२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नदीहरू : सभ्यतादेखि संकटसम्म

नदीको चरित्र कसरी फेरिँदै छ, पानीको चक्रमा कस्तो परिवर्तन आउँदै छ भन्ने मिहिन अध्ययनबिना राम्रा योजना बनाउनै सकिँदैन
रमेश भुसाल

करिब ६ हजार वर्षअघि अहिलेको इराक आसपासको टिग्रिस र युफ्रेटस् नदी किनारमा, पाँच हजार वर्षजति अघि इजिप्टको नाइल नदीमा, ४५ सय वर्षअघि भारत–पाकिस्तानको इन्दु नदीमा, ३५ सय वर्षअघि चीनको ह्वागंहो नदीमा र २५ सय वर्षअघि मध्य र दक्षिण अमेरिकाका नदी किनारहरूमा मुख्य मानव सभ्यताहरू जन्मिए । पूर्विया होस् वा पश्चिमा, सबै सभ्यताको उदय नदी किनारमै भएको थियो । 

नदीहरू : सभ्यतादेखि संकटसम्म

इजिप्सियनहरूले नाइल नदीमा आउने बाढीलाई नाइलको उपहार भन्थे । बर्सेनि आउने बाढीले खेतमा मलिलो माटोको पातलो तह थपेर जान्थ्यो । बाढीको पानी घट्नेबित्तिकै किसानहरूले बाली लगाइहाल्थे । बाढीले ल्याएको मलिलो माटोका कारण निकै राम्रो उब्जनी हुन्थ्यो । इजिप्टको पुरानो क्यालेन्डर नै नाइल नदीको चक्रअनुसार बनेको थियो । त्यहाँ तीन सिजनहरू हुन्थे । अखेट अर्थात् डुबानको समय, पेरेट अर्थात् बाली लगाउने र सेमु अर्थात् बाली भित्र्याउने समय । यही चक्रका आधारमा इजिप्ट चल्थ्यो ।

सुरुमा मानिसले नदीलाई आफ्ना लागि पानीको स्रोतका रूपमा प्रयोग गरे, माछालाई खानाका रूपमा । उनीहरूले खेतीपाती थाले तर वर्षैभरि अकासे पानी पर्ने कुरो भएन । एकै पटक फलेको अन्नले वर्षैभरि पुगेन । त्यसैले पानी नपर्दा पनि खेतीपाती गर्न खोलानदीको पानी नहर बनाएर परपरसम्म लाने जुक्ति निकाले, जसले गर्दा वर्षैभरि खेतीपाती गर्न सम्भव भयो । त्यसपछि राम्रो अन्न फलेकाले अन्न खोज्न सधैं जंगल जान परेन, खेतीपातीकै कारण बस्ती विकास हुन थाले । नदीहरू मानव सभ्यता विकासका लागि इन्धन बने ।

त्यसपछि उनीहरूले नदीलाई ढुवानी र यातायातको हाइवेका रूपमा प्रयोग गरे । नदीमा बग्न सक्ने डुंगा बनाएपछि टाढा टाढाको यात्रा पनि चाँडै गर्न सकिने भयो भने सरसामानको ढुवानी पनि धेरै मात्रामा गर्न सकिने भयो । खासमा नदीहरू पृथ्वीका सबैभन्दा पुराना हाइवेहरू हुन् । तिनै हाइवे प्रयोग गरेर मानिसहरू पृथ्वी चहार्न थाले, ठूल्ठूला सहर बन्ने क्रम तीव्र भयो, व्यापार बढ्यो । आज उभिएका काठमान्डु होस् वा दिल्ली, बेइजिङ होस् वा न्युयोर्क, पेरिस होस् वा लन्डन सबै नदी किनारमा अवस्थित सहरहरू हुन् । अहिले पृृथ्वीको आधाभन्दा बढी जनसंख्या सहरमा बसोबास गर्छन् । सन् २०५० सम्ममा यो बढेर ७० प्रतिशत पुग्ने अनुमान गरिएको छ । नदीबिना कुनै पनि जीवन सम्भव छैन । पानीलाई एक ठाउँबाट अर्कोमा पुर्‍याउने काम नहुनेबित्तिकै जलचक्र हुने थिएन, त्यो नहुँदो हो त मानव वा अन्य जीवन चल्ने थिएन । त्यसैले नदीहरूलाई पृथ्वीको रक्तनली भनिन्छ । तिनै नलीबाट बग्ने पानी र तिनैले ल्याउने अन्य तत्त्वका कारण फल्ने अन्नले नै हामीलाई बचाइरहेको छ । जलचक्रकै कारण जीवनचक्र चलेको छ ।

नेपाल नदीनालाले भरिएको देश हो । नेपाल मात्रै होइन, यो भेगको पश्चिममा अफगानिस्तानदेखि पूर्वको म्यानमारसम्म फैलिएको ३५ सय किलोमिटर लामो हिन्दुकुश हिमालय पर्वत शृंखला नै नदीमय छ । जहाँ एसियाका सबैभन्दा ठूला १० नदीहरू उदाउँछन्, बग्छन्, समुद्रमा पुग्छन्, बादल बनेर फर्कन्छन् र वर्षा बनेर झर्छन् । यो क्षेत्रको जीवनचक्र मनसुनी वर्षाको चक्रले निर्धारण गर्छ । यो भूगोल सबैभन्दा पुरानोमध्येको एक इन्दु सभ्यता र अरू धेरै सभ्यताको जननी हो । तर दुःखको कुरा नदीहरू सभ्यताको हाइवेबाट मलमुत्र बगाउने बनेका छन्, वाग्मती त्यसको एउटा सानो उदाहरण मात्र हो ।

पिउन, सिँचाइ, ढुवानी र माछाको स्रोतका रूपमा प्रयोग भएका नदीमा सन् १८८२ मा उपयोगको अर्को बाटो खुल्यो । उक्त वर्ष अमेरिकाको विस्कन्सन्स्थित फक्स नदीको पानीबाट विश्वकै पहिलो विद्युत्गृह निर्माण भएपछि नदी ऊर्जाको मुख्य स्रोत पनि बन्न थाले । बिजुलीका लागि नदीहरूमा बाँध बाँध्ने काम मुख्य गरेर दोस्रो विश्वयुद्ध पछि झन् व्यापक भयो । अहिले विश्वको कुल बिजुलीको १७ प्रतिशत खोलानदीले दिन्छन् । साइन्समा प्रकाशित एक अध्ययनअनुसार विश्वभरिका नदीहरूमा बनेका झन्डै ६० हजार बाँधहरूले सय अर्ब टनभन्दा बढी नदीले बगाउने ग्रेग्रान जमिनबाट समुद्रमा पुग्नबाट रोकेका छन् । बाँधका कारण ती माथिल्लो भागमै रोकिन्छन् । अहिले विश्वभरि तीन हजार बढी बाँधहरू बन्दै छन् वा योजनामा छन् ।

विद्युत् विकास विभागका अनुसार नेपालमा मात्रै १ सय २४ जलविद्युत् आयोजनाहरू सञ्चालनमा छन् भने ३ सय १० सानाठूला आयोजनाले सर्भे लाइसेन्स लिएर बसेका छन् । त्यसैगरी २ सय ४४ वटा आयोजनाहरू निर्माण तयारीमा छन् । नदीको पछिल्लो नाम बिजुली भएको छ ।

बाँधको युग सुरु भएयता मानिसका क्रियाकलापका कारण नदीहरू दूषित मात्रै भएनन्, नदी बाँधिएनन् मात्रै, पूरै पृथ्वीको जलवायु प्रणालीमा नै फेरबदल आयो । मानिसले विकासका क्रममा भेटेको ऊर्जाको मुख्य स्रोत कोइला र त्यसलाई प्रयोग गरेर उत्पादन र ढुवानी गरिने सरसामानका कारण व्यापक रूपमा कार्बनडाइअक्साइडजस्ता हरितगृह ग्यासको उत्सर्जन बढ्यो । तापक्रममा फेरबदल हुँदा पानीको चक्रमा फेरबदल हुन थाल्यो, हिउँ पग्लने दरमा वृद्धि भयो । जमिन, समुद्र र वायुमण्डलमा घुमिरहने पानीको चक्रले चलेको जीवनचक्र त्यससँगै प्रभावित हुन थाल्यो । यो चक्रमा आउने परिवर्तनका कारणमा नवजीवनलगायत अन्य जीवजन्तु र सबै पारिस्थितिक प्रणालीमै असर परिरहेको छ ।

बढ्दो समस्या
जलविद्युत् नेपालको विकासको मेरुदण्ड हो । ऊर्जाको अर्को भरपर्दो स्रोत नेपालसँग छैन, भलै विगतका केही वर्षहरूमा सौर्य ऊर्जालगायत अन्य नवीकरणीय ऊर्जाको प्रयोग बढ्दो छ तर त्यो तत्काल विकल्प बनिहाल्ने सम्भावना छैन । जलवायु परिवर्तनले नदीको बहावमा पारेको असरको पछिल्लो उदाहरण जलविद्युत् आयोजनाहरूले खडेरी वा बाढीका कारण सम्झौतामा कबुल गरेअनुसारको विद्युत् आपूर्ति गर्न नसक्ने अवस्था बढ्दो देखिनुलाई लिन सकिन्छ । केही वर्षअघि मध्यपश्चिमको प्यूठान जिल्लामा रहेको झिम्रुक जलविद्युत् आयोजनाले खडेरीका कारणले खोलामा पानीको मात्रा घटेपछि सम्झौताअनुसारको बिजुली नेपाल विद्युत् प्राधिकरणलाई दिन नसक्दा अपुग बिजुलीको रकम पनि प्राधिकरणलाई बुझाउनु परेको थियो । खडेरीको तथ्यांक लिएर जल तथा मौसम विज्ञान विभाग जाँदा उनीहरूले जलवायु परिवर्तनको कारणले हो भनेर प्रमाणित गर्न नसक्ने बताएपछि आयोजनाले क्षतिपूर्तिको दाबी गर्न सकेन । यदि यस्तै खडेरी धेरै पर्दै गयो र जलविद्युत् आयोजनाहरूले भनेजति आपूर्ति गर्न सकेनन् भने के हुन्छ ? जलविद्युत् क्षेत्रमा पर्ने असरहरूको किटान गर्न, असरहरू न्यूनीकरण गर्न र भविष्यमा हुने जोखिमहरूको सही मूल्यांकन गरेर त्यसैअनुसारको योजना बनाउन गर्नुपर्ने अनुसन्धानमा कुनै चासो छैन, न त कुनै योजना नै छ । सकेसम्म धेरै बाँध बाँधेर नदी थुन्ने, बिजुली निकालेर बेच्ने भन्ने एकोहोरो नीति बोकेर धेरै टाढा पुग्न सम्भव छैन । एकातिर जलवायु परिवर्तनका कारण नदीहरूको चरित्र नै बदलिँदो छ, जसका कारण जलविद्युत् उत्पादनमा असर पर्ने देखिन्छ भने अर्कातिर जलवायु समस्या समाधानका लागि वैकल्पिक ऊर्जामा व्यापक लगानी भइरहेकाले सौर्य, वायु लगायतका ऊर्जाको विकास भइरहेको छ । त्यसैले नदीबाट निकाल्ने बिजुलीभन्दा त्यस्ता ऊर्जा चाँडै नै सस्तो हुनेछन् । त्यसमा थपिएको छ बाँधप्रतिको बदलिँदो धारणा । बाँधका कारण परेका वातावरणीय असर घटाउन अमेरिकाबाट सुरु भएको बाँध भत्काएर नदीलाई बग्न दिने अभियान युरोप पसेको छ । युरोपियन युनियनले पनि हालसालै २५ हजार किलोमिटर नदीलाई बाँधमुक्त बनाउने घोषणा गरेको छ । विस्तारै यो एसिया छिर्ने सम्भावना पनि छ ।

बाढी आउने क्रम मात्रै बढेको छैन, अनुमान गरेभन्दा ठूला बाढीहरू छोटो समयमा धेरै पटक आउन थालेका छन् । यति धेरै लगानी भइरहेको ऊर्जाको मुख्य स्रोत नै नदी भएकाले जलवायु परिवर्तनका कारण यस्ता घटनाहरू बढ्दै जाँदा कस्तो असर पर्ला भन्ने अर्को चिन्ता पनि छँदै छ । त्यसको समाधान कसरी गर्ने भन्नेतिर ध्यान जानै सकेको छैन । बाढीले ऊर्जाका संरचनामा मात्रै होइन नदी किनारका बस्तीहरूलाई समेत क्षति गर्ने पक्का छ, अहिले नै गरिरहेका छन् र क्रम बढ्दो छ । जलवायु परिवर्तनका कारण अतिवृष्टिका घटना बढेका छन् र भविष्यमा थप बढ्छ भन्ने अध्ययनले देखाइरहेका बेला बस्ती विकास निकै सोचविचार गरेर गर्नुपर्नेमा थप अव्यवस्थित हुँदै गइरहेको छ । मेलम्ची त्यसको पछिल्लो उदाहरण हो ।

अर्को उदाहरण, खोटाङको एउटा पुरानो गाउँका २७ मध्ये २३ घरका मानिस केही वर्षको अन्तरालमा बसाइँ सरे । अघिल्लो वर्ष त्यहाँ पुग्दा पूरै गाउँ नै उजाड सुनसान थियो । विगतका पाँच वर्षमा मात्रै १५ घरधुरी बसाइँ सरे । मुख्य कारण पानीको अभाव थियो । भुइँचालोले घर भत्काएपछि उनीहरूलाई थप समस्या पर्‍यो । पानीको अभावले हायलकायल बनाएको जीवनलाई फेरि त्यहीं चलाउने कि अन्तै सर्ने भन्ने प्रश्न आयो । धेरैले सोचे सरकारले दिएको पैसामा आफूले पनि थपेर बरु कोसी नदी किनारको खेतमा नयाँ बस्ती बसाउने र पानीको अभावबाट मुक्ति पाउने । एकपछि अर्को गर्दै उनीहरू साप्सु खोला र कोसी नदीको दोभानको बेंसीमा झरेर बस्ती बसाए । जलवायु परिवर्तनका कारण पहाडमा मूल सुक्दै गइरहेका कारण मानिसहरू नदी किनारतिर बसाइँ सर्ने क्रम बढ्दो छ ।

समाधानको उपाय
सके त नदीहरूलाई सकेसम्म बिनारोकतोक बग्न दिनु नै सबैभन्दा उत्तम हो । तर त्यसो गर्न सक्ने अवस्था छैन किनभने पानी प्रयोग गरेर आर्थिक लाभ लिने र त्यही पुँजीले विकास गर्ने पछिल्लो मानव जीवन सञ्चालन पद्धति बनेको छ । र, हामीले त्योभन्दा अर्को तरिका अपनाउन सक्ने कुरा भएन । त्यसैले नदीको दुरुपयोग हैन सदुपयोग कसरी गर्ने भन्नेतिर ध्यान केन्द्रित हुनु जरुरी छ । मुख्य कुरा त यो पृथ्वीमा भएका प्राकृतिक स्रोत मान्छेका लागि मात्रै होइन भन्ने बिन्दुबाट सोच्नुपर्छ । यो समग्र पृथ्वीवासीका लागि हो त्यसैले सकिन्छ भन्दैमा अत्यधिक दोहन गर्ने मनसायबाट माथि उठ्नुपर्छ । हाम्रा योजनाहरू त्यसैअनुसार बनाइनुपर्छ । आँकडाहरूले देखाएअनुसार नेपालका नदीहरूबाट हरेक वर्ष २२४ अर्ब क्युबिक मिटर पानी बगेर भारत र बंगलादेश जान्छ । कुल पानी हिसाब गर्ने हो भने प्रतिनेपालीको भागमा ९० लाख लिटर पानी पर्छ । हामीसँग नदी पनि छन्, पानी पनि छ तर वर्षको ४ महिना व्यापक हुन्छ भने बाँकी ८ महिना अभाव । पानी नै पानी भएर पनि न हामीसँग पिउन पुगेको छ न त सिँचाइ नै राम्रोसँग गर्न सकेका छौं । बिजुली पनि भरपूर छैन । पानीको व्यवस्थापनमा हामी निकै कमजोर छौं र जलवायु परिवर्तनले हामीलाई थप कमजोर बनाउने छ ।

हामीले नदीलाई कि त विकासको बाधक भनेर बुझ्यौं कि त बिजुली भनेर बुझ्यौं । नदीलाई हामीले समग्र पारिस्थितिक प्रणालीको सञ्चालक भनेर बुझ्ने प्रयास नै गरेनौं । पानी बाँडफाँटको भू–राजनीति र बिजुलीको चक्करले खासमा नदीले उठाएको मानव सभ्यता र त्यसले समग्र पारिस्थितिक प्रणालीलाई कायम राख्न खेलेको भूमिकालाई हामीले सधैं नजरअन्दाज गर्‍यौं । जलवायु परिवर्तनका कारण थपिएका समस्याहरूको समाधान कुनै एक नदीभन्दा पनि समग्र जलप्रणालीलाई हेर्ने हाम्रो दृष्टिकोण, त्यसमा आइरहेका परिवर्तनको अध्ययन र त्यसैअनुसारको विकासको योजना नबनाएसम्म हाम्रो भविष्य राम्रो हुने छैन ।

प्रकाशित : फाल्गुन ७, २०७८ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?