२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राज्यसँग ‘बुलेट’ र पार्टीसँग ‘ब्यालेट’ विद्रोह गरेर मन्त्री 

गत निर्वाचनमा नेसपाका चिनक कुर्मीलाई गठबन्धनले उम्मेदवार बनाएपछि माओवादीले खड्ग बस्नेतलाई दिएको टिकट फिर्ता लिएको थियो

देउखुरी (दाङ) — माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित खड्ग बस्नेत अन्ततः मन्त्री बन्न सफल भएका छन् । नवलपरासीको सुनवल नगरपालिका–४ का ३७ वर्षीय बस्नेतलाई गत बिहीबार विनाविभागीय मन्त्री बनाइएकामा बुधबार देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकेको हो ।

राज्यसँग ‘बुलेट’ र पार्टीसँग ‘ब्यालेट’ विद्रोह गरेर मन्त्री 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले यसअघिको उद्योग तथा यातायात मन्त्रालयलाई फोडेर यो मन्त्रालय बनाएका हुन् । माओवादी पार्टीको कारबाहीमा परेका बस्नेतलाई माओवादीकै नेताले मन्त्री बनाउनु अनौठो संयोग भने बनेको छ ।

२०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेस–माओवादीसहितको गठबन्धनमा उनी माओवादीका तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र २(१) बाट प्रदेशसभामा उम्मेदवार बनेका थिए । मनोनयनकै क्रममा उनको उम्मेदवारी माओवादीले फिर्ता लिएको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो निर्वाचन क्षेत्र गोरखा छाडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको पार्टीका चिनक कुर्मी गठबन्धनकै उम्मेदवार बनेर आए । कुर्मीले माओवादीकै चुनाव चिह्न हँसिया हथौडामा निर्वाचन लडेका थिए ।

अन्तिममा टिकट खोसिएपछि उनले पार्टीमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिए र निकटम प्रतिस्पर्धी राप्रपाका आशिष प्रधानलाई ७२ मतान्तरले पराजित गरे । बस्नेतले १२ हजार ४ सय ४९ मत ल्याएका थिए । माओवादीमा रहँदा अन्तरिम सरकारमा विधायक र संविधानसभा सदस्यमा निर्वाचित भएका कुर्मी बस्नेतसँग प्रतिस्पर्धामा समेत आउन सकेनन् ।

संघीय सरकारमा गठबन्धन फेरिएसँगै लुम्बिनी प्रदेशमा एमाले–माओवादीको नयाँ गठबन्धनमा माओवादी संसदीय दलका नेता महरा नेतृत्वको नयाँ सरकार गठन गर्न र कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार जोगाउने खेलमा बस्नेत निर्णायक जस्तै देखिएका थिए ।

आफ्नो सरकार जोगाउन पूर्वमुख्यमन्त्री चौधरीले बस्नेतलाई अर्थमन्त्रीसम्मको अफर गरेको कांग्रेसका एक सांसदले बताए । तर, उनले नमानेपछि र जसपाले पनि समर्थन नगर्ने बताएपछि चैत १९ मा लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा दिएका थिए ।

लुम्बिनी प्रदेशसभामा ८७ सांसदमध्ये एक सांसद निलम्बनमा परेपछि ८६ कायम छ । सरकार गठनका लागि बहुमत ४४ सांसद आवश्यक पर्छ । नयाँ गठबन्धनमा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३ र नेकपा एकीकृत समाजवादी पार्टीका १ गरी ४३ मात्रै सांसद भएपछि सरकार बन्ने अवस्था भएन । महराले माओवादी पार्टीबाट विद्रोह गरी निर्वाचित उनै बस्नेतलाई मन्त्री बनाउन ७ बुँदे लिखित सहमति गरेर चैत २३ गते ४४ सांसदको हस्ताक्षरसहित लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका थिए । पछि नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेको हस्ताक्षर पनि प्रदेश प्रमुख शेरचनलाई बुझाएपछि ४८ सांसदको समर्थनमा महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

कक्षा ८ मा पढ्दै गर्दा गुल्मीमा माओवादी विद्यार्थी संगठनमा आबद्ध भएका थिए बस्नेत । २५ वर्षअगाडि समाज परिवर्तनसँगै नयाँ सत्ता प्राप्त गर्ने उद्देश्यले सशस्त्र विद्रोहमा सहभागी भएको उनले सुनाए । स्वतन्त्र उम्मेदवार हुनुअघि उनी माओवादी पार्टीको सुनवल नगरपालिकाको नगर अध्यक्ष थिए । २०५६ सालतिरैबाट विद्यार्थी राजनीतिमा सक्रिय रहँदा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यसम्म भए ।

उनले माओवादी जनयुद्धताका विद्यार्थी संगठनमा रहेर काम गरे । जनयुद्धको लडाइँमा सहभागी भए । ०७५ मा उनी विदेश गए । इटली र पोर्चुगलमा ४ वर्ष बसेर उनी नेपाल फर्केका हुन् । विदेशमा रहँदा माओवादी निकटको प्रवास कमिटी युरोपको कोषाध्यक्ष भएर काम गरेको उनले बताए ।

नेपाल फर्केपछि एमाले र माओवादी पार्टी एकीकरणपछि नेकपा बन्यो । त्यतिबेला सुनवल नगर सहइन्चार्ज र पार्टी विभाजनपछि सुनवलको माओवादी पार्टी अध्यक्ष भएर काम गरेको उनले बताए ।

प्रदेशसभा निर्वाचनमा विद्रोही उम्मेदवार बनेपछि बस्नेतलाई माओवादी पार्टीले कारबाही गरेको थियो । ‘अन्तिम चरणमा टिकट खोसिएपछि म माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बन्न बाध्य भएको थिएँ,’ उनले भने, ‘हँसिया हथौडाबाटै चुनाव लड्न चाहन्थें, अवसर मिलेन । खानेपानीको धारा चुनाव चिह्न लिएर निर्वाचन जितें, अहिले मन्त्री बन्ने मौका मिल्यो ।’

म ५ वर्षसम्म स्वतन्त्र भएर काम गर्छु भनेर मतदातासँग वाचा गरेको पनि उनले बताए । ‘सांसद रहँदासम्म म कुनै पार्टीमा पनि प्रवेश गर्दिनँ,’ उनले भने, ‘अब काम गर्ने क्षेत्रको अध्ययन गर्छु, निर्वाचनका बेला जनतासँग गरेका वाचा पूरा गर्ने कोसिस गर्नेछु ।’ आफूसँग जोडिएका मन्त्रालयको तीन अंगमध्ये उद्योग सञ्चालन गर्न, उद्योगमैत्री वातावरण सिर्जना गर्न योजना बनाएर काम गर्ने पनि उनले बताए ।

पर्यटन सम्बन्धमा टोलटोलमा मन्दिरहरू तथा सामाजिक भवन बनाउने भन्ने छ, त्यो सोचलाई नै परिवर्तन गरेर पर्यटन भनेको पर्यटन व्यवसायसँग जोड्ने र आर्थिक उपार्जन एवं रोजगारीसँग जोड्ने गरी काम गर्न छलफलमा जुटिरहेको पनि मन्त्री बस्नेतले बताए ।

मन्त्री बस्नेतले केही सहकारी समस्यामा रहेकाले तिनलाई व्यवस्थापन गर्ने, समस्यामा परेकालाई अध्ययन गरी निराकरण गर्ने र सहकारी संस्थालाई सुरक्षित वातावरण बनाउने बताए । सर्वसाधारणको बचतलाई सुरक्षित गर्ने र सहकारीलाई आर्थिक उपार्जन, रोजगारी सिर्जना एवं आय आर्जनलाई जोड दिने गरी सहकारीका योजना बनाउन अध्ययन तथा छलफल गरिरहेको मन्त्री बस्नेतले बताए ।

गुल्मीको इस्मा गाउँपालिका–३ बाट २०६० बाट नवलपरासी पढ्न झरेका उनी ०६४ मा बसाइँसराइ नै गरे । सुनवल–४ मा उनको घर छ । तीन दाजुभाइमा माइला बस्नेत व्यवस्थापन विषयमा स्नाकोत्तर हुन् । ‘म ब्लड डोनर पनि हो, मैले ३२ पटक ब्लड दिएको छु,’ उनले भने, ‘जहाँ बिरामीलाई आवश्यक पर्छ, त्यहीँ पुगेर रगत दिएको छु । दुर्घटनामा परेका, बिरामी परेकालाई बोक्ने, अस्पताल लैजाने र सहयोग गर्न म हरदम तयार छु ।’

प्रकाशित : वैशाख १४, २०८१ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?