बाघ सर भन्थे– बलियो जुत्ता किन्नू !

भर्खरै बाघ दिवस (२९ जुलाई) मनाइयो । हरेक वर्ष बाघ दिवसका दिन मलाई प्रलाद योञ्जन सरको झल्को आउँछ । यो वर्ष पनि मैले त्यो बाघ सम्झेँ, जसको फोटो योञ्जन सरले भुटानमा खिचेका थिए
सन् २००१ मा भुटानमा सरले खिचेको फोटोको बाघले पूरै जीवन बाँचेकै भए पनि अब ऊ यो धर्तीबाट बिदा भइसकेको हुनुपर्छ किनभने बाघ बिरलै १५ वर्षभन्दा बढी बाँच्छ । तर, योञ्जन सर त अकालमै गए । 
रमेश भुसाल

सन् २००७ को एक बिहान । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभाग परिसरको बगैंचामा हामी उकालिँदै गरेको घाममा आफूलाई सेकाउँदै थियौं ।

बाघ सर भन्थे– बलियो जुत्ता किन्नू !

साढे सात बजेतिर एक जना होचो कदका, चमक्क चम्किएको मंगोलियन अनुहारका मानिस ल्यान्डरोभर गाडी अलि परै रोकेर हत्तारिँदै हातमा कफीको कप बोकेर हामीतिर आए । ‘अलि ढिला भयो त्यसैले कफी नै बोकेर आएँ’ भन्दै चक–डस्टर लिएर उनी हतार–हतार कक्षा कोठामा पसे ।

उनी थिए– वन्यजन्तु विज्ञान पढाउन आएका प्रलाद योञ्जन सर ! चकको धूलोबाट हात जोगाउन आफैं प्लास्टिकको झोला बोकेर आउँदा रहेछन् । बिहान कुकुरले आची गर्‍यो भने त्यो हालेर घरसम्म लैजान पनि त्यही प्लास्टिक प्रयोग गर्दा रहेछन् भन्ने पछि थाहा पाएँ । कुकुरको गुहु पनि घरै लिएर फर्कने ! मेरा बाबै, यी कस्ता सर हुन् भन्ने लागिरहन्थ्यो । न कुकुर पालिएको थियो न त कफी खाने पैसा नै थियो !

अघिल्लो ब्याचका साथीहरूले भनेका थिए, ‘योञ्जन सरसँग पढ्न पाउनु त भाग्य हो ।’ त्यसैमा फुरुंग थिएँ । ‘यस्तै बन्न पाए त’ मनमनै लाग्थ्यो । ‘योञ्जन’ थर पो उनका बाले दिएका थिए, त्यसमा ‘सर’ थप्न उनले कति मिहिनेत गरेका थिए भन्ने पछि थाहा भयो ।

योञ्जन सर एसियाकै त्यस्ता केही वन्यजन्तुविज्ञमध्ये एक थिए, जोसँग मानिसहरू बहस गरिहाल्न डराउँथे । बलियो भएकाले होइन, ज्ञानको भकारी भएकाले । अन्तर्राष्ट्रिय संरक्षण समाजका एसिया अध्यक्ष पनि थिए । त्यो चानेचुने मानिसले पाउने पद थिएन, अझै नेपालीले त विरलै त्यस्तो पद पाउँथे । उनको ज्ञानको भकारी बडो ठूलो थियो र सधैं उनी ज्ञानको बीउ रोप्थे, बाली भकारीमा हालिरहन्थे र उही गतिमा त्यो ज्ञान अरूलाई बाँडी पनि रहन्थे ।

उनी ज्ञानको भरुवा बन्दुक बोकेर हिँड्थे र ड्याम ड्याम पड्काउँथे । बहस गर्नू भन्थे । प्रश्न सोध्नू भन्थे । मिहिनेत गरेको थाहा पाइहाल्थे । र, मिहिनेत नगर्नेलाइ वरिपरि नै नआउनू भन्थे । साढे सातमा कक्षामा छिर्ने र साढे नौ बजे हिँडिहाल्ने मानिस थिए । ल्याङफ्याङ गरेर बस्दैनथे, खुराफाती गर्ने समय थिएन उनीसँग ।

सर केही महिना नेपालमा पढाउँथे भने केही महिना अमेरिकामा । अमेरिकाबाट फर्केर हाम्रो कक्षाकोठामा पस्दै गर्दा एक दिन उनले हाँस्दै भनेका थिए, ‘म अरूजस्तो चक्लेट बोकेर आउने सर होइन, महँगा–महँगा किताब लिएर आएको छु । गाता यहाँ हेर्नू र पढ्न मन छ भने मेरो कार्यालय रिसोर्सेस हिमालय आउनू र मज्जाले पढ्नू ।’ बारम्बार दोहोर्‍याउँथे सर, ‘वन्यजन्तुबारे पढ्ने–बुझ्ने भए घर बिर्सनू, बलियो जुत्ता किन्नू र महिनौं जंगलमै हराउन तयार हुनू । नभए त नपढेकै बेस । राम्रो ज्ञान सजिलै पाइँदैन ।’

...

नेपालमा सन् ७० को दशकमा राष्ट्रिय निकुन्ज स्थापना भएको थियो । त्यसैबेला अमेरिकाको स्मिथसोनियन इन्स्टिच्युट र विश्व वन्यजन्तु कोषको सहयोगमा बाघको अध्ययन गर्ने विश्वकै पहिलो परियोजना नेपालमा सुरु भएको थियो । विश्वविद्यालयबाट प्राणीशास्त्रमा गोल्ड मेडल लिएपछि योञ्जन सर बाघ–खोजीमा लागेका थिए । नब्बेको दशकमा उनी नेपालका रेड पान्डा अर्थात् हाब्रेमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति बने । र, सन् २००१ मा विश्वमै सबैभन्दा उचाइमा बाघ भेट्ने पहिलो वैज्ञानिक पनि उनै थिए ।

तर, भुटानको बाघ खोजीबारे भने उनको चित्त दुखाइ थियो । भन्थे– ‘केटाकेटी हो विज्ञानमा पनि राजनीति हुन्छ, भयंकर राजनीति । त्यसैको सिकार म पनि भएँ ।’ सन् २००१ मा उनी मध्य–भुटानको थ्रुमसिंगला राष्ट्रिय निकुन्जको संरक्षण योजना बनाउने काममा खटिएका रहेछन् । फेब्रुअरी महिनामा उनी मध्य–भुटानमा ४००० मिटरको उचाइतिर हिँडिरहँदा बाघको पाइला देखेछन् । तर, त्यो कुनै पनि हालतमा बाघ पाइने उचाइ थिएन ।

सामान्यतया बाघ समुद्री सतहबाट एक हजार मिटरको उचाइसम्म मात्रै पाइन्छ भन्ने विज्ञानले त्यो बेलासम्म थाहा पाएको कुरो थियो । तर, बाघको पाइला चिन्न उनी माहिर थिए नै । शंका हटाउने जुक्ति निकाले । अलि तल ३००० मिटरको उचाइमा झरेर क्यामरा ट्राप राखेछन् । केही दिनपछि क्यामरा ट्रापका रिल बोकेर काठमाडौं आएछन् । र, एउटा फोटोमा बाघ कैद भएको रहेछ । उनी बुरुक्क उफ्रिएछन्, खुसीले सीमा नाघेछ ।

तीन हजार मिटरको उचाइमा विश्वमै पहिलो पटक पाटे बाघ भेट्ने व्यक्ति बने उनी । र, त्यो फोटो थियो त्यसको प्रमाण । तर, भन्थे, ‘भुटानीहरूले मलाइै कहिल्यै त्यसको जस दिएनन् । त्यो फोटोमा मलाई क्रेडिट नदिई छापे । नेपालीले खिचेको भनेर उनीहरूले त्यसो गरेको हुनुपर्छ । तर, ठीकै छ– विज्ञानलाई मैले एउटा नयाँ ज्ञान दिएँ, त्यसैमा सन्तुष्ट छु ।’


भटुानमा प्रलाद योञ्जनले खिचेको पाटे बाघको फोटो । हिमाल खबर पत्रिका

आज इलाम र डेढेलधुरामा बाघ पाइयो भनेर समाचार बनिरहेका छन् । हरेक पटक समाचार पढ्दा म योञ्जन सर सम्झन्छु । सरले २० वर्षअघि त्यो उचाइमा बाघ भेटेका थिए, जुन उचाइमा अहिले नेपालमा बाघ देख्न थालिएको छ ।

आफ्नो अनुसन्धानबारे उनी किस्सा सुनाउँथे । रेड पान्डाबारे विद्यावारिधि गर्न लाङटाङ गएछन् । हाब्रे पाइन्छ भनेर एउटा गाउँतिर केही महिना बसेछन् । तर, हाब्रेको अत्तोपत्तो थिएन । उनी बास बसेको घरका पुरुषले एक दिन सोधेछन्, ‘किन हो सधैं जंगलतिर जाने ?’ आफूले हाब्रे खोजेको बताएपछि तिनले भनेछन्, ‘त्यो त यता होइन, ऊ पारितिर पाइन्छ तिमी गलत ठाउँमा घुमिरहेका छौ ।’ स्थानीयको ज्ञानलाई कम आँकेर बसेकोमा आत्मग्लानि बोकेर अर्को ठाउँ गएछन् सर, जहाँ उनले हाब्रे भेटे ।

तर, कठिन यात्रामा लागेका योञ्जन सरले अल्पायुमै पृथ्वी छोडे, होइन उनलाई छोडाइयो । सन् २०११ मा धोबीघाटको कार्यालयबाट साइकल चलाएर सीतापाइला घर जाँदै गर्दा एउटा अपराधी ट्रकले बल्खुमा किचेर उनलाई मार्‍यो । उनको प्रस्थानको समाचार आँखाभरि आँसु पार्दै लेखेर म घर हिँडेको थिएँ । भोलिपल्ट पार्थिव शरीर हेर्न उनले जन्माएको रिसोर्सेस हिमालय फाउन्डेसनमा पुगेको थिएँ । उनको चम्किलो अनुहार त त्यहाँ थियो । तर, हाँसो गायब थियो । बाघजस्ता सर त्यसरी सुतेको पटक्कै सुहाएको थिएन ।

योञ्जन सरजस्तै बाघ पनि पृथ्वीको सबैभन्दा अभागीमध्येको एक प्रजाति हो । बाघलाई पनि अकालमा मारिएको छ । एक शताब्दीअघिसम्म पश्चिममा टर्कीदेखि रूसको साइबेरियासम्म र दक्षिणमा इन्डोनेसियाको बालीसम्म एसियाका २९ देशमा बाघको साम्राज्य फैलिएको थियो ।

तर, अहिले खुम्चिएर नेपाललगायत १३ देशमा सीमित छ । सय वर्षअघि लाखको संख्यामा रहेको बाघ अहिले एसियाभरिका जंगलमा गन्दा पनि चार हजार पुग नपुग छन् । करिब ७० वर्षअघि क्यास्पियन बाघ, इराक, इरान, अफगानिस्तान, टर्की, काजकिस्तान, तुर्कमेनस्थानबाट हराए । सन् २००७ मा कम्बोडियाबाट बाघ गायब भए । सन् १९९७ मा क्यामरामा कैद भएका भियतनामका बाघ त्यसपछि क्यामरामा झुल्किएका छैनन् ।

सन् २०१० पछि लाओसमा बाघ देखिएका छैनन् । इन्डोनेसियाका जाभाली बाघ पनि यो धर्ती छाडेर गइसके भने पाटेबाघ, इन्डो चाइनिज बाघ, साइबेरियन अर्थात् अमुर बाघ, मलायन बाघ, सुमात्रान बाघ र दक्षिण चिनियाँ बाघ भने जेनतेन केही संख्यामा अहिले बाँच्ने प्रयास गर्दै छन् । सात अर्ब मानिस रहेको यो पृथ्वीमा आज ७ हजार बाघ पनि छैनन् । बंश विनाश नहोस् भनेर कतैकतै तारबार लगाएर केही सयको संख्यामा बचाइएका बाघ पनि मनुवाहरूले लुकिचोरी मारिरहेकै छन् । मान्छेको साम्राज्य बढ्दै गयो, बाघको घट्दै ।

विज्ञान र वैज्ञानिकमा लगानी नगरी देश बन्दैन भन्थे योञ्जन सर । भन्थे, ‘साइन्स होइन केटोकेटी हो, गुड साइन्स चाहिन्छ ।’ अध्ययन–अनुसन्धानको महत्त्व नबुझ्ने देशले कहीँकतै प्रगति गरेको छैन भन्थे । गुड साइन्सको आधारमा नीति बनाइनुपर्छ भन्थे, ‘तर, विज्ञान त हाम्रो रगतमै छैन, सोचमा हुने कुरै भएन । तिमीहरू विश्वविद्यालयको राजनीतिमा अल्झेर नबस्नू । जति नै खराब समय आए पनि ज्ञान बटुल्न नछाड्नू । लड्न पनि नछाड्नू ।’

त्यसैले त योञ्जन सर वन मन्त्रालय र वन्यजन्तु विभागका कर्मचारीसँग बेलाबेला लड्थे, कुनै नेतालाई टेरपुच्छर लाउँदैनथे । चाकडी बजाउन सिंहदरबारमा घाम तापेर मन्त्रालयअगाडि कहिल्यै उभिँदैनथे । बरु ज्ञान खोज्न जंगल जान्थे, ज्ञान बाँड्न विश्वविद्यालय आउँथे । सर भन्थे, ‘यो देशमा ज्ञानको कदर हुँदैन, विज्ञानको कदर हुँदैन तर पनि तिमीहरूजस्ता नयाँ पुस्तालाई पढाउँदा मभित्र आशाको दियो बल्छ । तिमीहरूमा म आफूलाई देख्छु र यति मिहिनेत गरिरहेको छु । मेरो पसिनाको तिमीहरूले अवमूल्यन नगर्नू ।’

हरेक वर्ष बाघ दिवसको दिन मलाई योञ्जन सरको झल्को आउँछ । यो वर्ष पनि मैले त्यो बाघ सम्झेँ, जसको फोटो योञ्जन सरले भुटानमा खिचेका थिए । सन् २००१ मा भुटानमा उनले खिचेको फोटोको बाघले पूरै जीवन बाँचेकै भए पनि अब ऊ यो धर्तीबाट बिदा भइसकेको हुनुपर्छ किनभने बाघ बिरलै १५ वर्षभन्दा बढी बाँच्छ । तर, योञ्जन सर त अकालमै गए ।

हुन त बाघले यो लेख पढ्दैनन् । तर, अकालमा मानिसले मारेका लाखौं बाघप्रति यो सेपिन्यस प्रजातिको एउटा मानवको तर्फबाट मेरो क्षमायाचना । र, बाँकी केही सय बाघ लोप हुनबाट जोगिउन भन्ने कामना पनि । अनि योञ्जन सरले फोटो खिचेको पहाडतिर उकालिएको त्यो भुटानी बाघ र अकालमै संसार छोडेका मेरा प्रिय ‘बाघ–सर’, दुवैलाई बाघ दिवसको सन्दर्भमा श्रद्धाञ्जली ।

प्रकाशित : भाद्र ५, २०७८ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?