२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४
बादलको कथा

बादलको फोन नम्बर, आकाशको इमेल

मान्छेले हजारौं वर्ष बादल हेरेरै बितायो, कहिले टोलायो, कहिले बादललाई बोलायो । बादल आउँथे जान्थे, मान्छे जन्मन्थे मर्थे । मान्छेले सत्रौं शताब्दीमा मात्रै हावाको ताप, चाप नाप्ने यन्त्र बनायो । र, बादलको व्यापक जासुसी गर्‍यो । तिनका बाटा पहिल्यायो, आनीबानी खुट्यायो । तर, झन् बुझ्यो झन् कठिन बन्दैछ बादल ।
बादल पानी बनेर झर्लान् कि भन्ने आसमा बसेका मान्छेलाई ती टाढैबाट आँखा झिम्क्याउँछन् र हराउँछन् । बादललाई पलपलमा पढ्नुपर्छ, पलपलमा हेर्नुपर्छ ।
रमेश भुसाल

काठमाडौँ — माघ १२, दिउँसो साढे एक बजे । ललितपुरको झम्सीखेलबाट उत्तर नियाल्दा शिवपुरीको पहाडपछाडि लाङटाङ हिमालको सेतो टुप्पो हो वा होइनजस्तो देखिएको छ । काठमाडौं उपत्यका वरिपरिका पहाड धूवाँको पातलो बर्को ओढेर उभिएका छन् ।

बादलको फोन नम्बर, आकाशको इमेल

बादल वरिपरि छैन, हावा वेगिलो छैन । जमिनका दुवोले आफ्नै हरियो रंग फर्काउन पाएका छैनन्, रूखका हाँगा नांगै छन् । आकाश दुई रंगको छ– नीलो धेरै, सेतो कम । आकाश सेताम्मे बनाउने बादल धेरै छैनन्, थोरै भएका पनि माथिमाथि छन् । बादल पानी बनेर झर्लान् कि भन्ने आस गरेर बसेका मान्छेलाई ती टाढैबाट आँखा झिम्क्याउँछन् र हराउँछन् । मान्छे रोगी छन्, सहर दिक्क छ ।

माटो खरिएको छ, जमिन रित्तिएको छ । पानीका थोपा–थोपाले माटोका कण–कणलाई जीवन्त बनाएका थिए, तर पानी बिलाएपछि माटोका कण प्रेमील जोडीजसरी टाँस्सिएका छन् । माटोका कण टाँसिनु प्रेमील जोडी टाँसिनुजस्तो राम्रो कुरो होइन । माटोका कण–कण बीचमा पानीका थोपा–थोपा भएको राम्रो । तब पो माटोबीच बनेका मसिना पानीका धर्सामार्फत बिरुवाका जराले पानी पाउँछन् । ती जरामार्फत पोषणतत्त्व हाँगामा पुग्छन्, पातपातमा घुम्छन्, फलहरू मोटाउँछन् । जब वनस्पतिजगत् फल्छ–फुल्छ तब प्राणीजगत् रमाउँछ । खासमा वनस्पतिजगतको परिश्रमको फल प्राणीजगतले खान्छ । पृथ्वी त्यसैगरी चलेको थियो, छ र चल्नेछ । अहिले त मान्छे रूख हुर्काउँछु भन्छ, जंगल जोगाउँछु भन्छ । वन्यजन्तुलाई निकुन्जमा पालिरहेको छु भन्छ, चरालाई चारो हाल्छु भन्छ । तर, खासमा भन्ने हो भने अरू सबै प्रजातिले मान्छेलाई पालिरहेका छन् । जे होस् मानिस भ्रममै छ, तर पनि ऊ मस्त छ ।

मेरो अघि धुपी र लहरेपीपल सँगैजसो उभिएका छन् । सुरिलो र अग्लो धुपी हल्का हावाको संगीतमा सोरठी नाचिरहेछ । हावाको वेग धेरै हुँदो हो त डिस्को नै नाच्थ्यो होला । लहरेपीपलसँग नाच्ने पात छैनन्, तर नांगै भए पनि लहरेपीपलले चरालाई धेरै गुन लगाएका छन् । तिनका हाँगा छरिएका छन् र त चराहरूलाई गुँड बनाउन गतिलो आड मिलेको छ । धुपी हरिया छन्, तर गुँडविहीन छन् । लहरेपीपल बुंगै छन् र पनि चराका गुँडैगुँड छन् ।

मान्छे भनिरहेका छन्, ‘यसपटकको हिउँदे वर्षा कता गयो ? बादललाई के भयो ? खेतीपाती चौपट भो, किसान मारमा परे ।’ नदी नै थुनेर बनाइएका बिजुलीगृहले चाहिने पानी पाएनन्, नदीखोलामा बहाव घट्यो । हिउँ परेन । हिमाल कालाम्मे छन् । सहर धूलो ओढेर बसेको छ, पहाड धूवाँको बर्को ओढेर सुतेको छ । तराई हुस्सुले घाम छेकेर दिक्क छ, काठमाडौं घामले सेकेर वाक्क छ । हिउँ नपरेर हिमाल आत्तिएको छ, बादल नझरेर पहाड निराश छ । हुस्सुको बाक्लो तह चिरेर पानी परे कस्तो हुँदो हो ! केहीबेर घाम हराएर पानी झरे कस्तो हुँदो हो ! तर, त्यो बादल पानी बनिदिएको छैन । यो लेख पढ्दै गर्दा पानी बनिहालेछ भने मलाई गाली नर्गनुहोला । बादल अझै पनि अनुमानको विज्ञान हो । मौसम–विज्ञान विभागले ‘पानी पर्छ’ भन्दैन, बरु ‘पानी पर्ने सम्भावना छ’ भन्छ । मौसमको चुरो कुरो फेरि बादलै हो ।

आकाशतिर हेर्छु, जहाँ धेरै माथि माछाका कत्लाजस्ता पातला बादल फिँजारिएका छन् । ती बादलले तुरुन्तै पानी पार्नेवाला छैनन् । किन ? म केहीबेरमा भन्छु । मान्छेले हजारौं वर्ष केबल बादल हेरेरै बिताए । अनेकन् अनुमान गरे र बादलका कथा बुने । भनिन्छ, धेरै पहिले जर्मनी र स्विट्जरल्यान्डमा रूख भ्यागुतालाई समातेर एउटा जारमा राखिन्थ्यो । त्यस जारमा थोरै पानी र सानो भर्‍याङ पनि हुन्थ्यो । बाहिर मौसम सफा भए भ्यागुतो भर्‍याङ चढेर माथि उक्लन्छ, तर पानी पर्ने सम्भावना भए पानीमा झर्छ भन्ने विश्वास गरिन्थ्यो । पानी पर्ने वा नपर्ने लोक–कथा हाम्रै समाजमा पनि पर्याप्त छन् ।

तर, बादलमाथि मान्छेको व्यापक चासो थियो । सोह्रौँ शताब्दीतिर विज्ञानले जरो गाड्नुअघि पृथ्वीबारे धेरै कुरा दार्शनिकले निर्धारण गर्थे । ती पृथ्वीबारे सोच्थे र कुनै विचार बहसमा ल्याउँथे, तर तीनीहरूसँग आफ्ना विचार प्रमाणित गर्ने साधन हुँदैनथे । दार्शनिकहरूको निकै चासोको विषय भने पक्कै थियो– बादल । इसापूर्व ३४० तिर ग्रिक दार्शनिक अरस्तुले चार भागको मेटेरोलोजिका ग्रन्थ लेखेका थिए, जहाँ उनले वर्षा, बादल, असिना, चट्याङ, भूगोल र रसायनमाथि चर्चा गरेका थिए । अरस्तु भन्थे– घामको तापले पानीलाई पृथ्वीको सतह नजिकै जम्मा पार्छ । त्यो हावाजस्तै, तर फरक तत्त्व बन्छ, जो उडेर माथि जान्छ र त्यसैले बादल बनाउँछ । पछि त्यो पानी बनेर बर्सिन्छ । तर, त्यो कुनै छुट्टै तत्त्व थिएन, जसरी उनले बुझेका थिए । हावामै पानी मिसिने हो भन्ने थाहा पाउने विज्ञान उनीसँग थिएन ।

दुई हजार वर्षअघिदेखि पश्चिममा क्रिस्चियानिटी हावी हुँदै गएपछि पृथ्वी, बादल, ब्रह्माण्डजस्ता बृहत् विषयलाई उनीहरूले जिससको जिम्मा लगाए र प्रश्नै गर्न पनि बन्देज गरे । त्यसैले पनि होला अरस्तुलगायतका केही दार्शनिकका विचार नै सत्रौं शताब्दीको मध्यसम्म पनि बादलजस्ता प्राकृतिक विषयमा प्रमुख रहन पुग्यो ।

सत्रौं शताब्दीमा समेत कोही चियामा चिनी घोलिएजसरी हावाले पानीलाई घोलेर बादल बनाउँछ भन्थे त कोही हावामा हुने एसिडले पानीलाई फलाममा खिया लगाएजसरी कोतरेर बादल बनाउँछ भन्थे । अर्को एउटा सिद्धान्त थियो– घामको किरणबाट ताप वा आगो छुट्टिएर पानीको कणमा टाँसिन्छ अनि त्यो सामान्य हावाको अणुभन्दा पनि हलुंगो अणु बन्छ र उडेर बादल बन्छ । तर, निकै चर्चित थियो– बबल सिद्धान्त । त्यो सिद्धान्त अनुसार, घामको कारण वायुमण्डलको पानीमा मसिना पानी–फोका बन्छन् र त्यहाँभित्रको हावा सामान्य हावाभन्दा हलुंगो हुन्छ, त्यसैले त्यो हावा पानी–फोकाजसरी उडेर बादल बन्छ (रिर्चड ह्यम्बलिन, क्लाउड्स नेचर एन्ड कल्चर) ।

तर, सत्रौं शताब्दीको सुरुतिर पश्चिमा वैज्ञानिक जगत् भगवानभन्दा माथि उठेर प्रश्न गर्न थालिसकेको थियो । र, नयाँनयाँ आविष्कार गर्दै थियो । त्यसबेला फ्रेन्च दार्शनिक रेइन डेर्स्कातेसले अरस्तुको सिद्धान्तमाथि धावा बोलेका थिए । सन् १६३७ मा उनले ‘द डिर्स्कोस अफ मेथड’ किताब लेखे । अरस्तु भन्थे– बादल पानीले ओकेलेको अर्को कुनै वस्तु हो, तर डेर्स्कातेसले भने– पानी नै हावामा जान्छ र त्यो खुम्चिँदै गएर बादल बन्छ, त्यसपछि पानीको ओजन बढ्दै गएर वर्षाको रूपमा खस्छ । डेर्स्कातेसको त्यो विचार सत्य नजिक थियो (इन्भेन्सन अफ क्लाउड्स, रिर्चड ह्यम्बलिन) ।

डेर्स्कातेसको त्यो विचार त्यतिबेला आएको थियो, जतिबेला वैज्ञानिक जगत् भर्खरै महत्त्वपूर्ण उपकरण आविष्कार गर्दै थियो । कम्तीमा आर्द्रता, वायुको चाप र तापक्रम ननापी मौसमको अनुमान हुनेवाला थिएन । त्यति थाहा पाए बादलको यात्राबारे पनि केही भन्न सकिन्थ्यो । पानी पर्ला कि नर्पला ? अनुमान गर्न सकिन्थ्यो । सत्रौं शताब्दीको पहिलो पाँच दशकमा बनेका ६ महत्त्वपूर्ण उपकरण त डेर्स्कातेस आफैंले देख्न पाए । ती थिए– टेलिस्कप, माइक्रस्कप, एयर पम्प, पेन्डुलम घडी, थर्ममिटर र ब्यारोमिटर । त्यसपछि पृथ्वीमा हावाको चाप र तापक्रम नाप्न सकिने भयो । र, आँखाले देख्न नसकिने सानाभन्दा साना कुरा अनि धेरै टाढाका ग्रह पनि माइक्रस्कप र टेलिस्कपले देखाउन सक्ने भए । त्यसपछि विज्ञानले तीव्र गतिमा बादलको जासुसी गर्न थाल्यो ।

बादल कसरी बन्छ भन्ने विषय नै निकै रहस्यमयी थियो । खासमा भन्ने हो भने खुम्चिएको पानी नै हो– बादल । तर, यति खुम्चिएको कि एक क्युविक फिट बादलमा साढे तीन खर्ब पानीका कण हुन्छन् । हावामा रहेका मसिना कणहरूमा बाफ बनेर उडेको पानी टाँसिन्छ र बिस्तारै त्यसैले आकार लिन्छ । जब त्यसको वजन बढ्दै जान्छ, तब त्यसलाई गुरुत्वार्कषणले पृथ्वीको सतहतिर तान्छ (‘द क्लाउड स्पर्टस गाइड, द साइन्स, हिस्ट्री एन्ड कल्चर अफ क्लाउड्स’, ग्याभिन प्रिटोर पिन्ने) । बाफिएर उडेको पानी खुम्चिएर फेरि छुट्टिन्छ र थोपा बनेर पृथ्वीमा खस्छ । त्यसैलाई हामी सिमसिमे पानी, दर्किने पानी, झमझम पानी, मुसलधारे पानी भन्छौं । अहिले बडो सामान्य लाग्ने यो विषय तीन सय वर्षअघिसम्म पनि भयंकर ठूलो रहस्य थियो ।

वैज्ञानिक उपकरण बनेसँगै बादल–विज्ञानले गति लियो, तर बादलहरूको नामकरण हुन सकेको थिएन । वैज्ञानिक जगत्को विश्वास थियो– ‘बादल अनेकन् आकारका हुन्छन्, तिनको नाम राखेर साध्यै छैन । फेरि तिनको आयु निकै छोटो हुन्छ, त्यसैले नाम राख्नुको कुनै तुक पनि छैन ।’ वैज्ञानिक, दार्शनिक र कवि सबैको उस्तै मत थियो । तर, उन्नाइसौं शताब्दीको सुरुमा एक जना सिपालु बादल–हेरालुले बेलायतमा तहल्कै मच्चाए । सन् १८०२, डिसेम्बरको एक चिसो साँझ ३० वर्षे लुक हवार्डले लन्डनको वैज्ञानिक भेलामा प्रस्तुति दिएका थिए– ‘मोडिफिकेसन अफ क्लाउड’ शिर्षकमा । भनेका थिए– बादल हजारौं वा लाखौं हुँदैनन्, ती जम्मा तीन प्रकारका हुन्छन्– क्युमुलस, स्ट्राटस र सिरस (इन्भेन्सन अफ क्लाउड्स, रिचर्ड ह्यम्बलिन) । ल्याटिनमा क्युमुलसको अर्थ हुन्छ– थुप्रो, स्ट्राटसको अर्थ हुन्छ– पत्र वा तह र सिरसको अर्थ हुन्छ– रौं ।

हवार्ड भन्थे– ‘बादल विभिन्न आकारका भए पनि तिनलाई मुख्य तीन समूहमा विभाजन गर्न सकिन्छ ।’ बादल एकबाट अर्को समूहमा प्रवेश गर्दैगर्दा बन्ने उपसमूहको नाम राखिदिए उनले– क्युमुलो, अल्टो र सिरो । जम्माजम्मी सातवटा बादलको नामकरण गरेका थिए उनले, जसमा अन्तिममा थियो– क्युमुलोनिम्बस अर्थात् त्यस्तो बादल, जो निकै अग्लो हुन्छ र त्यसले एकाएक मुसलधारे पानी पार्छ कुनै निश्चित स्थानमा । यसरी उनले बादललाई लाखौंबाट सातमा झारिदिएपछि बादल बुझ्ने प्रक्रिया भयंकर सरलीकृत भएको थियो । एकातिर विज्ञानले ताप, चाप नाप्न सक्ने भयो अर्कोतिर हवार्डले बादलको व्यवस्थित नामकरण गरिदिए ।

क्युमुलस तल्लो तहमा हुने उडेका कपासका डल्लाजस्ता ती बादल हुन्, जो फूलकोपीजस्ता देखिन्छन् । घमाइला दिनमा ती जमिनबाट उडेर धेरै टाढा नपुग्दै डल्लिन्छन् । सेता फूलकोपीजस्ता ती बादलले प्रायः पानी पार्दैनन् । तर, कुनै पनि बादल कुनै पनि बेला पानी बन्न सक्छन् भन्ने बिर्सनुचाहिँ हुँदैन । स्ट्राटस बादल ती हुन्, जो जमिनबाट धेरै माथि होइन, तर फिँजारिएर बस्छन्– आकाशै ढाकिने गरी । त्यसले पानी पार्न पनि सक्छ, तर प्रायः हल्का । सिरसचाहिँ धेरै माथि आकाशमा फिँजारिएका हुन्छन्, माछाका कत्लाजसरी । खासमा सिरस हिउँबादल हुन्, जसले तुरुन्तै पानी पार्ने सम्भावना निकै कम हुन्छ । यति मात्रै जानेर पानी पर्ने वा नपर्ने अनुमानचाहिँ नगर्नुहोला नि ! बादल त्यति सजिलै अनुमान गर्न सकिने विषय होइन । यो त भयो बादलको आकारप्रकारका कुरा । बादलको चरित्र अर्को रहस्यको पोको हो, जसमध्येका धेरै विषय अझैसम्म बैज्ञानिकले खुट्याउन सकेका छैनन् ।

यो लेख पढ्दै हुनुहुन्छ भने एक पटक रोकिनुस् त ! आकाशतिर हेर्नुस्, टाढाटाढासम्म हेर्नुस्, वरिपरि हेर्नुस् र थाहा पाउनुस्– कुन बादल देख्नुभो ? भनिन्छ, सामान्यतया बादलले १० मिनेटभित्रै आकार बदल्छन्, त्यसैले तपाईंलाई अटल उभिएका हिमाल–पहाडझैं जतिखेर पनि हेर्ने छुट तिनले दिँदैनन् ।

तर, हवार्डपछि पनि बादलको विश्वव्यापी नामकरणमा केही हेरफेर भयो । सन् १८८७ मा स्विडिस वैज्ञानिक हुगो हिल्डब्रान्डसन र बेलायती बैज्ञानिक राल्फ एबरक्रम्बीले बादलको नयाँ नामकरण गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उनीहरूले बादलका आकारसहित उचाइका आधारमा वर्गीकरण गर्ने प्रस्ताव ल्याएका थिए अर्थात् लो, मेडियम र हाई क्लाउड । तर्क थियो– ‘हवार्डको नामकरणले विश्वभरिका बादल अध्ययनलाई एकरूपता दिन सक्दैन किनभने त्यसरी हरेक बादललाई नामकारण गर्दा सबै मान्छेले उही नाम बुझे कि बुझेनन् भन्ने निर्क्योल गर्न गाह्रो हुन्छ ।’ त्यस प्रस्तावलाई वैज्ञानिक जगत्ले स्वीकार्‍यो । तर, हवार्डले दिएका नाम हटाएर होइन, त्यसमा उचाइ पनि थपेर बादलको पहिचान गर्ने सहमति भयो । हवार्डका सात नाममा तीन थपेर दस प्रकारका बादलको नामकारण गरियो । र, तिनको उचाइ पनि निर्धारण भयो । त्यसपछि पृथ्वीको सतहबाट दुई किलोमिटरसम्मका बादललाई लो, २ देखि ७ किलोमिटरका बादललाई मेडियम र ५ देखि १३ किलोमिटरको बीचमा रहने बादललाई हाई क्लाउड्स भनियो ।

बादल बन्ने प्रक्रिया दुई विषयमा मुख्यतः भर पर्छ– तापक्रम र आर्द्रता । त्यसलाई नाप्ने गतिला वैज्ञानिक उपकरण तयार भए पनि बादल केबल एउटा सानो क्षेत्रफलको कुरो थिएन । पृथ्वीको ७५ प्रतिशत भू–भाग प्रायः बादलको बर्को ओढेर बस्छन् । ठूलो क्षेत्रमा ओहोरदोहोर गरिरहने बादलका सूचना पलपलमा एकैपटक जम्मा गर्नु ठूलो चुनौतीको विषय थियो । तर, उन्नाइसौं शताब्दीको मध्यमा बनेको टेलिग्राफ कोसेढुंगा साबित भयो । जब स्यामुअल मोर्सले अमेरिकामा सन् १८४४ मा पहिलोपटक टेलिग्राफमार्फत सन्देश पठाउन सफल भए त्यसपछि बादल–जासुसी थप आक्रामक बन्यो र छरिएका बादलका सूचना एक ठाउँबाट अर्को ठाउँमा तुरुन्तै पठाउन सकिने भयो । पानीजहाज–क्याप्टेन रोबर्ट फिटरोएले पहिलो पटक मौसम पुर्वानुमान सुरु गरेका थिए– बेलायतमा । फिटरोएलाई धेरैले चार्ल्स डार्विनको पानीजहाज चलाउने क्याप्टेन भनेर चिने पनि उनी वास्तवमा आधुनिक मौसम पूर्वानुमान गर्ने पहिलो व्यक्ति थिए । उनले संकलन गरेको तथ्यांक पहिलो पटक बेलायतको ‘द टाइम्स’ पत्रिकामा मा सन् १८६१ मा छापिएको थियो । सन् १८५४ मा बेलायतको संसद्मा एक जना सांसदले ‘विज्ञानको विकास हेर्दा हामीले छिट्टै लन्डनको मौसमबारे, त्यो पनि २४ घण्टाअघि नै थाहा पाउन सक्नेछौं’ भनेर बोल्दा पूरै संसद्भवनमा हाँसो गुन्जिएको थियो । यो खबर ‘बीबीसी’ मा लेखिएको छ ।

तर, पूर्वानुमान नै हाँसोको विषय भएको डेढ सय वर्षपछि हामी हातका औंलामा मौसम सम्बन्धी जानकारी बोकेर हिँडिरहेका छौं । अहिले बादलको खबर सबैतिर चासोको विषय हो । म बादलको खबर बुझ्न प्रायः ट्वीटर प्रयोग गर्छु । आजकल बादलको अवस्था आकाश हेरेर होइन, कम्प्युटर हेरेर थाहा पाउने हो । बादल खोजीको सुदूर इतिहासबाट यो वर्षको बादलको यात्रा खोज्न ट्वीटरतिर पसें । अहिले बादलको सूचना आकाशसँग हुँदैन, त्यो त जल तथा मौसम विज्ञान विभागसँग हुन्छ । बादलको सूचना ट््वीटमा आउँछ, फेसबुक वा विभागकै वेबसाइटमा आउँछ । अहिले त बादलको फोन नम्बर हुन्छ, आकाशको इमेल ठेगाना । भूउपग्रहले आकाश चहार्छन् र बादलको जासुसी गरेर तिनले पठाएका सूचना कम्प्युटरमा पस्छन् । तिनैलाई केलाएर बादल पढालुहरू बादलको बाटो पहिल्याउँछन्, गति मापन गर्छन् । भविष्यवाणी गर्छन् ।

बादल प्रायःजसो आकाशमा उडिरहेकै हुन्छ, तर दक्षिण एसियामा बर्खा ल्याउने अर्थात् मनसुनी बादलको चर्चा र चासो बढी हुन्छ । त्यसको कारण हो नेपालमा बर्षभरि पर्ने कुल पानीको ८० प्रतिशत तिनै बादलले ल्याउँछन् । अरबी शब्द ‘मौसिम’ बाट ‘मनसुन’ भएको हो र हाम्रो मौसम शब्द पनि त्यसैबाट बनेको हो ।

हिन्द महासागरबाट जमिनतिर हानिने वाष्ययुक्त हावा अर्थात् मनसुनको यो वर्षको यात्राबारे २०७९, असार १२ मा अपराह्न २ बजे जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान साखाले ट्वीटेको रहेछ, ‘नेपालको प्रदेश नं एकमा मिति २०७९।०३।१० मा मनसुनको आगमन भएको थियो । तेस्रो दिन भने मनुसन प्रणाली सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगावै नेपाल प्रवेश गरेको छ । नेपालमा मनसुन भित्रिने मिति जुन १३ हो ।’ र, थपेको छ– हामी बादलको जासुसी गरिरहेका छौं र सूचना दिइरहनेछौं । तीन महिनापछि २०७९।०६।२९ मा जासुस फेरि ट्वीटिन्छ, ‘नेपालको सुदूरपश्चिम प्रदेश, कर्नाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको छ । बाँकी भागबाट बहिर्गमन हुन केही दिन लाग्ने सम्भावना छ ।’ तर, एक दिनपछि नै फेरि उसले सूचना दियो, ‘यस वर्षको मनसुन २०७९।०६।३० आइतबार अर्थात् अक्टोबर १६ मा देशको समग्र भूभागबाट बाहिरिएको छ ।’ प्रायः अक्टोबर २ मा हिँडिसक्ने मनुसन दुई दिन अघि आएर फेरि दुई साता लामो बस्यो ।

गर्मीमा हिन्द महासागरको दक्षिण–पश्चिमबाट उडेको वाष्पमिश्रित हावा जब बंगालको खाडी हुँदै उत्तर लाग्छ, त्यसपछि भारतको हिमालय पर्वत शृंखलामा ठोक्किन्छ, पश्चिम मोडिन्छ र नेपाल छिर्छ । तिनै बादल रित्तिएपछि नेपालका नदीमा पानी भरिन्छ । गर्मीमा पानी रित्याएपछि जब ती हावा हिउँदमा समुद्रतिर लाग्छन् तब जमिन सुक्खा हुन्छ । बर्खा ल्याउने मनसुनलाई साउथवेस्ट मनसुन भनिन्छ । जमिनबाट समुद्रतिर फर्किंदा ती हावाले पानी टिप्न पाउँदैनन् । जब समुद्रमा फर्किन्छन्, तब अर्को गर्मी आइपुग्छ । अनि पानी बोकेर बादल फेरि हिमालय पर्वत उकालिन्छन् । यसरि नै बादल आफूमा पानी भर्छन्, रित्याउँछन् र फेरि भर्छन् ।

तिनै मनसुनी बादलले नेपालमा कतै बाढी ल्याए, कतै पहिरो । कतै खेत रोपाए, कतै खेत बगाए । बादलले सुखदुःख, हाँसो आँसु मिसाएरै ल्याउँछन् । त्यसमा तिनको दोष छैन, दोष हाम्रो छ ।

अक्टोबर महिनासम्म मनसुनी वायुको खोजखबर गरिरहेको नेपालको मौसम जासुसी अड्डा नभेम्बरमा भने चुनावका लागि बादलको ठेगाना खोज्न थाल्यो । पृथ्वी केही घुम्यो । चिसो बढ्न थाल्यो । त्यसपछि डिसेम्बरमा जासुस पश्चिमी वायुको प्रभावतिर लाग्यो । त्यो प्रभावले सुदूरपश्चिमसम्म थोरै पानी ल्यायो र त्यसपछि बादल पश्चिम छिरेर पानी पार्ने योजनामै सीमित रह्यो । ऊ मध्यनेपाल आउनै सकेको छैन, त्यसैले काठमाडौं काकाकुल भइसक्यो । पूर्व पुग्न त अलि गाह्रै छ भन्ने अनुमान बादल जासुसको छ ।

बादलले वास्तवमा मानिसको धेरै गाली खान्छन् । धेरै झरे बाढीपहिरो ल्यायो भन्छन् र धारेहात लगाउँछन्, नझरे पनि ‘किन आइनस् ए पापी एक झरो त झर्’ भन्छन् । मिलाएर वा पुर्‍याएर झर्नुपर्ने भए पनि बादलले त्यो जान्दैनन् किनभने त्यो तिनको वशमा छैन । ऊ बन्न पनि अरूको सहारा चाहिन्छ र झर्न पनि ।

तर, बादलको बाटो पहिल्याउन धेरै हदसम्म सफल विज्ञानले उसको चरित्रबारे बुझ्ने प्रयास जारी राख्दा पनि जटिलता झनै थपिएको छ । बादलको नामकरण भएपछिका तीन सय वर्षमा मान्छेले पृथ्वीको सरदर तापक्रम नै एक डिग्रीले बढाएको छ ।

बादलले दुई काम गर्छन् । खासगरि माथिल्लो तहका बादलले घामका किरणलाई आकाशतिरै फर्काइदिएर पृथ्वीलाई चिस्याउँछन् । अर्कातिर तल्लो तहका केही बादलले पृथ्वीबाट फर्केको तापलाई रोकिदिएर फेरि पृथ्वीतिरै फर्काइदिन्छन् र तापक्रम बढाउन सहयोग गर्छन् । बादल निकै चलायमान हुन्छन्, जसका कारण तिनको आनीबानी बुझ्न पनि कठिन हुन्छ । अर्को कुरा सानो परिवर्तनले पनि तिनलाई ठूलै असर गर्न सक्छ । वास्तवमा जलवायु परिवर्तनको मुख्य समस्या बादलको आनीबानीमा आउने फेरबदलका कारण पर्ने असर हो, जसले पानी कसरी पर्छ वा कत्रो र कहिले पर्छ भन्ने विषयलाई थप अनिश्चित बनाइदिन्छ । एक डिग्री तातो पृथ्वीमा बादलले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने विषय वैज्ञानिकका लागि टाउको दुखाइको विषय बनेको छ वा खोजको अवसर । त्यसैले विज्ञानको चामत्कारिक आविष्कार र गणितलाई पर्गेल्न सक्ने सुपर कम्प्युटर हुँदाहुँदै पनि बादल अझै रहस्यमयी नै छन् । रहस्यमयी बादललाई घोरिएर हेर्नुस्, चिन्नुस् र सम्मान गर्नुस् । ती छन् र हामी छौं । ती डुल्छन् र त हामी जिउँछौं । ती उकालिन्छन्, ओरालिन्छन् र हामी हुर्कन्छौं । तिनलाई गाली होइन ताली दिनुपर्छ । ती रहस्यका पोका वैज्ञानिकहरूले खोज्दै जालान्, तर आकाशतिर बादल हेर्ने गर्नुभएको छैन भने अब हेर्नुस् र तिनैसँग डुल्नुस् । किनभने बादललाई हेरिहाल्नुपर्छ, ती रूखझैं लामो आयु लिएर आउँदैनन् । पहाड हिमालझैं रहिरहँदैनन् । ती समाचारका हेडलाइनझैं हुन्, आउँछन् र हराउँछन् । तर, समाचार हराए पनि अक्षर बिलाउँदैनन् बरु अर्का शब्द बनेर फेरि फर्किन्छन्, तर अर्कै अर्थ बोक्न पनि सक्छन् । हो बादल पनि त्यस्तै हुन् । त्यसैले बादललाई पलपलमा पढ्नुपर्छ, पलपलमा हेर्नुपर्छ ।

(शनिबार प्रकाशित हुने कोसेलीबाट )

प्रकाशित : माघ २७, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?