कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
कोसेली

रातो पृथ्वी, तातो पृथ्वी

पृथ्वीमा अर्बौं वर्षसम्म कुनै देश थिएनन् । देशहरु त केही सय वर्षअघि मात्रै मानिसले बनाएका हुन् । तीन सय वर्षअघि इन्जिन बनेपछि पृथ्वी तातो हुन थाल्यो । जब मानिस देशको चौघेरामा रमाउन थाल्यो तब उसले पृथ्वी बिर्सियो । कोइला बालेर, पेट्रोल हालेर उसले आफ्नो गति बढायो, गियर चढायो र हुइँकियो बेगले पैसा बटुल्दै, कार्बन उडाउँदै र पृथ्वी तताउँदै ।
केही दशकमै पृथ्वीमा हामीले के–के देख्यौं ? के–के गर्‍यौं ? तातो धरतीमा अब थप अन्योल बढ्नेछन् । वास्तवमा पृथ्वी नीलै राखेको ठीक, चिसै राखेको ठीक !
रमेश भुसाल

पाँच किलोमिटरको दौडपछि पाइला रोकिए । पूरै शरीरै रोयो । म सडकछेउको इँटाले बनेको एउटा सानो पर्खालमा थचक्क बस्छु, जमिनतिर मुन्टो फर्काएर– स्याँस्याँ गर्दै ! धेरै अक्सिजन हुल्न म प्रयासरत छु किनभने अंगअंगमा बढेको अक्सिजनको माग पूरा गर्न मेरो फोक्सोलाई थप सक्रिय बनाउनुपरेको छ । हावामार्फत आएको अक्सिजन नाकमुखबाट फोक्सोमा पुगेपछि त्यहाँबाट मुटुले तानेर रगतमा रहेको हेमोग्लोबिनको सहाराले शरीरभरि पुर्‍याउँछ । हावाको अक्सिजनलाई रगतमा मिसाएर शरीरभरि पुर्‍याउनु, फुर्ती गर्नु– यही हो बाँच्नु भनेको । यति गर्न नसकेको दिन जिन्दगी चैट हुन्छ !

रातो पृथ्वी, तातो पृथ्वी

पृथ्वीमा मानिसले हरेक कुरा निःशुल्क पाएको थियो । अहिले पो उसले हरेक वस्तुको मूल्य तोक्यो— अक्सिजनको सिलिन्डरमा, पानीको थोपा–थोपामा, जमिनको इन्च–इन्चमा, काठको फिट–फिटमा ! पृथ्वीका लाखौं प्रजातिमध्ये मानिस मात्रै एउटा व्यापारी प्राणी हो । मजस्तै मास्क लगाएका बग्रेल्ती मानिस सकेसम्म धेरै अक्सिजन आपूर्ति गर्न तल्लीन छन् । तर, के तिनीहरूले सोचेका छन्— दुई मिनेट मात्रै यो पृथ्वीको हावाबाट अक्सिजन हरायो भने के हुन्छ ? यति सोचे मात्रै पनि पृथ्वीप्रति मानिस अलि उदार हुन्थ्यो होला ! तर, उसलाई फुर्सद कहाँ ?

...

शरीरमा अक्सिजनको माग कम हुँदै गयो । फोक्सो बिस्तारै सामान्य अवस्थामा आएपछि आकाशतिर हेरेँ । कपूरको रूखको फेदमै बसेको पो रहेछु । टम्म बादल लागेको छ, केहीबेरपछि त्यो पक्कै झर्छ, यहाँ नभए त्यहाँ ! पानी कहिले उड्छ, कहिले बग्छ, कहिले जम्छ ! यो बडो बहुरूपी छ । पानी बहुरूपी नहुँदो हो त, यो पृथ्वी चल्ने थिएन । हिमाल नहुँदा हुन् त नदी कहाँ बग्थे ? बादल नहुँदो हो त पानी कहाँ पर्थ्यो ? खहरे कहाँ उर्लन्थे ? पानीले रूप फेरेको छ र त पृथ्वीमा जीवन चलेको छ ।

निधारबाट तप्प–तप्प पसिना झर्‍यो, कंक्रिटको भुइँमा । निधारबाट झर्‍यो, त्यसैले यो पसिना बन्यो, आँखाबाट झर्थ्यो त यो आँसु बन्थ्यो । फरक यत्ति छ, अहिले शरीरका मांसपेशी रोइरहेकाले पसिना झरिरहेको छ, मन रुँदो हो त आँखाबाट आँसु बनेर झर्थ्यो । म बसेको कुरा लामखुट्टेले सुइँको पाइसक्यो । युद्धक विमानजसरी मेरो शरीरवरिपरि फन्को मारिरहेछ, ल्यान्डिङ गर्ने दाउमा ! मेरो शरीरमा त्यो ल्यान्ड गर्ला र प्याट्ट पारौंला भनेर म पनि दाउ खोजेर बसेको छु । के थाहा उसलाई मेरो शरीर नै उसको मृत्युभूमि हो भन्ने ! एकाधपटकको प्रयासपछि मैले उसको जिन्दगी चैट पार्दिएँ । थप बाँच्ने योजनाका साथ आएको ऊ, सदाका लागि गयो । न उसका आफन्त छन्, न त कसैले दाहसंस्कारै गर्छ ! मैले प्याट्ट पारें, फ्याट्ट फालिदिएँ ।

म अलिकति निहुरिएँ, पसिनाको थोपा निधारबाटै टपक्क भुइँमा झर्‍यो । शिर अलि ठाडो पारें, त्यो पसिना नाकको डाँडीको उपल्लो भागबाट बगेर देब्रे लाग्यो र माथिल्लो ओठको कुनोभन्दा अलिपर गाला हुँदै च्यापुमा पुगेर भुइँमा खस्यो । पछिल्लो थोपा नदीजस्तै बग्यो— सलल र केहीबेरपछि झर्‍यो, अघिल्लो थोपा निधारबाटै तप्प जमिनमा झर्‍यो । थोरै ढल्कनुले पनि कति फरक पर्छ यहाँ ! यो पृथ्वी पनि २३.५ डिग्रीले नढल्केको भए, दुई ध्रुवबाहेकका ठाउँमा १२ घण्टा दिन हुन्थ्यो, १२ घण्टा रात पर्थ्यो ! थोरै ढल्केकाले सूर्यलाई फन्को मार्ने क्रममा वर्षको कहिले पृथ्वीको उत्तरी गोलार्द्धमा धेरै घाम पर्छ त कहिले दक्षिणी गोलार्द्धमा, त्यसैले जाडो र गर्मी याम ल्याउँछन् । यदि नढल्कँदो हो त अहिलेजस्तो गर्मीमा छोटा रात र लामा दिन हुँदैनथे । जाडोमा लामा रात र छोटा दिन हुँदैनथे । पृथ्वी नढल्कँदो हो त दुवै ध्रुवको ठूलै भूभागमा कहिल्यै घाम नै पर्दैनथ्यो । मानिसहरू पृथ्वीको भूमध्यरेखा वरपर मात्रै बस्न सक्थे सायद । अहिलेजसरी छरिन उनीहरू सक्दैनथे किनभने दुई ध्रुवहरूमा घाम नपरेपछिको बाह्रैमासे चिसो सहन सकिँदैनथ्यो ! थोरै नढल्केको भए यो पृथ्वी पूर्ण रूपमा अर्कै हुन्थ्यो । धन्य, पृथ्वी थोरै ढल्क्यो त्यसैले पूर्व–पश्चिम, उत्तर–दक्षिण सबैतिर सेपियन्सकै साम्राज्य छ !

तप्प झरेको पसिना किन त्यसरी नै झर्‍यो ? किन त्यो आकाशतिर गएन वा बांगिएर झरेन ? यो प्रश्न अहिले गर्दा हाँसो उठ्न सक्छ, तर केही सय वर्षअघिसम्म पनि यो पृथ्वीको सबैभन्दा महत्त्वपूर्ण र अनुत्तरित प्रश्न थियो । जब १७ औं शताब्दीमा आइज्याक न्युटनलाई एउटा प्रश्नले घच्घच्यायो, उनले त्यसको हिसाब खोजे । भनिएअनुसार, उनले बोटबाट स्याउ सीधै तल झरेको देखे र प्रश्न गरे— किन त्यो स्याउ बांगोटिंगो भएर खसेन ? किन त्यो माथि गएन ? कुन शक्तिले त्यसलाई झार्छ ? त्यसअघि पनि पृथ्वीमा करोडौं स्याउ खसेका थिए, करोडौं मानिस जन्मेका थिए । तर, जुन प्रश्नको उत्तर न्युटनले खोजेर गुरुत्वाकर्षण भने, त्यसैका कारण अन्य लाखौं आविष्कार भए, लाखौं प्रश्नका उत्तर भेटिए । विज्ञान सामान्य प्रक्रियाको असामान्य खोज हो सायद ।

...

एउटा ठूलो झुसिलकिरो द्रुत गतिमा कंक्रिटको सडक पार गर्दै छ । कुनै सवारी आइहाल्यो भने कचक्कै पार्छ, तर संयोगले त्यो बाँच्यो । उसले गाडी चिनेको छैन । उसलाई के थाहा, मान्छेले के–के बनाइसक्यो ! मेरो छेउका एक हूल कमिलामाथि जब पसिनाको थोपा पर्‍यो तिनीहरूको भागाभाग भयो, कुनै मानव बस्तीमा युद्दक विमानबाट बम झरेजसरी ! अफगानिस्तानमा तालिबानले लेखेटेका मानिसहरूको झल्को दिनेखालको भगाभाग

छ त्यो !

नाडीमा घडी बाँधेको छु । केही वर्षअघिसम्म घडीले एउटा मात्रै कुरा बताउँथ्यो— समय । तर, आज घडीले हरेक पाइला गन्न सक्छ, मुटुको चाल मापन गर्छ, दौडिँदा कति ऊर्जा खपत भयो भनेर पनि घडीले हिसाब राख्छ, नक्सा कोरिदिन्छ, बधाई ज्ञापन गर्छ, धन्यवाद भन्छ, गीत सुनाउँछ, फोन उठाउँछ । यस्तो लाग्छ, घडी नै अहिलेको सर्वज्ञाता हो । घडीले लेख्यो— फास्टेन्ट फाइभ के २८.४५, कन्ग्राचुलेसन्स ! अहिले घडी लेखनदास पनि हो, पहिले–पहिलेझैं उसले सुई मात्रै घुमाउँदैन, राम्रा अक्षर पनि कोर्छ । अर्थात् आज पाँच किलोमिटर दूरी पार गरेको समयचाहिँ आफ्नै पुरानो रेकर्ड तोडेको जानकारी हो । एउटा तक्मा देखाएर उसले मलाई हौस्यायो । म मख्ख परें । मानौं घडी ओलम्पिक खेलको निर्णायक हो । र, उसले मलाई तक्मा दिएको छ । यो पनि व्यापारी अवतारको मानिसको चर्तिकला हो । जति उपभोक्तालाई फुरुंग पार्‍यो उति धेरै पैसो झर्‍यो । पुँजी पृथ्वीको प्रमुख नयाँ कथा हो । यत्रतत्र सर्वत्र यसैको चर्चा छ, यसैको महत्त्व छ !

...

मानिस नहुँदो हो त यो पृथ्वी कस्तो हुँदो हो ? वरिपरि आँखा घुमाउँछु । ऊ नहुँदो हो त मेरो वरिपरि देखिएको पिच गरेको सडक हुँदैनथ्यो, घर हुँदैनथे, फलामको बार हुँदैनथ्यो, म बसेको इँटाको थुप्रो हुँदैनथ्यो, कपडा हुँदैनथ्यो, घडी हुँदैनथ्यो, जुत्ता हुँदैनथ्यो, औंलामा लगाएको औंठी हुँदैनथ्यो, गोजीको मोबाइल हुँदैनथ्यो, वरपरि घुमिरहेका गाडी, मोटरसाइकल, साइकल हुँदैनथे, अगाडिको पार्क हुँदैनथ्यो, अलि पर रोपिएको खेत हुँदैनथ्यो, परको डाँडामा ठडिएको गुम्बा हुँदैनथ्यो, आकाशमा उडिरहेको जहाज हुँदैनथ्यो, त्यो बिजुलीको पोल हुँदैनथ्यो, छेउमा यत्रतत्र छरिएको प्लास्टिक हुँदैनथ्यो !

अरू के–के हुँदैनथ्यो के–के ! यी त वरिपरि देखिएका वस्तु मात्रै हुन्, त्यसबाहेक विभेद हुँदैनथ्यो, अन्याय हुँदैनथ्यो, बमबारी हुँदैनथ्यो, बन्दुक हुँदैनथ्यो, पुँजीवाद हुँदैनथ्यो, साम्यवाद हुँदैनथ्यो, समाजवाद हुँदैनथ्यो । योबाहेक अरू लाखौँ कुरा हुँदैनथे ।

म पृथ्वीबाट मानिस हटाएर वरिपरि हेर्छु । त्यहाँ देख्छु— कमिलाको लस्कर, केही लामखुट्टे, तीनवटा जुरेली, दुइटा भद्राई, एक हूल काग, केही परेवा, एउटा झुसिलकिरो, एकजोडी ढुकुर, केही झारपात, केही रूख ! त्यो भर्खरै सडक पार गरेको झुसिलकिरोले बाँच्नेबाहेक थप केही गरेको छैन । अलिपरको रूखमा देखिएको भद्राई पनि त्यहि गरिरहेछ वा बिजुलीको तारमा टेकिरहको जुरेली र भंगेरो पनि ! यस्तो देख्छु, मानिसबाहेक अरूले त यहाँ केही गरेकै छैनन् । अरूको बस् एउटै ध्याउन्न छ— खाने र बाँच्ने । मानिसको तन्तुचाहिँ अनेक छ । मानिसको पनि एउटै ध्याउन्न थियो खाने र बाँच्ने । तर, जब उसले पैसा बनायो र व्यापार सुरु गर्‍यो त्यसपछि ऊ मानिसबाट व्यापारीमा परिणत भयो । अनि पृथ्वीको दुर्दिन सुरु भयो ।

थकित शरीरलाई घरसम्म तान्छु । ल्यापटपमा बस्छु— फेरि सोच्छु, मानिस नभएको भए यो पनि त हुँदैनथ्यो । पृथ्वी साढे चार अर्ब वर्षको भयो । मानिस त धेरैमा साढे दुई लाख वर्षको मात्रै भयो होला । केही सय वर्षअघिसम्म पनि ऊ बुंगै थियो । कोठाको वरिवरि आँखा घुमाउँछु— यी सयौं किताब, कलम, मेच, टेबुल, बिजुली, सिमेन्टमा पोतिएको रङ, झ्यालको सिसा ! अहिले मेरा वरिपरि देखिएका अधिकांश वस्तु त जम्मा केही सय वर्षबीचमा मात्रै त बनेका हुन् !

कम्प्युटरमा सयौं इमेल अर्थात् इपत्र झरेका छन्, पुराना हजारौं पनि छँदै छन् । आजभन्दा एकाध सय वर्षअघिसम्मका मानिसले कहिल्यै फोनमा कुरा नगरी मरे, गाडी नचढी मरे, जहाज नदेखी मरे, टीभी नहेरी गए । अहो ! हामी कत्ति भाग्यमानी पुस्ता भयौं भनेर मख्ख परेको छु । हजुरबाले हलो चलाएर जीविकोपार्जन गरे, बाले कलम, मैलै कम्प्युटर ! खुब परिपर्वन भयो पृथ्वीमा गएका केही दशकमा । यी इमेलमा लेखिएका लाखौं शब्द यदि साँच्चै कागजमा लेख्नुपरेको भए कति रूख काट्नुपर्दो हो, कति मसी चाहिँदो हो ! फरर लेख्यो, ट्याक्क थिच्यो, उता टुप्लुक्क पुग्यो, उसले फरर पढ्यो, अनि फेरि सरर उत्तर लेख्यो र ट्याक्क थिच्यो, यता फ्याट्ट झर्‍यो क्याबात !

तर, यो इपत्र पश्चिममा हाम्रोजस्तै पहाड–हिमाल भएको, समुद्र नपुगेको स्विट्जरल्यान्ड नामको देशबाट पूर्व हान्निएर यता मीत देशमा आएको रहेछ, बडो चिन्ताजनक सन्देश बोकेर । यो त रातो पृथ्वीको कथा बोकेर झरेको छ, तातो पृथ्वीको कथा बोकेर झरेको छ । आईपीसीसी अर्थात् जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने वैज्ञानिकहरूको विश्वव्यापी संस्थाबाट लेखिएको इपत्र हो यो । विश्वभरिका चौध हजार अनुसन्धान केलाउन ६६ देशका २३४ जना वैज्ञानिक सामेल भएर निकालेको निष्कर्ष पत्रमा लेखिएको छ, ‘संसारभरिका वैज्ञानिकहरूको खोजले यो पृथ्वीको जलवायु प्रणालीमा अभूतपूर्व परिवर्तन आइरहेको देखाएका छन् । कम्तीमा पनि यस रिपोर्टले औंल्याएका विभिन्न परिवर्तन त विगतका हजारौं वा लाखौं वर्षमा नभएको तहको परिवर्तन देखिन्छन् जस्तो कि बढ्दो समुद्र सतह, द्रुत गतिमा पग्लँदो हिउँ ।’ पत्रमा थप लेखिएको छ, ‘सन् १८५० देखि १९०० को दाँजोमा पृथ्वीको तापक्रम औसतमा १.१ डिग्रीले बढिसकेको छ । यसको कारण मानिसले विगतको साढे दुई सय वर्षमा निकालेको कार्बनडाइअक्साइडलगायतका हरितगृह ग्यासको उत्सर्जन हो । यही गतिमा अगाडि बढ्ने हो भने अबको २० वर्षमा पृथ्वीको औसत तापक्रम आद्यौगिक समयको तुलनमा १.५ डिग्रीले बढ्नेछ, शताब्दीको अन्त्यसम्म तीन डिग्रीले बढ्नेछ ।’

यो कुरो बडो जटिल छ । त्यसैले ‘नक्सामा हेर र बुझ’ भनेर इपत्रले अर्को ठेगानामा पठायो, जहाँ दाहिने कुनोमा हल्का रातो पृथ्वी एकनासले घुमिरहेको छ । हाम्रो सम्भावित भविष्य लेखेर उसले प्लस १.५ डिग्री, २ डिग्री, ३ डिग्री, ४ डिग्री लेखेको छ । म अब पृथ्वीलाई नियन्त्रित घुमाइका लागि आफ्नो औंला तयार पार्छु । अहिले कम्प्युटरमा पृथ्वी घुमाउन एउटा औंला काफी छ । रातो सन्देश बोकेर कम्प्युटरमा घुमिरहेको पृथ्वीलाई टक्क रोक्छु र फनक्क फर्काएर उल्टो त्रिभुजाकारको भारत र आसपासको क्षेत्रमा ल्याएर अडिन्छु, जसलाई आधुनिक मानवले दक्षिण एसिया भन्छ । तर, यो पृथ्वीको वास्तविक नक्सा हो, जसमा देशहरू छैनन् । कि त जमिन छ कि त पानी । पृथ्वीमा अर्बौं वर्षसम्म कुनै देश थिएनन् । देशहरू त केही सय वर्षअघि मात्रै मानिसले बनाएका हुन् । तर, जब देश बन्न थाले, पृथ्वी तातो हुन थाल्यो, विज्ञानको भाषामा रातो हुन थाल्यो । देश बन्न थालेपछि पुँजी जम्मा गरेर को धनी हुने भन्ने होडबाजी चल्यो, त्यसपछि पृथ्वी तातो हुन थाल्यो । र, मानिसले अठारौं शताब्दीमा इन्जिन बनायो । कोइला, पेट्रोलियमले इन्जिन चलायो । आफ्नो गति बढायो, गियर चढायो र हुइँकियो बेगले पैसा बटुल्दै, कार्बनडाइअक्साइड उडाउँदै ।

...

म उल्टो त्रिभुजको माथिल्लो भाग, जहाँ कतै नेपाल भन्ने देश छ, त्यसबाट पश्चिम हान्निन्छु अनुमानित पाकिस्तान, अफगानिस्तान, इरान हुँदै ! त्यसपछि एउटा कुलोजस्तो अरब सागरको उत्तर पश्चिम हानिएको चोसो काटेर साउदी अरबको आसपासबाट अफ्रिका पार गर्छु । उत्तर उकालिए युरोप हुँदै आर्कटिक पुगिन्छ, दक्षिण झरिरहेको अफ्रिका कतै अन्टार्टिकातिर पुगौंला जसरी फिँजारिएको छ । अफ्रिकाको दक्षिणी भाग भारतको जस्तो चुच्चो नभएर अलि बुच्चो छ । थप पश्चिममा अटलान्टिक महासागर काटेर मध्यअमेरिका हुँदै प्रशान्त महासागर छिर्नुअघि अलिकति उत्तरमा रहेको सयुंक्त राज्य अमेरिकामा आँखा लगाएर म टक्क रोकिन्छु । यो पृथ्वीलाई रातो बनाउने प्रमुख भूमिमध्येको अग्रणी हो यो, पृथ्वीमा सबैभन्दा बढी राँइदाइँ गरेको मुलुक । म प्रशान्त छिरेर लामो समुद्री यात्रापछि फेरो मारेर चीन पस्छु, जुन रातो पृथ्वी बनाउने पछिल्लो ठूलो खेलाडी हो । थप पश्चिम बढेर छिमेकको तिब्बती पठारतिर गतिलाई धीमा बनाएर अनुमानित नेपालमा औंला रोक्छु । केही सेकेन्डमै पृथ्वीको एक फन्को मार्छु । यो पृथ्वीको नक्सा कोर्न मात्रै कत्तिले पसिना चुहाए, कत्ति त वर्षौं डुले । सयौं वर्ष त यसको नक्सा बनाउन मात्रै लाग्यो । आज मैले यही पृथ्वीलाई औंलामा नचाइरहेको छु !

कुनै देश, महादेश, महासागर, सहर, गाउँ नलेखिएको पृथ्वी घुम्दा पो पृथ्वी बल्ल सगोलमा देखिँदोरहेछ । ठाउँ लेखिएका नक्सा हेरेर पृथ्वी घुम्दा त कतै मुसलमान देखिन्छ कतै हिन्दु, कतै क्रिस्चियन देखिन्छ कतै जैन । कतै कालो मानिस देखिन्छ कतै गोरो । कतै गरिब देखिन्छ कतै धनी । कतै पुँजीवादी देखिन्छ कतै साम्यवादी । कतै युद्ध देखिन्छ कतै शान्ति । बडो जटिल नक्सा पो देखिन्छ । बेनामे पृथ्वी मैले घुमाएकै रैनछु, जहाँ कि त जमिन देखिन्छ कि त हिउँ वा पानी । मानिसबाहेक यो पृथ्वीमा कसैको गाउँ छैन, सहर छैन, देश छैन, महादेश छैन । कित्ताकाट गरेको पृथ्वी मानिसले बनाएको हो । अरू कसैले पृथ्वीलाई कित्ताकाट गरेको छैन ।

पृथ्वीको खास रङ नीलो हो किनकि यसको दुईतिहाइ भूभाग पानीले भरिएको छ । तर, मैले हल्का रातो पृथ्वी घुमाइरहेको छु अर्थात् १.१ डिग्री तातेको पृथ्वी, गुगलअर्थको जस्तो नीलो पृथ्वी होइन । वैज्ञानिकहरू तातोलाई रातो रङले चिनाउँछन् । हामी हल्का रातो रङको पृथ्वीवासी भइसकेका छौं । पूर्व–पश्चिम एक फन्को मारेपछि म पृथ्वीलाई स्वाट्टै उत्तरी गोलार्द्धको टुप्पोतिर पुर्‍याउँछु— रुसभन्दा पनि माथि ग्रिनल्यान्ड आसपासतिर, अनुमानित । त्यता त बडो गाढा–गाढा रातो पो देखिन्छ ! त्यसपछि स्वाट्टै दक्षिणी गोलार्द्धको टुप्पोमा अन्टार्टिकातिर झार्छु, त्यहाँ नेपाल भएको भूभागभन्दा बढी रातो देखिन्छ, तर उत्तरी गोलार्द्धको टुप्पोभन्दा भने कम रातोपना !

म त्यसपछि प्लस दुई डिग्री थिच्छु र पृथ्वी घुम्छु । रातो रङ त झन् गाडा बन्छ, रातो रङ थप ठाउँहरूमा फैलिन्छ । तीन डिग्री थिचेर पृथ्वी सयर गर्छु, पृथ्वी सबैतिर राताम्मे हुन्छ । जब चार डिग्री थिचेर हर्छु, जमिन त पूरै रगतले लिपेजस्तो देखिन्छ, समुद्रचाहिँ अलि फिक्का ! जति गाढा रातो रङ त्यति बढी तातोपना !

यो रातो रङको अर्थ के हो त ?

पूरै पृथ्वी औसतमा तातिसकेको छ, तर तात्नेक्रम कतै बढी छ कतै कम !

कसरी भयो त पृथ्वी रातो अर्थात् तातो ?

यो रातो कथा छोटो समयमा बुनिएको हो— करोड, लाख वा हजार वर्षअघि पृथ्वी तात्न सुरु भएको थिएन । यो तातो पृथ्वीको उमेर जम्मा तीन सय वर्षजति हो, स्मरण रहोस् पृथ्वीको उमेरचाहिँ साढे चार अर्ब वर्ष हो । मानिसले पहिले पृथ्वीमा सबै कुरा पाखुराले गर्थ्यो वा जनावरका सहराले, त्यो क्रम हजारौं वर्ष चल्यो ।

तर, बेलायतमा इन्जिन बनेपछि मान्छेले कोइला भेट्यो, त्यसलाई उसले खुब बाल्यो । कोइला बालेर बिजुली पनि निकाल्न थाल्यो, उद्योग चलायो, सामान बनायो । त्यति मात्रै होइन, उसले पेट्रोलियमका खानी भेट्यो । इन्जिनले चल्ने गाडी बने, रेल, जहाज, पानीजहाज अनेक बने । मानिसले चमत्कार गर्‍यो । पैताला खियाएर हिँडिरहेको मानिस हेर्दाहेर्दै गुड्यो, त्यसपछि उड्यो र अर्को ग्रहमा समेत पुग्यो । ओखतीमुलो पनि बनायो । एकातिर ऊ पृथ्वी घुम्यो, भूगर्व खोतल्यो अर्कोतर्फ आफ्नै शरीरभित्रका अंगअंग हेर्न सकिने यन्त्र बनायो । धेरै बाँच्न अस्पताल बनायो, आरमले बस्न सहर बनायो ।

मानिस मख्ख पर्दै थियो, तर बीसौं शताब्दीको मध्यतिर आउँदा केही वैज्ञानिकले थाहा पाए— मानिसले जे बालिरहेको छ वा इन्जिनमा हालिरहेको छ, त्यसले त वायुमण्डलमा व्यापक कार्बनडाइअक्साइड नामको ग्यास फालिरहेको छ । विज्ञानले पनि चमत्कार गरिसकेको थियो । हजारौं, लाखौं वर्षअघिको हिउँ केलाएर त्यसबेलाको हावामा कार्बनडाइअक्साइडको मात्रा कति थियो भनेर ऊ खोज्न सक्ने भइसकेको थियो । लाखौं, करोडौं वर्षअघिको जलवायुको अवस्था कस्तो थियो भन्ने बुझ्न ऊ ढुंगा–माटो केलाउन सक्ने भइसकेको थियो । त्यसपछि मापन सुरु भयो र सन् ९० को दशकमा वैज्ञानिकहरूले किटानी गरेर भने— पृथ्वी मानिसका कारणले तात्यो । अर्थात् वास्तवमा पृथ्वी तातो छ, कम्प्युटरमा पृथ्वी रातो छ । तातो भनेकै रातो हुनु हो ।

यो रातो पृथ्वीको इपत्र त वैज्ञानिकहरूको छैटौं प्रतिवेदन हो, गत ४० वर्षभित्र निकालेको । बीसौं शताब्दीको मध्यमा पाँच अर्ब टन प्रतिवर्ष भएको कार्बन उत्सर्जन अहिले ३५ अर्ब टन कटिसक्यो, जसको दुईतिहाइ उत्सर्जन मानिसका लागि प्रयोग हुने यातायात, बिजुली र उद्योगहरूबाट हुनेगर्छ । कार्बनडाइअक्साइड पृथ्वी तताउने प्रमुख ग्यास हो । हाम्रो दक्षिणमा रहेको भारत, उत्तरमा रहेको चीन र सुदूरपश्चिममा रहेको अमेरिकाले मात्रै पृथ्वीमा मानिसले उत्सर्जन गर्ने कुल कार्बनडाइअक्साइडको आधा उत्सर्जन गर्छन् । तीन देश बराबर पृथ्वीका बाँकी सबै देश ! यो हिसाब बडो असन्तुलित छ । इन्धनले मानिसलाई आराम दियो, उसलाई विकसित बनायो । तर, पृथ्वीको ज्वरो निकालिदियो, जलवायुको चक्र नै बदलिन थाल्यो, समुद्र सहत बढायो र हिमाल पगाल्यो ।

पृथ्वी तातेपछि के हुन्छ भन्ने प्रश्नको उत्तर पनि वरिपरि नै छ, देखिइसकेकै छ ।

यो रातो पृथ्वीको सन्देशसहितको इपत्र झरेको केही दिनपछि एक रात काठमाडौं खाल्डोमा झमझम पानी परेको छ । बिहान उठ्दा त नदीले उठीबास बनाएका नदी किनारका बस्तीको फोटो छ्याप्छ्याप्ती भइसकेछन् । कति पानी परेछ ? १२१.५ मिलिमिटर । मैले खोज्न थालें, योभन्दा अघि काठमाडौं उपत्यकामा यस्तो पानी कहिले परेको रहेछ ! सरकारी तथ्यांक भन्छ— पानी मापन गर्न थालेको सन् १९६८ देखि केलाउँदा योभन्दा बढी पानी जम्मा तीनपटक परेको छ । सन् १९८७ मा १२४.४ मिलिमिटर, सन् २००२ मा १७७ मिलिमिटर र सन् २०१२ मा १२६ मिलिमिटर । यसको अर्थ हो अब यस्तो छङछङ पानी पर्ने क्रम बढ्छ, थोरै समयमा धेरैपटक पर्छ । अब पानी झमझम मात्रै पर्दैन, छङछङ पनि झर्छ— झरना जसरी । यही हो तातो पृथ्वीको कथा, झमझमबाट छङछङको यात्रा !

तातो पृथ्वीमा यस्ता उत्पातका घटना बढिसके, अब थप बढ्नेछन् । समुद्र सतह द्रुत गतिमा उकालो लाग्नेछ, बाढी पहिरो बढ्नेछ, समुद्री आँधी थप विनाशकारी हुनेछन्, कतै उत्पात पानी पर्नेछ त कतै भयंकर खडेरी लाग्नेछ, यस्तैयस्तै । गरिब झन् समस्यामा पर्नेछन्, तर धनीहरू पनि मख्ख परेर नबसे हुन्छ । प्रकृतिका अगाडि पैसाको मात्रै केही लाग्दैन । समुद्री आँधीले अमेरिकामा पनि भागाभाग छ, बंगलादेशमा पनि, बाढीले मेलम्चीमा पनि उठीबास छ उता जर्मनीमा पनि । तापक्रम वास्तवमा पृथ्वी चलाउने इन्धन हो । यसमा आउने सामान्य फेरबदलले पनि व्यापक असर गर्छ । एकातिर जताततै अव्यवस्थित विकासले विनाश गरिरहेको छ भने अर्कोतर्फ पृथ्वी नै तातेर जलवायुको चक्रमै परिवर्तन भइरहेको छ ।

तातो पृथ्वीमा जे पनि छिटोछिटो भइरहेको छ । अब परिवर्तनका कुरा सुन्न हजुरबा– हजुरआमा चाहिँदैनन्, बा–आमा पनि जरुरी छैन, दाइ–दिदीले ठूला–ठूला परिवर्तनको कुरा भन्न सक्छन् । अझै उनीहरू पनि चाहिँदैनन्, आफैं एकबारको जुनीमै ठूला–ठूला घटना बारम्बार देख्न पाइनेछ । यसो फर्केर हेरौं त विगतका केही दशकमै हामीले के–के देख्यौ ? के–के गर्‍यौं ? तातो पृथ्वीमा थप अन्योल बढ्नेछ, थप कोलाहल हुनेछ । आशा गरौं— आफैंले आफैंलाई ‘बुद्धिमान’ भनिरहेको यो पृथ्वीका राजा प्रजाति अर्थात् सेपियन्सले यो विषय छिटो बुझ्नेछ र सुरक्षित यात्रा तय गर्नेछ । पृथ्वी नीलै राखेको ठीक, चिसै राखेको ठीक !

प्रकाशित : आश्विन २, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?