर, बालुवाको राज्यमा ! कतै घर खोलामा छन् त कतै आधा खसेका ! कतै खोला सम्याउँदै गरेका सुरक्षाकर्मी त कतै पुल बनाउने प्रयासमा लागेका भ्याकुहरू छन् । कतै विरक्तिएका मनहरू टेन्टमा बसेका छन् त कतै सकीनसकी उठ्न लागेका थकित ज्यानहरू । घर बगर बने, ज्यान टेन्टमा सरे । भर्खरै सुरु भएको हिउँदे रातको सिरोटोमा उनीहरूलाई याद आउँदो हो– पसिनाको कमाइले किनेका हरेक इँटा, जुन उनीहरूले सिरेटो छेक्ने आशामा उभ्याएका थिए ।

घरभित्र पसेको, पिलर उखेलेर बगेको खोलो अहिले देख्न पनि मुस्किल छ । यही भ्रमले वास्तवमा तहसनहस पार्‍यो । खोलाले खिचेको रेखा सायद मानिसले थाहा पाएन । उनीहरूले सरकारी अमिनले नापेको जमिन नामसारी गरे ! पर्खालले, बाटाले, घरले खेत बनाउँदै खोलाले बनाएका चिह्नहरू मेटाउँदै गए र मख्ख पर्दै गीत गाए– खोलो गयो तीरैतीर मैले खाएँ

खीरैखीर ! उनीहरूलाई लाग्यो– ‘खोलो सानै छ, के पो आउला ? पोहोर आएन, परार आएन, बाका पाला आएन, हजुरबाले पनि थाहा पाएनन् ।’ अर्को मनले सोचे होलान्, ‘आइहाल्यो भने पनि बलियो सिमेन्ट र कडा रडलाई बाँधेर पिलर बनाएपछि खोलाको बलले कहाँ भेट्छ ?’ तर, खोलो त पहाड काट्ने तरबार हो, ढुंगा खियाउने रसायन हो ।

दुई/चार दशक बाँच्ने मानिसको आफ्नै इतिहास केही लाख वर्षको मात्रै छ । उसले पृथ्वीको उमेर साढे चार अर्ब भन्ने हिसाब गरेकै छैन वा त्यो कति हो भनेर ठम्याउनै सक्दैन । यी खोला पनि कम्तीमा ७ करोड वर्षका भइसके, जो हिमालय पर्वत बन्ने क्रममा बनेका थिए वा अझै अघिदेखि नै बगेका थिए । भारतीय र युरासियन प्लेट ठोक्किँदै जाँदा यी पहाड उठे । आफ्नो पुरानो बाटो पहिल्याउँदै ती नदीले पहाड काटे ।

उचालिँदै जाँदा पहाड हिमाल बने भने नदी गहिरिँदै गए । हिमालभन्दा पनि जेठा यी नदीले कत्रा–कत्रा चट्टान काटेर यहाँ आइपुगेका हुन् । यिनको चरित्र बुझ्न त्यति सजिलो कहाँ छ ? तर, मानिस फुर्ती गरिबसेको छ किनकि उसले फिस्टे जहाज बनाएको छ, कमिलाजत्रा गाडीमा गुडेको छ, धर्से पुल बनाएको छ । ल मानिसले हिमालय पर्वत बनाएर देखाओस् वा हिमालको एउटा चुचुरो मात्रै !

यो मेलम्ची त पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमारसम्म ३५ सय किलोमिटरमा फैलिएको संसारकै सबैभन्दा अग्लो हिन्दुकुश हिमालय पर्वत हिमशृंखलाको एउटा सानो अंश हो । यो पर्वत, जहाँ एसियाका दस ठूला नदी बग्छन्, जहाँ पृथ्वीको तेस्रो ठूलो हिउँभण्डार छ, जहाँको नदी बेसिनको क्षेत्रफल मात्रै ३५ लाख वर्गकिलोमिटर छ, झन्डै दुई अर्ब मानिसको पानीको स्रोत यही हो अर्थात् संसारकै अग्लो हिमशृंखला ।

त्यसभित्र मेलम्चीको पूरै जलाधार नाप्दा पनि जम्मा ३३० वर्गकिलोमिटर मात्रै हुन्छ । यो मेलम्ची जोडिने कोसी नदीको जलाधार क्षेत्र मात्रै ६० हजार वर्गकिलोमिटर छ, थोरै पश्चिममा गण्डकी ४६ हजार वर्गकिलोमिटरमा, कर्णाली ४४ हजार वर्गकिलोमिटर र महाकाली १७ हजार वर्गकिलोमिटरमा फैलिएका छन् । यिनीहरूको शिर तिब्बतमा छ, शरीर नेपालमा छ र पाउ भारतमा छ ।

नेपालका जम्मै खोला–नालाको लम्बाइ नाप्दा ४५ हजार किलोमिटर हुन्छ भन्छन् नापनकर्ताहरू । यसो सोच्छु, यो पृथ्वी एक फन्को मार्दा जम्मा ४० हजार किलोमिटर मात्रै हुन्छ, त्यसैले हाम्रा नदी–नाला मात्रै पूरे हिँडे पनि पृथ्वी फन्को मारेभन्दा बढी हुँदो रहेछ । ‘के नेपाल छ सानो छ ?’ भनेर लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए । नेपाल विशाल मात्रै होइन, भयंकर लामो पनि पो छ ! म पनि एउटा निबन्ध लेखौं, ‘के नेपाल छोटो छ ?’ देवकोटासँग दाँजेर फेरि आफूलाई ठूलो बनाइसकें । होमो सापियन्सको खास चरित्र यही हो, अर्थात् मेरो !

मेलम्ची नदी किनारमा तालामरांग, चनौटे, गनिसे, किउल, टिम्बु यस्तै–यस्तै नाम दिएर मानिसले लालपुर्जा निकालेका छन् । मेलम्ची, हेलम्बुपालिका भनेर छुट्याएका छन् । नेपाल–भारत–चीन भनेर नक्सा कोरेका छन् । तर, मानिसले कोरेका नक्सा त मसीले कोरिएका धर्साहरू हुन्, जो उनीहरूबाहेक अरू कुनै पनि प्रजातिले बुझ्दैनन् । शासन गर्न सजिलो होस् भनेर बनाइएका यस्ता नाम, नक्साका रेखा नदीले चिन्दैनन्, पहाडले देख्दैनन्, हिमालले मतलबै गर्दैनन् । उनीहरूको आफ्नै नक्सा छ, आफ्नै चरित्र छ र आफ्नै गति पनि ।

किउलमा चर्को घाम लागेको छ । यो हेलम्बुको राजधानी हो । आधा राजधानी त बगरमा छ । ‘रिभरसाइड रिसोर्ट’ लेखिएको बोर्ड छ, तर तीन तले रिसोर्ट भने खोलाको बीचमा ढलक्क ढल्केको छ । खोला किनारमा उभिएर आकाशतिर हेर्छु र कहाँ आइपुगें भनेर नक्सा बनाउन थाल्छु । घरीघरी त लाग्छ, यो देशमा चार होइन ६ दिशा छन्– पुूर्व, पश्चिम, उत्तर, दक्षिण, तल, माथि । जसले तल–माथिको हिसाब बुझ्दैन, उसले नेपाल चिन्दै चिन्दैन । जता गए पनि अलपत्रै पर्छ ।

खोलैखोला गुडेर गाडी किउलबाट एकाध किलोमिटर उत्तर बढेपछि टिम्बु पुग्यो, त्यसपछि गाडी जाने बाटो हरायो । त्यसलाई बर्खाले लग्यो । केही उत्तरमा काठमाडौंका मान्छेको तिर्खा मेटाउने मेलम्ची खानेपानी योजनाको टनेल छ, तर तामझामका साथ मेलम्चीलाई टनेलभित्र हुलेको सापियन्स अहिले टनेलसम्म पनि पुग्न नसकेर टोलाएर बसेको छ । जाने बाटै चैट पारिदियो बाढीले, उसले बनाएका भ्याकुले कहिले बाटो खन्लान् र फेरि टनेलको छेउमा थुप्रिएको गेग्रान पन्छाउलान्, थाहा छैन !

गाडी उकालो लाग्यो सेर्माथांगतिर । किउलबाट डेढ घण्टा बटारिँदै उक्लिएपछि हिमालसँग आफ्नो लेभल मिलाउन पुगियो । हिमालसँग लेभल त के मिल्थ्यो उही सापियन्स चरित्रको ठूले प्रवृत्ति मिसाउँदा त्यस्तो लाग्ने गर्छ । यो डाँडाबाट सीधै माथि पाँच किलोमिटर चढे मात्रै बल्ल लाङटाङको चुचुरो भेटिन्छ, साढे चार किलोमिटर चढे दोर्जीलाक्पासँग लेभल मिल्छ ।

२६०० मिटरको उचाइको सेर्माथांगको डाँडोबाट पूर्व थुके इन्द्रावती झर्छ, पश्चिम थुके मेलम्ची । यहाँबाट उत्तर पश्चिम हेरे रसुवा देखिन्छ, दक्षिण पश्चिम हेरे शिवपुरी, थोरै उत्तर पश्चिमतिर आँखा तन्काए लाङटाङ हिमालको टुप्पो, उत्तरपूर्व हेरे दोर्जीलाक्पा हिमाल, अलि तल हेरे मेलम्ची गाउँ त दक्षिणपूर्व आँखा झारे बोतांग देखिन्छ ।

हिमालमा घामको अन्तिम स्पर्श हेर्न रन्केर तीन तलामाथि यांग्रीमा होटलको छतमा जान्छु । अघिको चीलजस्तो हुँदो हो त घाम डुब्नै लाग्दा चुचुरोमा पुग्दो हुँ, तर कल्पनामा रमाउनेभन्दा माथिको हैसियत मेरो छैन, आफैंले आफैंलाई राजा–प्राणी भने पनि मेरा अनेकन सीमितता छन् । धेरै पूर्वको गौरीशंकरको चुचुरोमा अस्ताएपछि घाम दोर्जीलाक्पाको चुचुरोबाट गायब भयो र लाङटाङको चुचुरोमा केही बेर अडिएर पश्चिम लाग्यो, बिहानै फर्किने वाचा गरेर ।

‘वाह, यो ठाउँमा, हनिमुन मनाउनका लागि सबै कुरा छन् । पाए त म यहाँ महिनौ बस्ने थिएँ,’ एलिस प्रसन्न हुँदै भन्छे ।

म उसलाई जिस्क्याउँछु, ‘हो यहाँ सबै छ एलिस, श्रीमान्‌बाहेक ।’

ऊ जोडले हाँस्छे र भन्छे, ‘ठीक भन्यौ ।’ ह्वाट्सएप गर्छे, ‘मैले श्रीमान्लाई भनिदिएँ तिमीले भनेको कुरा । तर, उसलाई लिएर एक दिन पक्कै यो ठाउँमा आउँछु ।’

साँझ नीमा लामा र उनका साथी डेन्डुप लामा भेट भएका छन् । छेउको हिटरको तातोले शरीरलाई सेक्दै सोधें, ‘हेलम्बुको अर्थ के हो ?’

‘ह्युल्मो भाषामा हे भनेको आलु, लबु भनेको मुला अर्थात् हेलम्बु भनेको आलु मुला । किन ?’

‘यहाँ खासमा अरू अन्न फल्दैन । आलु र मुला नै हो, त्यसैले होला,’ डेन्डुपले अनुमान गरे ।

‘अनि सेर्माथांग भनेको नि ?’

‘खास यो छेर्मा हो पछि सेर्मा भयो,’ डेन्डुप भन्छन् ।

‘छेर्मा भनेको काँडा, थांग भनेको ठाउँ ।’

खासमा आज आलु मुला गाउँको काँडे डाँडामा बसिएको रहेछ, जसले मेलम्ची र इन्द्रावतीलाई छुट्याएको छ ।

घमाइलो बिहानीमा छेचु गर्न गाउँका मानिस गुम्बामा भेला भएका छन् । अन्न लगाउनुअघि र अन्न भित्र्याएपछि गरी वर्षमा दुई पटक गुम्बामा छेचु अर्थात् सामूहिक पूजा गरिन्छ, यो पछिल्लो हो । लामाहरू एकसुरले पाठ गरिरहेछन्, जसका श्रोता बनेका छन् हिमाल ।

बिहानैदेखि खुलेका हिमाल घामको रापले बिस्तारै उड्न थाले र बादलको रूप धारण गरे । उभिने मात्रै हिमाल होइन रहेछ, हिमाल त उड्दो पो रहेछ । म एकनासले धुपी बलेको मुस्लो हेर्दै आफैंलाई सोध्छु, ‘साँच्चै नदीको उद्गम कहाँ हो ? हेर्दा त ती हिमाल केवल पानी अड्याउने भूबनोट मात्रै पो देखिन्छन् जसलाई मैले नदीहरूको उद्गम भनेर पढ्ने वा बुझ्ने गरेको छु । त्यो दोर्जीलाक्पा वा जुगलमा हिउँ पार्ने त बादल पो हो, तल पानी पार्ने पनि त उही हो । नदी बगाउने पनि बादल, हिउँ झार्ने पनि बादल । खासमा नदीको उद्गम हिमाल होइन, त्यो हिमाललाई छोपेको बादल हो कि । नदी पहाडमा होइन, हिमालमा पनि होइन, आकाशमा जन्मिन्छन् । पहाड हिमालले त केवल नदीलाई हुर्काउँछन् वा केहीबेर अड्याउँछन् ।’

एक हूल चरा उडेको देखेपछि नीमाले भने, ‘हिउँ चरा आयो । अब केही दिनमा हिउँ पर्छ ।’ हिउँ चरालाई उनीहरू खावा झिवी भन्दा रहेछन् । खावा भनेको हिउँ, झिवी भनेको चरा । हिउँ चरा हिमाललाई दाहिने पारेर वन पसेपछि हामी भने उनीहरूलाई हिउँ पार्ने जिम्मा दिएर मेलम्चीले गत बर्खामा कब्जा गरेको बगर हुँदै फेरि मेलम्ची बजार आइपुगेका छौं, जहाँ इन्द्रावती र मेलम्ची खोला जोडिन्छन् ।

खोला किनारको होटलको कोठामा चहकिलो जूनले चियाइरहेछ । मध्यरातमा म बरन्डामा निस्कन्छु र एकटकले खोला कराएको सन्छु । तर, जति गहिरिएर सुन्छु त्यति फरक–फरक आवाज सुन्छु । यस्तो लाग्छ, जसरी पानीको रङ हुँदैन त्यसै गरी उसको आफ्नै आवाज पनि हुँदैन । ऊ बादल बन्छ र ठोक्किँदा चट्किन्छ । बालुवाबीचबाट बग्दा ऊ सुसाउँछ, यमानका ढुंगामा बझारिँदा वा धसारिँदा ऊ गड्गडाउँछ, झरना भएर झर्दा छङछङ गर्छ । धारो भएर झर्दा तिरिरी गर्छ, किनारको छाल बन्दा पत्ल्याकपत्ल्याक गर्छ । आकाशबाट बिस्तारै झर्दा फिसफिस गर्छ, अलि जोडले झर्दा दर्किन्छ वा झमझम गर्छ । खासमा पानीको आवाज कस्तो हुन्छ हँ ?

पटक्कै निद्रा लागेको छैन । केही दिनदेखि यता बगरमा सपना हराएका मानिसको कथाले मथिंगल हल्लाएको छ । वर्षौं मलेसियामा घोटिएको पैसाले जोडेको घरघडेरी गुमाएका दिलबहादुर नेपाली हुन् वा गनिसेमा टिनको टहरोमा टोलाइरहेका दीपबहादुर ज्योति हुन्– यो नदीको आवाजले तर्सिएका अनुहारहरू आँखामा झलझली आइरहँदा म भने ल्यापटपमा हिन्दुकुश हिमालयका नदीहरूको नक्सा हेरिरहेको छु र खोज्दै छु सानो मेलम्ची कतै । देश बनेका धर्साहरू हटाएर नदीले बनाउने नक्सामा म देख्छु, जम्मा दस ठूला देशहरू ।

जहाँ म उभिएको छु त्यहाँबाट धेरै परसम्म गंगा नदी–देश छ, पूर्वमा ब्रह्मपुत्र नदी–देश भने अझ पूर्वमा इरावड्डी, सालविन र मेकंग नदी–देश छन्, जो दक्षिणपूर्वी एसियामा बग्छन् । पश्चिममा इन्डस् नदी–देश छ, जो अरब सागर छुन पुग्छ भने अझ पश्चिममा अमु दार्या छ, जो पामिर हिमालबाट मध्यएसियाको सुक्खा भूभाग भएर बग्छ, उत्तरमा छ तारिम नदी–देश । हिमालपार तिब्बती पठारको उत्तर पूर्वमा यलो र यांग्से नदी–देशहरू छन् । तिनैलाई बाँडफाँड गरेर अहिले भारत, चीन, नेपाल, थाइल्यान्ड, पाकिस्तानलगायतका दर्जनौं देश बनेका छन् ।

ती सबैको जननी तिनै दस नदीहरू हुन् । नदीको नक्सा देशभन्दा धेरै पुरानो हो, यो धेरै टिकाउ पनि छ । देश त बन्दै र भत्किँदै आएका छन्, तर नदीको नक्सा बन्न पनि धेरै समय लाग्छ, भत्किन पनि उत्तिकै समय लाग्छ ।

बिहानको घाममा पनि मेलम्ची झुल्केको छैन । कुनै बेलाको बहुरंगी नदीको अहिले भने एउटै रङ छ बालुवा रङ । यहाँ बालुवाको साम्राज्य छ, ढुंगाहरूको गस्ती छ अहिले । मेलम्ची बजारको केही दक्षिण बाहुनेपाटीबाट सिन्धु खोलाको किनारैकिनार उत्तर हानिएको गाडी पिप्लेमा चिया पिउन रोकिन्छ । एक जना अधबैंसे आत्तिँदै आउँछन् र होटल साहुलाई मोटरसाइकलमा छोरी खोज्न जानुपर्‍यो भन्छन् । उनकी १६ वर्षे छोरी प्रेमीसँग टाप ठोकिछन् । तेल छैन भनेर साहुले भनेपछि मोटरसाइकलमा तेल भरिदिने सर्तमा उनी हुइँकिए भोटेचौरतिर छोरी खोजिदिने प्रहरी भेट्न । छोरीको शरीर त प्रहरीले फिर्ता ल्याउन सक्ला, तर कसैले लगिसकेको मन त के फिर्ता ल्याउन सक्ला र ?

हामीलाई साहुनीले चिया पकाएर खुवाइन् र धपाइन् काठमाडौं खाल्डातिर । भोटेचउरको प्रहरी चौकीमा आँखा लगाएँ, तर हराएकी छोरीका बालाई भने देखिनँ । भोटेचौर कटेपछि ओरालो झरेर साली नदी बग्दै गरेको साँखु पुग्दा झमक्क साँझ परेको छ । होमो सापियन्सले बिजुली बालेर सहर त झलमल पारको छ, तर गाडी चढेर, फोक्सो बिगारेको छ । अचाक्ली धूलो र धूवाँमा रमाइरहेको काठमाडौं खाल्डोको उत्तरपूर्वी कुनामा साली नदी त देख्न पनि हम्मेहम्मे नै छ, तर मेरा आँखा भने खोला किनारको एउटा होटलमा पर्‍यो, जहाँ लेखिएको थियो– खोला रिटर्न्स । क्या बात !

वास्तवमा सोल्टीले आफ्नो होटलको नाम त खतरै राखेछन्, तर के उनलाई थाहा छ होला खोला रिटर्न्स भयो भने उनको हविगत के हुन्छ ? अहिले मानिसले खोलालाई पेलेको छ, हिमाल द्रुत गतिमा पगालेको छ, पहाड कोतरेको छ, माछा लोप पारेको छ । जसरी मेलम्चीले आफ्नो जबरदस्त रिटर्न्स देखायो र मानिसलाई उठीबास लगायो, थाहा छैन साली नदीले कहिले त्यो रिटर्न्स गर्नेछ, तर पक्का गर्नेछ, ढिलोचाँडो । आफ्नै उठीबास गराउने भविष्यको नाम होटलवालाले जानेर राखे कि नजानेर मलाई थाहा छैन । म खाल्डोभित्र घुस्नुअघि मेलम्ची फन्को मारेको नक्सा जीपीएसमा हेर्दै डायरीमा लेख्छु, ‘यस् ब्रो खोला रिटर्न्स, वी केयरफुल ।’

प्रकाशित : पुस ३, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?