कान्तिपुरकर्मी शाहीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार
काठमाडौँ — कान्तिपुर दैनिकका संवाददाता तृप्ति शाही राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । सोमबार नवौँ राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकार शाहीसहित ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८० बाट पुरस्कृत गरेको हो ।
सो पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चारमन्त्री रेखा शर्माले पत्रकारहरुलाई पुरस्कार प्रदान गर्दै सम्मान गरेका थिए । नौ वर्षदेखि पत्रकारिता गर्दै आएकी शाही हाल कान्तिपुर दैनिककी सुर्खेत संवाददाता हुन् ।
दिवसको अवसरमा मन्त्रालयले वरिष्ठ पत्रकार एवम् बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानलाई वरिष्ठ पत्रकार सम्मान-२०८० बाट सम्मान गरेको छ भने पोखराका पत्रकार स्वर्गीय त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता पुरस्कारले सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहेका पौडेलको गतवर्ष पोखरामा भएको हवाई दुर्घटनामा परी मृत्यु भएको थियो ।
प्रकाशित : वैशाख २४, २०८१ १६:१५