रमेश भुसाल

रमेश भुसालका लेखहरु :

बादलको फोन नम्बर, आकाशको इमेल

माघ १२, दिउँसो साढे एक बजे । ललितपुरको झम्सीखेलबाट उत्तर नियाल्दा शिवपुरीको पहाडपछाडि लाङटाङ हिमालको सेतो टुप्पो हो वा होइनजस्तो देखिएको छ । काठमाडौं उपत्यका वरिपरिका पहाड धूवाँको पातलो बर्को ओढेर उभिएका छन् ।

रूखले लेखेको पृथ्वीको इतिहास

घरछेउ उभिएको उतिसको रूखमा पात सिउने फिस्टो चिप्चिप्चिप् गर्दै छ । अलि परको लहरे पीपलमा कोइली निरन्तर कुक् कु कुक् कु स्वर निकालिरहेको छ । हुन त रूख पनि हिँडिरहेका होलान्, चराले पनि पक्कै केही भनिरहेकै होलान् । तर, रूखको गति नाप्न नसकेकाले र चराको भाषा नबुझेकाले मलाई ती सबै अर्थहीन लागिरहेका छन् । टाढा जानु छ, उकालिएर सगरमाथाको टुप्पो हेर्न । हुन त टुप्पो हेर्न सगरमाथै जानुपर्दैन, खासमा जाने त सगरमाथाको फेद हेर्न हो ।

नदीहरू : सभ्यतादेखि संकटसम्म

करिब ६ हजार वर्षअघि अहिलेको इराक आसपासको टिग्रिस र युफ्रेटस् नदी किनारमा, पाँच हजार वर्षजति अघि इजिप्टको नाइल नदीमा, ४५ सय वर्षअघि भारत–पाकिस्तानको इन्दु नदीमा, ३५ सय वर्षअघि चीनको ह्वागंहो नदीमा र २५ सय वर्षअघि मध्य र दक्षिण अमेरिकाका नदी किनारहरूमा मुख्य मानव सभ्यताहरू जन्मिए । पूर्विया होस् वा पश्चिमा, सबै सभ्यताको उदय नदी किनारमै भएको थियो । 

तीरैतीर पीरैपीर

सेतो टाउके जलखन्जरी फराकिलो मेलम्ची खोलाको दाहिने किनारमा फुरफुर गर्दै छ । घामले आफ्नो साम्राज्य पहाडहरूबाट बिस्तारै नदी किनारतिर बढाउँदै छ । राजनीतिक भाषामा भन्ने हो भने घाम विस्तारवादी छ, साम्राज्यवादी छ । घाम साम्राज्यवादी भएकै ठीक, विस्तारवादी भएकै ठीक । त्यो विस्तारवाद वा साम्राज्यवादको गति भने पृथ्वीले निर्धारण गर्छ । ऊ अड्कल्दै घुम्छ र घाम उदाउँदै जान्छ वा अस्ताउँदै ! सोच्छु पृथ्वीले पनि थोरै अल्छी गर्‍यो भने, केहीबेर बिस्तारै घुम्छु भन्यो भने वा आज घुम्दिन भन्यो भने साँच्चै के होला हँ ?

रातो पृथ्वी, तातो पृथ्वी

पाँच किलोमिटरको दौडपछि पाइला रोकिए । पूरै शरीरै रोयो । म सडकछेउको इँटाले बनेको एउटा सानो पर्खालमा थचक्क बस्छु, जमिनतिर मुन्टो फर्काएर– स्याँस्याँ गर्दै ! धेरै अक्सिजन हुल्न म प्रयासरत छु किनभने अंगअंगमा बढेको अक्सिजनको माग पूरा गर्न मेरो फोक्सोलाई थप सक्रिय बनाउनुपरेको छ । हावामार्फत आएको अक्सिजन नाकमुखबाट फोक्सोमा पुगेपछि त्यहाँबाट मुटुले तानेर रगतमा रहेको हेमोग्लोबिनको सहाराले शरीरभरि पुर्‍याउँछ । हावाको अक्सिजनलाई रगतमा मिसाएर शरीरभरि पुर्‍याउनु, फुर्ती गर्नु– यही हो बाँच्नु भनेको । यति गर्न नसकेको दिन जिन्दगी चैट हुन्छ !

बाघ सर भन्थे– बलियो जुत्ता किन्नू !

सन् २००७ को एक बिहान । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभाग परिसरको बगैंचामा हामी उकालिँदै गरेको घाममा आफूलाई सेकाउँदै थियौं ।

वन्यजन्तु व्यापार सुरु गर्ने नेपालको योजना, चिनियाँ कम्पनीहरुको दौडधुप

अप्रिल २०२१ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग का प्रवक्ता हरिभद्र आचार्यसँग काठमाडौंस्थित उनको कार्यालयमा कुराकानी गर्न बसेलगत्तै उनलाई फोन आयो । मैले पनि फोन सुनोस् भनेर उनले आफ्नो मोबाइल स्पिकरमोडमा राखिदिए । “म वन्यजन्तु पालन इजाजतपत्रका लागि आवेदन दिन चाहन्छु र कस्तूरी मृगलाई बीउजनावरका रुपमा लिन चाहन्छु । म विभागमा कहिले आऊँ र मैले पूरा गर्ने आवश्यकताहरू के हुन् ?” एक पुरूष आवाजले भन्यो ।